Sunday, December 20, 2015

दार्जीलिङ्गे चेखव

राजा पुनियानी 

हल्लाले हल्लिएपछि
'अब हुने भयो राज सरको मूल्याङ्कन', कवि कर्ण विरह फेसबुकमा फ्यास्स फुरे। शब्दराज राजनारायण प्रधान सधैंलाई हराउनुभएको हल्लाले हुइँहुइँ हल्लियौं हामी। शोकाकुलहरूले व्याकुल लहरहरू लेख्तै गर्दा कर्णले चाहिँ आक्रोशजस्तै व्यंग्यजस्तै एक तिखो हरफ उफारे। बितेरमात्र मूल्याङ्कन हुने चलनलाई कसिलो थप्पड चड्याए। राज सर कहाँ छन्? कस्तो छन्? जिउँदो हुँदा विरलैले सोध्यौं। उनी बितेर गएपछि उनीमाथि सम्झाउनी लेख्ने मीठो होड चलेको छ। दार्जीलिङका जन्डा कवि केवलचन्द्र लामाले त हल्का विनोदी मुडमा भने पनि,'सरमाथि म पनि लेख्तैछु। मेरोबाट यति नै है भाइ।' उनको निधनले सबैलाई झकझकाइदियो। यही निहुँमा धमाधम भाषाको चमत्कारको खोजी हुँदैछ। संवादको दैलो उघ्रेको छ। 

मक्ल्क्क विचार। सर्लक्क भाषा। चिटिक्क आकार। सिनिक्क व्याकरण। चटक्क भनाइ। मटक्क टुंग्याइ। राजनारायणको भाषा। उनको शिल्प थारो छैन। विचार बाँझो छैन। शब्द भकभकिन्थेन। शैली लंगडाउँथेन। खासमा राजनारायणको भाषा हो खास भाषा। खाँट्टी भाषा। जनभाषा। जीवनको बान्की परेको। कलाको जलप चढेको भाषा। सिम्पल राजनारायणको गालामा हाँस्दाखेरि डिम्पल बस्थ्यो। सिम्पल राज–गद्यको गालामा पनि सौन्दर्यको डिम्पल बस्छ। छोऊँछोऊँ लाग्दो। हेरूँहेरूँ लाग्दो। पढूँपढूँ लाग्दो। 

राजनारायणका साहित्यिक सहयात्री गुरु इन्द्रबहादुर राईले भने,'लेखाइमा भाषा होस् त राजको जस्तो जिरे खोर्सानीझैं तिक्खर।''नौ नामी नेता'को भूमिकामा डा. कुमार प्रधानले भने,'राजको उत्कृष्टता यहाँको शैलीमा छ।' कवि विचन्द्र चित्तका शुद्ध राजनारायणलाई लेखनकलाका बुद्ध देख्छन्। नयाँ पुस्ताका प्रतिभावान् कथाकार छुदेन काविमो राजलाई गुरु मान्छन्। राज सर बितेपछि उनले लेखे,'एउटा सुन्दर डायरी, अब कहिल्यै पढ्न नपाइने भो।' समालोचक डा. दिवाकर प्रधानले लेखे,'उहाँको अध्ययन चानचुने छैन।' कवि मोहन ठकुरीले लेखे,'शब्दकोश छेउमा राखेर पढ्नुपर्ने भाषा उहाँको छैन। यो पहाडे खहरेजस्तो बग्छ।' पत्रकार देवेन्द्र भट्टराईले लेखे,'दार्जीलिङे राजनारायण कस्तो लेख्छन् भने सिकारीले मट्यांग्रा हुइँक्याएजस्तो।' राजनारायण प्रधानमाथि थेसिस लेख्दै गरेका प्राध्यापक विनेश प्रधान अरन्ठिन्छन्,'राज सरको गद्य सबैले राम्रो छ भन्छन्। तर के कारणले गर्दा, त्यो खोजिएको छैन।'राज रहस्य खोतल्दै धेरैले धेरै थोक भने पनि यो रहस्य अझ रहस्य नै हो। 

