Sunday, July 31, 2022

आखिर चियाको बुटामा ‘सुन’ फलेन

 छुदेन काविमो


घनघोर हरियो जंगल घुम्दा नि आनन्द नमिले के गर्नुहुन्छ ? केही नगर्नुहोस्। निश्चिन्त भएर दार्जिलिङ आउनुहोस्। चियाबारी घुम्नुहोस्। ठूल्ठूला जंगलहरूमा नपाएका आनन्द यतै घुम्दा पाउनुहुनेछ। हरिया चियाका बुटाभित्रै कतै भेट्टाउनुहुनेछ आनन्द।

हो, यो त्यही चियाको बोट हो, जसलाई रोप्न हाम्रा बाजे, बराजु र बज्यैहरूले जंगल फाँडे। बाघ-भालुसँग लडे। ढुंगा फोरे। रगत पसिना एक गरे। किनकि उनीहरूलाई सपना देखाइएको थियो, ‘चियाको बुटामा सुन फल्छ रे !’

तर, दार्जिलिङमा चिया उमार्न थालेको आज दुई सय वर्ष हुन लागेको छ। चियाको बोटले दार्जिलिङको नक्सा बदलिदिएको छ। यही बोटमा पलाएको ‘दुईपाते एक सुइरो’ ले संसारको स्वादै बदलिदिएको छ। तैपनि चिया उमार्नेहरूको हालत त उस्तै छ। जस्तो पहिले थियो– सुरक्षाविहीन, समृद्धिविहीन, अधिकारविहीन।

आज पनि उनीहरू त्यही साइरनको आवाजसँगै उठ्छन्। आत्तिँदै चिया कमान पुग्छन्। दुई सय रुपियाँ दैनिक हाजिरामा दिनभरि काम गर्छन्। बेलुकी थाकेर हैरान भई घर फर्किन्छन्। ‘लुटी ल्यायो, भुटी खायो’ मै कमानेको जीवन चलिरा’छ। योभन्दा बढी उनीहरूले के नै पो सोच्न भ्याउँछन् र ? किनकि त्यही दुई सय रुपियाँ हाजिरा त छ, जसमा कमानेले सिंगै घर चलाउनुपर्छ। छोरा–छोरीको स्कुल फी तिर्नुपर्छ। बिमारी बुवाको औषधि किन्नुपर्छ। सबथोक गर्नुपर्छ।

उसो त, सरकारले कागजमा चिया श्रमिकहरूका निम्ति धेरै थोक दिएको छ। लामो संघर्षपछि बनेको प्लान्टेसन लेबर एक्टले हर सुविधा प्रदान गर्ने भनेको छ। स्वास्थ्य, शिक्षादेखि लिएर श्रमिकहरूलाई जरुरत पर्ने हरेक कुरा दिने वाचा गरेको छ। तर, सन् 1951 मै बनेको यो कानुन 2022 मा पनि चियाबारीसम्म पुग्नै सकेको छैन। यस्तो लाग्छ, सरकारको दैलोबाट निस्केर मालिकको घरको बलेँसी हुँदै आउने यो कानुनले बाटो बिराएको छ, जसलाई चियाबारीसम्म ल्याएर लागू गराउनका लागि श्रमिकहरूले अझै अर्को संघर्ष गर्नै बाँकी छ।

त्यसैले त चियाबारीको अवस्था देख्दा लाग्छ, कमानेको जीवन त दुःखको रोटेपिङ नै हो। दुःखबाट घुम्न सुरु गर्छ। फर्केर फेरि दुःखमै आएर रोकिन्छ।

प्रिय पाठक ! तपाईं चिया त पिउनुहुन्छ नि, होइन ?

सधैँ पिउनुहुन्छ भने एउटा दिनको सुरुवात चिया नपिई गर्नुहोस्। कति खल्लो बन्छ है दिन ? खासमा हरियो चिया उमार्नेहरूको जीवन उस्तै खल्लो छ। चियाको बुटाबिनाको दार्जिलिङका पाखाहरू कति नियास्रो देखिन्छ होला है ? एकचोटि कल्पना गर्नुहोस् त ! हो, खासमा त्यस्तै नियास्रो छ चिया उमार्नेहरूको कथा पनि, जुन कथाको सुरुवात वर्षौंअघि चीनबाट भएको थियो।

377 वर्षअघिको घटना हो त्यो, जतिबेला चीनमा उमारिएको चियाको पहिलो बाकस लन्डन पुगेको थियो।

