Friday, June 12, 2015

विज्ञापन अनि नारीशरीरको बजारीकरण

क्रान्ति देवान


बजारीकरण व्यापारको शुरुवातसँगै संसार भरिनै चलिरहेको छ। एकजना व्यक्तिको आवश्यकताको एउटा वस्तु अर्को मुल्यवान वस्तु वा मुद्राको साटोमा पाउन सकिने प्रक्रियालाई व्यापार-वाणिज्य भनिन्छ। एउटा वस्तु बिकाउनको निम्ति त्यो वस्तुलाई बनाउनको लागत र उद्देश्य बाहेक विज्ञापनले ठुलो भुमिका खेल्छ। व्यापार-वाणिज्यलाई सुचारू रूपले चलाउनको निम्ति विज्ञापन खुबै राम्रो माध्यम भएर आयो। तर कतिपय नाफा कमाउने मानिसहरूले अझ बेसी नाफा कमाउन र आफ्नो स्वार्थको लागि यसमा पनि तोड-मरोड गर्न थाल्यो।
बिसौ शताब्दीको अन्त्यतिर विभिन्न सेवा हरूको पनि बजारीकरण हुन थाल्यो। जसो-जसो संसारमा बजार अर्थव्यवस्थाको वृद्धि हुन थाल्यो त्यसो-त्यसो समान अनि सेवाहरूको खुल्ला चलन पनि अनिवार्य हुदै गयो। व्यापारका केन्द्रहरूले आफ्नो सामग्रीलाई मानिसको अन्तरंग भाग जस्तै संस्कृति, कला, शिक्षा, स्वास्थ्य, खेल-कुद यहाँसम्म कि धर्मसँग पनि जोडेर व्यापार गर्न थाले जसले तिनीहरूको नाफाको पहाडमा अझ धेरैवटा चुचुराहरू थप्दै गयो। यही प्रक्रियामा नारी शरीरको बजारीकरण पनि शुरू भयो, प्रथमतः सृंगार सामग्री अनि अन्य नारी सम्बन्धित सामग्री बेच्नको निम्ति बजारीकरण आफैमा खराप नभए पनि अझ अझ बेसी नाफ कमाउने प्रवृति जुन पुन्जिपतिहरूको छ त्यसले यसलाई विभत्स रूप दिएको छ।
बजारीकरणको चल्ने तरिका
वर्तमान समयमा प्रेस र मिडियाले मुख्य भुमिका खालिरहेको हुन्छ। यसले ठुल्ठुलो कोर्परेटका मालिकहरूलाई मानिसको घरमा मात्र होइन तर मानिसको मस्तिष्कमा पस्ने बाटो पनि सहज बनाइदिएको छ। चलाकीपूर्ण, लोभ्याउने, साँचो जस्तै, मनलाई छुने विज्ञापनहरूले र सुहाउदो मोडेलको सहायताले यसले मानिसको विशेष गरी नारीलाई यो भ्रममा हालिदिन्छ कि तिनीहरूको रूप रंग, उचाई, ओजन, केशको सज्जा, राम्रो राम्रो लुगा र जुत्ता देखि दिनहुँ चलाइने शृंगारका सामग्री जस्तै हातमा लगाउने ब्रेसलेट, घडी, बोकिने ब्याग, गलामा लगाइने पेन्डेन्ट, चश्मा इत्यादिले चमत्कार जस्तै तिनीहरूको निरस र उदासिन जीवनमा हलचल ल्याइदिने छ। नारीहरूको उपयोगको निम्ति यस्ता वस्तु बनाउने राष्ट्रिय वा बहुराष्ट्रिय कम्पनीहरूले जहिले पनि नारीको बाहिरी सुन्दरता र आकर्षणलाई प्रधानत्य दिंदै आत्मविश्वास बढाउनु हो भने गोरो अनुहार, पातलो सुडौल शरीर, राम्रो चमकदार केश इत्यादि हुनु जरूरी छ भन्ने दावा गर्छन्। यसरी नारीहरूको मस्तिष्कमा उक्त कुराहरूको गहिरो छाप बनाएर व्यापार गर्न उत्रन्छन् यी महारथीहरू। एउटा नाटकीय विज्ञापन, नारीको मनोविज्ञानलाई बुझेर लेखिएको एउटा मजाको प्लट र केही कलाकारको सहायताले नाफाको समुद्र बनाउछन् यिनीहरू। उपभोक्ता बनाउनु र बढाउनुनै हो यिनीहरूको एकमात्र लक्ष्य। धेर