Sunday, July 31, 2022

अमेरिकी मुटुमा गिग वर्कर युनियन

शमीक



गत एक अप्रिलको दिन केही मानिसहरूले एउटा असम्भव काम गरेका छन्।

हो, असम्भव काम! न्यूयोर्क (अमेरिका)-को बोरो स्टेटन आइल्याण्डमा अमेजनका कर्मचारीहरूले पहिलो चोटि श्रमिक सङ्घ गठन गरे।

अमेजन जस्ता विश्वव्यापी व्यापारिक सञ्जाल चलाउने कम्पनीको मूल केन्द्र मानिने अमेरिकाको भूमिबाट युनियन गठनको यो पहल किन सराहनीय रह्यो त? त्यसबारे विस्तृत चर्चा गर्न जरुरी छ र सामान्यतया यस्ता अनलाइन डेलिभरी कम्पनीहरूमा काम गर्ने जसलाई ‘गिग वर्कर’ भनिन्छ, उनीहरूको सङ्कट र सुरक्षाहीनता बारे पनि चर्चा हुन आवश्यक छ। यसै सन्दर्भमै भन्न सक्छौँ, यदि बिच बाटोमा विचलित हुँदैन भने अमेजनका मजदुरहरूको यस युनियन गठनको पहल सराहनीय छ।

असमानता कत्तिको तीव्र छ साथै लडाइँ कत्तिको गाह्रो छ? त्यो बुझ्न हामीले सुरुमा कम्पनी मालिकको आयस्रोत हेर्नु पर्ने हुन्छ। अमेजनको मालिक जेफ बेजोसले प्रति सेकेन्डमा जति (लगभग 2,000-3,000 डलर) कमाउँछन्, त्यो उसको कम्पनीका सामान्य कर्मचारीको औसत एक हप्ताको (7 दिन = 6,04,600 सेकेन्ड) कमाई भन्दा पनि बढी हो।

उक्त युनियन गठन गर्ने नगर्नेबारे सार्वजनिक मतगणना मार्फत अन्तमा युनियन गठनको पक्षमा 2,654 र विपक्षमा 2,131 मत परेको थियो।

जुन अमेरिकामा मई दिवसको इतिहासको सूत्रपात भयो, जुन अमेरिकाले इतिहासको एक अवधिसम्म मजदुर सङ्घहरूको सुनौलो भूमिका प्रदर्शन गऱ्यो, पछिबाट त्यही अमेरिकाका शासक र मालिकहरूले मिलेर युनियनबाट खटिखाने मानिसका भरोसा हटाउने षडयन्त्रहरूको रचना गरे। जसमा सामेल भए संसारका पुँजीपतिहरू।

सङ्गठित उद्योगहरूलाई भत्काएर साना-साना औद्योगिक एकाइ बनाउने र मजदुरहरूलाई डि-युनियनाइज गर्ने होड विश्वभरि चलायो। हुन त युनियनको सङ्गठित शक्तिलाई मजदुर हितको लागि प्रयोग गर्नको सट्टामा यसको दुरुपयोग पनि देखियो धेरै युनियनहरूबाट। त्यसैले युनियनको शक्ति अनि अधिकारलाई कमजोर पार्ने र युनियन विरुद्ध जनमत बनाउने काममा लागिपरे मालिक पक्षधर सम्पूर्ण शक्तिहरू।

मजदुरलाई के चाहिन्छ भन्नु होस् त?

मजदुरलाई त युनियनविहीन स्थिति होइन, बरु जुझारु युनियन पो चाहिन्छ। मालिकसँगको साँठ-गाँठमा चल्ने युनियन होइन, मजदुर हितमा काम गर्ने एकताबद्ध युनियन नै चाहिन्छ। हाम्रो देशको विभिन्न कुनाहरू- केरलाको मुन्नार चिया बगानदेखि गुडगाउँ मारुति मजदुर सङ्घर्षहरूमा हामीले जुझारु युनियनकै झलक देख्यौँ। हाल अमेरिकाको मुटुमा स्वतन्त्र युनियनहरूको भूमिका बढिरहेको स्पष्ट छ। अमेजन श्रमिकहरूले वृहत् रूपमा त्यसको उदाहरण पनि राखे।

