प्रकाश विश्व
दिल्लीको चकाचक सडकमा उनी रुखमा चढे। धोती-पन्जाबी
लगाएर। टाउको माथि पगडी। हातमा झाडु। उनले त्यो झाडु केही पल्ट हल्लाए। त्यसपछि चिच्याउँदै
स्लोगन दिए। अन्तमा एउटा सेतो लुगा रुखको हाँगामा बाँधेर आफै झुन्डे।
रुखको वरिपरि थुप्रिए हजारौँ मानिसहरू, सयौँ
पुलिस अनि दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवाल। एकजना मानिसले आत्महत्या गर्दैछन्।
आम-आदमी हेरेको हेरेकै। जस्तो कि मानिसको मृत्यु होइन। जादुगरको
खेल। फटाफट फोटो उठ्यो। टिभीको पर्दामा लाइभ प्रसारण, तर
कोइ पनि अघि आएनन्। राजस्थानको किसान गजेन्द्र सिङ मरे। उनलाई मर्नु दिइयो। उनी किसान
थिए। असिना पानीले खेती फसल चौपट भयो। तीनजना छोरीलाई दुइछाक खाना दिनु नसक्ने स्थितिमा
पुगेका थिए उनी। त्यही कारणले उनले आत्महत्याको निर्णय लिए। उनकोमा भेटिएको सुइसाइड
नोटमा त्यस्तै लेखिएको थियो। त्यही कागजको टुक्रामा सानो हरफहरूमा परिवारको मानिसहरूको
फोन नम्बर र ठेगाना पनि थियो।
यस्तो नाम-ठेगाना
कति हो कति जमा हुँदै जान्छ सरकारको ठुल्ठुला फाइलहरूमा। विद्रर्भ-महाराष्ट्रको
कपास खेती गर्ने किसान देखि लिएर बंगालको आलु खेती गर्नेहरूका लामो कतार देखेर हामी
अभ्यस्त भइसकेका छौँ। न भनेको पनि विगतको २० वर्षमा २ लाख ३६ हजार किसानहरूले आत्महत्या
गरिसकेका छन् र विगत २० मा किसान आत्महत्याको हरदर हेर्दा प्रति ३० मिनटमा १ जना किसानले
आत्महत्या गरेको आंकडा छ सरकारी एजेन्सी NCRB अनुसार यी सबै आत्महत्याको
खबरलाई अरू खबरहरूको पहाडले छोपिएको अँध्यारोबाट दिउँसोको उज्यालोमा जनता सामु ल्याएर
रुखको हाँगाबाट झुन्डिएर दृश्यमान बनाइदिएको छ गजेन्द्र सिङको आत्महत्याको खबरले।
केवल किसान आत्महत्याको कुरा किन
गर्नु? कत्ति हौ कत्ति मानिसहरूले आफ्नो बस्ने थलो गुमाईसक्यो ‘विकास’को
नामले। स्मार्ट सिटि-स्याटेलाइट टाउनसिप-ठुलो
बाँधको प्रोजेक्ट-प्रशस्त सडक-कारखाना स्थापनाको
नाममा देशभरि किसानहरूलाई,
आदिवासीहरूलाई, शहरमा बस्ने प्रान्तीय
मजदुरहरूलाई कत्रो सङ्ख्यामा विस्थापित गर्यो
त्यसको कुनै हिसाबनै छैन। अनि अधिकांश खण्डमा उनीहरूको जीवन-जीविकाको
कुनै प्रकारको पुनर्वास पनि भएकै छैन। त्योसित जोडिएको छ आर्थिक वा अन्य कुनै प्रकारको
सहुलियत नपाउने प्रश्न पनि। उपरी माथि थुपरी भएको छ नयाँ भूमि अधिग्रहण ऐन। जुन ऐन
अनुसार सरकारले आफूखुसी जमीन खोस्न सक्छ— कुनै आपत्ती गर्ने
ठाउँ पनि रहने छैन। अनि अर्कोतिर विभिन्न ठुलो राजनैतिक दलहरू, जो
आज सत्तामा छैनन्, तिनीहरू यसको विरोधमा ओर्लिए तापनि हामीलाई थाहा छ कि जबर्जस्ती
खेती वा बस्ने जमीन-जीवन-जीविका खोस्ने प्रश्नमा उनीहरूले जहाँ शासन चलाएका थिए वा चलाउदै
छन्, त्यहाँनिर उनीहरू पनि कम्ती थिएनन् त!
