Sunday, December 20, 2015

बन्दी उडान


टीका'भाई'

जसो-तसो म आफै पनि खाना बनाउन सक्छु। तर श्रीमतीको हातले पकाएको खानाले मात्र मन, पेट र मुखलाई तुष्टी दिन्छ। एस्तो तृप्ति संसारको कुनै होटल वा कुनै भोजमा भेटिन्न। यस्तो आनन्दको मात्र आशा राख्नु भनेको लैङ्गिक दोष हो। बेला-बखत मैले पकाएको खानाले पनि त्यही तृप्ति दिन्छ दिँदैन तर कोसिस गर्छु। धेरैमा केही चोटि स्वाद मानेर उनले पनि खाईदिँदा आफै मक्ख परेको पनि याद छ। मैले मिठो मानेर खपाखप खाना खाँदा हेरीबस्छिन् अनुहार। आफूले पकाएको खाना अरूले मिठो मानेर खाइदिँदाको पनि अर्को स्वाद रहेछ। यो चाँही धेरै कम मात्र बटुलेको छु। स्कुल पढ्दा, घरदेखि टाडो बस्दा आमाको हातले पकाएको खानाको सम्झना अद्भुत हुन्थ्यो। यो सबै कुरा हुन्छ त एउटा घरभित्र हुन्छ।
घरदेखि उडेर टाढा पुगेका दाजु-भाइ, दिदी-बहिनी, साथीहरू हेर्छु अनि तिनको ठाउँमा राखेर कल्पना गर्छु आफूलाई। कसरी बसेका छन्?- खाना खानु नि सक्छन् के?- उनीहरूले मनमा घरको स्वाद र तिर्सनालाई कसरी मारेर बस्छन् होला?
खाली हुँदैछ अचेल कमान, बस्ती, शहर।
आफ्नो ठाउँमा फल्ने दुख र दुख दिईबस्ने सपना बाहेक अरूथोक भेट्दैनन्। संसारभरि कै गरिब मुलुकका मानिस, तरुनी-तन्नेरी परदेशकै सपना देख्छन्। छ वर्ष-दस वर्ष-पन्द्रह वर्ष। उता खट्यो, ज्याला घर पठायो। 
उताबाट विदेश घुम्ने पर्यटकहरू धेर यता आउँछन्। यताबाट उता पसिना चुहाउन मात्र जान्छन्। ऋण लियो, जमिन बेच्यो, वा दुखले थुपारेको सम्पति हाल्यो परदेश लाग्यो फेरि उही दुख। त्यो चक्रको न अन्त देखिन्छ, न त्यसको साटो कुनै समाधान। न कुनै अधिकारको दाबी न कुनै महान् सहुलियत। परिवारको पेट अनि आफ्नै सपनाको पखेटाले उडीरहन्छ। जुन घर र जुन स्वादको सपना देखिन्छ त्यही घर र स्वादको मूल्य तिरेर उडीहिड्नु पर्ने।
तिसको नजिकतिर मैले नि सोचेँ यहाँ गर्न सकिने केही छैन। लागौँ कि परदेश। पहाडे गाउँ-बस्ती छिट्टै ओछ्यान पस्छ तर पिर पसेको घर निकै रातसम्म जागो बस्छ। सल्लाह हुन्छ राति। के गर्ने होला?-यतै काम खोज्ने कि के गर्ने?- भन्नुसाथ् जान मिल्ने ठाउँ या सुविधा कहाँ हुन्छ? कुन ठाउँले दैलो उघारेर'आइज कमा जा!’ भनेर उभिदिएको छ र? बाहिरिएर कमाउने चाँही कति?'मन तुलबुल गरे! कुनै निर्णय नलिनु! सोच्ने समय राख्नु या ठुलाबाट सल्लाह लिनु!’-सबैतिरबाट आएको कुरो यति नै। आफ्नो पखेटा काटेर घर बसेँ। तर घर नै बस्नु पनि ठुलो कुरा कहाँ हुन्छ? तलाव जमेको जस्तो जीवनमा कुनै सिर्जनात्मक हलचल या तुफान छैन भने त्यो काम लाग्दैन। केही गर्नुलाई पखेटा चाहिन्छ नै। तर हामी डुल्नु, घुम्नु, निस्किनु यो बाध्यताको साटो अरू महान् सपना भएन। न हामीले नयाँ देश र ठाउँ भेट्यौँ, न हामीले कुनै महान् अभियानकै हिस्सा। हामी बाहिरिनु या आफ्नै ठाउँमा जम्नु यी दुवैमा खास अन्तर भनेको एउटा-घरको तृष्णा र आफ्नो प्रियसितको साथ।
तर'साग-सिस्नु’ भन्दा परको अरू ठुलो सपनाको आख्यान कसरी लेख्नु? हाम्रो पखेटा, उडान र आकाशको आकारलाई बढाउने कसरी?
खानाखाईसकेपछी, लुगा-लगाई ऐना अघि पुग्दा देवकोटाको एउटा बिचारा'मदन’ भेट्छु, जसले मुना छोडेर भोट जाने आँट नै गरेन। 
तर यो मेरो प्रश्नको उत्तर होइन।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...