त्यो जमाना अर्कै थियो। आज जुन चिया पिएर आम मान्छेहरू दिनको सुरुवात गर्छन्, त्योबेला यही चिया आम मान्छेले सुँघ्न पनि पाउँदैनथे। यो त हुनेखानेहरूले मात्रै पिउने थोक थियो।

तर, त्यही चिया पिउन सिकाउने चीन त दूरदर्शी देश थियो। ऊ त यही चियामार्फत आफ्नो बजार दुनियाँमा फैलाउन चाहन्थ्यो। त्यही भएर सन् 1645 मै चियाको एउटा बाकस उसले लन्डन पुर्याँइसकेको थियो। हल्यान्ड हुँदै लन्डन पुगेको त्यही चियाको बाकस त थियो, जहाँ रहेको चिया–रङ पिएपछि नै अंग्रेजहरूमा नयाँ स्वादको लत बस्दै गयो, जुन लतलाई उनीहरूले दुई सय वर्षपछि भारत आइपुगेर पनि बिर्सिन सकेनन्।

सन् 1833 को कुरा गरौं, जतिबेला लन्डनमा चियाको आपूर्ति ह्वात्तै बढेर गएको थियो। हठात् ब्रिटिस र चीनमाझको व्यावसायिक सम्झौता भंग भइदियो। ‘अब चियाको यो आपूर्तिलाई कसरी पूरा गर्ने हो ?,’ ब्रिटिसहरूले चिया उमार्ने सपना फेरि देख्न थाले। फलस्वरूप नै लर्ड विलियम बेन्टिङ्कले एउटा कमिटी बनाए। त्यही टी कमिटी थियो, जसले 1834 मा दुई हजार चियाको बिरुवा असम पुर्यािए। र, चिया खेती सुरु गरे।

त्यसको ठीक एक सालपछि हो, डिड अफ ग्रान्टमार्फत दार्जिलिङलाई ब्रिटिसले सिक्किमबाट लिएको। हिमाल हेर्दै बस्न मिल्ने दार्जिलिङ उतिबेला जंगलहरूले घेरिएको थियो। मौसम चिसो रहेको दार्जिलिङमा चिया खेती सम्भव होला त ? अंग्रेजहरूले यता पनि दिमाग खियाउन थाले।

चिया खेतीबारे सोच्न थालेकै बेला हो, 1839 मा डा. क्याम्पबेल दार्जिलिङ आइपुगे। आउनासाथ उनले दार्जिलिङका जंगलहरूमा सर्वे सुरु गरिहाले। पहाडका पाखाहरूमा फटाकफुटुक चिया रोप्न थाले। अनि त 1856 को त्यो साल आयो, जुन सालदेखि दार्जिलिङमा व्यावसायिक रूपले नै चिया खेती सुरु भयो। लेबोङ, मकैबारी र आलुबारी हुँदै सुरु भएको चिया खेतीले यति चाँडो दार्जिलिङमा प्रसिद्धि कमायो कि सरकारले दसदेखि बाह्र रुपियाँ प्रति ऐकर गरेर जमिन लिलाम नै गर्न थाल्यो। तब त दार्जिलिङको नयाँ नक्सा बनिँदै गयो। चालीस वर्षको छोटो समयमै दार्जिलिङमा 186 वटा चिया कमान खोलियो।

डा. क्याम्पबेलले लेखेका छन्, ‘1839 मा दार्जिलिङमा एक सय जनामात्र मानिस थिए।’ तर, उनले त्यो बेला सोचेको दार्जिलिङ पक्कै अहिलेको सहरकेन्द्रित दार्जिलिङ नै थियो। किनकि त्यो बेलाको रहल दार्जिलिङ त जंगलको घारी थियो। बाटोघाटो थिएन। यस्तो जंगलभित्र क्याम्पबेलले कसरी पो सही जनसंख्या खोज्न सक्थे र ?

तर, यति कुरा त पक्कै थियो कि दार्जिलिङको जनसंख्याले मात्रै जंगल फाँडेर चिया खेती गर्न यहाँ सम्भव थिएन। पहाडका थुम्काहरूमा बस्ने मान्छे कति पो थिए होलान् र ? लेक बेँसीमा गाई–गोरुको गोठ सारिहिँड्ने मान्छे कति नै पो थिए होलान् र ? त्यसैले अंग्रेजहरूले नयाँ आइडिया निकाले। चारैतिर हल्ला फिँजाए– ‘चियाको बुटामा सुन फल्छ रे !’

