श्रद्धाञ्जली दाहाल ‘मुक्ति’
एकजना किशोरीले कसैलाई प्रेम गरेकी थिई। आफूले प्रेम गरेको मान्छेले उसलाई माया गर्दो रहेछ भन्ने कुरोले उ हर्षित थिई। केही दिनको कुराकानीमा उनीहरूको सम्बन्ध गहिरो हुँदै गएको थियो। केटाले उपहारहरू पनि दिने गर्थ्यो। आफ्नी प्रेमिकासँग सम्पर्क गर्ने साधन नभएकोले केटोले मोबाइल फोन उपहार दिने इच्छा गऱ्यो र दियो पनि। उनीहरूको प्रेमिल जीवन राम्रै चल्दै थियो। दुई मुटु एक धड्कन भएर जीवन बिताउने पनि धेरै चोटि कसम खान्थे। तर अभाग्यवश सोचेको जस्तो हुनु सकेन। उनीहरू छुटिनुपऱ्यो।
मायाको चिनो स्वरूप पाएकी उपहार पनि किशोरीले फर्काउनु पऱ्यो किनभने ‘तिम्रो लागि ज्यान पनि दिनु तयार छु’ भन्ने केटोले धम्की र दबाउ दिनु थाल्यो।
मेरा आदरणीय गुरुले भन्नू हुन्थ्यो, -बैँस सबै पशुहरू को आउँछ। मान्छेको पनि आउँछ। तर पशुहरू को बैँस र मान्छेको बैँसमा फरक हुनुपर्छ। बैँसको जोस, होस र बललाई समाज निर्माणमा लगाउने मान्छे कहिले बूढो हुँदैनन् तर होस बिनाको बैँसमा बेहोस हुनेहरू 40 नपुगी बूढो हुन्छ।
आजको परिवेशमा हामीजस्ता किशोर किशोरीको मात्र प्रसङ्ग उठाउनुपर्दा प्रायः नै कच्चा र सस्तो प्रेमको भ्रममा परेको हामी देख्छौँ। प्रेमी र प्रेमिका भनाउँदाहरूले आफूले गरेको गन्तव्य कहाँसम्म छ भन्ने बुझेका हुँदैनन्। अनि किशोरीहरूले आफ्नो स्वतन्त्रताको मूल्य बुझेका छैनन्। त्यसैले आज त्यस्तो प्रेम फगत एउटा सस्तो सामग्री बनिरहेको छ।
पहिला मैले बुझेको प्रेमको बारेमा केही कुरा गर्नु चाहन्छु। पहिलो कुरो त प्रेमले कसैलाई दास बनाउँछ भने म त्यसलाई प्रेम मान्दिनँ। प्रेमले एउटा नयाँ र सकारात्मक बाटो देखाउँदैन भने म त्यसलाई प्रेम मान्दिनँ। प्रेमले त स्वतन्त्र भएर उड्ने प्रेरणा पो दिनुपर्छ भन्ने मलाई लाग्छ। म कसैको दासी बन्नलाई जन्मेकी होइन। त्यस कारण यदि त्यस्तो प्रेमले मलाई पहिला फकाएर पछि दासी बनाउँछ भने म त्यस्तो प्रेमको पासोमा पर्न चाहन्नँ। त्यस अर्थमा आज हामीले जथाभाबी देखेको प्रेमको कुनै अर्थ छैन। म निरर्थक प्रेममा भुलिएर मेरो समाजबाट अलग हुन चाहन्नँ।