अमेरिकाको सिनेट र डेमोक्र्याट क्याबिनेटले अमेजन कर्मचारीहरूलाई बधाई दिए। बर्नी स्यान्डर्स जस्ता प्रमुख राजनीतिज्ञहरूले स्वाभाविक रूपमा समर्थन र सद्भावना व्यक्त गरेका छन्। लकडाउनको सुरुमा, क्रिस स्मल्स, जसलाई JFK8 (अमेजन वेयरहाउस) बाट आफ्नो स्वास्थ्यको अधिकारको दाबी गरेको कारण निकालिएको थियो, भन्दा हुन्छ कि उनको एक्लैको अठोटले बस स्टपको एक मामुली मिटिङ अनि एकसाथ खाना खाने क्रमबाट कुरा अगाडी बढ्दै आज युनियन गठन गर्ने पक्षमा 50 प्रतिशत भन्दा बढी भोट आयो। असम्मानको सामूहिक अनुभूतिले नै विगत 27 वर्षको अवैध बार तोड्न सफल भएको छ। अमेजनले यस जनमतको विरुद्ध आफ्नो अडान खडा गर्न खोज्दै छ। परिस्थितिबाट तिनीहरू ‘गहिरो रूपमा दुःखी र निराश’ छन्। उनीहरूले जनादेशको विरुद्धमा आवश्यक परेमा कानुनी रूपमा कसरी अघि बढ्ने भन्ने विचार गरिरहेका छन् र पक्कै पनि ‘भड्किएका’ मजदुरहरूको ‘चेतना’ फिर्ता ल्याउन चाहन्छन्।

 यदि हामीले त्यो ‘सपनाको देश’ अमेरिकालाई नियाल्यौँ भने, हामीले अकल्पनीय विसङ्गति र पीडा देख्न सक्छौँ। चम्किला सुपर मार्केटमा हरेक तहमा मानवीय पीडा छ। न्यूनतम पारिश्रमिकको अचम्मको खेल चलिरहन्छ। अमेजनले युनियन गठन हुन नदिनका लागि उपयुक्त कदम चाल्नका निम्ति कानुनी र युनियन-बस्टिङ परामर्शमा करिब चार मिलियन डलर खर्च गरेको छ। यस्तै एउटा युनियन विरोधी बैठकको भ्वाइस रेकर्ड अनुसार, अमेजनका प्रतिनिधिहरूले लगभग गैर कानुनी रूपमा कामदारहरूलाई युनियनमा सामेल हुनाले न्यूनतम पारिश्रमिक नदिन सक्छ भनेर सूचित गर्ने प्रयास गरेका छन्। ध्यानमा रहोस् कि न्यूयोर्कको नियम अनुसार, अमेजनले 15 डलरको सट्टा 18 डलर/ प्रति घण्टा मजदुरलाई तिर्छ। तसर्थ, त्यो अतिरिक्त लाभबाट वञ्चित हुने डरलाई यो मत गठनमा प्रभाव पार्न प्रयोग गरिएको थियो, जुन त्यस बैठकमा तत्काल चिह्नित गरिएको थियो।

NLRB (राष्ट्रिय श्रम सम्बन्ध बोर्ड) अनुसार त्यस्ता प्रत्यक्ष प्रयास र अनिवार्य बैठकहरूमा श्रमिकहरूको विचारलाई प्रभाव पारेर युनियनहरू गठन गर्ने पहलहरूलाई प्रायः विफल पारिन्छन्। उदाहरणका लागि, अलाबामा (BHM1) मा, युनियनले गत वर्ष र यो वर्ष न्यूनतम 30% भोट पनि प्राप्त गर्न सकेन। यस्ता एकतर्फी प्रभावशाली बैठकहरूलाई ऐच्छिक बनाउन पीआरओ ऐन (प्रोटेक्टिङ द राइट टु अर्गनाइज) पास गर्न खोजिरहेका छन् सबै ट्रेड युनियनहरूले।

हुन त सफलताको केही सङ्केतहरू देखिँदै थियो। हामीले कोभिड पछिका वितेको दुई वर्षमा देख्यौँ, युरोपभरि धेरै श्रम हडताल र विरोधले अर्को आयाम लिएको छ। बेलायतलाई हेर्दा साना–ठुला प्रयासको सफलता देख्न सकिन्छ। IWGB (ग्रेट ब्रिटेनको अन्तर्राष्ट्रिय श्रमिक सङ्घ) र UVW (युनाइटेड भ्वाइस अफ द वर्ल्ड) को अगुवाइमा, बेलायतको SOAS युनिभर्सिटी अफ लन्डन, लन्डन स्कुल अफ इकोनोमिक्सका सफाइ कर्मीहरूले माग पेस गर्ने अधिकार पाए। यहाँसम्म कि शिक्षाको क्षेत्रमा UCU (युनिभर्सिटी एन्ड कलेज युनियन) को सङ्गठित प्रतिवादले ‘गिग इकोनोमी’ को युगमा पनि आन्दोलनमा सफलता ल्याएको छ। त्यसर्थ नै स्टेटन आइल्याण्डको JFK8 वेयरहाउसमा यो पहिलो श्रमिक सङ्घ गठन महत्त्वपूर्ण र ऐतिहासिक हो।