त्यसपछि त सबैतिर हल्ला फैलिँदै गयो। दुःखले रोइरहेका चारैतिरका मानिसहरूले नयाँ सपना देख्न थाले। चियाको बुटामा सुन खोज्न मान्छे ह्वारह्वार्ती दार्जिलिङ भित्रिन थाले। जंगल फाँड्न थाले। ढुंगा फोर्न लागे। बाघ–भालुसँग लडेर चिया रोप्न थाले। अनेक ठाउँहरूमा फलामका मेसिन बोकेर पुर्याउन थाले।

तब त दार्जिलिङमा चिया खेती सुरु भयो।

यो त्यही समय थियो, जतिबेला चिसोमा बस्न सक्नेहरू चियाको बोटमा ‘सुन’ खोज्न दार्जिलिङ आइरहेका थिए। गरममा बस्ने आदिवासीहरू ‘धीवा खाँजी’ भन्दै असम र डुवर्सतिर गइरहेका थिए। 

‘चल मिनि, असम जाबो / देशे बढी दुःख रे !’ 

[हिँड् मिनि आसाम जौँ / देशमा बडो दुख नि !’]-- आदिवासीहरूले असमका चिया–कमानहरूमा गीत गाइरहेका बेलाको कुरा हो यो। दार्जिलिङका पाखाहरूमा भने रामायणका हरफहरू गुन्जिन थालेका थिए। उतिबेलाको दार्जिलिङे समाज अलग थियो। 1835 को डिड अफ ग्रान्ट हेर्दा लाग्छ, त्यो बेलासम्म आधिकारिक रूपले दार्जिलिङमा लेप्चा भाषा प्रयोग गरिन्थ्यो। तर, चिया बगानको समाज मिश्रित भाषाहरूले बनिँदै थियो। कमानको एउटा पाटोमा राईहरू बस्थे, उनीहरू राई भाषा नै बोल्थे। अर्को पाटोमा लिम्बूहरू बस्थे, लिम्बू भाषा नै बोल्थे। गुरुङ, भुजेल, तामाङ, मगर, कामी, दमै, छेत्री, बाहुन सबैको कुरा उस्तै थियो। तर, चियाबारी त दार्जिलिङको साझा उद्योग बन्दै थियो, जहाँ हरेक जातका मानिसहरू काम गर्थे। उनीहरूलाई दुःखमा सुस्केरा हाल्न एउटा साझा भाषा पनि त चाहिएकै थियो। ठीक त्यही बेलाको कुरा हो, चियाबारीका पाखाहरूमा गाइने भानुभक्तको ‘रामायण’ र यसका श्लोकहरू यति प्रसिद्ध बन्दै गए, जसको फलस्वरूप नेपाली भाषा दार्जिलिङको आम भाषा बन्न पुग्यो।

अहिले पनि दार्जिलिङमा आदिकवि भानुभक्त आचार्यको सालिक नेपालमा भन्दा धेर भेटिन्छन्। यसको तार पनि सायद चियाबारीसँगै जोडिएको हुन सक्छ।

चिया श्रमिकहरूको जीवनशैली अलग छ, जो अरू कुनै मजदुरहरूको जीवनसँग मिल्दैन। जुटमिलमा काम गर्ने हुन् वा फलाम कम्पनीमा काम गर्नेहरू, उनीहरूको गाउँ र काम गर्ने ठाउँ अलगअलग हुन्छ। 

तर, त्यसको ठीक विपरीत छ– चिया कमानेहरूको जीवनशैली। चिया कमानमा त श्रमिकहरू काम मात्रै गर्दैनन्, उनीहरूले त पूरै जीवन कमानलाई नै दिएका हुन्छन्। दार्जिलिङका कमानहरूलाई पनि चिया श्रमिकहरूले सबथोक दिएका छन्। र, त यहाँ सिंगो चिया समाज बनेको छ, जुन समाजले आज पनि दार्जिलिङलाई नयाँ दिशा दिइरहेकै छ।