भन्दा धेर आवश्यकता बनाउनु र त्यसैमा आधारिक उपभोक्ता बढाउनुनै हो यिनीहरूको मूल-मन्त्र। यसैले यिनीहरूको लक्ष्य तरुण युवतीहरू देखि उमेर पुगेका नारीहरू सम्म विस्तृत हुने गर्छ। यी वस्तुहरू जस्तै क्रिम, पाउडर, लाली, लिबिस्टिक, नेलपोलिस इत्यादिले गरेको ठुल्ठुलो बाचा अघाडी यी वस्तुहरूको उच्च मूल्य पनि नगन्य हुने गर्छ यसका क्रेताहरूको निम्ति। सकी न सकी यी वस्तुहरू किन्ने होड त देखेकै छन् सबैले।
विस्तारो विस्तार हामी केदेख्दैछौं भने यही विज्ञापनहरूको प्रकोपले नारीहरू यस ‘सुन्दरीकरण’-को भुवरीमा चक्कर काट्दैछन्। केटीहरूअलिक तरुण हुने बित्तिकै देखि आफ्नो रूप-सज्जालाई लिएर चिन्तित हुन थाल्छन्। घरमा आमा-बाबा र आफन्तहरूले पनि तिनीहरूको शरिरिमा भएको दोषलाई चिन्हित गराउनमा ठुलो भुमिका खेल्छन्। थिनिहरू जब हाइ स्कुल, कलेज इत्यादिमा पुग्छन् तब आफुलाई आकर्षक देखाउने निरन्तर प्रयासमा बेसी जस्तो केटीको मगज खटिरहेको हुन्छ। बच्चादेखि तरुण हुने प्रक्रियामा भएको शारीरिक परिवर्तनले पनि नारीलाई अरू कोही जस्तै जसलाई उ खुब मन पराउछ, त्यो जस्तै देखिनुमा प्रेरित गर्छ।
वास्तविकता
आज नारीहरूलाई यो विश्वास भइसकेको छ कि तिनीहरूको शरीरमा भएको कुनै पनि दोष वा विकृतिले तिनीहरूको अस्तित्वमा प्रश्नचिन्ह तेर्स्याई दिन सक्छ र अरू मानिसहरूको छेउमा तिनीहरू हाँसोको पात्र बनिन सक्छन्। यसरी तिनीहरूले आफ्नै व्यक्तित्वमाथि शंका गर्न थाल्छन् र कालान्तरमा गएर यो मानसिक अवस्थाले भयङ्कर रूप लिन सक्छ। अलिकति मोट्टाउनु, गर्भवती हुँदा छाला तन्किएको दाग बस्नु, अनुहारमा कपाल उम्रिनु वा अनुहारमा फोका निस्कनु वा कोठी पलाउनु, मोटो पासुला हुनु वा जन्मैदेखि कुर्लिंग केश हुनु वा काली हुनु यी सबै सबैलाई समाजमा एउटा नारीको व्यक्तिवलाई होच्याउने दुर्गुणहरूमा गनिन्छ। यसैलाई फेरी उमेर ढल्किनु सँग पनि जोडेर हेरिन्छ र नारी तरुनी देखिन, गोरो र सुन्दर दागविहिन त्वचा, सुन्दर चम्किलो केश र अन्य धरै धेरै कुराहरू चाहन्छन् आफ्नो शरीरमा। यस्तो समयमा नारीहरूको उद्धार गर्न आइपुग्छ कम्पनीहरू आ-आफ्नो जादुको सामानहरू लिएर र नारोको व्यक्तित्वलाई सम्पूर्ण बद्ली दिएर आर्कै व्यक्तित्व, जो आत्मविश्वासले भरिएको हुन्छ त्यस्तो बानिइदिने झ्याली पिट्छ।
खासमा नारीको सुन्दरता, गोरोपना, पातलो शरीर उसको व्यक्तित्व र चरित्र नाप्ने मापदण्ड पटक्कै होइन। तर बारम्बार देखाइने आकर्षक विज्ञापन, बाटो बाटोमा झुन्ड्याइएको होडिंग, सिनेमा वा धरवाहिकमा खेल्ने अभिनेत्रीहरूद्वारा गरिएको विज्ञापनले साधारण नारीहरूको मस्तिष्कलाई वशमा गर्न सफल हुन्छ। प्रसिद्ध ‘बार्बी गुडिया’ यस्तो एउटा मोडेल हो जसलाई देखेर थुप्रै नारीहरू त्यहि जस्तै ‘जिरो साइज’ हुनलाई प्रेरित हुने गर्छन्। ठुल्ठुलो कोर्परेटहरूले राखेको सुन्दरी प्रतियोगिता पनि यही मोडेलमा आधारित छ।
