Sunday, May 19, 2024

नारीहिंसा र बिलकिस बानो

अम्बिका राई

भारतमा नारी हिंसा माथि चर्चा हुँदा, ‘बिलकिस बानो-को नाम हाम्रो अघि हरेक समय आउने गर्दछ। तसर्थ बिलकिस बानोको परिचय र उनीमाथि भएको अत्याचार र अन्यायको चर्चा गर्न एकदमै जरुरी हुन्छ। यो कुरा बुझ्नलाई हामीले 2002-को गुजरातमा घटेको बहुचर्चित घटना 'गोध्रा दङ्गा'को बारेमा चर्चा गर्नु पर्छ। 27 फरबरी 2002-को दिन सबरमती एक्सप्रेस ट्रेन गुजरातको गोध्रा स्टेसनमा आइपुग्दा ट्रेनको एउटा बग्गीमा आगो लाग्दा 59 जना यात्रीहरूको मृत्यु अनि 48 जना यात्रीहरू घाइते भएका थिए। यो ट्रेन अयोध्याबाट हिन्दु तीर्थयात्रीहरू लिएर हिँडेको थियो। तसर्थ घाइते भएका अनि मृत्यु भएका यात्रीहरू सबै हिन्दु धर्मका थिए। यो घटनाको पछाडि मुसलमान समूहको हात रहेको आशंका गर्दै, त्यहाँ रहेका हिन्दुहरूले आम मुसलमान समुदायका मानिसहरू माथि हमला गर्न थाले। र यसरी गोध्रामा भएको अप्रिय घटनाले धार्मिक दङ्गाको रूप लिएर गयो। भारतको इतिहासमा गोध्रा दङ्गालाई धार्मिक कट्टरवादको नाममा भएको एउटा ठुलो प्रकरण मान्न सकिन्छ, यद्यपि यस आगजनीको कारण दुर्घटनामात्र हो भन्ने धेरैवटा जाँचको निष्कर्ष छन्।  

गोध्राको त्यस घटनावाद राज्यभरि नै दङ्गाको खबर आइरहेको बेलामा बिलकिस अनि उनको परिवार 28 फरबरीको दिन आफ्नो गाउँ रंधिक्पुरबाट भाग्न बाध्य भए। कैयौँ मुसलमान परिवारहरू जस्तै बिलकिस बानो अनि उनको परिवार पनि यो साम्प्रदायिक हिंसाको सिकार बने। मार्च 3, 2002-को दिन एउटा गुठले बिलकिसलाई बलात्कार गरे अनि उनकै आँखा अगाडी उनको 14 जना परिवार सदस्यलाई हत्या गरे। यो घटना घटेको बेला बिलकिस केवल 21 वर्षकी थिइन् अनि 5 महिनाको गर्भवती पनि। पुलिस थानामा यस घटनाको FIR लेखिए पनि, त्यो FIR-मा उनको ‘ग्याङ्ग रेप’ वा सामुहिक बलात्कार भएको कुरा लेखिएको थिएन। उनले भनेका 12 जना बलात्कारीहरू को नाम पनि FIR-मा थिएन। ती सबै 12 जना बलात्कारीहरू बिलकिसकै गाउँका बासिन्दाहरू थिए र हिन्दु धर्मका थिए। यो मामलामा पुलिस अनि IPS अफिसरहरू पनि दोषी साबित भए। 

FIR दर्ता गरेर पनि पुलिस अनि सुप्रिम कोर्टबाट केही न्याय नपाउँदा अप्रिल 2003-मा बिलकिसले यो केस CBI-को हातमा दिने उजुरी गरिन्। बल्ल 6 डिसेम्बर 2003-को दिन सुप्रिम कोर्टले यो केस CBI-को हातमा थमाए। अगस्त 2004-मा यो केसको ट्रायल गुजरातबाट मुम्बईमा सारियो। गोध्रा दङ्गा घटेको लगभग 6 साल वाद, 21 जनवरी 2008-मा ग्रेटर मुम्बइको स्पेसल जजद्वारा एउटा फैसला सुनायो। यस फैसलाअनुसार 11 जना दोषीलाई हत्या अनि बलात्कारको आरोपमा आजीवन कारावासको सजाय भयो। यी दोषीहरूका नाम हुन्-- राधेश्याम शाह, जसवंत नाइ, गोविन्द नाई, केसर वोहनिया, बाका वोहनिया, राजु सोनी, रमेश चन्दना, शैलेश भट्ट, विपिन जोशी, मितेश भट्ट, र प्रदीप मोढिया। सन् 2009 देखी 2011 सालभित्रमा यी दोषीहरूले धेरै चोटि आफ्नो रिहाइको मागको अपिल राखे।

2017-सालमा बिलकिसले सुप्रिम कोर्टसमक्ष क्षतिपूर्तिको माग राखिन्। लगभग दुई साल बाद बिलकिसलाई रू.50 लाखको क्षतिपूर्ति, राज्य सरकारद्वारा रोजगारी र उनको इच्छाअनुसारको ठाउँमा सरकारी आवास दिने निर्णय गरियो। र दोषी साबित पुलिस अफिसरहरूको अवकासपछिको पेन्सन रोकिदिने निर्णय लिइयो।