तर, त्यही सुन्दर चियाको बोट उमार्ने हाम्रा पुर्खाहरूको कथा कुरूप छ। यति कुरूप कि झन्डै सय सालसम्म उनीहरूको अवस्था बँधुवा मजदुरको जस्तै थियो। जंगल फाँडेर जहाँ श्रमिकहरूले रहरलाग्दो कमान बनाए, त्यही कमानमा उनीहरूले मालिकअघि छाता ओडेर हिँड्नसम्म पाउँदैन थिए। जुत्ता लगाउन पाउँदैन थिए। घडी लगाउन पाउँदैन थिए। मालिकले छोरी चेलीलाई कोठीमा काम गर्न लैजान्थे। हातापाई गर्थे। तर, श्रमिक केही बोले मालिकले उनीहरूलाई ‘हट्टा बाहर’ गरिदिन्थे।

हट्टा बाहर– यति भयानक थियो, जहाँ मालिकले नोटिस दिए, तीनदिनभित्र कमान छोडेर जानुपर्थ्यो। त्यो बेला कम्पनीको पकड यति धेर थियो, हट्टा बाहर भएकाहरूले अरू कुनै ठाउँमा काम खोज्ने कुरा नसोचे नि हुन्थ्यो। उनीहरूलाई कसैले काम दिँदै दिँदैन थिए।

तर, दार्जिलिङमा चिया रोप्न थालेको पचास सालपछिको कुरा हो, अंग्रेजविरुद्धको लडाइँ बिस्तारै देशव्यापी बन्दै गयो। भारतमा कंग्रेस पार्टी बन्यो। कंग्रेसले गरेको अंग्रेजविरुद्धको लडाइँको झिल्का बिस्तारै चिया कमानहरूमा पनि आइपुग्न थाल्यो। ठीक त्यही बेलाको कुरा हो, महात्मा गान्धीहरू दार्जिलिङ आइपुगे। नजरबन्द भएका सुवासचन्द्र बोसहरू खर्साङको गिद्धे पहाडतिर आइपुगे। तब चिया कमानहरूमा पनि बिस्तारै अंग्रेजविरूद्धका आवाजहरू उठ्न थाले, जुन आवाजले श्रमिकहरूलाई एकमुस्ट बनाउनै लागेका थिए। अंग्रेजहरूले नयाँ हल्ला फैलाउन थाले, ‘स्वाधीनताको आन्दोलन त मधेसका मान्छेहरूको मात्रै हो। पहाडका लागि होइन।’

त्यही चलखेलबीचको घटना हो– 1943 मा दार्जिलिङको राजनीतिले नयाँ मोड लियो। डम्बरसिंह गुरुङको नेतृत्वमा अखिल भारतीय गोर्खा लिग बन्यो। रतनलाल ब्राह्मण अर्थात् माइला बाजेहरूको नेतृत्वमा भारतको कम्युनिस्ट पार्टी (सीपीआई) को संगठन दार्जिलिङमा खोलिए। सहर र बस्ती हुँदै उक्त दुईवटा संगठन बिस्तारै कमानहरूतिर पस्न लागे।

अनि त कमानेले पनि आफ्नो आवाज बोल्न थाले।

1946 को कुरा हो, बंगाल विधानसभा चुनाव हुने भयो, जहाँ कम्युनिस्ट नेता रतनलाल ब्राह्मणले उम्मेदवारी दिए। चिया कमानेसँग जोडएिको मुद्दालाई उनले पहिलोचोटि चुनावमा उठाए, ‘हट्टा बाहर बन्द गर।’

‘हट्टा बाहर साहेबको जुलुम नाश गराउनलाई

माइला बाजे खडा भए, भोट देऊ उनैलाई’

माइला बाजेले दिएको नारा कमानमा यति व्यापक बन्यो, हरेक कमानेले उक्त नारा लगाउन थाले। चिया कमानेहरू माइला बाजेप्रति आकर्षित बन्दै थिए। कम्पनीले नयाँ बहाना झिके– माइला बाजेमाथि डकैतीको आरोप लगाए। उनलाई बाह्रवटा चिया कमानभित्र पस्नधरि निषेध गरिदिए।

तैपनि चुनाव त उनैले जिते। त्यो पनि 85 प्रतिशत मत पाएर। यहीँबाट थाहा हुन्छ, कमानमा भएको शोषणविरुद्ध बोल्न नपाएको आवाज अब कति मजबुत भइसकेको थियो।

