Sunday, December 20, 2015

केरलाको चियाबारीमा 'पेम्बिल्ला ओट्रुमाई'

आर्या थोमस

हामीले हालैमा केरलामा एउटा ऐतिहासिक श्रमिक सङ्घर्ष देख्न पायौ।'पेम्बिल्ला ओट्रुमाई' अर्थात् नारी एकता भनेर आफूलाई परिचित गर्दै केरलाको मुन्नार जिल्लाको चियाबारीहरू देखि फैलिएको त्यो आन्दोलन देशभरि नै चर्चाको विषय बनिएको छ। प्रस्तुत छ आन्दोलनको प्रत्यक्ष अनुभवबाट एउटा रिपोर्ट।

दक्षिण भारतकै सबैभन्दा ठुलो चिया बगान मुन्नारको कानन देवन हिल टि प्लान्टेसन २४००० हेक्टर भूमिमा फैलिएको छ र यहाँ १३००० श्रमिकहरू कार्यरत छन्। यहाँ जम्म ८३ वटा चिया बगानहरू छन्। देवीकुलम तालुकको कानन देवन हिल ११ जुलाई १८७७ मा पुन्जर रोयल परिवारद्वारा जोन डेनियल मुनरोटोलाई ब्रिटिस शासनकालिनमा वर्षको ३००० रुपियाँ साथै सुरक्षा राशि ५००० रुपियाँको दरमा भाडामा दिइएको थियो। १९६४ सालमा टाटा ग्रुप फिनले सँग साझेदारीमा आयो र यसरि टाटा-फिनले ग्रुपको जन्म भयो। पछि गएर केरला सरकारले यो जमिन कानन देवन हिल्स(भूमि अधिकरण) ऐन १९७१ को तहत लिएता पनि सरकार यहाँ अधिया मात्र थियो अनि भाडाको राशि चाहिँ त्यतिनै रह्यो। टाटा टि लिमिटेड १९८३ मा बनिए पछि कानन देवन हिल टि प्लान्टेसन गठन भयो र यो बगानको'स्वामित्व’ टाटाले यसमा काम गर्ने मजदुरहरूलाई'दिए' पछि टाटाले प्राय सित्तैमा सरकारी जमिनको लाभ उठाई रहेको छ। टाटालाई अझ यो आरोप पनि छ कि यतिका दिनहरूमा यसले हजारौँ एकर सरकारी जमिन तथा जङ्गल पनि आफ्नो कब्जामा पारि सकेको छ।  
२००५ मा त्यस्ताकका कानन देवन हिलका मालिक टाटा टि लिमिटेडले बिजनेस स्ट्यान्डर्डको १९ मार्च २००५को रिपोर्ट अनुसार एउटा फैसाला गऱ्यो कि “भाडामा लिएको १७ वटा चिया बगानहरूलाई छुट्टै नाम'कानन देवन हिल टि प्लान्टेसन लिमिटेड’ दिएर यसको स्वामित्व स्वयम् यसका मजदुरहरूको हातमा दिइनेछ।” टाटा टि लिमिटेडले जुन पछि गएर टाटा ग्लोबल बिभरेज लिमिटेड भएर कम्पनीको २८.५२% अंश दखल गरेको छ। अर्को ८.९५% अंश कानन देवन हिल टि प्लान्टेसन वेलफेयरको भागमा जान्छ र बाँकी ६०% अंश त्यहाँका कर्मचारीहरूको छ। देख्नमा राम्रो देखिए पनि यो केवल भ्रम मात्रै हो। कारण टाटा म्यानेजमेन्टले कानन देवन हिल टि प्लान्टेसनको चिया बनाउने र बिक्री गर्ने एकाई अलग गरिदियो। अब चिया उत्पादन एकाइले उब्जाएको नाफा बिक्री एकाइमा जान थाल्यो, यसरि उत्पादन एकाइलै यसले चिरकालीन सङ्कटमा डुबाई राख्यो। त्यसपछि टाटा टि ले बगान चलाउन एउटा कोअपरेटिभको पनि गठन गऱ्यो तर बिक्रीको एकाइ आफ्नै अधिनमा राख्यो, जसको अर्थ कोअपरेटिभले चिया पत्ति टाटा बाहेक अरू कसैलाई पनि बेच्न न पाउने भयो। 

