Friday, June 12, 2015

कविता


भोको पेट

नरेश कटुवाल


भोको पेटले हैजाले थला परेको गाउँमा
पलायनको नोटिस ड्याम्मै टाँसेर
समुद्र पारी हिडेकोछ ओखती खोज्न
तन्नेरी बैशहरू।
हो भाई!
यो भोको पेटले घुडाँ टेकाएको गाउँ हो।
भोको पेटले दर्शन बुझ्दैन
भोको पेटले धर्म बुझ्दैन
भोको पेटले कविता बुझ्दैन
केवल यो भोको पेटले
आवश्यक्ता र छटपटीको आगो मात्र ओकल्छ।
अस्ति जस्तो लाग्छ
पलायनको हवाल्व सोरेर लागेको बिरमान र जैकुमारहरू
घर फिर्नै पाएन
खाली लाश मात्रै घर भित्रियो।
हिजो जस्तो लाग्छ
भोको पेटले बगाएर लगेको
रहर र बैशहरूको गला रेटिएको
भिडियोहरू यूट्युबमा तेर्सिएको।
अबको पलायनको घटनाहरू
तिम्रो मरेको समाचार मात्रै पनि
आउँछ कि आउँदैन?
कुन्नी! अत्तो-पत्तो छैन।
कोठीमा बेचिएको, गिरोहको फेला परेको
चेली-बेटीका खबरहरू त
समाचार पत्रहरूले छाप्न पनि भ्याउदैनन्, कठै!
तिम्रो नुनिलो पसिनाले
देशमा ‘रेकर्ड’ धान फलाएको खबरले तिमी रमायौं
तिम्रो पोटिलो ठेलाहरूले
बगानमा रेकर्ड चियो पेलेको खबरले तिमी रमायौं
तर गन्तब्यको खोजीमा हिडेको तिम्रो रेकर्ड हिडाईलाई
देशले याद राख्यो कि राखेनधुई पत्ता लागेन
तिम्रो भोको पेटले काटेको दिन र रातहरू अनि
पलायनको रेकर्ड उठीबासहरूले
घर गाउँ रमायो कि रमाएन
याद रहेन।
हो साथी!
तिम्रो निधारमा जातिको श्री मिलेन
तिम्रो हत्केलामा धर्मको रेखा मिलेन
त्यसैले भोको पेटको खोला कटाउन
तिमीलाई आरक्षणको साँघु पनि मिलेन
त्यसर्थ पलायन नहुने तिमीलाई सौभाग्य पनि मिलेन।
अरूकै भकारी भरायौ तिम्रो भोको पेटले
अरूकै महल ठाडायौ तिम्रो भोको पेटले
धेरैलाई कहाँ देखि कहाँ पुर्यायो तिम्रो भोको पेटले
त्यसैले तिम्रो भोको पेटको ‘डिमाण्ड’
ह्वात्तै बढेको छ बजारमा।
त्यसर्थ साथी!
भोको पेट खोज्नेहरूसित होसियार है।


आगोको लप्का

तेजमान बराइली


केही हदसम्मन्
म छु.....।
केही हदसम्मन्
तिमी छौ।।
उनीहरू भने
सबै बिकिसके।
खोइ! कुनी किन
होबर्बादीको आगोको ज्वालाले
फेरी पनि भेटिसक्यो।
त्यो! परको घरको पिढीले
जबर्जस्त आफ्नोत्व......
छोपेर, लुकाएर राख्न खोज्दैछ
तर! यो समयको आँधीले
पिढी युक्लिप्टीस झैं
नाङ्गो भइसक्यो
समयको विषाक्त आगो
चारैतिर फैलिन्दैछ
मन!
माया....
सन्नाटा.....।।

  

पहिचान

गुमान सिङ राई


उ गोरो छ, रामे                  म कालो छु, चामे
म खेत खन्छु                     उ कोइला खन्छ
उ गोरु जोत्छ                    म ठेला ठेल्छु
म सुरुवाल लाउँछु              उ धोती
तर, मलाई चिन्नेले उसलाई पनि चिन्छ
कारण हाम्रो पसिना गनाउँछ एकै।
म पुल बनाउँछु                  उ सडक बनाउँछ
उ घर बनाउँछ                   म इँटा बनाउँछु
म रोडा ल्याउँछु                 उ ढुँगा ल्याउँछ
हाम्रो बास अलग अलग हुन्छ
तै पनि उसलाई जान्नेले मलाई पनि चिन्छ
कारण, हाम्रो घरको चुहुने छाना एकै।
म चियाको पत्ती टिप्छु         उ कल चलाउँछ
उ रेल बनाउँछ                   म जहाज बनाउँछु
म बन्दुक बनाउँछु              उ बुलेट बनाउँछ
उ अधिकार माँग्दा              म सुतेको हुन्छु
म रूँदा                             उ हाँसेको हुन्छ
म जिन्दाबाद भन्दा            उ मुर्दाबाद भन्छ
तै पनि मलाई जान्नेले उसलाई पनि चिन्छ
कारण, हाम्रो मालिक छ एकै।
उ ईश्वरको प्यारो                म अल्लाको
म बुद्ध भन्छु                      उ यिशु भन्छ
उ सागर पारी बेग्लै बोल्छ    म वारि बेग्लै
म उसलाई चिन्दिन             उसले मलाई चिन्दैन
तै पनि उसलाई देख्नेले, चिन्छ मलाई
कारण, जीवन राग आलाप छौ एकै

आधा-आधा रोटि भाँचेर खान्छौं एकै।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...