सागर थापा
4 अक्टोबर '23 राती ल्होनाक तालमा 'ग्लेसियल लेक आउटबर्स्ट फ्लड' (GLOF) भएर चुङथाङ जलविद्युत बाँध भत्किएको थियो। ल्होनाक तालको पानी साथै चुङथाङ बाँधमा जम्मा भएको पानीले गर्दा नै टिस्टा नदी किनारका कैयौँ गाउँहरू डुबे र कैयौँ ज्यानधनको क्षति भयो। त्यसै पनि सेप्टेम्बर अन्तिम सातादेखि निरन्तर पानी परिरहेको थियो। त्यस रात पनि सिम-सिम पानी परिरहेको थियो। कसलाई थाहाँ थियो र! त्यो सिम-सिम पानीले त्रसित बनाउनेगरी जिन्दगी भिजाएर मनमा खिल गाडिदिन्थ्यो भनेर।
3 अक्टोबर राती 10 बजीतिर नै सूचना गराइएको थियो तर पनि बाँध खोलिने काम भएन, किन? बाँधबाट विद्युत उत्पादन गर्नका लागि पानीको फोर्स धेरै चाहिन्छ भनेर बाँध खोलिएन रे। यदि चुङथाङको बाँध खोलिदिएको भए सायद यस्तो ठुलो क्षति हुने थिएन र अगावै प्रत्येक बाँधमा र प्रत्येक प्रशासनमा खबर गरिएको भए पनि ज्यानको क्षति हुने थिएन। कुरा बुझ्दा यो फ्लड म्यानमेड डिजास्टर नै हो भन्न सकिन्छ।
म सिलगढीमा नै थिएँ। उत्तर बङ्ग विश्वविद्यालयको छात्रावासमा बस्छु। मलाई निन्द्रा धेरै प्यारो लाग्छ। निन्द्रामा सबै लौकिक समस्याबाट मुक्त हुन पाइन्छ। त्यसैले राति होस् वा दिउँसो सधैँ मोबाइल साइलेन्ट गरेर सुत्ने गर्थेँ तर त्यस रात किन हो मैले फोन साइलेन्टमा नराखि सुतेछु। राती 2 बजीतिर सहपाठीले कल गर्यो। मैले कल रिसिभ गरेँ, उसले “औ मान्छे चुङथाङको ड्याम भत्केको छ भन्ने खबर छ है, घर तिर फोन गरेर बुझ है, खबर गर घर तिर” अत्तालिएको स्वरमा भन्यो। यति सुनेर मेरो निन्द्रा छु मन्तर भयो। घर तिर फोन लगाउन थालेँ। यसबारे कसैले अगाडि नै खबर पाएका रहेछन् भने कति अझ मग्न निद्रामा सुतेका थिएछन्।
लगभग 4 बजीसम्म टिस्टा नदीले उत्तर सिक्किमको जोङ्गु, मङ्गन, डीक्चु आदि क्षेत्रलाई तहसनहस पार्दै सिक्किम राज्यको सिङ्गताम सहरलाई पनि व्यापक क्षति पुर्याइसकेको थियो। सिङ्गताम नजिकै बर्दाङको सेना छाउनीलाई पनि बगाइसकेको थियो। साथै पार्किङमा रहेका 39-वटा सेना वहानसँगै 22 जना सेना पनि त्यस रात नदीको प्रचन्ड रुपमा विलिन भए। पश्चिम बङ्गाल अन्तर्गत कालेबुङ जिल्लका केही गाउँ(रम्फू, तारखोला, मामखोला, मल्ली आदि)-लाई टिस्टा नदिले आफ्नो चपेटामा लिँदै आइपुग्यो मेरो गाउँ टिस्टा बजार। मोरो गाउँ गफूर/कपूर बस्ती खोला नजिकै अवस्थित छ। यस गाउँका प्रायः मानिसको जिवन खोलामाथि निर्भर थियो।
त्यस घटनाले मलाई दिनरात सतायो। अहिलेसम्म त्रसित छु साथै हामी सबै नै त्यस बाढीबाट भयभीत पनि भएका छौँ। मलाई घरको धेरै चिन्ता लागेको थियो। सबैलाई नै लाग्छ। अझ बिदेशिएका युवा जमातलाई बेसी लाग्छ। बाबा पनि नाईट ड्युटीबाट सिधै आइपुग्नु भएछ। रेल्वेको टनल निर्माणमा गाडी चालक हुनुहुन्थ्यो। टिस्टा बजारदेखि केही माथि लावर बोटे भन्ने ठाउँको अफिसमा। बाबाले आफ्नु स्कुटी त्यहीँ छोडेर ड्युटीको गाडी लिएर आउँनु भएछ । म त सोच्न पनि सकिरहेको थिइनँ के हुँदैछ त्याहाँ, कतिको खोला बढेको छ अनुमान लगाउनसम्म सकेको थिइनँ। मेरो गाउँ, मेरो परिवार सबैको सुर्ता लागिरहेको थियो। 2 बजीदेखि बिहान 4 बजेसम्म धेरै हल्ला खल्ला मच्चिन थालेको थियो। प्रायः सामाजिक सञ्जालतिर पनि बाढीको खबर निरन्तर आइरहेको थियो। म त्यहीँ खबर हेर्दै, घरमा फोन गर्दै सुर्तामा बसिरहेको थिएँ। निन्द्रा भने त्यस बाढीको खबरसँगै बगिसकेको थियो कता-कता।
