Sunday, July 31, 2022

भगत सिंह : प्रतिज्ञा समारोह

नारायण काफ्ले



गत 23 मार्च (2022) का दिन डुवर्सको बाग्राकोटमा प्रतिज्ञा समारोह आयोजना गरिएको थियो। भारत स्वतन्त्रता सङ्ग्रामका समयमा आफ्नो प्राणको बलिदान दिँदै निरङ्कुश ब्रिटिस साम्राज्यको फाँसीको फन्दामा परेका सुखदेव, भगत सिंह र राजगुरुका सम्झनामा यो कार्यक्रम आयोजना गरिएको थियो। यी सङ्ग्रामी युवाहरूको बलिदानको मूल्याङ्कन साथै उनीहरूले बनाउन चाहेको समाजको परिकल्पनाबारे चर्चा यस कार्यक्रमको केन्द्रविन्दु रहेको थियो। यस आयोजनालाई सफल बनाउन लालीगुराँस समूहले एक हप्ता अघिदेखि नै तयारी थालिसकेको थियो। कार्यक्रममा खुल्ला निमन्त्रणास्वरूप पहाड, तराई र डुवर्स क्षेत्रमा व्यापक पोस्टिङ गरिएको थियो र यसमा युवा साथीहरूले निकै उत्साहका साथ आफ्नो सहभागिता जनाएका थिए। डुवर्सका सचेत नागरिकहरूको संयोजन साथै लालीगुराँस समूहको आयोजनामा सम्पन्न यस कार्यक्रममा डुवर्स, तराई, पहाड, सिक्किम, कलकत्ता लगायतका विभिन्न प्रगतिशील व्यक्तिहरूको उपस्थिति रहेको थियो। लालीगुराँस समूहको सामूहिक गीतबाट सुरु भएको यस कार्यक्रममा विभिन्न जनवादी गीत, कविता, वक्तव्य साथै नाटक पनि प्रस्तुत गरिएको थियो। जनवादी गायक अजय थापा, युवा कवि रिया राई, राधिका तामाङ, प्रतीक कामी, साहिल गुरुङ, लोक गायक गोकुलसिंह थापा, नेपाली सङ्गीत जगतका प्रसिद्ध गायक पुष्पण प्रधान, लालीगुराँस समूहका संस्कृतिकर्मी साथै गायक प्रसिद्ध राई, जनवादी बाल गायक सार्थक र सप्तक, साथै लालीगुराँस समूहको नाटक प्रस्तुति रहेको थियो। थुप्रै उत्साहित युवाहरूको सहभागितामा सम्पन्न यस कार्यक्रममा चित्रकला प्रदर्शनी पनि आकर्षक ढङ्गमा भएको थियो। युवा चित्रकार अभिषेक राई, देवेन्द्र राई, हिमालय रोय र श्रवण गुरुङहरूले चित्रकला प्रस्तुत गरेका थिए। भगत सिंहका लेख, राजनैतिक दस्ताबेज र चिठ्ठीहरूका सङ्कलन नेपालीमा अनुवाद गरेर पुस्तकाकारमा विमोचन कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको थियो। लालीगुराँस प्रकाशनद्वारा प्रकाशित यस पुस्तकमाथि क्रमशः छेवाङ योञ्जन, रूपेश शर्मा र सुमेन्द्र तामाङले वक्तव्य राखेका थिए। यस पुस्तकमा भगत सिंहका बाह्र वटा लेख, छवटा चिठ्ठी र आठ वटा राजनैतिक दस्ताबेजहरूको अनुवाद सङ्ग्रहित छन्। विश्वभरि नै देखिँदै गरेका सामाजिक, आर्थिक, राजनैतिक विसङ्गति र यसले निम्त्याएका निराशाले युवा जमातलाई निल्न आँटेको छ। यस बेला यो पुस्तकले युवा मनहरूमा परिवर्तनका निम्ति आफ्नो भूमिका तर्फ सचेत गराउन सक्ने कुरामा आशावादी बन्न सकिन्छ। यसै ध्येयका साथ यस पुस्तकलाई प्रकाशमा ल्याइएको छ। प्रतिज्ञा समारोहमा यस पुस्तकको विमोचनले युवा साथीहरूलाई सकारात्मक प्रभाव पारेको प्रत्यक्ष अनुभव पनि रहेको छ।

यस कार्यक्रमले वर्तमान समाजमा भगत सिंहको सान्दर्भिकता झन् बढेर गएको सङ्केत गरेको थियो। वर्तमान भारतवर्षमा अङ्ग्रेज साम्राज्यले उबेला रोपेर गएको साम्प्रदायिक घृणा मौलाएर लहलह भएको छ। एकातिर आर्थिक ध्रुवीकरण बढेर गएको छ भने देशैभरि महँगाई र बेरोजगारीले आम श्रमजीवी जनताको हड्याङ खुस्काइ सकेको छ। तर यी बुनियादी समस्याहरूको अचुक औषधीका रूपमा देशका सत्तासीन वर्गले आम जनतामाझ घृणा र साम्प्रदायिक दङ्गाको भरपुर डोज दिइरहेको छ। बहुसङ्ख्यक जमातले अल्पसङ्ख्यक समुदायप्रति लगातार आक्रामक व्यवहार गर्न थालिसकेको छ। यसैबिच पुँजीवादको स्वार्थ अनुरूप जनविरोधी ऐन-कानुनहरू संसदबाट पारित भइरहेका छन्। तर जनता साम्प्रदायिक घृणा नामको धतुरोले लट्ठ भएर बौलाइरहेका छन्। यस्तै जटिल परिस्थितिबाट समाजलाई मुक्ति कामी बाटोतर्फ दोहोर्‍याउने महत्त्वपूर्ण भूमिका युवाहरूको काँधमा आइपरेको अवस्था छ। यो साधारण कार्य होइन तर, युवाहरूले समाजप्रति आफ्नो कर्तव्य बोध गरे यो त्यति जटिल कार्य पनि होइन भन्ने प्रेरणा भगत सिंह जस्ता क्रान्तिकारी योद्धाबाट लिन सकिन्छ।


No comments:

Post a Comment