अमेजनका धेरै स्टोर र सेवाहरू स्वचालित भइरहेको छ र हाल रोबोटहरूको प्रयोग हुँदैछ। यस्तो बेलामा श्रमिक सङ्घको स्थापना भएको समाचार अव्यवहारिक लाग्छ। तर आजभन्दा 100 वर्ष पहिले, चीजहरू त्यति अद्भुत थिएनन्। 

बुडी गाथ्रीले गाउँछन् "दिज ल्यान्ड वाज मेड फर यु एन्ड मी - यो भूमि तिम्रो र मेरो लागि बनाइएको थियो"; आफ्नै माटो, जमिनको कुरा गर्थे मजदुरहरूको। 

टोड रान्डग्रेनले गाए, ‘just one victory’ (केवल एक विजय)। त्यसबाट हामीले बाँकी विजयको रसद प्राप्त गर्नेछौँ। दोस्रो विश्वयुद्ध भन्दा पछिल्लो एक सय वर्षभरि अमेरिकामा रेलवे र कोइला मजदुरहरूद्वारा सङ्घ-आधारित सफल विरोध प्रदर्शनको सुनौलो इतिहास छ।

त्यो पटकथा कसरी परिवर्तन भयो? नव-उदारवाद वा निओ लिबारलिजमतर्फ समाज सर्दै गएको र पश्चिमी व्यक्ति-स्वतन्त्रतावादको दुरुपयोगको परिणाम स्वरूप भयो। 

नव-उदारवादले समग्र रूपमा एकाधिकार व्यवसाय र निजीकरणलाई गति दिन्छ। कानुनी रूपमा पनि धेरै तरिकाले, श्रमिक र खरीदारहरूको सट्टा बहुराष्ट्रिय संस्थाहरू र पुँजीवादी मालिकहरूकै हित सुरक्षित हुन्छ। त्योसँग जोडिएर बढेको छ राम्रो सेवक बन्ने होड, जुन हामीले यता भारतमा पनि धेरै क्षेत्रमा देख्छौँ। न्यायिक बिदा लिने डर, बिदा नलिई माथिल्लो निकायको अलिकति ध्यानाकर्षण गराउनु र अलिकति राम्रो बन्न चाहनु यो होडबाजीको हिस्सा हो। नव-उदारवाद-सञ्चालित निजी-कर्पोरेट-वाणिज्यिक ब्लु प्रिन्टको हिस्सा हो यो मानसिकताको विकास।

सुन्नमा आउँछ, अमेरिकाको जनताले आफ्नो न्यायिक अधिकार छोड्दैनन्। तर प्रयोग नगरिएको बिदाको तथ्याङ्क हेर्दा स्तब्ध हुनपर्छ। कूल 16 करोड 90 लाख दिन वा 52 अर्ब डलर बराबरको यो तथाकथित मूल्यलाई 41% जनताले कसरी त्यागेका छन् ? गत वर्ष, अमेरिकामा प्रयोग नगरिएका छुट्टीको दिनहरूको सङ्ख्या 40 वर्षमध्ये सर्वोच्चमा पुग्यो। युएस ट्राभल एसोसिएसनले नियोजित गरिएको अक्सफोर्ड इकोनोमिक्सका टोलीले यो सङ्ख्या लगभग 169 मिलियन दिन बताएका छन्, जुन $ 52.4 बिलियन गुमाएका लाभको बराबरको छ। प्रमुख दोषी को हुन् ? अमेरिकाको workaholic संस्कृति। यो होइन कि अमेरिकीहरू छुट्टी चाहँदैनन् - यो हो कि तिनीहरू यसलाई लिन डराउँछन्।

अधिकारको बोधहीनताको यस्तो दौडमा, युनियनहीन बनाउने षडयन्त्रको जगजगी चलेको बेलामा अमेजन कम्पनीको पैसा रुपियाँको पहाडको विरुद्धमा उभिएर युनियन बनाउने सहमति कसरी बनियो ? यति वर्षपछि स्टेटन आइल्याण्ड जस्ता ठाउँमा जनमत सङ्ग्रहको यो अभूतपूर्व नतिजा सपना जस्तै हो। अनि त्यो सपनाको निर्माण गर्नेहरूले पक्कै पनि 136औँ मई दिवसको पूर्व बेला ‘हे मार्केट’को शहीदहरूलाई अर्थपूर्ण श्रद्धाञ्जली दिएका छन्।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...