कानन देवन हिल टि प्लान्टेसनको इतिहास
यहाँ चिया बगानको खेतीको शुरुवातसँगै बेसिजसो मजदुरहरू ब्रिटिसहरूद्वारा दासको रूपमा तामिलनाडुबाट ल्याइएको थियो। यहाँ तमिल र मलयाली भाषा दुवैको चलन छ। हिजअस्ति सम्म तिनीहरूको ज्याला ८०-८५ रुपियाँ थियो जुन अहिले १२ घन्टे कामको निम्ति भी.डी.ए. अनि अन्य सहुलियत लगायत रु. १७०-२३२ प्रतिदिन भएको छ। हप्ताको सबै दिन बिहान ६ बजी देखि लिएर बेलुकीको ६ बजी सम्म काम गर्छन् यहाँका मजदुरहरू। यिनीहरूले प्रतिदिन २१ केजी पत्ति टिपे मात्रै ज्याला पाउने गर्छन्। आफ्नो प्रतिदिनको ठिका भन्दा धेरै प्रति केजीको रु. १.५० को दरले यिनीहरू थप पैसा पाउछन्। सुपरभाइजरले यसैको निम्ति रु. ४ को दरले अनि स्टाफले रु. ६ को दरले तथा म्यानेजरले रु. १० को दरले थप पैसा पाउछन्।

बगान र मजदुरहरूको अवस्था
ज्यादा जसो मजदुरहरू ओभर-टाइम काम गर्छन् र दिनको ३००-३५० रुपियाँसम्म थाप्छन्। यदि तिनीहरूले ६० के जी पत्ति टिपे आफ्नो ठिका २० के.जी काटेर ३६ रुपियाँ बेसी पाउछन्। पत्तिको सिजनमा महिलाहरू बिहानको ५ बजीनै काममा निस्कन्छन् र राति ७ बजितिर फर्कन्छन्। मार्च, अप्रेल, मई, अगस्ट, सेप्टेम्बर र ओक्टोबर महिनामा ज्यादा जसो काम हुने गर्छ र ठण्डामा पत्ति हुँदैन। 
यदि कुनै कारणवश मजदुर काममा ढिलो भयो भने उसलाई त्यस दिनभरि काम गर्न दिइन्दैन अनि बिरामी भएर कुनै मजदुर घर छिटो फर्किए घन्टाको हिसाबले उसको ज्याला काटिन्छ। एकजना सुपरभाइजरको भनाइमा “छिट्टो भन्दा छिट्टो पत्ति टिप्नलाई मजदुरहरूलाई बाध्य गरिन्छ, कामको बिचमा राहत भन्ने कुनै वस्तु नै छैन, तिनीहरू चिया पिउदा पनि एउटा हातले पत्ति टिप्दै गरेका हुन्छन्। महिलाहरूलाई पिसाब फेर्ने समय पनि दिइन्दैन।”
खानेकुराको सहुलियतको हिसाबमा कम्पनीले प्रत्येक परिवारलाई महिनाको ७५ के.जी. चामल दिने गर्छ जसको दाम स्वरूप रु. ७५० तिनीहरूको महिनावारी ज्यालाबाट काटि दिन्छ। जम्मा हिसाब गर्दा त यो दाम बजारको दाम बराबरनै भएर आउछ अनि यो भन्दा सस्तो राशन त सरकारद्वारा नै पी.डी.एस. को माध्यमले वितरण गरिन्छ। वर्षेनी २०० रुपियाँ अनि एक दिनको ज्याला युनियनलाई बुझाउन पर्छ। “हामीले प्रत्येक सुविधाको निम्ति पैसा तिर्नु पर्छ यहाँसम्मकी हाम्रो गाई-वस्तु चराउनको निम्ति पनि १०० रुपियाँ जस्तो तिर्नु पर्छ। साधारण मजदुरका नानीहरू कम्पनीको स्कुलमा पढ्न पनि पाउदैनन्।”      
चिया गाछमा बारम्बार झुक्नु परेकोले धेरै जसो महिला मजदुरहरूको बच्चादानी बिग्री सकेको छ र धेरैले त ओपरेसन गरेर उक्त निकाली सकेका पनि छन्। कानन देवन हिल टि प्लान्टेसनको आफ्नै अस्पताल भए तापनि मजदुरहरूले केवल हप्ताको तीन दिन मात्रै निःशुल्क चिकित्सा लिन सक्छन्। पुरुष मजदुरहरूको कुरा गर्दा विषालु किटनाशकहरू जस्तै राउण्डप कुनै सुरक्षाबिनै छर्किनु परेकोले तिनीहरूको स्वास्थ्यमा ठुलो हानि परेको छ। धेरै मजदुरहरू क्यान्सरले पीडित छन् तर मजदुरको बिमारीसँग किटनाशकको सम्बन्धलाई कम्पनीले सधैँ नकार्छ। अर्को क्यान्सर बनाउने वस्तु जुन देशमा निषिद्ध छ, तर पनि कमानमा घरको छानोको रूपमा व्यवहार गरिन्छ, त्यो हो'एसबेसटोस’। अझ भयङ्कर त किटनाशकसँग मिसिएको पानी खोला नाला भएर कोची शहरको पानी वितरण केन्द्र भएर शहरको घर घरमा पुग्छ।

