निकिता लामा
‘लाली गुरास’को तर्फबाट ‘दृश्यसमूह’ भन्ने
सडक नाटक टोली बनाएर ८ मार्च २०१४ देखि शुरू भएको थियो हाम्रो सडक अभियान। ८ मार्च
हो नारी दिवस र यसलाई केन्द्रित गरी शुरु भएको हाम्रो सडक नाटकको यात्राले त्यसपछी
लामो बाटो हिडेर एक वर्षभन्दा बेसी बिताइसकेको छ। कहिले नारी मुद्दा माथि नाटक, कहिले
श्रमिक सङ्घर्ष लिएर, कहिले साम्प्रदायिक भेदभाव विरुद्ध जोश सँगै चलिरहेको छ हाम्रो
सडक अभियान। तराई, डुवर्स,
दार्जिलिङका धेरै ठाउँहरूमा गयौं यी नाटकहरूलाई लिएर र दर्शकहरूबाट
पनि राम्रो प्रतिक्रिया पायौं। नाटकलाई लिएर ठाउँ ठाउँ जानुको निम्ति हामीलाई अर्थको
जरुरत पर्छ, त्यसैले सड़क नाटकको अनुसार हामीले जनतालाई आफ्नो सामर्थ्य अनुसार
अर्थ सहयोग गर्ने अनुरोध गर्यौ। दर्शकहरूले पनि सके जति मद्दत गरे। यति मात्र होइन, नाटक
गर्दै जाँदा कतिपय ठाउँहरूमा बास बस्न पर्थ्यो र धेरै ठाउँहरूमा दर्शक साथीहरूबाट धेरै
मात्रमा सहयोग पायौं र यस अभियानलाई सफल तुल्याउन सक्यौं।
‘सडक नाटक’
भन्नाले सडकमा गरिने नाटक बुझिन्छ, जसमा
माईक, लाईट जस्ता सामानहरू चलाइन्दैन। यो नाटक अचानक एउटा भीड-भाड, जहाँ
मानिसहरू धेरै मात्रामा हुन्छन् यस्ता ठाउँमा गरिन्छ। नाटकमा खेल्ने कलाकारहरू आफ्नो
आवाज र अभिनयको माध्यमद्वारा जनतासम्म पुग्ने कोशिश गर्छन्।
सडक नाटकको मूल उद्देश्य समाजमा
भइरहेको वास्तविक उत्पीडनहरू जो समाजमा चलिरहेको छ त्यसलाई दर्शाउनु हो। दृश्यसमुह
नाटक टोलीद्वारा हामी नाटक लिएर समाजमा चलिरहेको शोषणको जम्मै पाटो देखाउने कोशिश गर्छौ
र यति मात्र होइन जनताको दबिएको आवाजलाई जगाउने र शोषित समाजलाई झल्काउने कोशिश पनि
गर्छौ। नाटकद्वारा हामी धेरैवटा मुद्दाहरू अघाडी ल्याउने कोशिश गर्छौ। यही कोशिशमा
यस वर्षको मार्च महिनामा हामीले तीन दिने सडक नाटक अभियान लियौं। नारी माथि हुने अत्याचार, धर्मको
नाममा शोषण, मजदुरहरूमाथि भइरहेको हेलचेक्र्याइँ जस्ता मुद्दाहरू लिएर हामी
जनता माझ पुग्यौं र यो कुरालाई लिएर सचेत गराउन खोज्यौं। यसरी हाम्रो नाटक टोलीले पहाड
अनि तराइका धेरै ठाउँहरूमा गएर नाटक देखायौ। अनि यस्ता मुद्दाहरूको विरुद्ध आवाज उठाउने
र जन जातिलाई पनि यस्ता कुराहरूको विरुद्ध उठ्ने आह्वान गर्यौं। यसरी ठाउँ ठाउँ गएर
नाटक गर्दा हामीले धेरै ठाउँका मानिसहरूलाई बुझ्न सक्यौं।
नारी मुद्दा माथि गरिएको नाटकको
नाम ‘आधा आकाश’। यस नाटकमा नारीहरू माथि भइरहेको सामाजिक शोषणहरू झल्काइएको
छ। कसरी आफ्नै घर समाजमा आफ्नै परिवारले हेपेर राखेको छ नारीहरूलाई त्यो कुराहरू यस
नाटकमा दर्शाउन खोजिएको छ। हुन त यो समाजको निर्माणमा नारीहरूको पनि बराबरको भागीदारी
छ तरैपनि यो समाज पुरुष प्रधान भएकोले अझै पनि नारीहरू आफ्नै हक र अधिकारदेखि वञ्चित
छन्। आज नारीहरूले थोरै मात्रामा भएपनि जे जति सहुलियतहरू उपभोग गरिरहेका छन् ती सबै
हजारौ नारीहरूले गरेको सय वर्षभन्दा पनि ज्यादा लामो संघर्षको परिणाम हो। तर अझैपनि
नारीहरू समाजका धेरै कुराहरू उपभोग गर्नबाट वञ्चित छन्। अझै पनि नारीहरूलाई समाजमा