न विचार उधारो लिन्थे न त भाषा सापटी। जे लेख्थे, आफ्नै पाराले लेख्थे। जस्तो लेख्थे, जनताको कुरा लेख्थे। लेख्थे, मक्ख पार्थे। लेखेपछि लेखेका कुरा जनताको पारिदिन्थे। जनताको मनमा राज गर्ने राजनारायण भए। सखा–लेखकहरू भने जनतालाई ऐंठन पार्ने एलियन। राजनारायण थिए सक्कली लेखक। नेपाली साहित्यको खेतमा अर्ग्यानिक लेखनका आरम्भिक बीउ। जुन बीउ फुटेको छ टुसाएर। यता भारतमा विचन्द्र, दिवाकर प्रधान, छुदेन काविमो राजनारायणको गर्विलो संसार छन्। उता नेपालमा राजकुमार बानियाँ राजनारायणकै अर्का अवतार छन्। 

लो प्रोफाइलमा हाई प्रोफाइल लेखक
राजनारायणलाई लाग्थ्यो, पाठकलाई खुवाउनु हो भने सरल लेख्नुपर्छ। मान्छेले बोल्ने भाकामा। बुझ्ने भाषामा। उनका एक एक लेख भए हट–केक। उनी भए साहित्यका माइकल ज्याक्सन। ज्याक्सनले देखाए मुन-वाक। राजले देखाए राज-वाक। समाजका भक्कानोहरू, हिक्काहरू, खोकीहरू, ऐंठनहरू, आइय्याहरू, आत्थाहरू, भौंप्वालहरूदेखि उनको लेखनीले कहिल्यै मुख फर्काएन। बुझ पचाएन। वरिपरिकै लोकल विषय टिपे। टिपेर समाजलाई नै दिए। समाजमा घाउ छ। देखे। देखेको माने। घाउको झ्वामझ्वाम एक्स-रे खिचे। रोगअनुसार ठ्याकठ्याक दबाई पनि सुझाइदिए। 

कोही नाटक खेलेर हिरो भए। कोही गीत गाएर। कोही फुटबल खेलेर। राजनारायण लेखेरै दार्जीलिङका हिरो भए तर रहे चुपचाप। अदेख। अखोज। दार्जीलिङको साहित्याकाश झलमल्ल पार्ने लेखक अँध्यारो कुनामा बसेर कलमको टुकी बालिरहे। उनी थिए लो प्रोफाइल राख्ने हाई प्रोफाइल लेखक। विचन्द्रले लेखे,'उनी आफैँले आफैँलाई चिनेनन् पनि, जानेनन् पनि। धेरैचोटि उनी मर्दै बाँच्दै गरे।' उनी किन यसो गर्थे, यसका धेरै धेरै सिद्धान्त होलान्। उनी पुरस्कार, लबीबाजी, चाप्लुसीको टुमौटे संस्कारदेखि सदा टाढा रहे। एक ठाउँ राजनारायणले भनेका छन्,'त्यत्रो अजंगको लेख्ने देवकोटाले पुरस्कार पाएनन्, बरु तिरस्कार पाए। मैले पनि लेखाइबाट पुरस्कार मिल्छ कि भनी लोभिएर लेखिनँ। कसैलाई तेल धसेर, लबी गरेर, सुटुक्कै चोरबाटो भएर, आफू पुरस्कृत हुने घटिया चालचलनदेखि मैले आफूलाई बाह्रहाते टाँगो पर्तिरै राखेँ।' पुरस्कारको घिनलाग्दो खेलबाट बाहिर रहन उनलाई सघायो रक्सीले। निःस्वार्थी राजले आफूबारे, आफ्नोबारे, आफन्तबारे क्यै कुरा गर्दैनथिए। 