बिहानसम्म त टिस्टाले मच्चाएको ताण्डव देश-विदेशसम्म फैलिसकेको थियो। बाटो चुँडिएको, पैह्रो गएको, घर बगाएको, मान्छे बगाएको, सरसामान, गाडी, अनेक थोक बगाएका साथै टिस्टा नदीले सर्वस्व मानिसको सातो पनि लगेको थियो। त्यो बाढीले गर्दा अनेकौँ मानिस बेघर भए, धेरै बालबालिका टुहुरा भए, बिधुवा हुने, सन्तान गुमाउने धेरै धेरै छन्। प्राप्त स्रोत अनुसार रम्फूमा 223 घर, ताराखोलामा 10 घर, मामखोलामा 3 घर, भालुखोला र मल्लीमा 45 घर, टिस्टामा बजार र टिस्टा ब्रिज गरेर 39 घर, गेलखेलामा 9 घर, र्याङमा 4 घर, बाङ्गे नजोक 22 घर, जम्मै गरेर जम्मा 355 घरहरू निर्दयी टिस्टा नदीले त्यस रात बगाएर लग्यो। अनगन्ती वाहन र मालमत्ता त खोज्ने कुरा नै भएन। तथापि धेरै मानिस त्यस बाढमा बगेर निखोज बनेका थिए। कतिका शवहरू भेटियो भने कति अझै भेटिन सकेका छैनन्। बाढीमा बगेका सेनासँगै सेना वाहनमा रहेका हात हतियार साथै बिस्फोटक वस्तुहरू पनि विभिन्न ठाउँमा भेटिएका थिए र स्वतः बिस्फोट हुन थालेका थिए। यतिकैमा एउटा बिस्फोटक वस्तु पड्किएर दुर्घटना भएको खबर समाजिक सञ्जाल अगाडि आयो। दशैँको मुखमा नै खोलाको त्रास त थियो नै अब कतै बिस्फोटक वस्तुहरू पड्किएर ज्यान त जादैन? भन्ने भय पनि मानिसहरूमा फैलिन लागेको थियो। मानिसले यस दुःखद घडीमा पनि टिस्टाको भय बोकेर दशैँ मनाए । तर मनमा भने बाढीको खिल गहिरो रोपिएको थियो।
बाढले धेरै क्षति पुर्याको छ। जल-जङ्गल, पहाड, राष्ट्रिय राजमार्ग, रोडहरू भताभुङ्ग। 4 अक्टोबर 2023 दिउँसोदेखि नै पिडित मानिस साथै सम्पूर्ण गाउँलाई नै राहत शिविरमा बसाइयो। 5 अक्टोबरदेखि नै विभिन्न सामाजिक संस्था, समूह, व्यक्तिहरूबाट राहत प्रदान गर्न थालियो। धेरै ठाउँहरूमा अहिले पनि मानिस राहत शिविरमा नै बसिरहेको छन् ।
4 अक्टोबर 2023-को घटना सम्झँदा पनि मन नै कटक्क खान्छ। एक प्रकारको निराशाले छुन्छ। तर के गर्नु आपदामा परेपछि! तथापि यस निर्दयी संसारमा ती बाढीबाट बाँच्नेहरू त छन्। जसले बाढीमा घर गुमाए, कसैले आमा गुमाए,कसैले बाबु, छोरा-छोरा, दाजु-भाइ, आफन्तजन इत्यादि गुमाएका छन् जसलाई बाढ पिडित भन्छौँ। 4-5 महिना बितिसक्दा पनि क्षेत्रिय प्रशासनबाट केही पहल चलाएका छैनन्। न त केन्द्र सरकारबाट पहल गरियो न त राज्य सरकारबाट नै। न त यो आपदालाई प्राकृतिक आपदा भनेर नै घोषित गरियो। यदि प्राकृतिक आपदा घोषित गरिएको भए केन्द्र सरकारबाट आपदाको कम्पनसेसन त पाउँने थिए। अहँ गरिएन। किन गरिएन ? सरकारका निम्ति हामी केवल भोट बैङ्क मात्र हौँ? हामीप्रति सरकारको केही दायित्व छैन?
