उज्जल छेत्री
धेरै भारतीयहरूका लागि, राम मन्दिरको उद्घाटन भनेको हिन्दु स्वर्ण युगको पुनरुत्थान, मुगल आक्रमण र ब्रिटिस औपनिवेशिक दखलको पूर्ववर्ती समयलाई मूर्त रूप दिन्छ। अरूका लागि, शताब्दीहरूदेखि धार्मिक अल्पसङ्ख्यकहरूलाई पनि सुरक्षित ठाउँ प्रदान गर्ने बहुलवादी भारतको लोप हुने प्रतीक हो राम मन्दिर।धर्ममा राजनीति छ कि राजनीतिमा धर्म? यो प्रश्नको उत्तर हामी वरिपरिको वातावरणबाट गेरुवा रङ्गको बढ्दो वर्चस्वले नै बुझ्न सक्छौँ। यस रङ्गको महत्त्व धेरै नै बढ्दै गरेको देखिँदैछ कारण यस रङ्गको झन्डाले एउटा आक्रामक राजनैतिक रूप लिन थालेको छ। यस रङ्गसँग सम्बन्धित धेरैवटा धारणाहरू हाम्रो मस्तिष्कसँग सजिलै जोडिएका छन् किनभने आज भारतको राजनैतिक गेरूवाकरणको प्रयास जोडतोडले भइरहेको छ।
आजभन्दा 50 साल अगाडि के कसैले सोच्न सकेको थियो होला राम मन्दिरको उद्घाटन भारत जस्तो गणतन्त्रमा यति धूमधामसँग मनाइन्छ? जब कि यो देशको जन्म नै अङ्ग्रेजविरुद्ध स्वतन्त्रताको सङ्घर्षसँग जोडिएको छ, अनि यो देशको निर्माण हुँदा संविधानको आधारमा धर्मनिरपेक्षता एउटा महत्त्वपूर्ण ढाँचा रह्यो। यस्तो उत्सवको अवसरमा 'आर एस एस'को इतिहास अनि गतिविधि बुझ्न जरुरी भएको छ। अहिले जसरी धर्मको नाममा राजनीति खुलेआम प्रचार गरिँदै छ, राम जन्मभूमि आन्दोलन अनि यसको इतिहास र सन्दर्भ बुझ्न त्यसका लागि एकदमै जरुरी र अर्थपूर्ण छ! कसरी एक भगवानको वासभूमि लिएर एउटा मिथक भ्रमलाई यथार्थमा परिणत गरेको छ भन्ने प्रश्न भारत स्वाधीन भएपछिको राजनैतिक चलखेलले नै बुझाउँछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले 22 जनवरी, 2024 मा विशाल अनि नयाँ राम मन्दिरको उद्घाटन अयोध्या सहरमा गरे जसले एउटा लामो फासिस्ट आन्दोलनलाई निचोडमा ल्याउन सक्यो। यसको सन्दर्भ के थियो भन्दा 1992 मा हिन्दु कार्यकर्ताहरूले शतकौँ पुरानो बाबरी मस्जिदलाई भत्काए र आज यस्तो संरचना बनियो जुन हिन्दु भगवान् रामप्रति समर्पित थियो। राम मन्दिर स्थापना भएपछि भाजपा अनि आरएसएसले देशभरी नै व्यापक उत्सव मनाउने प्रचार गर्यो अनि सबै सरकारी संस्था र प्रशासनलाई जोडेर यस उत्सवलाई एउटा राजनैतिक रूप दिने कोसिस भयो। भारत स्वाधीन भएपछि राम मन्दिर नै यस्तो प्रथम उत्सव हो जसले राज्य अनि राज्यसँग जोडिएका सबै शक्ति नै यस उत्सवलाई राष्ट्रिय रमिता बनाउनमा सफल भयो।