हिजोआज सम्बन्ध गाँसिने बित्तिकै केटाले केटीलाई र केटीले पनि केटालाई आई लभ यु भन्नै पर्छ। दिनभरि टेक्स्ट म्यासेजमा आई लभ यु लेख्नुपर्छ। त्योबाहेक अरू गफ पनि त्यस्तै हुन्छ। पहला पहला प्यार है। संसार बिर्सिएर एकोहोरो आई लभ यु चल्छ। तर म सोच्छु – म मेरा बुवाको मुटुको टुक्रा हुँ। आमाको निम्ति म उनको प्राण नै हुँ। तर मलाई माया गर्छु भनेर कहिल्यै पनि मेरा बाउआमाले मलाई आई लभ यु भन्न पर्दैन। म पनि मेरा बालाई संसारको सबैभन्दा सुन्दर पुरुष मान्छु। आमालाई संसारकी सबैभन्दा सुन्दरी नारी मान्छु। म उहाँहरूलाई त्यति बेसी माया गर्छु। तर मैले मेरो माया देखाउनलाई आई लभ यु भन्नु पर्दैन। मलाई मेरा आफन्तहरूले माया गर्छन्, शिक्षकहरूले माया गर्छन्, साथीहरूले माया गर्छन् तर त्यो माया देखाउन मलाई आई लभ यु भन्नु पर्दैन। त्यसो भए यी प्रेमी प्रेमिकाहरूले चाहिँ किन आई लभ यु भनिरहनु पर्ने? मलाई लाग्छ कि त्यहाँ पक्कै पनि बोक्रेपना छ। नत्र केटाले केटीलाई र केटीले केटालाई खुसी पार्ने सस्तो उपाय हो आई लभ यु। तर आज हेर्दा दिनमा पाँच छ पल्टसम्म आई लभ यु नसुनाई, फेसबुकको पासवर्ड नसाटी आफैले गरेको प्रेममा पनि विश्वास गरिँदैन। आजका किशोर किशोरीहरूको निम्ति प्रेम यथार्थबाट पलायन हो भन्छन् हाम्रा एकजना शिक्षक। सत्यबाट भाग्नु आत्महत्यातिर लाग्नु हो जस्तो मलाई पनि लाग्नु थालेको छ। खास कुरा त त्यस्तो बिवाई फ्रेन्ड र गर्ल फ्रेन्ड भएर हिँड्नु मलाई कुखुराको भाले र पोथी आँगनमा चरेको जस्तै लाग्छ।
ब्वाईफ्रेन्ड झुटो आनन्दको लागि बनाइन्छ। तर मज्जा आउँछ भन्छन् साथीहरू। खै कस्तो मज्जा। मलाई त किताब पढ्दा नै मज्जा आउँछ। आज हाम्रो समाजमा धेरै जना किशोर किशोरीहरू कुलत र आफ्नै मनोविज्ञानलाई नबुझेर त्यस्तो प्रेममा फसेका छन्। तर किताबको मीठो जालमा फस्न उनीहरूको निम्ति अल्छीको कुरा भएको छ। मलाई त लाग्छ कि प्रेम गर्न पनि धेरै किताब पढ्नु जरुरी रहेछ। मैले एकजना प्रगतिशील अग्रजलाई सोध्दा उहाँले भन्नुभयो कि चोखो प्रेम भन्ने शब्द नै अस्पष्ट छ। तर यति हो प्रेम स्वस्थ, सुरक्षित र भरपर्दो हुनुपर्छ। त्यसै कारण युरोपतिरका मानिसहरू ढिलो विवाह गर्छन्। प्रेम गर्नु हतार गर्दैनन्। प्रेम गर्नु अपराध होइन जस्तो भारतमा सोचिन्छ। तर प्रेम गर्नु हतार चाहिँ गर्नु हुँदैन। बाख्राको प्रेम र मान्छेको प्रेममा ठुलो भिन्नता हुन्छ। मलाई कुनै केटोले प्रेम गर्छ भने त्यो बाख्रा हुनुहुँदैन तर जिउँदो मान्छे हुनुपर्छ। किताबजस्तै मान्छे हुनुपर्छ। त्यसैले नै मैले अहिले किताबलाई नै बवाई फ्रेण्ड बनाइदिएको छु।
