Sunday, December 20, 2015

पिंजरा तोड : सङ्घर्ष अझ जारी छ

अम्बिका राई

दिल्लीबाट शुरू भएको यो “पिंजरा तोड” आन्दोलन केवल दिल्लीमा मात्र सीमित रहेन अब। देशको धेरैवटा महाविद्यालय अनि विश्वविद्यालयमा पनि पिंजरा तोड्ने क्रम शुरू भएको छ। लगभग ३-४ महिना अघि शुरू भएको हो यो आन्दोलन। छात्रावास अनि  पेयिंग गेस्ट (पि.जि)- मा बस्ने महिलाहरू माथि थोपिदिएको झुटो सुरक्षाको विरोध हो यो'पिंजरा तोड’। प्राय सबै छात्रावासमा महिला विद्यार्थीहरूको निम्ति छात्रावास पस्ने अनि निस्कने समय निर्धारित गरिएको हुन्छ। कारणवस् कुनै महिला तोकिएको समय भन्दा पाँच या दस मिनट ढिलो भयो भने उसलाई छात्रावासमा पस्न दिइन्दैन वा उसले आफ्नो अभिभावकलाई छात्रावास प्रबन्धक अघि ल्याउनुपर्ने हुन्छ। तर सँगै पढ्ने पुरुष साथीहरूमाथि भने यस्तो कुनै नियम लागु हुँदैन।
लखनऊको राम मनोहर लोहिया न्याशनल ल युनिवर्सिटी (RMLNLW) मा पनि यस्तै एउटा घटना घट्यो। २२ नोभेम्बेर २०१५ को दिन एउटा छात्रा छात्रावास पस्नुमा १५ मिनट ढिलो भएको थियो। उसको हात  भाँचिएको कारण उ डाक्टर कहा गएकी थिई। तर छात्रावास प्रबन्धकले उसलाई भित्र पस्न दिएन। यो घटनाको विरोध गर्दै महिला विद्यार्थीहरू प्रबन्धक अनि अथोरिटिको विपक्षमा उठे। केही शिक्षक अनि पुरुष विद्यार्थीहरू पनि उनीहरूको साथमा खडा भए। प्रबन्धकले भने कि “नारीहरू प्रकृतिको शिकार हुन् त्यसैले तिनीहरूलाई भित्रै राख्नु पर्छ” (Women are the victims of nature and hence should be put inside)। उनको यस्तो बयानले ती छात्राहरू आक्रोशित बने। प्रबन्धकको यस्तो बयान अनि छात्रावासको नियमको विरोध गर्दै उनीहरू उप-कुलपतिकोमा पुगे। यो विषयमा छलफल गरेर उप-कुलपतिले एउटा निर्णय लिए। RMLNLW को छात्रावास खोल्ने समय बिहानको ५:३० देखि बड़ाएर ६:३० बनाइदिए अनि बेलुकी छात्रावासको गेट बन्द गर्ने समय ९:३० देखि १०:३० गरिदिए। अनि त्यो छात्रालाई पनि छात्रावासमा बस्ने अनुमति दिए। यसरी लखनऊको RMLNLW का विद्यार्थीहरूले केही हदसम्म पिंजरा तोडेर देखाई दिए।
पिंजरा तोड आन्दोलनले फेरी अर्को मुद्धा उठाएको छ। त्यो हो लाईब्रेरी बन्द गर्ने समय। कुनै कुनै महाविद्यालय अनि विश्वविद्यालयको लाईब्रेरी एकदमै छिटो बन्द गरिन्छ। यसको विरोध गर्दै दिल्लीका विद्यार्थीहरूले लाईब्रेरी बन्द गर्ने समय तोकिएको भन्दा बेसी गर्ने माँग उठाए। आन्दोलनमा उत्रेकाहरू सेन्ट्रल लाईब्रेरी अघि रात भरि बसे। उनीहरूले आफ्नै लाईब्रेरी बनाए। सबै जाना आ-आफ्नो किताब लिएर सडकमा पढ़न बसे। कसैले गीत गाए त कसैले “पिंजरा तोड”-को नारा लगाए। 
एक तर्फ जहाँ “पिंजरा तोड”-ले छात्रावास अनि पि.जि. हरूबाट यी सबै नियम हटाउने माँग उठाइरहेको छ अर्को तर्फ मानव संसाधन विकास मन्त्री स्मृति इरानीको बयानले त अझ हलचल मचायो। उनको बयान यस प्रकार थियो “मलाई लाग्दैन कि भारतमा नारीहरूलाई कस्तो लुगा लगाउने, कसरी लगाउने, को सँग भेट्ने, कतिबेला भेट्ने निर्देश गरिन्छ।” जहाँ हरेक एउटी नारीलाई सानो हुदा देखि युवती भइन्जेलसम्म उसको जीवनको हरेक पाइलामा घर अनि समाजले के गर्नु पर्ने हो वा होइन, कसरी बोल्नु, कसरी हिड्नु, कस्तो लुगा लगाउनु भनेर सिखाउछ त्यहाँ इरानीको यस्तो बयान सुन्न पाउनु आश्चर्यजनक हो। इरानीको यस्तो बयानको विरोध गर्दै “पिंजरा तोड” का कार्यकर्ताहरूले उनको निम्ति विश्वविद्यालय अनि महाविद्यालयका'रूल बुक’हरूको पार्सल बनाएर उनलाई उपहार स्वरूप पठाउने निर्णय गरे। यती मात्र नभएर २४ नोभेम्बेरको दिन उनीहरूले स्मृति इरानीको दफ्तर अघि बसेर सोही'रूल बुक’-हरू बाट महिलाहरू निम्ति बनाएका नियमहरू पढेर पनि सुनाए। २६ नोभेम्बरको दिन पिंजरा तोडले दिल्ली कमिशन फर वुमनका अध्यक्ष स्वाती मालीसंग दोस्रो मिटिंग राखे। उनीहरूको पहिलो मिटिंग १३ अक्टोबेरको दिन भएको थियो। उनीहरूले देश भरि छात्राहरू माथि घटेका घटनाका कथा अनि कागजहरू साथै जम्मा १०० जति गुनासो (Complaints) दर्ज गराएका छन्। 
धेरै पिंजराहरू बनिएका छन् अनि धेरै पिंजराहरू तोड्नु बाकी नै छ। यस आन्दोलनका कार्यकर्ताहरू यसरि आफ्नो कुरा कुना कुनामा गुन्जायमान गराउदैछन्:- 
‘युनिभर्सिटी हमारी बन गई खाप
बापरे बाप, बापरे बाप
पेट्रियार्की का खोल दे पोल
पिंजरा तोड, पिंजरा तोड
चलो महिलाओ कि आजादी कि ओर 
पिंजरा तोड पिंजरा तोड’ !
[नेपाली अनुवाद]
‘युनिभर्सिटी हाम्रो भएछ खाप, 
बापरे बाप, बापरे बाप 
 पेट्रियार्कीको खोलि दिउ पोल
पिंजरा तोड, पिंजरा तोड
हिड नारीहरूको आजादी तिर 
पिंजरा तोड, पिंजरा तोड'!


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...