2002-मा घटेको बिलकिस बानोको प्रकरणले फेरि अचानक यतिका सालपछि किन फेरि महत्त्व प्राप्त गर्‍यो भन्ने कुरालाई नियालेर हेर्दा हामी के थाहा पाउँछौँ भने मई 2022-मा दोषी राधेश्याम शाहले आफ्नो रिहाको माग गर्दै एउटा अपिल राखेको थियो। मई 13, 2022-मा न्यायाधीश अजय रस्तोगी अनि न्यायाधीश विक्रम नाथ-ले गुजरात सरकारलाई राधेश्याम शाहको मागलाई मान्यता दिँदै दुई महिनाभित्र रिहाई दिनु पर्ने निर्णय लिए। 15 अगस्त 2022, भारतको 77-औँ स्वतन्त्रता दिवसको दिन राधेश्याम शाह लगायत बिलकिस बानोको घटनामा 11-जना दोषीहरूलाई गुजरात सरकारले गोध्रा सब-जेलबाट रिहाइ गरे। गुजरात सरकारको अनुसार जेलभित्र वस्ने अवधिमा उनीहरूको राम्रो आचरणको कारण उनीहरूलाई रिहाइ गरिएको थियो। 

गुजरात सरकारको निर्णयलाई धिक्कार जनाउँदै बिलकिस बानोले सेप्टेम्बर '22-मा सुप्रिम कोर्टसमक्ष फेरि आफ्नो र परिवारसँग घटेको अप्रिय घटनाबारे न्याय माग्न बाध्य बनिन्। उनले आफ्नो पिटिसन-मा गुजरात सरकारले 11 जना दोषीहरूलाई समयपूर्व रिहाई दिएको निर्णयलाई च्यालन्ज गरिन्। हालैमा  सुप्रिम कोर्टले 8 जनवरी 2024-को दिन गुजरात सरकारको त्यस निर्णयलाई खारेज गरे अनि आफ्नो निर्णय बिलकिस बानोको पक्षमा सुनाए। 21 जनवरी 2024-को राती सबै दोषीहरूले आत्मसमर्पण गरे।

तर बिलकिसले पाएको यो न्याय केही क्षणको निम्ति मात्र थियो।आत्मसमर्पण गरेको दुई हप्ताभित्र नै आफ्नो ससुराको मृत्यु भएको कारण बताउँदै एक जना दोषी प्रदीप मोढिया-लाई गुजरात हाई कोर्टले पाँच दिनको (फरबरी 7 देखी 11 सम्म) लागि आफ्नो गाउँ रंधिक्पुर जाने अनुमति दिए। मोढिया-ले जम्मा 30 दिनको प्यारोलको माग गरेको थियो। यसभन्दा पहिले पनि मोढियालाई गुजरात हाई कोर्टले जम्मा 1,041 दिनको प्यारोलको बिदा दिएको थियो। हालैमा अर्को दोषी रमेश चन्दनालाई पनि गुजरात उच्च अदालतले भानिजको बिहाको लागि  प्यारोलको बिदा दिएको छ।

हामीले यो याद गर्नु एकदमै अनिवार्य छ कि 2002-को त्यो गोध्रा दङ्गाको समय गुजरातमा भारतीय जनता पार्टी-को सत्ता थियो अनि अगस्त 15, 2022-को दिन, जब ती 11-जना दोषीहरूलाई रिहाइ दिएको थियो त्यस समय पनि गुजरात राज्यमा त्यही भारतीय जनता पार्टीको राज बरकरार थियो। गुजरात हाई कोर्टको त्यो निर्णयमाथि जब प्रश्नहरू उठे तब उनीहरूले भने की ती दोषीहरूलाई रिहाइ गर्ने निर्णय एउटा प्यानल द्वारा गरिएको थियो। त्यो प्यानलमा धेरै जना अधिकारीहरू अनि सामाजिक कार्यकर्ताहरू थिए, जो सबै BJP-को सदस्य थिए। ती मध्य एक जना प्यानल मेम्बर, जो BJP को MLA थियो, उनको भनाई अनुसार, ती सबै दोषीहरूलाई छोड्नु पर्ने थियो किनकि उनीहरू ‘उच्च संस्कार भएका ब्राह्मणहरू हुन्।’ प्यानलमा रहेका यो व्यक्तिको बयानबाट बुझ्न सकिन्छ की उनीहरू कसको पक्ष लिएर बोली रहेका थिए।

