Sunday, May 19, 2024

फासीवाद र नव-उदारवादविरोधी 'जनचेतना यात्रा'को अनुभव

अनुपा तामाङ



भारतको संविधानमा भारतलाई धर्मनिरपेक्ष देश भनेर घोषित गरिएको छ। यद्यपि के यो देश साँच्चै धर्मनिरपेक्ष देश हो?आजको समाजमा यो प्रश्न बारम्बार उठ्छ। यस्ता अनेक प्रश्न स्पष्ट देख्न वा अनुभव गर्न सकिरहेका छौँ हामी यसबेला। 6 दिसम्बर 1992 को दिनलाई भारतको इतिहासमा एउटा कालो दिन भन्ने गरिएको छ, कारण त्यही दिन विश्व हिन्दु परिषद लगायत उग्र-हिन्दुत्ववादी कार्यकर्ताहरूद्वारा मुस्लिम धर्मको पवित्र धर्मस्थल बाबरी मस्जिद ध्वस्त पारिएको थियो। संयोगवश यही दिन अम्बेडकरको मृत्युदिन पनि थियो।  

सोही दिनलाई स्मरण गर्दै विगत 6 दिसम्बर 2023 कोलकताबाट बनारससम्मको जनचेतना यात्रा आरम्भ भएको थियो। उक्त यात्रा पश्चिमबङ्गालको विभिन्न जिल्ला, झारखण्ड र बिहार राज्यका विभिन्न भाग भएर अन्तत: उत्तर प्रदेशको बनारसमा काशी हिन्दु विश्वविद्यालयको गेटमा समाप्त भएको थियो। यस यात्राको उद्देश्य आरएसएस-बिजेपीको तानाशाही हमला, नव-उदारवाद र हरेक क्षेत्रको फासीवादी प्रवृत्तिलाई विरोध गर्नु र यसबारे जनतामाझ जागरूकता बढाउनु, धर्म र जातपातको नाममा फैलाइएका राजनीतिविरुद्ध गणतन्त्र, प्रगति र समानताको सङ्घर्षलाई बलियो बनाउन अनि यसबारे प्रगतिशील र क्रान्तिकारी वामपन्थी समूहहरूलाई समावेश गर्नु थियो। 

मेरो जीवनमा यस्तो यात्रा यो नै पहिलो थियो। भारतको २० भन्दा बढी वामपन्थी र प्रगतिशील विचारका सङ्गठनहरू, छात्रछात्रा साथै विभिन्न व्यक्तिहरूको पहलमा यसको आयोजना गरिएको थियो। दार्जिलिङ्ग पहाड, तराई र डूवर्स क्षेत्रबाट म स्वयम् बिहारको राजधानी पटनामा सहभागी बन्न पुगे। पहाडको एउटा सानो चियाकमानमा मेरी आमा लगायत लाखौँ कमानेहरूको पीडा र सङ्घर्ष देखेर हुर्केकी म। मैले यी ८ दिनको अवधिमा एउटा नयाँ अनुभव समेटेँ। कारण यो मेरो पहिलो कार्यक्रम थियो जहाँ मैले यति धेरै विचारधारा भएका सङ्घ-संस्था, सङ्गठन, ब्यक्तिहरू एकजुट भई मिलेर काम गरेको देखेँ र साच्चै भन्नुपर्दा यो मेरो निम्ति एउटा छुट्टै किसिमको अनुभव थियो जसले म उर्जावान बने। बिहारका स्थानीय मानिसहरूको यात्राप्रति लगाव प्रेरणादायक थियो। धेरैले यात्राको हिस्सा नभए पनि उनीहरू घरबाटै वा सब्जी दोकान, चिया दोकानमा बसेर नै भए पनि धेरै कुरा बुझ्ने कोसिसमा थिए र साच्चै देशको स्थितिबारे उनीहरूलाई चासो थियो। बिहारको त्यो सानु गाउँ कोनारका ती महिलाहरूको साहसी सङ्घर्षबारे कुरा नगरी मेरो यात्राको वर्णन अधुरो हुने छ। उनीहरूको रक्सी कारखाना विरूद्ध एकवद्ध सङ्घर्षले नै मालिकहरूलाई कारखानामा ताल्चा लागाउन बाध्य बनायो र त्यसको फलस्वरूप आज त्यहा नयाँ नियम बनियो-- बिहारभरि नै रक्सी किन-बेचमा निषेध लगाइएको छ।

