Sunday, December 20, 2015

मुनाफाको खोजीमा अमानवीय पुँजी

गुञ्जन राणा

"मृत्यु त अपरिहार्य हो, निश्चयनै कसैले पनि अमर हुने अमृत त पिएको छैनन् नै होला।” — यी थिए उत्तर बङ्गालको गोएंकाको अधिनमा भएको १४ वटा चिया बगानहरू मध्ये एउटा बगानको म्यानेजरको उत्तर, जब उनलाई बाग्राकोट चिया बगान (डन्कन्स)-मा हालैमा लामो अवधिसम्म बिरामीले गर्दा अनि राम्रो स्वास्थ्य सेवाको कमीले गर्दा भइरहेको श्रमिक मृत्युको बारेमा सोधियो। हिज आज यस्तो मृत्युको खबर निरन्तर आइ रहे पछि उक्त सत्यलाई म्यानेजरले सिधै नकार्दै आफ्नो जीवनको धान्नको निम्ति सबैले कोसिस गर्नु पर्छ भने अनि कसैले बन्दुक लिएर उसलाई खेदे उ निश्चय पनि आफ्नो जीवनको निम्ति दगुर्ने छ भनेर बताए। ठिकै हो चिया बगानको स्थिति यस काल्पनिक स्थिति भन्दा बेहेतर त छैन नै जसमा म्यानेजर चाही बन्दुक लिएर मजदुरहरूलाई खेदी रहेका छन्। 
सबैलाई थाह छ कि मृत्यु आउनेनै हो तर हाम्रो कोशिश सधैँ आफ्नो जीवनलाई दीर्घायु बनाउने रहन्छ, हामीले जीवनको पक्ष लिएनौं भने मृत्यु चाडै आउछ तर, यी मजदुरहरूको मृत्यु स्वाभाविक र अपरिहार्य होइन, यिनीहरूको मृत्युको मुख्य कारण हो अस्वस्थ्यकर अनि अस्वच्छ कामको वातावरणले गर्दा उब्जिएर छिप्पिएको बिमारी, अशुद्ध पिउने पानी र प्राय पौष्टिक गुणवत्तामा शून्य रहेको भोजन जुन तिनीहरू आफ्नो नगन्य कमाइलाई बचाउन भनी खान्छन्।   
डन्कन्स-गोएंकाको एउटा चिया बगान— गंगारामको पनि यस्तै कथा छ।  यस बगानको क्षेत्रफल ८०० हेक्टर छ यो चारवटा प्रमुख भागहरूमा बाडिएको छ। ती हुन् टुना, मुनि, गंगाराम अनि ताराबारी। टुना विभागमा जहाँ १५०० स्थायी मजदुरहरू काम गर्छन् भने २००० जना अस्थायी मजदुर छन्, बिघावाल २००-२५० छन् भने कर्मचारी १५-२० जना छन्। २००३ सालमा टुना विभागको स्थायी मजदुरहरूले ठिका मजदुरहरूलाई काममा लिने कुराको विरोध गर्दै हड्ताल गरे कारण तिनीहरू  स्वयंलाईनै कामको कमी हुने गर्थ्यो। वर्तमानमा मजदुरहरूलाई तिनीहरूको नयाँ म्यानेजरले थम्थमाइ रहेका छन् जसले अगस्टदेखि बन्द रहेको चिया बगानलाई फेरी खोल्ने बाचा गरे। यहाँ मजदुरहरूले मई देखि तलब नपाए पनि जुलाईसम्म निःशुल्क काम गरे। त्यसैले तिनीहरूले अगस्टदेखि काम गर्न छोडी दिएका थिए। 
बगान बन्द भएकै अवस्थामा पनि मईको तलब पाउदा मजदुरहरू तीन छक परेर उत्साहित पनि भए। बगान चलेको ६ दिनमै म्यानेजरले मजदुरहरूको जम्मै बाँकी पैसा तिरिदिने बाचा गरे तर बिस्तारै। मजदुरहरू यस्तो प्रकारको प्रगतिले गर्दा खुबै खुसी छन् र यस्तो कालो दिन फेरी फेरी आउदैन् होला भन्ने आशा गर्दैछन्। तर डन्कन्सको बाँकी १३ वटा बगानको अवस्था खुबै खराब छ र मृत्यको सङ्ख्या त कत्ति पुगी सकेको छ। अप्रेलमा भएको त्रिपक्षीय वार्ता पछाडि मजदुरहरूको ज्याला बढे पछाडि पनि डन्कन्सले मजदुरहरूलाई तलब दिएकै छैन। डन्कन्स गोएंका ग्रुपको जम्मा ७००० हेक्टर जमिनमा कमान फैलिएको छ जसमा ४०,००० मजदुरहरू आश्रित छन् र कम्पनीको वार्षिक आय २० करोड रुपियाँ छ। तर पनि उक्त कम्पनी वा अन्य कम्पनीहरूले मजदुरहरू प्रति देखाउने उदासीनता र दिने दासतुल्य ज्याला साथै अचानक अचानक बगान बन्द गर्नको निम्ति बदनाम छन्।  