लबीबाजीदेखि कति तर्किन्थे, त्यसको एउटा उदाहरण एउटा घटना छ। दाज्यू भोटु प्रधानले फरेनबाट फाइन आर्टमा डिप्लोमा गरेका हुन्। यता निकै सम्मान पाउनुपर्ने। पाएनन्। यही गम बोक्थे उनी। दार्जीलिङे कथाकार गुप्त प्रधानले एक दिन भनेछन्,'उसो भए तपाईँ नै किन लेख्नुहुन्न उनीबारे?'उनले भनेछन्,'थेत, भाइले आफ्नै दाज्यूको बढबिढाइ गरेछ भन्छ नि।' गुप्तले भनेछन्,'तपाईँ लेख्नुस् बुँदाबुँदामा। त्यसैलाई उकासेर लेखेपछि म मेरो नाममा छपाऊँला नि त।' उनले भनेछन्,'विचार गर्छु।' निकै दिनपछि भेट भएछ।'लेख्नुभो?' सोधेछन्।'भाइ मैले लेख्नै सकिनँ हौ। एग्ज्याजेरेट हुन्छ होला सोचेर नि।' भनेछन्। 

राजका निबन्ध, कथा, जीवनी, समालोचना पढ्नेहरू उनको चामत्कारिक सरलता देखेर छक्क पर्छन्। बिछट्ट सुन्दर भाषाको कालिगढी देखेर फुरुक्क पर्छन्। पाठक रमाउँछन् जब भेउ पाउँछन्, नेपाली भाषा कत्तीसम्म सुन्दर हुनसक्ने रहेछ। राज थिए भाषाका जादुगर। यस्ता जादुगर जसले म जादुगर हुँ कहिल्यै भनेनन्। आत्मप्रदर्शनको ढोलझ्याम्टा पिटेनन्। आत्मश्लाघाको शंख फुकेनन्। उनी थिए सच्चा लेखक। आफूलाई लेखकभन्दा पनि बढी आममान्छे भएको दावा गरिरहे। यसैले पनि उनी भए पाठक संसारको सर्वोच्च पुरस्कारका प्रापक। अकादमीय पुरस्कारले उनको गल्ली चोरिरह्यो। संघसंस्थाले उनको अनुहार बिर्सिरह्यो। उनी फटाफटी लेखिरहे। जनताको मनमा सुतुसुतु घुसिरहे। यही थियो उनको जित। जीवनको गीत। अकादमीहरूदेखि पर। हल्लाहरूदेखि टाढा। उनी हाल्थे फर्म र कन्टेन्टमाझ मिल्दो बाटो। भाषा र विचार सुहाउँदो पुल। उनी थिए शब्दका कालिगढ। भाषाका इन्जिनियर। 

पपुलर वा पप लेखनका हस्ती राजनारायण पनि थिए। पप लेखनमा प्रकाश कोविद, सुवास घिसिङहरूको नाम पहिलो लहरमा आउँछ। राजनारायणको नाम पनि आउँछ। तर उनी थिए दामी पपुलर लेखक। उनको लेखनी बजारु, सस्तो र घिसापिटा होइन। उनी ठहरिए सिरियसली पपुलर लेखन गर्ने लेखक। उनको लेखनले समाजलाई होसियारी गराइरह्यो। हँस्यौली-ठट्यौलीको कुनाकाप्चाबाट पनि जरुरी सन्देशको फित्कौली हानिरह्यो। 

राज सिग्नेचर स्टाइल
पहिले फुरुक्क सर्कायो। लगत्तै गललल हँसायो। चिरिक्क चिमोट्यो। किक्रिक्क निमोठ्यो। तनक्क तन्क्यायो। फरक्क फर्कायो। बुरुक्क उफाऱ्यो। र लास्टमा प्लित्त चिप्ल्यायो। यही थियो राजनारायणको सिग्नेचर स्टाइल। 

