Sunday, December 20, 2015

संस्कृति र परम्परामाथि पुँजीवादको अतिक्रमण


लीलाबहादुर छेत्री 

सांस्कृतिक भूमण्डलीकरणको जालोमा फसाएर श्रमजीवीवर्गलाई मानसिक दासताको भारी बोकाउने र पसिना चुस्नमा कुनै कसर बाकी नराख्ने पुँजीवादी व्यवस्थाले पछिल्ला केही दशकदेखि यता आफ्नो रणनीतिमा परिवर्त्तन ल्याएको देखिन्छ। प्रत्यक्ष उपनिवेशवादी रणनीतिबाट पछि हट्नै पर्ने स्थिति अघि आए पछि यस रणनीतिको अवलम्बनतिर पुँजीवाद ढल्किएको हो। रणनीतिका पाटोहरू जस्तोसुकै भएपनि त्यसले श्रमजीवीवर्गकै खेदोपाइलो गरिआएको र उनीहरूकै खुन पसिनामा मात्रै लहलह भएर झ्याङ्गिएको यो पुँजीवादले विभिन्न माध्यम हुँदै अहिले आएर अपनाएको रणनीति हो मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्ने निहूमा पसिना खुन चुस्ने नयाँ र सहज मार्ग। जसलाई श्रमजीवीवर्गको पसिना चुस्नसम्म आइपुग्ने केही घुमाउरो मार्ग मान्नसकिन्छ। पुँजीवादी व्यवस्थाको विभिन्न एजेन्टहरूद्वारा अहिले यो कार्य विश्वमै सम्पन्न भइरहेको देखिन्छ। पूर्वदशकहरूमा सत्ता, शक्ति र सीमित शाषण क्षेत्रद्वारा होस् या विभिन्न स्तरका एजन्टहरूद्वारा अहिलेको यो नयाँ मार्ग अवलम्बन गर्नमा पुँजीवादी व्यवस्था उद्धत देखिन्छ। धेरैले यसलाई सामन्ती व्यवस्थाकै अर्को स्वरूप समेत मानेका छन्। पुँजीवादी व्यवस्थाको आधुनिक तथा अत्याधुनिक स्वरूप दुवैले नै श्रमजीवीवर्ग (जो संसारको विभिन्न क्षेत्रमा रहेर आफ्नो मौलिक परम्परा र संस्कार संस्कृतिको अनवरत गतिसितै प्रगतिपथमा अघिबढ्ने प्रयासमा सङ्घर्षरत छन् )माथि आफ्नो विरोधीसमेतलाई अमानवीय तरिकाद्वारा परास्त गर्दै सांस्कृतिक भूमण्डलीकरणको पासो फ्याक्दै आएको हो। अहिले आएर भने यो पुँजीवादी व्यवस्थाले श्रमजीवीवर्गको विभिन्न मौलिक संस्कृति र परम्पराहरूको संरक्षण गर्ने निहूको नयाँ धारिलो हतियार एउटा हातमा लिएर अनि अर्को हातमा भने पुरानै सांस्कृतिक भूमण्डलीकरणक लिएर आक्रामक शैलीमा अगाडि बढिरहेको देखिन्छ । जसलाई पुँजीवाद व्यवस्थाको विरोध गर्ने तप्का र समाजवादका हिमायतीहरूले चर्चा गर्दै श्रमजीवीवर्गलाई सचेत गराउने प्रयास शुरु गरेको देखिन्छ। 
शुरुशुरुमा पुँजीवादले सांस्कृतिक भूमण्डलीकरणद्वारा विभिन्न मौलिक संस्कृति र परम्परालाई जरैदेखि उखेलेर एउटै लहरमा उभ्याएर आफ्नो बजार व्यवस्थालाई दह्रिलो बनाउने कैयौ कुप्रयास गरेको हो र यस दिशामा यो पुँजीवाद सशक्त र सफल पनि देखिॅदै आएकोछ। विशेष गरी मौलिक परम्परा र संस्कृतिमा स्वतः:स्फूर्त जिउने वर्गलाई असभ्य र निम्नस्तरको जीवनशैलीमा जिइरहेको भ्रममा धकेल्ने वातावरण सृजना गर्ने असङ्ख्या संशाधनहरूलाई विश्वव्यापीकरण पनि गरिरहेको देखिन्छ। अहिले आएर यो रणनीतिमा केही फेरबदल गरी विभिन्न वर्गका मौलिक संस्कृति र परम्पराको संरक्षणको नौटङ्की देखाउॅदै आममानिसहरूलाई उसरी नै लुट्ने र चुस्ने कामलाई जारी राखेको देखिन्छ। विभिन्न सञ्चारमाध्यमको अत्याधिक प्रयोग गर्नु पुँजीवादको प्रकृति हो । मौलिक परम्परा र संस्कृतिमा घुलमिल हुँदै