हिन्दुहरूमाझ भगवानहरूमा राम एक आदरणीय भगवान् हुन र भारतको 140 करोड जनसङ्ख्यामा हिन्दुहरूको जनसङ्ख्या लगभग 80 प्रतिशत छ। रामायण महाकाव्यको सर्वश्रेष्ठ नायक राम, जो राजा अनि एकजना आदर्श सदाचारी थिए – उनी आफ्नै राज्य अयोध्यादेखि बहिष्कार भएका थिए। यसैले उनको घर-वापसी नै एउटा हर्षपूर्ण राज्याभिषेकको उत्सवमा परिणत भयो! हामीले रामायणमा इस्लामको कुनै उपस्थिति देख्दैनौँ अनि यो धर्म भारतको प्रान्तमा पसेको मात्र 1000 बर्ष नाघेको छ। तर पनि हिन्दु राष्ट्रवादको दृष्टिकोणबाट इतिहासलाई बुझ्दा-हेर्दा इस्लामलाई मुख्य खलनायक ठानिन्छ। नरेन्द्र मोदीको आध्यात्मिक अनि राजनैतिक घुलन जुन प्रकारको देख्दैछौँ, त्यसले के साबित हुन्छ भने राम मन्दिर अभियानकर्ताहरूको सपना यथार्थमा परिणत भयो। दसकौँदेखि उनीहरू यसको खोजीमा थिए।
राम मन्दिर अरू स्मारकदेखि कसरी भिन्न छ त? प्रथम कारण हो– धार्मिक। अयोध्या रामको जन्मस्थल भनिएको छ। जसको विशेष ठाउँ सरयु नदी हो जहाँदेखि रामको शासन सुरु भएको थियो। त्यसैले 14 वर्ष आफ्नू राज्यदेखि टाढा रहेका रामहरू अयोध्या फर्किँदा दीपावली भएको थियो रे। दीपावली मनाउने प्रचलनको ऐतिहासिक कारण यसैलाई मानिन्छ। अर्को इतिहास के छ भने अयोध्या नजिकको इलाकामा यस्तो विश्वास छ, त्यहाँ हिन्दु मन्दिर थियो, जहाँ बाबरी मस्जिदको स्थापना सन् 1500तिर भएको थियो। 1949 मा जब अङ्ग्रेजले देश छोडेर गए अनि भारत स्वाधीन भयो, तब अदालतका कागजपत्र र अन्य स्रोत अनुसार त्यहाँ मस्जिदभित्र हिन्दु कार्यकर्ताहरूले रामको मूर्ति अवैध रूपमा भित्राएका थिए।
यसरी नै त्यो स्थान लिएर हिन्दु र मुसलमानहरूमाझ बढ्दो प्रतिस्पर्धा उत्पन्न हुन थाल्यो। यसरी नै उनीहरूमाझ त्यो स्थानको प्रवेशाधिकार लिएर झैझगडा पनि सुरु भयो। त्यसर्थ भारतीय पुलिसले यस्तो परिस्थितिमा दुवै पक्षको आवाजलाई दबाउन थाले। सन् 1980 पछि त्यो स्थानलाई ओगोट्ने र दाबी गर्ने हिन्दूत्ववादीहरूको प्रमुख उद्देश्य झल्किन थाल्यो– जुन लक्ष्यको इतिहास (बहु-जातीय भारतलाई हिन्दुधर्मसँग मात्रै जोडेर हेर्ने षडयन्त्र) कमसेकम 100 वर्ष पुरानो भइसक्यो।