बेरोजगारीको समस्याले पनि एउटा
ठुलो समस्याको रूप लिएको छ। बेरोजगारीको कारणले, काम
गुमाउने निराशाले आत्महत्याको यो कतारमा सामेल भएका छन् यस्ता धेरै मजदुर अनि बेरोजगार
युवाहरू। निकै कम्ती मजदुरी,
सरकार निर्धारित निम्नतम मजदुरी नपाउनु, विभिन्न
असम्मानजनक शर्तमा काम गर्न बाध्य हुनु, एक एक गरी सामाजिक
सुरक्षा आर्जन गरेको अधिकारहरूलाई गुमाउनु, व्यापक
रूपमा स्थायी कामको सट्टामा अस्थायी-ठेक्का-क्याजुअल
श्रमिक लगाएर काम चलाउनु-हायर एण्ड फायर नीतिको निर्मम कार्यान्वयन अनि विभिन्न उद्योगमा ‘स्वेच्छिक
अवकास’ वा
‘भीआरएस’ लागु
गरी रोजगार घटाईदिने जुन प्रक्रियाहरूलाई हाम्रो देश वा राज्यको एक पछि अर्को सरकारले
अपनाएको छ— त्यो क्रमिक रूपले अझै सुस्पष्ट हुँदै जाँदैछ एक पछि अर्को
श्रमकानुन सुधारको बाटोबाट। यसपालि श्रम कानुन सुधारको जुन नयाँ प्रयास हुँदैछ त्यसले
के कस्तो परिवर्तन ल्याउदैछ त्यो श्रमजिवी जनताले एकदम गहिराइमा बुझ्न थालेका छन्! मजदुरीमा
ह्रास अनि कामको समयमा वृद्धिको एउटा निर्मम उत्पीडनमा दिन बित्दैछ श्रमिकहरूको। सङ्गठित
हुनु, प्रतिवाद गर्नु जस्तै न्यूनतम अधिकारहरूलाई पनि खोसेर आठ घण्टा
कामको सट्टामा ९ घण्टा-
१२-१४ घण्टा
.... डिमाण्ड अनुसार काम नबनिन्जेलसम्म
कामको एउटा सीमाहिन अत्याचार शुरू भएको छ श्रमिकहरू माथि।
इतिहासको पन्नामा छ मई दिवसको कहानी।
सन् १८८६ को १ मई अमेरिकाको शिकागो शहरको हे मार्केटमा श्रमिकहरूले भेला भएका थिए एउटा
सम्मानजनक जीवनको मांग लिएर—
आठ घण्टा काम, आठ घण्टा बिश्राम, अनि
आठ घण्टा मनोरन्जनको अधिकार। यस आन्दोलनलाई कानुनीरूपले स्वीकृत गराउनुको लागि भेला
भएको त्यस लडाइमा कैयौ मानिसहरूको मृत्यु भयो। अनि त्यो लडाइलाई सङ्गठित गर्ने ‘अपराधमा’ बम
फ्याकेको आरोप लगाएर सातजनालाई फाँसी र एकजनाको आजीवन कारावासको सजाय भयो, पछि
गएर ४ जना वीर श्रमिकलाई फाँसी भयो—
एन्जेल्स,
फिसर,
पर्सन्स,
स्पाइस। त्यही दिन नै साथीहरूका रगतले भिजेको रातो लुगालाई
निलो आकाशमा लहराउँदै श्रमिकहरूले घोषणा गरेका थिए— यो
नै हाम्रो झण्डा हो। हाम्रो साथीहरूको रगतले भिजेको रातो झण्डा नै हुनेछ हाम्रो प्रतिवादको, हाम्रो
सङ्घर्षको प्रतीक। त्यो रातो झण्डा पछि गएर जम्मै श्रमिकवर्गको रातो झण्डा बन्नुको
सट्टामा रंगी-विरंगी पार्टीहरूका झण्डा बन्दै गयो। पुरै संसारको इतिहासमा
ती मध्ये कसै-कसैले सही सङ्घर्षको पक्षधर बन्ने भूमिका लिएका छन्, भने
अर्कोतिर थुप्रैको ठिक त्यसको विपरीत भूमिका रहेको छ। हाम्रो यहाँ नेर पनि हामीले देखेकाछौं
कसरी सत्तामा बसेर रातो झण्डा हातमा लिएर सङ्ग्रामको विपरीतमा श्रमिक –किसान-छात्रछात्रा-युवा-नारी-आदिवासी-दमित
राष्ट्रियताको लडाई लाई कुल्चिएको छ शासक दलको हिसाबले।
मई दिवस इतिहासमा केवल आठ घण्टाको
लडाइको प्रतीकको रूपमा सीमित भएन। देश-देशमा, काल-कालमा
यो दिन चाँही संसार भरीमा खटीखाने मानिस र मुक्तिकामी जनताको सङ्ग्राम र शपथको प्रतीक
बन्दै गयो। आज जुन धमिलो समयबाट हामी हिड्दैछौं, त्यहाँ
मई दिवसको रातो घाम कहिले आएर बाटो देखाउँछ र जीवनमा हरियो उर्जा भरिदिन्छ?
No comments:
Post a Comment