दुई दशकभन्दा अघि घटेको यो घटना पछि पनि बिलकिसले अझसम्म सठिक न्याय पाएकी छैनन्। यो घटनाबाट हामी बुझ्न सक्छौँ की हाम्रो समाजमा महिलाहरूको स्थिति कति कमजोर छ। अनि हाम्रो देशको न्याय प्रणालीको के कस्तो वास्तविकता छ त्यो पनि छर्लङ्गै छ। यो सरकारले एउटी महिलालाई न्याय दिन सकिरहेको छैन, तर अर्को तर्फ ती 11 जना बलात्कारीहरू जेलबाट निस्किँदा तिनीहरूलाई ‘संस्कारी ब्राह्मण’-को दर्जा दिई फुल-माला लगाई भव्य रूपमा स्वागत गरिन्छ। 

यसै सन्दर्भमा भन्नु हो भने बितेको सालको महिला कुस्ती खेलाडीहरूले नपाएको न्यायलाई पनि हामी याद गर्न सक्छौँ। अप्रिल 2023 देखि भारतको सर्वश्रेष्ठ महिला कुस्ती खेलाडीहरू ब्रिज भूषण शरण सिंहले गरेको यौन हिंसाको खिलाफ देशको राजधानीमा सङ्घर्ष गरिरहेको कुरा सबैलाई थाहा भएकै हो। ब्रिज भूषण भारतीय जनता पार्टीको एम.पी. अनि त्यो घटना घट्दा Wrestling Federation of India-को प्रेसिडेन्ट थिए। पछि गएर सञ्जय सिंह जो ब्रिज भूषणको नजिकको सहयोगी हो, उनलाई प्रेसिडेन्टको पदमा नियुक्त गरियो। यो कुराको निन्दा गर्दै, 21 डिसेम्बर 2023 को दिन अलिम्पिकमा स्वर्ण पदक जित्ने कुस्ती खेलाडी साक्षी मालिकले कुस्ती खेल त्याग गरिन्। हालैको खबर अनुसार ब्रिज भूषणको छोरा करण भूषण सिंह उत्तर प्रदेश Wrestling Association-को प्रेसिडेन्टको पदमा नियुक्त भएका छन्। यो कस्तो सरकार हो जहाँ यौन हिंसाको सिकार हुने महिला कुस्ती खेलाडीलाई न्याय दिन यो सरकार सक्षम छैन तर अर्को तर्फ महिला खेलाडीहरूमाथि यौन हिंसा गर्ने ब्रिज भूषणलाई नयाँ संसद् भवनको उद्घाटनमा बोलाइन्छ। 

यी दुई वटा महिला हिंसाको घटनालाई हामीले गहिरो सन्दर्भमा हेर्नु जरुरी हुन्छ। यो केवल बिलकिस बानो अनि महिला कुस्ती खेलाडीहरूको सन्दर्भमा न भएर देशको हरेक कुनाका महिलाहरूसँग घटेको व्यथा हो। चाहे त्यो मणिपुरको महिला होस् वा काश्मीरका महिलाहरू, जसको शरीरलाई जहिले पनि एउटा युद्ध-मैदानको रूपमा हेर्ने गरिन्छ। यस्तो स्थिति सालै-साल देखि चली आइरहेको छ, त्यो चाहे कुनै साम्प्रदायिक हिंसाको समय होस्, इन्डिया-पाकिस्तान पार्टिसन् होस् वा कुनै राज्य विद्रोहको समयमा होस्। 

अझ यी महिला हिंसाले एउटी महिलामाथि कतिको असर पार्दछ, त्यो त सायद तपाईँ हामी अनुमान पनि लगाउन सक्दैनौँ होला। यौन हिंसाका घटनापछि हुने कानुनी सुनुवाइ प्रक्रियाले महिलालाई अझ धेरै चोट अनि पिडा दिन्छ। बिलकिस बानोकै कुरा गर्ने हो भने यो बितेको दुई दशकमा उनले 12 वटा घर बदली गर्नु पर्‍यो, उनी आफ्नो आमाको घर जान सकिनन् अनि उनले धेरै रूपमा मानसिक तनावको सामना गर्नु पर्‍यो। दुनियाँकै सर्वश्रेष्ठ कुस्ती खेलाडी भएर पनि साक्षी मालिकले त्यो खेललाई त्याग्नु बाध्य बने। तर ती दोषीहरू भने सत्ता अनि सरकारको आड लिएर खुल्ला रूपमा हाम्रो वरिपरि घुमिरहेका छन्।  यस सङ्घर्षको समय बिलकिस बानोले भनेकी थिइन्– “मैले पहिले पनि भनेकी छु, र आज फेरि भन्छु, मेरो जस्तो यात्रा कहिले एक्लै सफल हुन सक्दैन।” यो लेख ती हरेक महिला अनि पुरुषलाई हार नमान्नु भन्ने सङ्केत हो, जसले यौन हिंसा विरुद्ध अनि यो सत्ताको शोषणविरुद्ध एकवद्ध भई आवाज उठाएर अघि बढिरहेका छन्। यो केवल बिलकिस अनि महिला कुस्ती खेलाडीहरूको पितृसत्ता अनि सरकारसँगको लडाई होइन। यो मेरो, तपाईँको, अनि हामी सबैको लडाई हो।

***


No comments:

Post a Comment