  कतिपय गाउँ र औद्योगिक क्षेत्र हेर्दा लाग्छ, साच्चै यो देशलाई पुँजीवादले निलिसकेको छ। बिहारबाट यूपी पस्दा चन्दौलीको त्यो चुनौतीपूर्ण समयले अझ मलाई थप जोश र ऊर्जा दियो। सङ्घर्षशील जीवनलाई नजिकबाट चिन्ने मौका मिल्यो। हामीले हिँडेको बाटोमा बाधा-अड्चन आए कसरी हल गर्ने भन्ने कुरा साथीहरूबाट सिख लिएँ। साच्चै ती दिनहरू अविस्मरणीय छन्। यात्राको समक्षमा मेरो स्वास्थ्यमा कतिपय समस्याहरू भए तापनि साथीहरूको जोश र हौसलाले गर्दा आधा बिमारी त्यसै ठिक भएको महसुस भयो। मैल यो यात्राबाट धेरै ऊर्जा पाएकी छु र मलाई लाग्छ आउने दिनहरूमा पनि यस प्रकारको यात्राको धेरै खाँचो छ। यस्ता यात्रा जसले एकजुटता र सङ्घर्ष गर्न सिकाउँछ। यात्रा -- किनभने देशलाई परिवर्तनको खाँचो छ।

सन्  2014 देखि केन्द्रमा आसिन भाजपा सरकारले नयाँ-नयाँ जनविरोधी नियमकानुन ल्याएको छ। ती कानुनहरूले सोझै खटीखाने आम मानिसमाथि कसर पार्दछ। शिक्षाको निजीकरण, स्वास्थ्यको व्यापार, राष्ट्रीय सम्पतिको निजीकरण जस्ता कुराहरूले हामीलाई स्पष्ट बुझाउन खोजिरहेको छ, यो सरकार आमनागरिकको सरकार होइन, पुँजीपति वर्गको हितैषी हो। त्यसैले यसको प्रभाव साधारण मजदुरवर्गले भोग्नु परिरहेको छ। 

भाजपा सरकार आफ्नै हिसाबले चलिरहेको छ। संविधानमा रहेको संसदको विन्टर सेसन चलिरहेको बेला विपक्षी दलको 141 जना संसद निलम्बनमा रहँदा कुनै चर्चा-परिचर्चा बिनै  नयाँ बिल 'न्यू क्रिमिनल बिल' संसद भवनबाट पारित गरियो। सरकारको दबदबा हामीले यस्ता घटनाबाट जान्न सक्छौँ।  चर्चा-परिचर्चा बिनै बिल कसरी पास भयो त? यस्ता घटना बारम्बार कोभिडकालमा पनि देखिएको थियो। यसबाट सरकारको मनमानी चलिरहेको छ भन्ने कुरा स्पष्ट बुझिन्छ। यी सबै कुराहरू नागरिकको विरुद्धमा मात्र नभएर लोकतन्त्रको पनि विरुद्ध छ। यी कानूनहरू केवल उनीहरूको राजनैतिक सुरक्षाको निम्ति बनाइएका हुन्। थोरैद्वारा धेरैमाथि शोषण बढ्दै गएको समयबाट निकास पाउनका निम्ति सही सङ्घर्षको खाँचो छ। चुनावले मात्र फासीवादलाई हराउन सक्दैन। यसका लागि जनचेतना र जन आन्दोलन नै चाहिन्छ। त्यसको तयारीमा  लागौँ।


No comments:

Post a Comment