महिला मजदुरहरूले मौनता तोडे
यही मिर्मिरे बिहान देखिको रिमरिमे साँझको नियम ९ दिने हड्तालमा तोडिन गयो जब कानन देवन हिल टि प्लान्टेसनका १०,००० महिला मजदुरहरूले ४ देखि १३ सेप्टेम्बर सम्म काम बन्द गरी दिए। यसको सुरुवात पेरियभारा डिभिजनमा केही महिला मजदुरहरूद्वारा आइ.एन.टि.यु.सी.-को मिटिंगमा भयो जुन बोनसको मुद्दा लिएर भएको २ सेप्टेम्बरको साधारण हड्तालको निम्ति बोलाइएको थियो। मुन्नारको स्थानीय च्यानलले यसलाई प्रसारण पनि गऱ्यो। यसैलाई हेरेर ४ सेप्टेम्बरको दिन मुन्नारको वरिपरि भएको महिला मजदुरहरू मुन्नार जंगसनमा भेला भए। महिला मजदुरले मोबाइल फोन मार्फत क्याम्पेन गर्न थाले। तिनीहरू पुल्लीभासाल फ्याक्ट्री अघि एक दिनको निम्ति धर्ना दिए त्यसपछि ९ दिन सम्म सधैँ मुन्नार जंकसन अघि बिहानको ८ बजी देखि रातीको ८ बजी सम्म धर्ना दिए। पुरुषहरूलाई यसबाट टाढा राखियो। तिनीहरूले ट्रेड युनियनका १५० जना नेताहरूको नामको सूची जारी गरे जसले कानन देवन हिल टि प्लान्टेसन म्यानेजमेन्टबाट घर पाएका थिए। यस सूचीमा वर्तमान एमएलए एस. राजेन्द्रन, भुतपुर्व एमएलए ए. के. मानी अनि सुन्दरा मानिक्यम, ए.आइ.सी.टि.यु.-का नेता सी. ए. कुरियन अनि आइ.एन.टि.सी.यु.-का जी. मुनियांदीको नाम थियो।   
जब १ ओक्टोबर देखि मुन्नार जंकसनमा महिला मजदुरहरू अनिश्चितकालीन दिन-रात हड्तालमा बस्ने निधो गरे यसको बेला पुलिसले तिनीहरूलाई राति बस्नु देखि रोके अनि यसरि सङ्घर्ष जोडदार गरे... तिनीहरूलाई घातक परिणामको डर पनि देखाए। तर तिनीहरू किन पो मान्थे र?६ ओक्टोबरको दिन ट्रेड युनियनको दफ्तर कब्जा गरियो, ८ ओक्टोबर दिन कोची-धनुसकोडी न्याशनल हाइवे अवरोध गरियो। बुढी अनि युवा महिलाहरू आ-आफ्नो स-साना नानीहरूलाई चेपेर सधैँ जंकसन अघि धर्नामा बस्न थाले त्यो पनि कसैको सहायता बिनै। त्यसपछि स्थानीय मानिसहरू सहायताको निम्ति अघि बढे। गाडीवालाहरूले विभिन्न ठाउँबाट मजदुरहरूलाई धर्नाको स्थानमा ल्याउन पुराउन थाले, दोकाने, होटलचलाउने हरूले हड्तालीहरूको निम्ति निरन्तर चिया-चमेनाको व्यवस्था गर्न थाले। १५ सेप्टेम्बर तिर यो पहिलो पहरको हड्ताल सकिए पछि खबर छेउकै चारवटा बगानहरूमा फैलिएर गयो यसमा पहिलो थियो हेरिसन मलायलम लिमिटेड, जो ६००० हेक्टर जमिनमा फैलिएको छ र जसमा ७००० जना मजदुरहरू काम गर्छन्। अप्पर सुर्यानेली इस्टेटमा माहोल तातियो, छिट्टै पोपपारा, अन्यायीरंकल अनि पन्नियारमा पनि खबर फैलियो। तीन वटा मुख्य ट्रेड युनियनहरूले यो सङ्घर्षलाई सहायता गरे जस्तै गरेर हस्तक्षेप गर्न खोज्यो जुन यी महिलाहरूले सरासर खारेज गरी दिए। ज-जसले पनि यी आन्दोलनकारीहरूलाई सहायता गरेका थिए तिनीहरूले धम्की र आक्रमणको समुखिन हुन पऱ्यो।  