जुन राजनैतिक दलले हिन्दुत्वलाई प्रतिनिधित्व गर्छ– त्यही भाजपा अनि यससँग सम्बन्धित समूहहरूले डिसेम्बर 6, 1992मा कमसेकम दस हजार स्वयंसेवी करसेवकहरूलाई एकत्रित गरेर अयोध्यामा भेला गर्यो। दलको स्थानीय प्रशासनमा नियन्त्रण थियो। मस्जिदलाई घेरिरहेका युवा जमातले आखिरमा जब त्यसलाई हमला गर्न थाले, पुलिसले कुनै प्रकारको कदम नउठाई आँखा अगाडीको तमासालाई नजरअन्दाज गरेर चुपचाप उभिइरहे। भीडले मस्जिदलाई चारैतिरबाट आक्रमण गरे। उनीहरूले साँझको समयसम्म तीनैवटा गम्बुजहरु नष्ट अनि भताभुङ्ग पार्नमा सफल भए। अन्तमा त्यही भेलाले अस्थायी मन्दिर बनाए जहाँ 1949-मा मूर्ति भेटाइएको थियो। यस दिनलाई भारतको राजनैतिक इतिहासमा कालो दिन मानिन्छ किनभने यही दिन लोकतन्त्रको खुलेआम हत्या भएको हो।
पछिबाट सर्वोच्च अदालतको अचम्मैको निर्णय देखियो। भारतको सर्वोच्च अदालतले मस्जिद भत्काउने दोषी कोही पनि भेटाएन अनि त्यही जमिनमा राम मन्दिर बनाउने ऐतिहासिक आदेश दियो। सर्वोच्च अदालतको न्यायाधीशहरूले वास्तवमा हिन्दुत्वको राजनीति गर्नेहरूको दाबीलाई नै वैधता दिए अनि यसले गर्दा नै राम मन्दिर निर्माण गर्ने सपनालाई यथार्थमा परिणत गरियो। चाखलाग्दो कुरा के छ भने यस अदालतको निर्णय दुईवटा बहसमा आधारित रहेको छ:
पहिलो बहस छ – सर्वोच्च अदालतले सम्पूर्ण विवादित संरचनालाई दुइवटा अलग भागहरू ठान्छ– बाहिरी र भित्री आँगन। तर अदालतले आफ्नो घोषणा केवल बाहिरी आँगन लिएर गर्यो। दोस्रो बहस थियो, अदालतले सम्पूर्ण संरचनालाई साथसाथै एउटा अखण्डित एकाई (Composite Whole) भनेर मान्यो तर निर्णय फेरि भित्री आँगन लिएर दियो।
दुवै पक्षको तर्कलाई अदालतले प्रयोग गरेर एउटै हिन्दुत्व पक्षलाई सहायता गर्यो अनि यसरी नै बहस टुङ्गियो। जब अदालतले दुवै पक्षको स्वामित्वको दाबीबारे जाँच गर्न थाल्यो, साथै दुवै पक्षको भित्री अनि बाहिरी आँगन लिएर पनि प्रमाण लिन थालियो। धेरै पल्ट अदालतले “कुनै पनि धर्म अनि विश्वासमाथि आधारित भएर यसको दखलबारे निर्णय गर्न सकिँदैन” भने तापनि राम्ररी अदालतको आदेश पढ्दा के देख्छौँ भने अदालतले ऐतिहासिक यथार्थ र तथ्य आधारित कानुनी शैलीदेखि विचलित भएर हिन्दु धर्म अनि विश्वासको छत्रछाया लियो। धर्म मन्दिर-मस्जिदसँग जोडिएको कुरा हो, तर के भारतको शासनतन्त्र र न्यायपालिकाले धार्मिक रूप लिनु उचित हो त?