रसियाली कथाकार चेखवको समकक्षी शैली। चेखवको सबाल्टर्न पात्रहरू मूल पात्र भएका कथाहरू'भान्का’,'लाटी’,'छेपारा’,'कारिन्दाको मृत्यु’ पढ्दा यस्तै फिल हुन्छ। राज यस्तै केही गर्न खोज्थे नेपालीमा।'काली केटी' यसको दर्बिलो उदाहरण। बङ्गलादेश नाकाबाट ल्याइएकी काली केटी राजनारायणको लेखनीको हंश भयो। समाजको दलित तब्काको प्रतिनिधि पात्र मान्दा हुन्छ काली केटीलाई। राजनारायणको घरकी सेविका। उसलाई राजनारायणको कलमले सबैको मुटु र गिदी दुवैतिर हुलिदियो। पत्रकार विमल राईले लेखे,'कालीलाई माध्यम बनाएर हामीतिर छड्याएको उनको छड्केले हाम्रो मुटुमै भेट्छ।' केवलचन्द्र विश्वकै सर्वहाराको प्रतिनिधि पात्र मान्छन्'काली केटी'लाई। कालीलाई अमर पात्र बनाउने अमर सर्जक मान्छन् राज सरलाई। राजनारायण छोपिएको, हेपिएको, चुसिएको मान्छेको स्केच बनाउँछन्। उनीहरूको त्यो अवस्थाको चित्रण गर्छन्। हँसाउँदै झसंग पनि पार्छन्। चेखव पेसाले थिए चिकित्सक। राजनारायण थिए कमर्स शिक्षक। चेखवको वर्ल्स क्लास व्यंग्य र राजनारायणको दार्जीलिङे व्यंग्यमा छमकट्टै समानता छ विषय र पात्र-पात्राको। दुवैको क्राफ्ट सिम्पल छ। सिम्पल भएर पनि छ कालजयी। 

राजनारायणको भाषामा कतिसम्म चुम्बकशक्ति थियो भने एउटा चित्रकारलाई पनि उनकै भाषामा लेख्ने बनाउन सक्थ्यो। निकै अघि डुवर्सपुत्र चित्रकार÷मूर्तिकार अमिर सुन्दाससँग उनको चिठी संवाद भएछ। राजनारायणले लेखेछन्,'प्रिय अमिर, कस्तो छौ?नक्सा बनाउनु थियो। बनाउँछौ?-माया गर्ने, राज।' अमिरले लेखेछ,'सर, पत्र पाएँ। भक्कु रमाएँ। नक्सा बनाउँछु। कहाँ भेट्नु? कैले भेट्नु? आदर गर्ने, अमिर?'

काली केटी
राज सर काली केटीको कथा लेखेर फेमस भए। तर उनले उनकै घरमा काली केटीजस्तै पछिबाट गोरी केटी पनि राखे। डुवर्सकी। उनीबारे राज सरले नलेखी बिते। गोरी केटीबारे उनले लेखेका भए कस्ता लेख्थे होलान्। के लेख्थे होलान्, अमिरलाई लागिरहन्छ। दलित सुन्दरी। सोह्रवर्षे ख्रिस्तान केटी। नाम रिचेल। 

गणेशलाल सुब्बाको किताब बेच्न गए अमिर। दार्जीलिङको घरमा। अमिरले राज सरलाई भन्यो, ऊ त मेरी बैनी। अमिरले बैनीलाई भनिराख्यो,'यो घर नछोड्नू। अमिरले बयान गर्नै नसकिने दुःख पाएकी बहिनी रिचेललाई भनिराख्यो, तिमी यहाँ खुसी रहन्छौ। 

सरोकारी सर्जक
उनकै साहित्यिक डफ्फाका केही यात्रीले साहित्यमा प्रतिबद्धतालाई अछूत ठहर गर्दै थिए। उनीचाहिँ यही प्रतिबद्धताको प्रतिमानको घडेरी हाल्दै थिए। 