ट्रेड युनियनहरूको भण्डाफोर
केरलामा बेसी जस्तो कमानका मजदुरहरू सि.पी.आई.-को ट्रेड युनियन ए.आइ.टि.यु.सी वा काँग्रेसको आइ.एन.टि.यु.सी वा सी.पी.आइ.एम.-को सी.आइ.टि.यु. आदि सङ्गठनमा पर्छन्। तिनीहरूको सदस्यताको राशि सिधै ज्यालाबाट काटिनु र म्यानेजमेन्टबाट विभिन्न ट्रेड युनियनको छाप मारिएको कम्बल मजदुरहरूलाई बेचिनुबाट यी ट्रेड युनियनहरूको चरित्र चित्रण हुन्छ। जुनै पनि केन्द्रीय युनियनको प्रभुत्वलाई उक्त आन्दोलन भरिनै अस्वीकार गरियो। अझ १६ तारिखनै अन्य कमानहरू जस्तै थेनमाला, कोल्लाम इत्यादिमा पनि सङ्घर्ष चर्कियो, तिनीहरूले म्यानेजरलाई घेराउ गरे, अरालम फार्म मजदुरहरूले हड्तालको चेतावनी जारी गरे। समुद्री खानाको कारखानामा काम गर्ने अम्बलापुज्जा, कोमाना अनि कज्जाझमक मजदुरहरू विभिन्न मुद्दाहरू लिएर हड्तालमा उत्रेका छन्। मुन्नारका महिला मजदुरहरू छुट्टै ट्रेड युनियन बनाउने दिशातर्फ बढ्दै छन्।
पहिलो पहरको हड्ताल १३ तारिख सकिए पछि कानन देवन हिल टि प्लान्टेसन म्यानेजमेन्टद्वारा घोषणा गरिएको १०% बोनसको प्रस्तावलाई ट्रेड युनियनहरूले माने पनि हड्तालीहरूको माँग २०% बोनस र दिनको ५०० रुपियाँ ज्यालाको माँग जारिनै रह्यो, साथै खटिखाने महिला मजदुरहरूको सङ्घर्ष पनि मानिसहरू समक्ष आयो जस्तै पेम्बिल्ला ओट्रुमाई (नारी एकता) को नाराहरू पनि मिडियामा आयो। तिनीहरूले जम्मै ट्रेड युनियनलाई नकारे, म्यानेजमेन्टलाई घेराउ गरे साथै सीपीआइएम र काँग्रेस दुवै पार्टीलाई पनि खेदी पठाए। जब यी दुवै पार्टीका महिला सदस्यहरूलाई मध्यस्तता पठाइयो तब आन्दोलनकारीहरूले यिनीहरूलाई आफ्नो माँग पुरा नभइञ्जेलसम्म धर्नामा बस्ने सल्ला दिए। केरलाका मुख्यमन्त्रीले कानन देवन हिल टि प्लान्टेसन म्यानेजमेन्ट अनि ५ जना मजदुर प्रतिनिधि बिच बातचित गरेर २०% बोनसमा बात मिलाए।