नारीहरूकै निम्ति बनिएको सामग्रीहरू त छोडिनै दिउ। अन्य सबै आवश्यकीय वा पुरुषहरूको उपयोगको सामग्रीमा पनि नारीकै शरीरको प्रयोग गर्न यिनीहरू हिच्किचाउदैनन्। दाह्री काट्ने ब्लेड होस् वा पुरुषको बडी स्प्रे वा भित्री लुगा, गाडी, बाइक होस् वा रम विस्की सबैमै नारी शरिसको प्रदर्शन गरिन्छ र अन्य वस्तु पैसाले किन्न सकिए जस्तै नारी पनि पैसामा किन्न सकिने वस्तुको रूपमा देखाइन्छ।
निष्कर्ष
मनुष्यको प्रवृत्ति बादरबाट आएको ठुलो प्रमाण हो कि मनुष्य पनि बादर जस्तै अर्काको नकल गर्नमा सबभन्दा तेज हुन्छ। तिनीहरू अरू जस्तै हुनुमा यति साह्रो व्यस्त हुन्छन् कि एक समयमा आएर आफ्नोपन भन्ने केही चिजनै रहदैन। फेरी अन्य थरिका नाफामुखी मानिसहरू मानिसको यही प्रवृतिको फाइदा उठाउछन् बेस्सरी। आफैलाई अरुको आँखाले जस्तै विज्ञापन इत्यादिबाट हेर्ने आदतले नारीको बौद्धिक विकाश र मूल्यबोधलाई खतरामा हालिदिएको छ। सबै मानिसहरू जीवनमा सुरक्षा चाहन्छन्, त्यसरीनै नारीहरूले यो सुरक्षा सुन्दरीकरणद्वारा पाउँन सकिन्छ भनेर सोच्छन्। तर तिनीहरू आफै वस्तुको रूपमा उपयोग भइरहेका छन् भनेर धेरै कम्तिलाई मात्रै थाहा होला। मेशबाही २०१४ ले भनेका छन् –“यदि सुरक्षा झुठो आश्वाशनमा टिकेको छ भने त्यो डरलाग्दो रोमान्च साबित हुन सक्छ।”
त्यसो भए के यी विग्यपन्हारूले समाजलाई काम लाग्ने संदेशहरू दिन सक्दैनन् र? निश्चय सक्छन्, तर अर्थनैतिक हिसाबले त्यो लाभदायक हुँदैन। कारण कोर्परेटहरूले जति खर्च लगाएर उक्त विज्ञापन बनाउछन्, त्यसलाई टेलिभिजन वा खबरकागजसम्म पुर्याउछन्, ती सबैलाई जोडेरै आफ्नो सामग्रीको मूल्य निर्धारण गर्छन्। बजारले उसको विज्ञापनले समाजमा कस्तो असर पार्दैछ त्यसको कुनै मुल्यांकन गर्दैन र यसको कुप्रभावको जिम्मेवारी पनि लिंदैन। यी विज्ञापनको स्तर जाँच गर्ने कुनै सेन्सर बोर्ड पनि छैन। जबसम्म नाफा छ, तबसम्म कोर्परेटहरू कहिले पनि यसबाट पछि हट्ने छैनन्।
नारीको व्यक्तित्व उसको विचार, भित्री सुन्दरता र कलात्मकतामा भर पर्छ। त्यसैले नारीको विचारको शोषण, जसले उसलाई आफ्नो बाहिरी सुन्दरतामा मात्र केन्द्रित गर्छ, त्यो पनि एउटा तप्काको मानिसको नाफाको निम्ति, समाजको निम्ति घातक साबित हुनसक्छ। पुरुषहरू सरह नारीको पनि बौद्धिक विकाश र समाज निर्माणको विभिन्न क्षेत्रमा तिनीहरूको भागीदारी अतिनै महत्वपूर्ण छ। त्यसैले शिक्षित भएको नाताले, जिवनको वास्तविकताहरूलाई बुझ्दै मस्तिष्कको प्रयोग गरेर हामी के साँचो के भ्रम हो त्यो छुट्याउन सक्नु पर्छ। नारी शरीरको घोर विरोध गर्नु पर्छ हामीले र साँचो अर्थमा एउटा जिम्मेवार र सचेत नारी बनिने र बनाउने तर्फ लाग्नु पर्छ।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...