समाजमा के हुँदैछ, कसो हुँदैछ, गहिरो हेक्का राख्थे। कलम घोटिन्थ्यो घन्टौं कागजको एकोहोरो कारखानामा। समाजबाट कटेर लेखिएको एउटै पनि बगम्फुसे लेख आएन। मान्छेबाट टाढिएर रचिएको एउटै हाउडे गफ आएन। मान्छेले कति कन्निएर पनि नबुझ्ने उरन्ठ्याउलो-बट्यारिलो-पट्यारिलो खाले केही लेखेनन्। लेखे त बस् एकल हल्का पठनमै पानी परेपछिको आकाशझैं छर्लङ्ग बुझिने निबन्ध, कथा, जीवनी, समीक्षा, व्याकरण। राजनारायण थिए सामाजिक सरोकारी सर्जक। लेखकीय प्रतिबद्धताका परिचायक। निष्ठुरी, घोसे र एकलकाँटे हुनुको आरोपको जवाफमा राजनारायणले भनेछन्,'कसरी म त्यस्तो? भरिया, कुल्ली, मेहतर, हजाम, मोचीजस्ताहरूसित धरि नाठिठ्एर खानपान, उठबस गर्ने म कसरी निष्ठुरी। मलाई जे मन लाग्छ, त्यही गर्छु।'
किनाराको आवाज भट्याउने कवि मनप्रसाद भन्छन्,'राजनारायण सामाजिक सरोकारका लेखक हुन्। गम्भीर लेखनमात्र गरिरहेका भए सायद गम्भीर पाठकले चिन्थे होलान्। आमपाठकबाट टाढै रहन्थे होलान्। तर गम्भीर पाठकदेखि लिएर आमपाठकसम्म उनको पहुँच छ। यही उनको ठुलो प्राप्ति हो। हाइट पनि।'नेपाली अकादमी पत्रिका'को सम्पादकीयको एकांशलाई राजनारायण प्रधानको लेखन दर्शनको सारांश मान्दा हुन्छ,'भाषा दरिद्र छ भने साहित्यिक कृति राम्रो हुन सक्दैन। यसको अर्थ यो होइन शब्द-चातुरी नै सर्वस्व हो। कला जसले महत्वपूर्ण विचार बोकेको छैन, त्यो केवल पाखण्ड हो।'

राज र रक्सी
हरिभक्त कटुवाल, अगमसिंह गिरीपछि रक्सीबाज लेखक भनेर (बद) नाम लेखकको फेहरिस्तमा परे राजनारायण।'सधैँ बर्चहिलमा भेट हुन्थ्यो। बिहानै मगमग गनाउने भइसकेका हुन्थे', उनका समकालीन कथाकार समीरण छेत्री प्रियदर्शीले फोनमा भने। राजनारायणले आफैँ भने,'आईबी सर लागे चुचुरोतिर, म लागेँ भट्टी पसलतिर।'

सिलगढीको एउटा गल्लीमा अमिरलाई तीनचोटि भनेछन्,'तिमी पुलिस हेर ल।' कोकाकोला किनेर अमिरलाई दिए। फेरि मागे। आधा हाले। लोकल रक्सी र कोकाकोलाको कोक्टेल खाए। कार्यक्रम, सभा, गोष्ठीतिर विरलै उपस्थिति दर्ता गराउने राजनारायण गइहालेको खण्डमा पनि निस्किहाल्ने। छेउको भट्टीपसल खोजेर अड्डा जमाइसकेका हुने। मनप्रसाद लख काट्छन्, राजनारायणले रक्सी खाएको गुनिलो पक्ष पनि थियो। ठाउँठाउँ, गाउँगाउँ र गल्लीगल्लीका भट्टीपसलतिर बरालिँदा त्यतैबाट समाजलाई छिचोलेर चिन्थे। नजिकबाट हेर्थे। लेख्ने कच्चा माल टपक्-टपक् टिप्थे। उनको रक्सी दर्शन गणितज्ञ, खगोलविद् र कवि उमर खय्यामको रक्सी दर्शनसँग मिल्थ्यो जुल्थ्यो। हरिवंश राय बच्चनको'मधुशाला'सँग हातेमालो गर्थ्‍यो। 

रुबाइगुरु खय्यामले एक ठाउँ लेखे,'यो हरियो हाँगामुनि हातमा छ कविताको किताब र रक्सीको कचौरा, रोटीको टुक्रासँग छ तिम्रो साथ।' राजनारायणले जीवन र लेखनलाई यस्तै दार्शनिकताको हल्का उडान उड्न दिए। उनी न लेखनमा भारी भए, न त जीवनमा। भारी कुरालाई हल्का भनिदिने उदेकिलो कौशल उनको रक्सी दर्शनमै पनि लुकेको थियो कि। कसैमाथि हाबी नभएको सादा जीवन जीएर साहित्यमा कतै हाबी भएनन्। उनको यही सादापनले नै उनको शैली पछ्याउने बटुवाहरूको गोहो छाडिराखेको त पक्कै हो। 