पेम्बिल्ला ओट्रुमाई  (नारी एकता) जिन्दावाद
मुन्नारको हड्तालको मुख्य नेत्री गोमथीले भनिन् “महिला समितिको अध्यक्ष हुँदाहुँदै पनि पुरुष ट्रेड युनियनका सदस्यहरूले कहिले पनि मेरो कुरा मानेनन्। यसको कारण तिनीहरूको लिंगभेद गर्ने मानसिकता हो। त्यसैले हामी आफै सङ्गठित हुन चाहन्छौँ, त्यसैले हामी युनियनको विरुद्ध छैनौ तर म्यानेजमेन्टसँग तिनीहरूको सांठगांठ मन नपरेको हो।” तिनी अझ भन्छिन् कानन देवन हिल टि प्लान्टेसनको महिला मजदुरहरूलाई ट्रेड युनियन विरुद्ध खादा भएकोमा हेलाको सामना पनि गर्नु पर्नेछ। स्थिति निक्कै चर्को भै सकेको छ कमान तिर, नजर राख्ने र केरकार गर्ने व्यवस्था बढ्दै छ। यस्तो किसिमको दबाब र शङ्काको वातावरण बनाएर तिनीहरू महिला मजदुरहरूको चिया बगानमा निहित पितृसत्तात्मक र शोषणपूर्ण सम्बन्ध विरुद्ध स्वतन्त्र लडाइलाई अस्वीकार गरी रहेका छन्। यसैले महिलाहरू केन्द्रीय ट्रेड युनियनको प्रभावमा नआइकन सङ्गठित हुनु खुबै जरुरी छ। म्यानेजमेन्ट र स्थापित ट्रेड युनियनको आक्रमण डरलाग्दो छ, तर पनि तिनीहरू लड्न तैयार छन्।
केरला जस्तो राज्यमा ट्रेड युनियन मात्रै यस्तो सङ्गठन हो जसको अहिले पनि'बाम' धाराको चिनोको रूपमा समाजमा राम्रो पकड थियो तर अहिले तिनीहरूमा पनि भयको लहर उठेको छ, उनीहरूको पैताला मुनिको जमिन अस्थिर भएको छ भने माथिको आकाश झर्न आँटेको छ। तिनीहरूको भयको परिचयको नमुना दिँदै तिनीहरूले आन्दोलन गरिरहेका महिलाहरूलाई ढुङ्गा पनि हाने अनि आफैलाई'स्ट्राइक तोड्ने’ संज्ञा दिए। 
२६ सेप्टेम्बर प्लान्टेशन लेबर कमिटिको मीटिंग को एक दिन अघाडी २५ सेप्टेम्बरको दिन धेरैवटा क्रियाकलापहरू द्वारा मीटिंगमा दबाब हाल्न खोजे महिला मजदुरहरूले। यसैबिच सरकारी सूत्र अनुसार पी.एल.सी. ले मात्र १० रुपियाँ बढ्ता ज्यालाको प्रस्ताव राखेका छन् त्यो पनि १० के. जी. बढ्ता पत्ति टिप्ने शर्तमा, फलतः बातचित असफल भयो। भारतीय मजदुर सङ्घले औपचारिक रूपमा उक्त आन्दोलनबाट टाढै रहेर अर्कै रूपमा सङ्घर्ष गर्ने जानेको छ। 
पी.एल.सीले सेप्टेम्बर ओक्टोबरको बिचमा ५ पल्ट जसो भेटि सकेको छ तर यसले एकपल्ट पनि कुनै महिला मजदुरलाई भेटेका छैनन् बरु ट्रेड युनियनका प्रतिनिधिहरू सँग भने भेटघाट गऱ्यो। मुख्यमन्त्रीलाई जबसम्म आफ्नो दाबी पुरा हुँदैन तबसम्म अनिश्चितकालीन अनशनमा बस्ने धम्की दिन न हिच्किचाउने महिला मजदुरहरूको विपरीत केन्द्रीय ट्रेड युनियनहरू स-साना सहुलियत जस्तै अस्पतालमा नयाँ मशिन, कम्ती दाममा कम्बल इत्यादि लिएर निस्के। तिनीहरूले कतिपय ठाउँहरूमा त अरू मजदुरहरूलाई पेम्बिल्ला ओट्रुमाई विरुद्ध भड्काउने काम पनि गरे।
यस्तो अवस्थामा सरकारले मजदुर प्रतिनिधि अनि म्यानेजमेन्टलाई  १४ ओक्टोबरको दिन एउटा सम्झौतामा हस्ताक्षर गर्न लगाए जसमा राज्य भरीको विभिन्न उद्योगको मजदुरहरूको ज्याला निर्धारित गरिएको छ; चिया र कफी बगानका मजदुरहरूको दैनिक ज्याला २५० रुपियाँ देखि बढाएर ३०१ रुपियाँ, अलैची बगानमा हाजिर ३३० रुपियाँ, रबर बगानमा ज्याला बढाएर ३८१ रुपियाँ प्रतिदिन गरिएको छ। जम्मै सहुलियतहरू मिलाएर चिया र कफी बगानका मजदुरहरूको दैनिक ज्याला ४३६ रुपियाँ, अलैची बगानमा हाजिरा ४७८ रुपियाँ, रबर बगानमा ५५२ रुपियाँ प्रतिदिन भएको छ।