दबाएर राखिएको छ, अझै पनि यो पुरुष प्रधान समाजका धेरैजसो मानिसहरूले उनिहरूलाई
आफ्नो निजी सम्पतिको रूपमा मात्र हेर्ने गर्छन्। त्यसैले आजको यो २१औ शताब्दीमा पनि
कन्या भ्रूणहत्या, बाल विवाह,
बलात्कार र नारीहरू माथि अझै भयानक प्रकारको अत्याचार जस्तै
एसिड फ्याकिने र दाइजोको लागी जलाइदिने कामहरू चली रहेको छ। यही कुराहरूको विरोध गर्दै
सडक नाटक अभियानद्वारा हामी यस समाजका मानिसहरूलाई यो कुरा बारे सचेत गराउदछौ र नारीहरू
माथि भइरहेको अत्याचार बारे विरोध जनाउदछौ।
आधा आकाश बाहेक आजसम्म हामीले अझै
२ वटा नाटक गरिसक्यौं ‘मशीन’
र
‘इन्सानिस्तान’। मशीन नाटकमा मजदूरहरूको सङ्घर्ष र कस्तो प्रकारको हेपाइहरू तिनीहरूले
सहनु पर्छ त्यो कुरा देखाईएको छ। कसरी मजदूरहरूको जीवन मालिकहरूको इशारामा चलिरहेको
हुन्छ, अझै चिया कमानका मजदूरहरूको जीवन त झन् कसरी दिनदिनै बिग्रंदै
गएको छ त्यो कुराहरू पनि यो नाटकले देखाउन खोजेको छ।
इन्सानिस्तान, यो
नाटक यस्तो नाटक हो जसमा देखाइएको छ कि कसरी सत्तामा बसेकाहरूले धर्म र जातिको नाममा
एउटै मानव समाजलाई छुट्याईरहेका छन् र कसरी आफ्नो राज चलाइरहेका छन्। अझै नयाँ नाटकहरू
प्रस्तुत गर्ने तयारी हाम्रो तर्फबाट चलिरहेको छ।
सडक नाटक यस्तो धरातल हो जसद्वारा
हामी सोझै सँग आफ्नो विचारहरू पोख्न वा व्यक्त गर्न सक्छौं र दर्शकहरूसँग सोझै बातचित
गर्न सक्छौं, जहाँ कलाकारहरूको मन्तव्य दर्शकहरू बीच सजिलै सँग पुग्छ र यसको
प्रभाव पनि निक्कै राम्रो हुन्छ। र महत्वपूर्ण कुरा सडक नाटकमा दर्शक र कलाकारहरू एउटै
स्तरमा भएको हुनाले त्यहाँ उच-नीचको भाव आउदैन, कलाकार हरू पनि दर्शकको
मनोभाव बुझ्न सक्छन् एकदम नजिकबाट र दर्शकले पनि कलाकारको कुराहरू सोझै लिन सक्छ। सडक
नाटकको अर्को विशेषता के हो भने यसमा पैसा तिरेर टिकेट किन्न पर्दैन जसले दर्शकहरू
माझ विषमता ल्याउछ जस्तै बेसी दाम तिर्नेले अघाडीबाट नाटक हेर्न पाउछन् र अरू पछाडी
हुन्छन्। तर यहाँ भने महँगो टिकेट किन्न सक्ने र टिकेट किन्न नसक्ने दर्शक सबैले सडक
नाटक हेर्न समान सुयोग पाउछन्। यसैले हामीलाई लाग्छ सडक नाटक एउटा यस्तो माध्यम हो
जहाँ हामीले सामाजिक मुद्दाहरूलाई खुल्ला रूपमा अघि ल्याउन सक्छौ र साधारण जनतालाई
जागरुक गराउन सक्छौं।
महत्वपूर्ण कुरा के हो भने, हामीले
सडक नाटक लिएर ठाउँ ठाउँमा जसरी जान्छौ, जुन उद्देश्य लिएर जान्छौ, लगभग
त्यसरी नै सडक कविता वाचनको कार्यक्रमहरू लिएर हिडीरहेकाछन यहाँको थुप्रै प्रगतिवादी, सम्बेदनशील
कविहरू पनि। अनि हिजआज सडक नाटक र सडक कविता समुहहरू एकैसाथ भेटेर केहि कार्यक्रमहरूमा
सडकलाई धेरै नै गुन्जयमान बनाइदिएको छ। हाम्रो यस क्षेत्र होस् वा जम्मै संसार, सडकको
भूमिका मानव सभ्यताको प्रगती तर्फ यात्रामा निकै छ। सडकको आवाजले नै दियो जनतालाई अघि
बढ्ने जोश, अघि बढ्नेहरूलाई सठीक बाटोको खोजी। सडक अभियान चल्दै गरोस्... चल्दै
गरोस् हाम्रो सुर्य अभियान।
No comments:
Post a Comment