Sunday, December 20, 2015

कविता : राजनीति?

उदय सुब्बा गोर्खा

आकाशवाणी र दूरदर्शनको
आवाज भएर
गाउँ गाउँमा राम्रो दिन
पुगिसके पनि 
गाउँको दुर्दिन हटेको छैन
समाचार पत्रहरूको 
अक्षर भएर
बस्ती बस्तीमा राम्रो दिन 
पसिसके ता पनि 
बस्ती बालाहरूको दुर्दशा
उस्तै छ।
कसरी भनूँ म 
नहरहरूबाट कुलो बगेर
खेतका गरा गरामा 
सुदिन
भरिसक्यो भनेर 
जबकि
बेमौसमको वर्षा र खड़ेरीले 
सखाप पारेपछि जिजीविषा र सपनाहरू 
किसानको खपि नसक्नु दुख
रूखका हाँगा हाँगामा
शव बनेर झुण्डिनु उत्तिकै छ
देशले नयाँ वर्षको उत्सव
मनाइरहेको बेला
किसानको घरमा
मृत्युको शोक धुन
बजेको बजेकै छ।
आफ्नो मनको कुरा
सुनाउने सरकारले 
किसानहरूको मनको कुरा
बुझ्नै सकेन
देशको विकाशदर
जी.डी.पी.-मा राख्नेहरूले 
दिन दिनै बढ़्दो गरिबीको हिसाब 
लगाउनै सकेन।
समय पनि कति निठूर हुँदोरहेछ-
न यसले किसानको मर्म 
बुझ्न सकेको छ
न यसले शोषकहरूको कर्म/कुकर्म
बुझ्न सकेको छ
न यसले शाषकहरूको धर्म/अधर्म नै बुझेको छ
कतै समयले पनि किसानहरूको
दुरावस्थामाथि
राजनीति गरेको त हैन??  

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...