यस सन्दर्भमा हामी के बुझ्न सक्छौँ भने प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दुत्ववादी राजनैतिक दल भाजपाको लागि राम मन्दिरको निर्माण 35 वर्ष पुरानो एक केन्द्रीय वाचा थियो। यो वाचा एक विवादास्पद राजनैतिक विषय थियो जसले यस दललाई विशिष्टता दियो र सत्तामा पुर्याउन सफल बनायो। देशभरी नै हिन्दु समूहहरूले उद्घाटन कार्यक्रमलाई हिन्दु जागृतिको शिखर भनेर देखाउँदै पुरै नागरिक समाजमा होहल्ला फैलाइदिएको देखियो। यद्यपि, यस विषयलाई गम्भीरतापूर्वक हेर्दा धार्मिक नेता नरेन्द्र मोदीको पूननिर्वाचन अभियान (आउँदो लोक सभा चुनाउको लागि) सुरु भएको बुझ्न सकिन्छ। राम मन्दिर प्रकरण धार्मिक विधि जस्तो नभएर आमचुनावको अभियान जस्तो देखियो साथै प्रधानमन्त्रीले कुनै सम्राटको रूप लिएको देखिन थाल्यो जसले समाजले आर्जन गरेका मुख्य विधिहरूलाई नै बलिदान दिने योजना लिँदैछ। गणतन्त्र, धर्मनिरपेक्षता, समाजवादको बाटो त्याग्ने हतार छ उनीहरूको।
राममन्दिरको स्थापना 2.67 एकड जमिनमा भएको छ जसभित्र 70 एकडमा भवन छ। तर अहिलेसम्म प्रथम चरणको संरचना मात्र तयार भएको छ र अन्तिम चरण 2024को डिसेम्बरभित्र हुने अनुमान छ। यसको खर्च आनुमानिक 1500 करोड हो अनि सम्पूर्ण रकम जनताबाट नै दानका रुपमा आएको छ भनिन्छ।
तर जुन धर्मस्थल हिंसा, हत्या, घृणा अनि खुनको जगमाथि बन्यो, त्यहाँ कस्तो पवित्रताको वातावरण पाइन्छ भन्ने प्रश्न धेरैले उठाइरहेका छन्। आजको ‘नयाँ भारत’ मा हामीले राजनीति र धर्ममा के भिन्नता पाउँछौँ त, जब राजनेताहरूले धर्मको प्रचार गर्दै छन् अनि धर्मगुरुले देशको निर्माण। समस्या के हुँदै छ भने राजनैतिक संस्कार जुन स्तरमा पुगिसकेको छ, भारतले धर्मको मुकुट लगाएर दुई-तीन पुँजीपतिहरूको नै हितमा काम गर्दै गरेको प्रमाण सबैले नै पाइरहेका छौँ। देशका मजदुर साथै खटीखाने वर्गमाझ धर्म, जातिको पर्खाल अनि इतिहासको नाममा विवाद तयार गरिँदैछ। त्यस्तै षडयन्त्र मध्यम वर्गमाझ निक्कै वर्षदेखि नै भइरहेको थियो। मन्दिर बनाउने अनि धर्मको प्रचार गर्दै दुनियाँको अगाडी देशको जुन चित्र बनाउने प्रयास चल्दै छ, त्यो साच्चै राम्रो उपलब्धि हो र?
आजको शासक वर्गले राम मन्दिरको उद्घाटन धुमधामसँग गरे, साथै धर्मनिरपेक्षतालाई तिलाञ्जली दिए किनभने सुप्रिम कोर्टको फैसलामा जुन मस्जिद पनि निर्माण गर्ने कुरा थियो त्यसको नामोनिशान किन छैन? आज देशमा बहुमतको धर्मको खुलेआम प्रचार हुन्छ अनि यस देशको राष्ट्रवाद नै आरएसएसको हिन्दुत्ववादी राष्ट्रवाद भइसक्न आँटेको छ। खतम हुँदैछ विविधता-- जुन भारतको सुन्दरता र शक्ति पनि थियो। “एउटा राज्य, एउटा पार्टी, एउटा भाषा, एउटा चुनाव, एउटा नेता”– आरएसएस-भाजपाको यस्तो कट्टर उद्देश्य हामी हिन्दी-हिन्दुत्व-हिन्दुस्थानको बयानबाटै बुझ्न सक्छौँ। जब एउटा भ्रमलाई नै सत्य बनाएर यथार्थमा परिणत गर्न सक्छ भने हाम्रो वास्तविक जीवनलाई पनि भ्रमले भरिदिने विचार छ यस सत्ताको। आमजनताको सबैका लागि सबैलाई लिएर अगाडि बढ्न चाहने विचारबाट देशभरि नै जुन प्रकारले अर्कालाई दबाउन र मिच्न नै जागरणको लक्ष्य बनिसकेको छ, के रामराज्य भनेको यस्तै हो?
***
No comments:
Post a Comment