3-4 महिन बितिसक्दा बल्लतल्ल क्षेत्रीय प्रशासन जिटिए (GTA)-ले केही राहत दिने निधो गर्यो त्यो पनि एन एच पी सी (NHPC)- सँग मिलेर। चर्चा छ NHPC-ले 10 लाख क्षतिपूर्तिका लागि दिन्छ रे। त्यसो भए जिटिए दलालीको काम किन गर्दै छ बिचमा आएर ?? राज्य सरकारले तत्काल काम चलाउनका लागि भनेर 75 हजार त दियो। तर त्यति रमकले एउटा भान्सा घर धरि राम्ररी बनिदैन।
अँझै पनि बाढी पिडितहरू धेरै ठाउँहरूमा राहत शिविरमा नै जीवन चलाइरहेका छन्। मेरो गाउँ टिस्टा बजारमा पनि अझ 9-10 परिवार सार्वजनिक भवन (राहत शिविर)-मा नै जीवन बिताइरहेका छन्। मानिहरूले घर पाएका छैनन्। के यो राज्य सरकार र क्षेत्रीय प्रशासनको दायित्व होइन र ? के यो एनएचपीसी (NHPC)-को दायित्व होइन र ?
यो विध्वङ्सको कारण के हो त ?
हाम्रो अगाडि गम्भीर प्रश्न तेर्सिएको छ। यो वृहत् दुर्घटना घट्नुको कारण टिस्टा नदीमा बनेका जल विद्युत बाँधहरू हुन् भन्ने आधार बलियो छ।
पहाडमा प्रत्येक वर्ष भल-पैह्रो जाने, सडक चुँडिने, घर धस्किने, क्रम त निरन्तर नै थियो। 2023 अक्टोबरमा त विनाशको ठुलो उदाहरण प्रत्यक्ष रूपमा देखियो। 15 वटा चल्दै गरेका जल विद्युत बाँध र थातीमा रहेका अझै 26-वटा बाँध परिकल्पना साथै टिस्टा किनारका पहाडमा सुरुङ खनेर रेल कुदाउने अनि चौडादार राजमार्ग बनाउने सिलसिलाले निम्त्याउने विनाश त थप बाँकी नै रहेको छ। अब रेलले कति विनाश गर्ने हो कसलाई के थाहा। प्रकृतिसित खेलवाड गर्ने परिणाम त हामीले देखिरहेका नै छौँ। भविष्यमा यसको सामना पहाड तराई र डुवर्सले गर्नुपर्छ भन्ने आभास अहिले नै सबैलाई भइरहेको छ।
4/10/2023 को प्राकृतिक विपत्ति होइन, यो म्यानमेड डिजास्टर हो। आज भन्दा 55 वर्ष अघि 4 अक्टोबर 1968 को बाढी भने पक्कै प्राकृतिक थियो तर 2023 को बाढी भने म्यानमेड डिजास्टर नै हो। यसको पछाडि प्राकृतिक कारण पक्कै छ (Cloud brust)। तर नाफाखोरहरू जहिल्यै आफ्नो प्रोफिटको चक्करमा हुन्छन्। नदीमा विद्युतीय पावर प्लान्ट बनाएर पैसा छाप्ने सम्भावना प्रवल छ र यस्तो सुलभ अवसर देखेर नै हाइड्रोपावरहरू निर्माण भएका छन् । हाइड्रो पवरका लागि सटिक ठाउँ थिएन 27 माइल, कालिझोडा र सिक्किममा निर्मित चुङथाङ ड्याम। तरै पनि फाइदाका लागि ती ठाउँमा नाफाखोर उद्योगपतिले ड्यामको निर्माण गरे। सरकारहरूले अनुमति पनि दिए। अहिलेको बाढीमा फुटेको चुङथाङ ड्यामको निर्माण हुँदै गर्दा क्षेत्रीय बासिन्दाले सामूहिक विरोध गरेका थिए। तर नदीमा पैसाको मुहान देख्नेहरूले जनमानसको आवाज सुनेनन्।