तर, चुनावपछि पनि समस्या त उस्तै थियो। कमानको हाजिरा साह्रै कम थियो। तर, महँगाइ ह्वात्तै बढेर गएको थियो। रुपियाँ सेर चामल किन्नुपर्ने अवस्था बनेको थियो। यस्तोमा श्रमिकहरूले कसरी जिउने ? त्यसैले एक रुपियाँको पाँच सेर चामल दिनुपर्ने माग बिस्तारै कमानमा उठ्न थाल्यो। ठीक त्यही बेलाको घटना हो, सोम कमानमा पहिलोचोटि श्रमिकहरूसँग पुलिसको भिडन्त भयो। नेताहरू पक्राउ परे। तर, श्रमिकहरूले पुलिसलाई अड्चन दिइरहे। पाँच सय मजदुरले दार्जिलिङ थाना पुगेर पहिलोचोटि धर्ना दिए। तीन दिनसम्म कमानमा हड्ताल गरे। तर, घटनाको कति दिन पनि बितेको थिएन, अम्बोटिया कमानका मालिकले ती श्रमिकलाई हट्टा बाहर गरिदिए।

तर, श्रमिकहरू त अब जागिसकेका थिए। उनीहरूले आवाज उठाइरहे। श्रमिकहरूको त्यही आवाजलाई सुनेपछि हो, दार्जिलिङका राजनितिक दलहरू एक भए। गोर्खा लिग र भारतीय कम्युनिस्ट पार्टीका श्रमिक संगठनहरू एउटै मञ्चमा आए। र, 8 मई 1955 मा चौध-सूत्रीय माग पेस गरे, जसमा हट्टा बाहर हटाइनुपर्ने मुद्दा सबैभन्दा प्रमुख थियो।

दुईवटा संगठन मिलेर बनेको एक्सन कमिटीले कम्पनीलाई अल्टिमेटम दियो– ‘22 जुनसम्म कुनै पहल नभए हड्ताल गरिनेछ।’ तर, कम्पनीले किन पो टेर्थ्यो र ? प्रशासनसँग मिलेर रतनलाल ब्राह्मण, देवप्रकाश राईहरूविरुद्ध उल्टो पक्राउको वारेन्ट निकाल्यो।

तैपनि श्रमिकहरूले 22 जुनदेखि हड्ताल सुरु गरे, जसले 25 जुनमा उग्र रूप लियो। सोही दिन मार्गरेट्स होप चिया कमानमा गइरहेको जुलुसमाथि पुलिसले गोली चलायो, जहाँ गर्भवती महिला मौली शोभा राइनी, चौध वर्षका काले लिम्बूसहित 6 जनाको हत्या गरियो। हत्यापछि पनि पुलिसको अतिक्रमण जारी रह्यो। हत्याकाण्डको विरोधमा क्षोभ प्रदर्शन गरिरहेका डम्बरसिंह गुरुङदेखि लिएर कवि अगमसिंह गिरीसम्मलाई पक्राउ गरियो।

तर, यतिन्जेलसम्ममा त दार्जिलिङको नागरिक समाज नै सडकमा आइसकेको थियो। अनि त बल्ल दार्जिलिङले पहिलोचोटि त्यो दिन देख्यो, जुन दिन पहिलोचोटि मालिक पक्षले चिया श्रमिकअघि झुक्नुपर्यो। नेताहरूमाथिको गिरफ्तारी वारेन्ट फिर्ता लिइयो। हट्टा बाहर बन्द गरिने घोषणा गरियो। जेलबन्दीलाई छोड्ने प्रतिश्रुति दिइयो। मजदुरहरूको रोज बढेर एक रुपियाँ सात आना हुने भयो। सुत्केरीकालीन सुविधाहरू दिने भयो। यतिबेलै डुवर्स बीरपाडाको गोलीकाण्डपछि बोनसको प्रावधान बनियो। 

त्यही दिन त हो, चिया श्रमिकहरूले पहिलोचोटि बुझे, ‘एकजुट भए सब सम्भव रहेछ। अधिकारका निम्ति कम्पनीविरुद्ध बोल्न पनि सम्भव रहेछ।’

