टिका ‘भाइ’
अनुहार रुन्चे पारेर के हुन्छ?
अरूसित रिस देखाएर के हुन्छ?
रोस्ट गरेर खानुस्,
फ्राई गरेर खानुस्,
अथवा
करी बनाएर
गोर्खाल्यान्ड-कै भेजो खाइरहनू भएको छ।
माटो भनेको मासु पो थिएछ,
अस्तित्व भनियो पासो पो थिएछ,
छोरा-छोरीका लागि काम भनेर
लुकी लुकी झन्डा समात्नु भो होला,
आफ्नै लागि दाम भनेर
पार्टी कार्यालयतिर धाउनु भो होला
सडकका अलकत्रा ताछेर
अथवा विकासका रड-सिमेन्टहरू थापेर
जति बिल्डिङ टालिए
अथवा गाडी, भोज भत्तेरमा फालिए
हो त्यहाँ त्यहाँ छ गोर्खाल्यान्ड!!
नारामा कहाँ छ? जुलूसमा कहाँ छ?
डाँडामा कहाँ छ? मुलुकमा कहाँ छ?
जूठा अनि झूठा पाउहरू मल्दै
अथवा
सरकारी कोषमा राल चुहाउने
हजुरको अनन्त भोकमा पनि छ गोर्खाल्यान्ड
चोरहरू थिए अगुवा सबै,
कमिसनको तेलमा चल्ने दलालहरू थिए,
अथवा
ति सबै गोर्खाल्यान्डकै हत्याराहरूबाट पोषित
पैसाका दासहरू थिए।
बुझेरै पनि आँखा चिम्लने
तपाईँको कायर समर्पणमा छ गोर्खाल्यान्ड!
पोलेर खानुभो,
या काँचै निल्नुभो,
तपाईँकै भोको पेटमा छ गोर्खाल्यान्ड!!
No comments:
Post a Comment