हालै लालीगुराँस समूहबाट प्रकाशित टिस्टा टेन्सनमा उल्लेख गरिएको तथ्य अनुसार "2003-2021 सम्म टिस्टा नदीमा सरकारी र निजी जलविद्युत केन्द्रका योजनाहरू सुरु हुदाँ 6-वटा जति शोधपत्रहरूमा हिमालयमा हिउँ पग्लेर विशाल तालहरू बनिनु र त्यसबाट उत्पन्न हुने खतराबारे चेतावनी दिइएकै थियो। शोधकर्ताका अनुसार, अत्यन्त खतरनाक अनि जुनै समयमा पनि बाढी र प्रकोपको जोखिम पर्नसक्ने 14 तालहरू बताएका थिए र ती तालहरू आज पनि डेन्जर जोनमा नै छन्। थाहाँ छैन कुन समय ह्लोनाक ताल जस्तै ती तालहरू फुटेर टिस्टा नदीले अर्को बर्बादी मच्चाउने हो। ती तालहरूमध्ये ल्होनाक ग्लेसियर र यसको बढ्दो तालको कुरा 6 वटा रिसर्च पेपरमा उल्लेख गरिएको छ।" यति हुँदा हुँदै पनि सिक्किम र पश्चिम बङ्गालमा एक पछि एक जल विद्युत केन्द्रहरू निर्माण हुन थाले। ग्लोबल वार्मिङले गर्दा संसारभरि नै प्राकृतिक परिवर्तन निरन्तर रुपमा चलिरहेको छ। सन् 2013-को केदारनाथ प्रकोपपछि भारतमा पनि निकै पर्यावरण विमर्शहरू हुन थाले। टिस्टा टेन्सन पत्रिकामा उल्लेख गरे अनुसार लगभग 6-हजार जति मानिसहरूले ज्यान गुमाए। तै पनि हामी गम्भीर भएनौँ, प्रकृतिबारे सोचेनौँ। उत्तराखण्ड र हिमाचलमा पनि एक पछि एक गर्दै प्रकृति विपरित प्रोजेक्टहरू सुरु भएका थिए, जस्तै - जल विद्युत केन्द्रहरूको निर्माण, पहाडमा टनेल, फराकिलो सडक इत्यादि। ठिक त्यस्तै हाम्रो यता पहाडी भेकमा पनि रेलवेका लागि टनल खन्ने, थप बाँधहरू निर्माण गर्ने र फराकिलो बाटो बनाउने प्रकृति विपरित कामहरू भइरहेका छन्। एक प्रकारले हेर्दा म विकास विरुद्ध देखिन सक्छु तर म कदापि विकास विरोधी होइन। प्रकृतिलाई संरक्षण गरेर पनि विकास गर्न सकिन्छ भन्ने मेरो मत छ। ती प्रोजेक्टहरूका लागि जमिन, पर्यावरण, हेरिङ, रिपोर्ट इत्यादि सटिक नहुँदा-नहुँदै गरिएका कामको विरोधमा म लेख्छु, बोल्छु।
टिस्टा टेन्सनमा उल्लिखित प्रख्यात बाँध विशेषज्ञ तथा परिवेशविद् हिमांशु ठक्करका भनाइअनुसार यस विपत्तिका कारणहरू प्राकृतिक होइनन्, यो म्यानमेड डिजास्टर हो। उनका भनाइ यस प्रकार रहेका छन्;