तर, विडम्बनाको कुरा। जुन भारतीय कम्युनिस्ट पार्टीले श्रमिकहरूलाई आवाज उठाउन सिकाए, त्यहीँबाट जन्मिएका सीपीएमको नेतृत्वमा 1977 बाट वामफ्रन्ट सरकार राज्य सत्तामा आयो। तैपनि उनीहरूले चिया श्रमिकहरूका निम्ति खासै ठूलो काम केही गर्न सकेनन्। न्यूनतम हाजिरासमेत दिलाउन सकेनन्। चिया कमानेका निम्ति सबैभन्दा ठूलो मुद्दा नै न्यूनतम हाजिराको हो। 1948 मै बनेको उक्त ऐनलाई र 2015मा यसको सङ्घर्षपछिको सम्झोतामा यो कार्यान्वयन गर्ने बाचालाई आजसम्म सरकारले लागू गर्न सकेको छैन। यो मात्रै लागू गरिने हो भने पनि धेरै हुनेथियो। लागु  चिया श्रमिकहरूले कम्तीमा पाँच सय रुपियाँ दैनिक हाजिरा पाउने थिए। 

मजदुरहरूकै पार्टी किन नहोस्, सरकारमा पुगेपछि त उसले पनि मालिककै कुरा सुन्नुपर्ने बाध्यता हुने रहेछ। त्यही भएर त होला, बंगालमा 34 वर्षसम्म वामफ्रन्ट सरकारले शासन गर्दा पनि चिया श्रमिकहरूले केही पाउन सकेनन्। त्यसैले त आज पनि श्रमिकहरूको हालत उस्तै नै छ।

ब्रिटिसको जमानामा श्रमिकहरूले छाता ओढेर हिँड्न मनाही थियो। अहिले छाता ओड़ेर हिँड़्न त पाइन्छ, तर, ऐनअनुसार फ्रिन्ज बेनिफिटमा पाउनुपर्ने छाता मालिकले दिए पो! वा कम्बल, तिर्पल, जुत्ता दिए पो! अनि नदिँदा दुई सय रुपियाँ ज्याला पाउने श्रमिकलाई तीन सय रुपियाँको छाता किन्नै गाह्रो छ। उतिबेला घडी लगाएर हिँड्ने माहोल थिएन। अहिले माहोल त छ नि, तर के गर्ने ? त्यही दुई सय रुपियाँको हाजिरा थाप्ने श्रमिकलाई पाँच सय रुपियाँको घडी किन्नै गाह्रो छ।

त्यसैले त श्रमिकहरू आज पनि आफैंसँग प्रश्न सोधिरहेका हुन्छन्, ‘खोइ चियाको बुटामा सुनचैँ कहिले फल्ने हो नि ?’

166 साल भएछ, दार्जिलिङमा हाम्रा मान्छेले चिया रोप्न सुरु गरेको पनि।



हरेक चियाको बोट पचास वर्षमा बूढो हुन्छ। तर, एक सय वर्षको बूढो चियाको बोटसम्म उखेलेर नयाँ रोप्ने काम अहिलेसम्म हुन सकेको छैन। त्यसैले त अचेल कमानमा सबैभन्दा उदास हावा बहन थालेको छ। मान्छेहरूलाई कमाने जीवनदेखि वाक्क लाग्न थालिसकेको छ। अलिअलि पढेका नयाँ पीँढी चियाबारीबाट भाग्न थालिसकेका छन्। चिया कमानहरूमा पलायन ह्वात्तै बढेर गएको छ। यस्तो बेला चिया खेतीलाई कसरी बँचाउनुपर्ने हो ? सरकारले त्यतातिर सोच्नुको सट्टा उल्टो नयाँ योजना ल्याएको छ। जसले चिया कमानको खाली जमिनमा टी–टुरिज्म सुरु गर्ने भएको छ। जुन चिया कमानमा हाम्रा मान्छेले डेढ सय वर्षदेखि रगत–पसिना बगाइरहेका छन्, पुर्खाहरूको हाड–नली गाढ्दै आइरहेका छन्, त्यही चियाबारीको चार फिट जमिनधरि आफ्नो नाममा दर्ता गर्न सकेका छैनन्। पक्का घर बनाउन खोज्दा कम्पनीले नोटिस पठाइरहेको छ। अब त्यही जमिनमा भोलि उद्योगपतिहरूको अग्ला–अग्ला होटल बन्ने भएको छ।

चिया पर्यटन सुरु गरिनु त ठीकै होला, तर इतिहास साक्षी छ, जहाँ पनि ठूला–ठूला उद्योगहरू सुरु गरिन्छन्, ठूला–ठूला भवन र मलहरू बनिन थाल्छ, तब सबैभन्दा तारोमा त श्रमिक र मजदुरहरू नै हुने गर्छन्। उद्योगपतिहरूको आँखा परेको जमिन लिनु परोस्, बलिदान त श्रमिकहरूले नै दिनुपर्ने हुन्छ। अब चार पुस्तादेखि रगत–पसिना दिँदै आउने हाम्रा चिया श्रमिकहरूले भोलि अर्को कुन बलि चढाउनुपर्ने होला ? आजको सबैभन्दा ठूलो प्रश्न यही बनेको छ।

