Sunday, July 31, 2022

नारी सशक्तिकरणमा शिक्षाको भूमिका

 माया शर्मा




एउटी महिला शिक्षित हुनु भनेको एउटा परिवार शिक्षित हुनु हो। आजको समयलाई वैचारिकताको समय मानिन्छ। यदि नारी शिक्षित नभए एउटा परिवार कसरी शिक्षित बन्ने? एउटा परिवार शिक्षित नभए यो समाज कसरी शिक्षित हुन सक्ला त? एउटा सभ्य समाजको निर्माणका लागि नारी स्वस्थ, सुखी, शिक्षित हुन आवश्यक छ र त्यो केवल शिक्षाकै माध्यमद्वारा मात्र सम्भव छ। जब नारी स्वयमको स्थिति नै सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक दृष्टिकोणले निम्न स्तरको छ भने उसले परिवार, समाज र देशको विकासमा आफ्नो योगदान कसरी दिन सक्ली त? यो वर्तमान समयमा देखिएको एउटा गम्भीर प्रश्न हो।

शिक्षा सामाजिक सशक्तीकरणका लागि मूलभूत साधन हो। शिक्षाकै माध्यमले कुनै पनि नारीले समाजमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाएकी हुन्छे। शिक्षाको आधारमा नै नारीमा कौशल, ज्ञान एवम् क्षमताको विकास हुन्छ। एउटी शिक्षित नारी आफ मात्र लाभान्वित नभएर उसले भावी पीढीलाई समेत लाभान्वित गराउन सक्षम हुन्छे। शिक्षा कुनै पनि प्रकारको कौशल प्राप्तिसाथै विवेकपूर्ण दृष्टिकोणको विकासका लागि पूर्ण रुपमा आवश्यक रहने तत्त्व हो। शिक्षाले नारीलाई उसमाथि हुने शोषण रोक्नमा सहायता गर्छ, स्वनिर्णय लिनसक्ने बनाउँछ। स्वनिर्णय लिनसक्ने क्षमता सशक्तीकरणको एउटा मानक पक्ष हो। शिक्षाको स्वनिर्णय लिनसक्ने क्षमतासँग घनात्मक एवम् सार्थक सम्बन्ध रहेको छ। संक्षेपमा भन्नुपर्दा नारीको वास्तविक स्थितिले नै व्यक्ति,परिवार, समाज एवम् राष्ट्रको सामाजिक, आर्थिक स्थितिलाई प्रभाव पारेको हुन्छ।

भनिन्छ शिक्षा मानव जीवनको एउटा महत्त्वपूर्ण ज्ञानरूपी प्रकाश हो, जसको उद्देश्य अज्ञानतालाई हटाएर ज्ञानको सञ्चार गर्नु हो। मकोल वा अन्य विद्वानहरूका विचारमा-" कुनै पनि समाज वा राष्ट्रको विकासका लागि नारीलाई शिक्षित बनाउनु एउटा महत्त्वपूर्ण विषय हो, कुनै पनि शिक्षित समाजको वास्तविक स्थिति जान्नका लागि प्रथमतः त्यस समाजमा नारीको शैक्षिक स्थिति कस्तो छ? उनीहरूलाई के- के अधिकार प्राप्त छन् अनि राजनीतिक वा सामाजिक निर्णय निर्माणको प्रक्रियामा नारीको कति सहभागिता छ? साधारण भाषामा भन्नुपर्दा नारी शिक्षा शिक्षा विकासको लागि एउटा कारक तत्त्व हो जसले नारीको स्तर र समाजमा उसको भूमिका निभाउनमा सहायता गर्दछ। शिक्षा कुनै पनि व्यक्तिको सुखमय जीवनको एउटा मुख्य आधार हो। शिक्षाकै माध्यमद्वारा एउटी अबला नारी सशक्त एवम् सबल बन्न सक्छे। नारी सशक्तीकरणको तात्पर्य नारीहरूभित्र लुकेर बसेको गुण, शक्ति तथा प्रतिभालाई विकास गर्नु हो, जसलाई व्यवहारमा ल्याएर उनीहरूले आफ्नो विकासतर्फ स्वयम् बढ्न सकुन् र त्यो केवल सम्भव छ त केवल शिक्षाको माध्यमद्वारा मात्र।

