Friday, September 1, 2023

14 जुलाई 1789 लाई स्मरण गर्दै : आज फ्रान्सेली क्रान्तिलाई सम्झनु किन महत्त्वपूर्ण छ ?

स्वदेश कुमार सिन्हा


प्यारिसदेखि अलि पर एउटा प्रसिद्ध गढी थियो, जहाँ त्यसताक राजनैतिक बन्दीहरूलाई राखिन्थ्यो। त्यहाँ, 13 जुलाई 1789 को दिन सेनालाई प्यारिस पठाइँदैछ भन्ने अफवाह फैलियो। यो हल्लाले उत्तेजित भएर जनताले हतियार बटुल्ने निर्णय लिए। सहरमा जहाँ जहाँ हतियार पाइन्छ, ती सबै ठाउँ पुगेर जनताका भीडले हात-हतियार लुट्न थाल्यो।

14 जुलाई त्यही बास्टिल गढीमा पनि हतियारको भण्डार रहेको खबर फैलिएपछि जनता त्यहाँ भेला भयो। त्यसबेला गढीमा न त धेर हतियार थियो, न त्यति राजनैतिक कैदीहरू थिए। सुरक्षाको पूर्ण व्यवस्था थिएन, र पनि प्रशासक द लोनले हतियार दिन अस्वीकार गरे। क्रुद्ध भीडलाई हटाउन रक्षीहरूले गोली ठोक्दा सयौँको मृत्यु भयो, र जनताले गढी आक्रमण गरेर त्यसलाई धुलोपीठो पार्दियो। रक्षीहरू मारिए, अपराधीहरू सहित कैदीहरू रिहा भए। पूरै किल्ला भत्काइयो, त्यहाँबाट फलाम र ढुङ्गाका टुक्राहरू सम्झनाको रूपमा मानिसहरूले आ-आफ्नो घरमा लगे र बास्टिलको नाम नै मेटियो।

यस घटनाको महत्त्व कुन तथ्यबाट बुझिन्छ भने आज पनि फ्रान्सले 14 जुलाईमा आफ्नो राष्ट्रिय दिवस मनाउँछ। हुनु त यो त्यति ठूलो कुरा थिएन, नाथे एउटा गढीलाई क्रोधित जनताले कब्जा गरेर नष्ट गरे मात्र। तर यो घटना परिवर्तित समयको आगमनको स्पष्ट पूर्वसूचना थियो। घटनाको विवरण थाहा पाएर राजा लुईले भने, “अरे! यो त विद्रोह हो! छेउमै उभिएका लियाङ्कुरले भने, “होइन, मालिक! यो क्रान्ति हो।” र साँच्चै यो क्रान्तिको शङ्खघोष थियो। बास्टिलको पतन गढीको मात्र नभएर सिद्धान्त र परम्पराको पतन पनि थियो। ब्रिटिश राजदूतले लेखे, “फ्रान्स अब एक स्वतन्त्र देश भयो।”

यो घटना सन् 1789 को हो, यसलाई नै फ्रान्सेली क्रान्तिको सुरुवात मानिन्छ। बास्टिलमाथि आक्रमण गर्नेहरू मुख्यतया मजदुर वर्गका मानिसहरू थिए, जसलाई सन् 1790मा बास्टिलका विजयीहरू भनी सम्मानित गरिएको थियो। त्यहाँनेर केही अनावश्यक घटना पनि भएको थियो, जसलाई इतिहासकार शातों ब्रिआंले आलोचना गरिन्, र जसको जवाफमा थोमस पेनले भने, “यो अनावश्यक्ता क्रान्ति-अघि विकृत भइसकेका दिमागको उपज थियो, जसलाई सच्याउनका लागि नै क्रान्ति भयो।”

200 वर्षअघि भइसकेको यस्तो क्रान्तिको महत्त्व र सान्दर्भिकता आज संसार वा हाम्रो देशका लागि के हो त? यसको विश्लेषण आवश्यक छ, किनभने यसबारे पहिलेदेखि नै धेरै पुस्तक वा लेखहरू पाइन्छन्। मानव संसारमा यही क्रान्तिभन्दा पहिले र पछि धेरैवटा क्रान्तिहरू भए, तर तीमध्ये कुनै पनि यस क्रान्तिको अनगिन्ती उपलब्धिहरू, यसको शाश्वत गरिमा र रोमाञ्चक घटनाहरूको समानान्तर हुन सक्दैन।

यो आधुनिक इतिहासको पहिलो क्रान्ति हो, जसमा सम्पूर्ण क्रान्तिको श्रेय यसका प्रणेताहरूमध्ये कुनै एकलाई दिन सकिँदैन। यस क्रान्तिको सबैभन्दा ठूलो विशेषता के थियो भने यसको प्रत्येक चरणमा नेतृत्वको एक नयाँ वर्गको उदय देखिएको थियो।

क्रान्ति-पूर्व दार्शनिकहरू– भोल्टेयर, रुसो अनि मोन्टेस्क्युलाई छोडेर पनि अबे सिमेन्स, मिरागो, लाफायेट, ब्रिसो, डान्टे, मोरा र रोबेस्पियर जस्ता नेताहरू एकपछि अर्को जनतामाझ आएर आ-आफ्नो भूमिका निर्वाह गरेर फेरि राजनीतिक परिदृश्यबाट हराउँदै गए। यथार्थमा यो क्रान्तिको वास्तविक नायक र नेता भनेको जनता नै थिए।