दार्जिलिङे चियाको आफ्नै ब्रान्ड छ। आफ्नै नाम छ। दार्जिलिङे चियालाई जिओग्राफिकल इन्डिकेसनको विशेष ट्याग छ। विश्व बजारमा यसको अलग्गै माग छ। हाम्रा नेताहरूले मुख्यमन्त्रीलाई खुसी पार्नुपरोस्, झोलामा डल्लो पारेर लैजाने यही चिया हो। केन्द्रमा कुनै मन्त्री भेट्नुपरोस्, खदासँगै टक्राउने यही चिया हो।

अब सोच्नुहोस्, यति मूल्यवान् चिया उद्योग पनि कहिल्यै घाटामा जाला त ? तैपनि चिया उद्योगलाई थप विकसित गर्नुको सट्टा किन मालिकहरू छिटो नाफा कमाउने बाटोतिर हिँड्न चाहन्छन् ? उसै पनि चियाबाट मालिकले नाफा त कमाइरहेकै छन्। अब बगानभित्र सुरु भएको टी–टुरिज्मले पनि मालिकका निम्ति नाफाको अर्को बाटो खोलिदिनेछन्। तर, जसले डेढ सय वर्षअघिदेखि चिया स्याहारिरहेका छन्, जसले त्यही चियाको बुटामा अझै ‘सुन’ खोजिरहेका छन्, उनीहरूले त टी–टुरिज्मबाट पनि पाउने त उही दुःखै होला, होइन र ?

हो, चियाले दार्जिलिङलाई विश्वमा चिनाएको मात्रै छैन, देशको आर्थिक स्थितिलाई मजबुत गराएको मात्रै छैन, दार्जिलिङको हरेक राजनीतिलाई दिशा दिने काम पनि यही चिया कमानहरूले गरिरहेका छन्। त्यसैले त दार्जिलिङका हरेक नयाँ नेता आफ्नो भविष्य खोज्न सबैभन्दा पहिले चिया कमानतिरै आइपुग्छन्।

पहिलो चरणको गोर्खाल्यान्ड आन्दोलन सुरु गर्ने सुवास घिसिङ भन्थे, ‘हाम्रा मान्छेले न्याय पाउँदैन भने तिमेरको चिया उखालेर लैजाँदा हुन्छ। किनकि माटो चैं हाम्रो हो।’ दोस्रो चरणको गोर्खाल्यान्ड आन्दोलन गर्ने विमल गुरुङ राजनीतिक समस्या पर्दा जहिल्यै एउटै कुरा दोहोर्यायइरहन्थे, ‘म चैं कमानेको छोरा हुँ। भुटेको मकै खाएर पनि जनताको निम्ति लड्छु।’ जब 2017 को गोर्खाल्यान्ड आन्दोलन सकियो जीटीए समाल्न विनय तामाङ आइपुगे। उनी पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न चिया श्रमिककै निम्ति अनशन बस्न आइपुगे। त्यसपछि फेरि जीटीएमा पुगेका अनित थापा अहिले पनि दोहोर्यानइरहन्छन्, ‘श्रमिकहरू अब गम्बुटे राजनीतिबाट माथि उठ्नुपर्छ।’ केही दिनअघि मात्रै दार्जिलिङ नगरपालिकामा बोर्ड गठन गर्ने ‘हाम्रो पार्टी’ का अध्यक्ष अजय एडवर्डलेसम्म चिया श्रमिकहरूका निम्ति भोक हड्ताल गरिसकेका छन्।

तर, विडम्बनाको कुरो एउटै छ– जुनसुकै दल किन नहोस्, आफ्नो राजनितिक भविष्य बनाउनका निम्ति चियाबारीतिर जतिसुकै सहानुभूति खोज्दै किन नडुलोस्, त्यही दलका नेताले भोलि ओहोदामा पुगेपछि यही चियाबारीको समस्याप्रति अलिकति पनि सहानुभूति देखाउने छैनन्।

आखिर किन सधैं यस्तो हुन्छ चियाबारीमा ?

(साभार: कान्तिपुर, कोसेली)


No comments:

Post a Comment