1. धेरै शोधकर्ता बाहेक पनि सन् 2013मा नेशनल रिमोट सेन्सिङ सेन्टरका वैज्ञानिकहरूले सिक्किम स्टेट डिजास्टर म्यानेजमेन्ट अथोरिटीलाई 5,245 मिटरको उचाइमा स्थित दक्षिण ह्लोनाक ताल सुरक्षित नै छैन भनेर जानकारी दिएका थिए। ताल फुटेर बाढी आउने ज्यादा सम्भावना छ र चुङथाङ, डिक्चु, सिङ्ताम, रम्फू आदि ठाउँहरू प्रभावित हुनेछ।
2. टिस्टा उर्जा बाँध पूर्ण रुपमा कङ्क्रिट बाँध होइन। ढुङ्गा र कङ्क्रिटको (रक फिल्ड कङ्क्रिट बाँध) हो। त्यसैले गर्दा विपद्को खतरा बढ्यो।
3. 1200 मेगावाट क्षमताको यो बाँध ठूला बाँध अन्तर्गत पर्दछ। बग्ने नदीमाथि निर्मित बाँध (रन अफ द रिभर हाइड्रो-पावर प्रोजेक्ट)-का हिसाबले यो देशको दोस्रो ठूलो बाँध हो। तर, बाँधको सुरक्षाबारे ध्यान राख्ने जिम्मेवारी जुन केन्द्रीय निकायको छ, त्यही सेन्ट्रल वाटर कमिसन (CWC) को नेसनल रेजिस्टरमा टिस्टा उर्जाको नामसमेत दर्ता भएको छैन। त्यसैकारण बाँध सुरक्षा ऐनअनुसार के यो बाँध 'सेफ्टी मेकानिज्म' अन्तर्गत थियो ? भन्ने प्रश्नबारे विशेषज्ञहरूले शङ्का गरेका छन् ।
4. चुङ्थाङदेखि 20 किलोमिटरमाथि CWC-को एउटा मौसम पूर्वानुमान स्टेशन छ। जसको एउटा काम नै हो फ्ल्याश फ्लडबारे प्रारम्भिक चेतावनी जारी गर्नु। 3 अक्टोबर राति 10 बजेपछिको कुनै रेकर्ड भेटिएन। यसको केही समयपछि नै विपत्ति आएको थियो।
5.बाँधको पानी छोड्ने (स्पिल अवे) क्षमता कम्ति थियो । यो बाँधको 7 हजार क्युबिक मिटर प्रति सेकेन्ड पानी छोड्ने क्षमता थियो। ग्लेसियल लेक फुटेको बाढी (GLOF) र भारी वर्षाको स्थितिमा त्यो पर्याप्त थिएन।
विकासका नाममा टिस्टा नदी र यसका छेउछाउ निरन्तर भइरहेका अनियन्त्रित कार्यले विनाश निम्त्याएको छ। नदीका छेउछाउका जीवनको भविष्य अनिश्चिततामा छ। कर्पोरेटहरूलाई न त जनमानसको सरोकार छ न त प्रकृतिको। नाफाखोर उनीहरू केवल टनल खनेर होस्, वा जलविद्युतका निम्ति अत्याधिक बाँध बनाएर होस्, मुनाफा मात्र हेर्छन्। ती मुनाफाखोरहरूले पनि क्षेत्रिय प्रशासनबाट समर्थन पाउँछन्। प्रशासन पुँजीपतिका यसै पनि कठपुतली बनेका छन्। यस्तो अवस्थामा प्रकृतिको सुरक्षाबारे हामी पनि सोच्दैनौँ। हाम्रो दुर्बलता। प्रकृतिको विनाशले मानव सभ्यतालाई गहिरो आघात पुग्छ। यो कुरा थाहा नभएको हो र? प्रकृतिसँगको खेलवाड गर्दा हुनसक्ने खतराको उदाहरण त हामीले देख्यौँ नै। प्रकृतिसँग खेलवाड गरेर अझ कति निम्त्याउने यस्तो भयानक विध्वंस?
***
No comments:
Post a Comment