भविष्यको आशा
पेम्बिल्ला ओट्रुमाईका कार्यकर्ताहरूले भविष्यमा महिला मजदुरहरूको दह्रिलो सङ्गठन बनाएर जम्मै महिलालाई एकबद्ध गरेर आफ्नो जंगी लडाई अघि बढाउने आशा राखेका छन्। यस सङ्घर्षको सापेक्षता बुझ्नु हो भने केरला जस्तो ठाउँको पितृसत्तात्मक समाज व्यवस्थालाई नियाल्नु जरुरी छ जहाँ जहिले पनि नारीलाई सार्वजनिक भागेदारीबाट अक्षुन्न राखिन्छ। चिया बगानको एकदमै शोषणपूर्ण जीवनको चित्र सबै सामु उदाङ्गो पार्नु साथसाथै दलित महिलाहरूको यो आन्दोलनले राज्यमा व्याप्त विस्थापना र श्रमिकको अवस्थामा पनि प्रश्न चिन्ह लगाइदियो। यसलाई केरलामा भएको विशाल असंगठित महिला मजदुरको सङ्घर्ष सँग जोडेर हेर्दा जस्तै निजी अस्पतालहरूमा नर्सहरूले गरेको हड्ताल, खुद्रा व्यवापारमा महिला मजदुरहरूको सङ्घर्ष हामी देख्छौं कि नारीहरू आ-आफ्नो कार्यस्थलमा स्वतन्त्र रूपले निर्णय लिन र हकको निम्ति लड्न पछि हट्दैनन्।

No comments:

Post a Comment