विश्व विकास रिपोर्ट 1993-1999 अनुसार-नारी शिक्षा सामाजिक र आर्थिक विकासका लागि मात्र उपयोगी नभएर प्रजननतालाई कम गर्दै नानीहरूको उचित पालन पोषण तथा माता-पिता एवम् नानीहरूको सुस्वास्थ्यमा पनि सहायक हुन्छ। संक्षेपमा भन्नुपर्दा शिक्षा आर्थिक निर्भरतामा सहायक हुन्छ। शिक्षाले नै महिलाहरूको सामाजिक स्तर माथि उठ्छ जसले गर्दा सशक्तीकरण हुन्छ। आर्थिक स्वायत्तताबाट निर्भर एवम् पुरुष प्रधान वर्चस्व ध्वस्त हुनाले केवल नारी व्यक्तिगत रूपमा मात्र लाभान्वित नभएर सामाजिक स्तरमा पनि हुन जान्छन्। यस्ता परिवर्तित घटनाले पितृसत्तात्मक व्यवस्था उथलपुथल हुन जान्छ। फलस्वरूप समाजमा नारी पुरुष दुवैको समान महत्त्व रहन्छ।

संयुक्त राष्ट्र सङ्घले जब विश्वका लागि धारणीय विकासको लक्ष्य निर्धारण गर्योथ तब त्यसमा समावेशी शिक्षालाई अधिक महत्त्व दिइयो। शिक्षाबाट वञ्चित वर्गमा विश्वमा अधिक भाग नारीहरूकै रहेको छ। विश्वमा पुरुषका तुलनामा नारी शिक्षाको स्तर न्यूनतम रहेको छ। भारतको सन्दर्भमा यहाँ स्वतन्त्रताको समय अत्यन्त विकट स्थिति रहेको थियो।त्यस समय पुरुषहरूमा साक्षरताको दर 20% थियो भने महिला साक्षरता केवल 8.9% मात्र रहेको थाहा पाइन्छ। वर्ष 2011को जनगणना अनुसार भारतमा पुरुष साक्षरता 82% थियो भने महिलाहरू 32.5% मात्र साक्षर थिए। अहिलेको समयमा भारतमा 82.14% परुषहरू र 65.46 महिला मात्र साक्षर रहेका छन्। उत्तर प्रदेश, बिहार, राजस्थान, झारखण्ड आदि राज्यमा त केवल 55% भन्दा कम नारीहरू साक्षर रहेका छन्। नारी साक्षरताको हिसाबमा बिहार र उत्तर प्रदेश सबैभन्दा पछाडिएका छन् जहाँ केवल 51 प्रतिशत नारीहरू मात्र साक्षर छन्। यसबाट स्पष्ट हुन जान्छ कि स्वतन्त्रताको 76 वर्ष पश्चात् पनि भारतमा नारी शिक्षाको लागि विशेष प्रयास गर्न आवश्यक छ।




भनिन्छ महिलाहरूले आधा आकाश नै ओगटेका छन्। आज समाजमा नारीको स्थान पुरुषहरू समान रहेको छ। यसको मूल कारण आजका नारी अबला नभएर सक्षम छन्, जसले पुरुषको काँधमा काँध मिलाएर हिँड्ने प्रयासरत छन्। अतः नारी पुरुष जीवनरूपी एकै रथका दुई पाङ्ग्रा समान हुन्। यदि एउटा पाङ्ग्रा निर्बल भएमा जीवनरूपी रथ अगि बढ्न सम्भव छैन।


No comments:

Post a Comment