बच्चनले'मधुशाला'को पहिलो भागमा लेखेका यो अंश राजनारायणकै लागि लेखेझैं लाग्छ:'धर्मग्रन्थले सबै जलाइसक्यो जसको भित्री ज्वाला र मन्दिर मस्जिद गिर्जा तोडसिक्यो, ऊ हो मतवाला र पण्डित, मोमिन, पादरीहरूको डोरीलाई चुँडिसक्यो र गर्नसक्छ आज उसैको स्वागत मेरो मधुशाला।'उनले रक्सी अम्मल खान्थे। उनको कलमले कैल्यै अम्मल खाएन।'जति नै माते पनि साहित्यमा उनी सिन्सियर लेखक हुन्' भन्छन् गुप्त प्रधान। 

आमा लेखक
कला जीवनका लागि कि जीवन कलाका लागि, यो कन्फ्युजन राजनारायणको लेखनले कहिल्यै भोगेन। उनी कलालाई जीवनको पक्षमा उभ्याउने समाजका शब्द-सिपाही थिए। कहिले उनी पात्रलाई डोऱ्याउँथे त कहिले पात्रले उनलाई डोऱ्याउँथे। तर जसैले डोऱ्याए पनि पाठकचाहिँ सधैँ सुमुसुमु पछ्याउँछ उनको ठमठम हिँडेको शब्दयात्रा। 

पूर्णेको जूनजस्तै टहटह बोल्थे उनका रचना। हाइवेको लरीझैं हुइँकिन्थे उनका वाक्य। सागरको ढेउझैं उर्लन्थे उनका विचार। गान्धीदेखि हिटलर, सांकृत्यायनदेखि देवकोटा, लेनिनदेखि लिंकन सबैलाई दार्जीलिङ भित्र्याउने श्रेय उनलाई नै जान्छ। जनताले बुझून् भनी उनी जटिलभन्दा जटिल विषयलाई पनि सरलभन्दा सरल शब्दखाजा बनाएर खुवाउँथे। जनताले खान्थे। पचाउँथे। हाँस्थे। गम्थे। ढुक्क हुन्थे। राज थिए जनताका आमा लेखक। 

लेखक सबै छन् तर भाषालाई लिएर यत्तिको जागो बस्ने लेखक सबै छैनन्। भाव बोक्ने गच्छे भएको लबज टिप्न उनी बकुल्लाले माछा ढुकेझैं गर्थे। शब्दको चातुरीले विचार ओझेल नपरोस् भनेर उनको लेखनी कुखुरे निद्रा सुत्थ्यो। विचारको पाण्डित्याइँले शैली नओइलोस् भनेर हमेस्सी उनको लेखनी हातमा पानी लिएर बस्थ्यो। उनी थिए कला र विचारको बिहे गराइदिने सच्चा साहित्यिक अभिभावक। जनताले जान्नुपर्ने विभूतिहरूबारे लेखिदिने अथक लेखक। 

कवि केवल राजनारायण बोरिङ व्याकरणलाई रोचक बनाउने प्रतिभा हुन् भन्छन्। विश्वकै श्रेष्ठ लेखकहरूको सूचीमा राजनारायण प्रधानलाई पार्ने आग्रह राख्छन् उनी। राजनारायणले काली केटीलाई सम्बोधन गरेर एक ठाउँ लेखेका छन्,'म मरेँ भने तँ रुन्छेस् काली?' दुनियाँ रोयो। काली केटी पनि रोई। साहित्यलाई सुविधासम्पन्न एलिट वृत्तको घेरोबाट फुत्काए। सर्वहाराको पेवा बनाइदिए। जनताको मनमा राज गर्ने राजनारायणको मूल्याङ्कन अब कहिले हुने हो? काली केटीले यसको उत्तर खोज्नुपर्ने हो। 

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...