जिउनेहरूलाई अत्याधुनिक जीवनशैलीको प्रलोभन र आशक्ति देखाएर प्रभावित बनाउॅदै आएको छ। यस व्यवस्थादेखि निरपेक्ष रहने सञ्चारमाध्यम र सञ्जालहरूलाई पनि वशमा ल्याउने षढयन्त्रमा उत्तिकै सक्षम रहॅदै आएको देखिन्छ। शुरुमा महानगरतिर हाबी भइसकेको यो पुँजीवाद व्यवस्था र मानसिकता यतिखेर यही सञ्चार र अरू विभिन्न माध्यम हुँदै ग्रामीण इलाकासम्म पनि पुऱ्याइसकेको देखिन्छ। यस्ता कार्यमा अहिले मर्चेन्ट क्यापिटलिस्ट पोलिसी अर्थात् व्यापारमा आधारित पुँजीवाद व्यवस्था अग्रसर देखिन्छ। जसको उद्धेश्य हो श्रमजीवर्गबाट पसिना चुसेर तेब्बर चौबर मुनाफा कमाउनु अर्थात् श्रमजीवीवर्गलाई दासत्वको मानसिकताबाट बाहिर आउने अवसर नदिनु । यसका धेरै उदाहरणहरू छन् । 
हाम्रो समाजमा वर्षौदेखि यता सम्पन्न गरिॅदै आएको केही धार्मिक अनुष्ठान र सांस्कृतिक चाड-पर्वहरूलाई अचेल मर्चेन्ट क्यापिटलिस्टहरूले सरासर तारो बनाउन थालेका छन्। ठुला महानगरदेखि लिएर सहरबजार र शहरी इलाकातिर मर्चेन्ट क्यापिटलिस्टहरू सक्रिय देखिन्छ । प्रमुख या सह-प्रायोजकको भूमिकामा अघि आएर प्रायोजनाको भूमिका निर्वाह गर्नथालेको छ। पुँजीवाद मानसिकतामा ठुला व्यापारी र ठेकादारीदेखि लिएर साना व्यापारी र ठेकादारसमेत मौलिक संस्कार र परम्पराको संरक्षणको बेडा थामे झैँ गर्न अघि आएको देखिन्छ। साम्यवादी दृष्टिकोणमा हाम्रो समाजमा सम्पन्न गरिने प्राय:जसो अनुष्ठान वा चाड पर्व र महोत्सवहरू सामन्तवादी पुँजीवादमा रिङेरै हुर्किॅदै आएको मानिए तापनि त्यसमा बढी मौलिकताको रङ घोलिॅदै आएको देखिन्छ। जसले श्रमजीवी वा निम्नवर्गलाई त्यस्ता चाड-पर्व र महोत्सवहरूले प्रदान गर्ने सामाजिक मूल्य र मान्यतामा प्रत्यक्ष खलल आउनथालेको कुरो प्रकट हुनथालेको छ। 
ठूल्ठूला पण्डालको निर्माण र आयोजनामा सम्पन्न गरिने विभिन्न समुदायका मौलिक चाड-पर्व र महोत्सवहरूमा व्यापारमा आधारित पुँजीपतिहरू प्रमुख तथा सह-प्रायोजकको भूमिकाको निर्वाहमा लागिपर्न थालेपछि निम्न (विशेष गरी श्रमजीवी) वर्गका त्यस्ता आयोजनाहरूमा रहिआएको प्रत्यक्ष भागीदारीको महत्त्व र मान्यतालाई कमजोर हुनथालेको देखिन्छ। त्यसरी श्रमजीवीवर्गको भागीदारीको महत्त्वलाई गौण पारेपछि आफूहरू यस क्षेत्रमा शीर्षस्थ रहने कोसिसमा पुँजीपतिहरू जुट्नथालेका हुन्। आफ्नो मौलिक चाड-पर्व र महोत्सवहरूलाई अक्षुण्ण राख्नलाई अनुदान सङ्ग्रह र सामूहिक कार्यमा एकजुटता देखाउने वर्गलाई यो प्रक्रियाले निर्बल पार्न थालेको देखिन्छ। नेपाली संस्कार संस्कृतिमा पनि यसले जरो गाडिसकेको देखिन्छ। देउसी भैलो,शक्तिपूजा चाड-पर्व र संस्कृतिक महोत्सवहरू आदि जस्ता महत्त्वपूर्ण मानिएका मौलिक परम्परा पनि सम्पन्नहरूकै सिॅयालमनि सीमित रहनथालेको देखिन्छ। जसलाई पुँजीवाद मानसिकताको रूपमा फलाउने फुलाउने काम भइरहेको ज्वलन्त उदाहरणको रूपमा चर्चा गर्नसकिन्छ। यो मानसिकताको शिकार हुनबाट मौलिक संस्कृतिको गरिमालाई जोगाउन आउदा दिनमा गाह्रो पर्ने सम्भावना प्रबल भएर जादैछ।

No comments:

Post a Comment