मैले किताबलाई ब्वाईफ्रेन्ड बनाउनुको कारण पनि छ। किताबले धोका दिँदैन। तर मान्छेले कुनै समय मा पनि दिन सक्छ।किताबले मलाई निरन्तर प्रगतितिर दोहोर्या उँछ। किताबले मलाई हरेक प्रश्नको उत्तर दिन्छ। किताबले मेरो बुद्धिको बिर्को खोल्छ र सचेत बनाउँछ। किताबले मलाई स्वतन्त्र आकाशमा उड्ने प्रेरणा दिन्छ। किताब मेरो लागि बन्धन हुँदैन। किताबले मलाई छुने चान्स लिनु खोज्दैन। किताबले मलाई हरपल साथ दिन्छ। किताबले मलाई दिन्छ मात्र तर केही माग्दैन। किताबले मेरो जिन्दगी बदली गरिदिन्छ। त्यस कारण म सधैँ किताबलाई अँगालेर बस्नु रुचाउँछु। किताबले मलाई कुलत र अनावश्यक कामहरूदेखि जोगाएर राख्छ। त्यस कारण म किताबलाई प्रेम गर्छु।
युवा वर्गलाई भविष्यको कर्णधार भन्छन्। भोलिको देश र समाजलाई सम्हाल्ने र नेतृत्व दिने पनि आजका युवा वर्ग नै हुन्। तसर्थ आजका युवा नै कुलतको सिकार र अचाइँदो क्रियाकलापमा व्यस्त हुनु भनेको समाज र देशलाई नै अँध्यारोतिर धकेल्नु हो। मान्छेलाई धर्तीको बोझ र आँखाको कसिङर हुनुदेखि बचाउँछ किताबले। आजका अग्रज र बुद्धिजीवी महोदयहरूले आजका किशोर र युवाहरूलाई असल बाटोमा दोहोर्या उनु चाहन्छन् भने किताब पढ्ने संस्कृतिको विकास हुनु जरुरी छ। अर्को विकल्प छैन। म त फेसबुकमा पनि पढ्ने कुराहरू नै खोजिरहन्छु। नयाँ नयाँ किताबहरूको बारेमा जान्नु चाहन्छु। नयाँ किताब देख्नेसाथै म रोमाञ्चित हुन्छु।
समाजको उन्नतिको लागि बुद्धिको विकास आवश्यक रहेछ। बुद्धि बिनाको समाजमा बाँच्नु अति कठिन रहेछ। आफूलाई सुरक्षित महसुस नै हुँदैन। बुद्धि बिनाको समाजको सोचाइ साँघुरो हुँदो रहेछ। छोरीहरूले त झन् साँघुरो समाजमा बाँच्नुपर्दो रहेछ। किताब नपढ्नेहरूको गाउँमा छोरी चेली भएर बाँच्नु साह्रो छ। खाली साँघुरो दृष्टि हुन्छ। साँघुरै कुरा हुन्छ। मैले आजसम्ममा जति किताबहरू पढेकी छु – ती सबैले मलाई म कहाँ छु? भन्ने कुरो बताइदिएका छन्। छोरी हुनुको नातामा मेरो शक्ति र अधिकारको बारेमा किताबबाट नै सही उत्तर पाएकी छु। मलाई किताबले नै प्रेमको अर्थ र महत्त्व सिकाएको छ। मलाई स्वतन्त्रता र अधिकारको बारेमा किताबले नै बताएको छ। मलाई बाह्र वर्ष स्कुलका किताबहरूले जुन कुरा बताएनन् पाठ्यपुस्तक बाहेकका किताबहरूले एकै दुई वर्षमै बताएका छन्। साँचो कुरो त के लाग्छ भने बाह्र वर्षसम्म स्कुलबाट जुन यथार्थ कुरा र मान्छेले जान्नै पर्ने कुरा सिकिएन, त्यो त मैले पढ्दै गरेका अन्य किताबहरूबाट सिकिरहेछु।
लौ। भन्नुस्, अब म किताबलाई प्रेम किन नगरूँ? म जसलाई माया गरूँ, मेरो खुसी। मैले कसलाई कसरी र किन माया गरूँ भनेर अरूले मलाई किन सिकाउने? होइन र ??
No comments:
Post a Comment