जब म्यानेजरलाई यसको बारेमा सोधियो उनको ओठे जवाब थियो- डन्कन्स गोएंका ग्रुप डुब्दैछ र यदि यसले आफैलाई बचाउनु हो भने बगान र अन्य शिल्प जसमा पनि यसले निवेश गरेको छ त्यसबाट कमाउनु पर्छ। तर विडम्बना के हो भने डन्कन्स गोएंका ग्रुप आफैमा एउटा वृहत् कम्पनी हो र गंगाराम यस क्षेत्रको सबैभन्दा उब्जाउ बगान हो। म्यानेजरले आफ्नो दफ्तरको भित्तामा टाँगिएको प्रमाणपत्रहरू देखाए जसमा गंगारामलाई सबैभन्दा बेसी उब्जनी दिएकोमा सरहाना गरिएको थियो। एक वर्ष त तिनी आफै पनि छक्क परे जब प्रति हेक्टर २८ कुइन्टल पत्ती भएको थियो। त्यसो त गंगाराम जस्तै अन्य १५ वटा बगान भएको त्यत्रो ठुलो कम्पनी कसरि आर्थिक सङ्कटमा पर्न सक्छ त? यो यसकारण कि चिया कमानबाट कमाएको धन यिनीहरूले अन्य शिल्पमा खर्च गर्ने गर्छन् जस्तै गोएंकाले नै आफ्नो पुँजी सिमेन्ट व्यापारमा लगाएका थिए जो घाटामा पर्दा मजदुरहरूले त्यसको परिणाम भोग्नु पऱ्यो। यिनीहरू छिट्छिटो पैसा कमाउनलाई सट्टाबाजीमा पैसा लगाउछन् तर बगानको उन्नतिको निम्ति सोच्दैनन् कारण यिनीहरू कोर्पोरेट मालिकहरू हुन् जसको हातमा सत्ता छ, शक्ति छ, पुलिस छ। समय बितिसक्दा पनि ज्याला नपाएकोले हताश मजदुरहरू जब विरोधमा राजमार्ग अवरोध गर्दै थिए यस्तो बेलामा टाउकोमा हेल्मेट लाएर र हातमा लट्ठी लिएर पुलिस आइपुग्यो तिनीहरूको हड्ताल बिगार्न। आफ्नो कदम न्यायसंगत सम्झेर लडिरहेकी एकजना महिला मजदुरमाथि जब पुलिसले निर्ममतापूर्वक लाठीचार्ज गऱ्यो त्यसबेला तिनले प्रशासन र सरकारको मुखुटाभित्रको हिंस्र अनुहार देख्न पाइन्। 
२००१ देखिने राशिन वितरणमा अनियमितता चलिरहेको छ। हामीले भेटेका मजदुरहरू मध्येनै ५४ जनाको राशिन बाँकी थियो। म्यानेजमेन्टले सरकारलाई भनभान गरेर राशिन कार्ड हुने प्रत्येक मजदुरहरूको निम्ति ४ रुपियाँ को दरमा १ के. जी. चामल राहतको रूपमा बाड्न लगायो। तर  गरिबी रेखा देखि मुनिका यी मजदुरहरूले म्यानेजमेन्टको अर्जी बिनै सरकारको पी.डी.एस. द्वारा सस्तो राशिन पाउनु पर्ने होइन र? आफ्नो नानीहरूको पढाइको निम्ति पैसा बचाउनलाई मजदुरहरू जङ्गली सागपात सब्जीको रूपमा खाने गर्छन्, चियाको फुल पनि यिनीहरू खान्छन्— यो जाँदा जाँदै कि त्यसमा किटनाशकको रूपमा विष छरिएको हुन्छ कारण तिनीहरूको अन्य कुनै उपाय छैन। पिउने पानीको भयङ्कर समस्या छ। भएका कुवाहरू पनि धेरै टाढा छन् र पानी पनि कि त सुकेको हुन्छ कि धमिलो हुन्छ। पिउने पानीको कुरा गर्दा म्यानेजमेन्ट जहिले पनि नसुनेको जस्तै गर्छन् र अन्तमा राजी भने पनि फेरी त्यही अवस्था हुन्छ। महिला मजदुर भन्छिन् जहाँ एक्कै छिनमा हाम्रो आन्दोलन रोक्न पुलिस भ्यान आउँ सक्छ त्यहाँ पानीको गाडी आउँन सक्दैन? 
मजदुरको सामाजिक सुरक्षा प्रति बढ्दो समयसाथ खतरामा पर्दैछ। अस्पतालमा केही काम हुँदैन एउटै मात्र  सुविधा मजदुरहरू पाउछन्, त्यो हो कथंकाल कोही बिरामी भइहाले भने बगानबाट गाडीले बिमारीलाई उत्तर बङ्गाल अस्पतालसम्म पुऱ्याई दिन्छ। त्यसपछि खर्चको पैसा पनि म्यानेजमेन्टले प्रतिपुर्ती गरी दिंदैन जुन कानुनको विरुद्ध हो।
तर खैर, के कानुनी र मानवीयरूपले स्वीकार्य हो कि होइन त्यो सब वर्तमान समयको दासत्वको आधारमा उभिएको चिया बगानहरूमा चल्दैन, चाहे त्यो गुडरिकको होस् वा डन्कन्सको। एउटै कुरो मात्र चल्छ यहाँ त्यो हो अनादर, अत्याचारपूर्ण श्रेणीवद्धतामा चल्ने र नाफाको उद्देश्य लिएका मालिकको कोल्टे नीति। मजदुरहरू अन्य राम्रो कम्पनी वा सरकारले राम्ररी बगान चलाउन सके डन्कन्सले बगान नचलाएकै बेस भन्दैछन् तर जम्मै नाफामुखी, धन पिपासु मालिकहरू-“जुन जोगी आए पनि कानै चिरिएको” भने झैँ हुन्छन् त्यो सबैलाई थाह नै छ। त्यसैले यो नाफामुखी नीतिको संग्लो नै चुडाउनु जरुरी छ।
   

No comments:

Post a Comment