आधुनिक मानव समाजमा समानता, स्वतन्त्रता, भ्रातृत्व, धर्मनिरपेक्ष राज्य, मानव अधिकार र नागरिक अधिकारका मूल्यहरूको जग बसालेको यो क्रान्ति फ्रान्समा भए पनि, यसको उपलब्धिको प्रतिध्वनि कुनै न कुनै रूपमा हरेक आधुनिक समाजमा सुनिँदै थियो। भारतको स्वतन्त्रता सङ्ग्राम पनि यसको मूल्यमान्यता र आदर्शहरूबाट कम प्रभावित थिएन। राजा राममोहन रायदेखि गान्धीसम्म यस क्रान्तिको आदर्शबाट धेरै शिक्षाहरू लिएका थिए। जवाहरलाल नेहरूले आफ्नो ‘विश्व इतिहासका झलकहरू’ (ग्लिम्प्सेस् अफ वर्ल्ड हिस्ट्री) पुस्तकमा यस क्रान्तिको बारेमा लेखे, “क्रान्तिकालको फ्रान्समा युवा हुन पाउनु ठूलो गर्वको कुरा थियो।”

क्रान्तिको उज्यालोमा जाग्यो नयाँ फ्रान्स। पुरानो व्यवस्थाको अन्त्य भइसकेको थियो। सामन्ती समाजको चिहानमा पूँजीवादी फूल फुलिरहेको थियो। किसानहरूले सामन्तीहरूको जग्गामा अतिक्रमण गर्न थाले। क्रमशः सहरका धनी र मध्यमवर्गीय जनताको हातमा सामन्तीहरूको जमिन आउन थाल्यो। त्यतिबेला एउटा कार्टुन प्रकाशित भयो– पहिलो तस्बिरमा बूढो किसानले ढाँडमा बोझ बोकेको छ, बोझमा लेखिएको छ– सामन्ती र धार्मिक कर। दोस्रो तस्बिरमा उही किसानले सामन्ती र पुरोहितमाथि सवार हुँदै भन्छन्– ‘मेरो पनि दिन आउँछ भन्ने थाहा थियो।’ हुनसक्छ यो पूर्णतया सत्य थिएन कि फ्रान्सेली किसानहरू यस नयाँ चेतनाले शक्तिशाली भए, तर सामन्ती शासक र पादरीहरूको पतन भएको कुरा निश्चित रूपमा सत्य नै थियो।

फ्रान्सेली क्रान्तिको सबैभन्दा ठूलो पाठ राजनैतिक होइन, वैचारिक हो। अठारौँ शताब्दीमा युरोपभरि वैचारिक स्तरमा नयाँ दृष्टिकोण अपनाइँदै थियो। कोपर्निकस र ग्यालिलियोपछि विज्ञानको बढ्दो प्रगतिसँगै ज्ञानोदय (एन्लाइटेनमेन्ट)-को  युग आयो, जब लेखकहरूले सामाजिक विकृतिहरू उजागर गर्न आफ्नो कलम प्रयोग गर्न थाले। उनीहरूको नारा– तर्क, सहिष्णुता र मानवता (रीजन, टलरेन्स एन्ड ह्यूमेनिटी) थियो। यी व्यक्तिहरू क्रान्ति चाहँदैनथे, तर यिनीहरूको प्रभाव र विचारले परिवर्तनको प्रक्रियालाई बलियो बनायो। यसमा प्रमुख नामहरू थिए– भोल्टेयर (1694-1778), मोन्टेस्क्यु (1685–1755), रुसो (1712–1778)।

भोल्टेयरले भ्रष्ट निरङ्कुशताको आलोचना गरे, अभिव्यक्तिको स्वतन्त्रतालाई जोड दिँदै भने, “मलाई थाहा छ तिम्रो कुरा गलत हो, तैपनि त्यो कुरा भन्ने तिम्रो अधिकारका लागि म ज्यान समर्पित गर्न तयार छु।” उहाँलाई अठारौँ शताब्दीको पुनर्जागरणको प्रस्तोता भनिन्छ। फ्रान्समा मात्र नभई उहाँलाई सम्पूर्ण युरोपमा विवेक, ज्ञान र प्रगतिको सिद्धान्तको प्रचारप्रसार गर्ने श्रेय जान्छ। उहाँ विश्वस्त थिए कि फ्रान्सेलीहरू बिस्तारै उहाँको कुरा स्वीकार गर्नेछन् र भविष्य राम्रो हुनेछ।

उहाँले एकजना साथीलाई लेखे– ‘फ्रान्सेली मानिसहरू बुझ्नु त बुझ्छन्, तर ढिलो गरी बुझ्छन्। युवाहरूले राम्रो दिनहरू देख्नु पर्ने हो (फ्रेन्च पीपुल कम टु थिङ्स लेट, बट दे डु कम… यङ् पीपुल ह्याभ टु सी फाइन थिङ्स्)।’ उहाँको मृत्युको एक दशकपछि भएको क्रान्तिले उनको विचारलाई कार्यान्वयन गर्दै त्यसको पुष्टि गऱ्यो।

मोन्टेस्क्युलाई राजनीति विज्ञानको पहिलो महत्वपूर्ण विचारक (फर्स्ट पोलिटिकल साइन्टिस्ट) भनिन्छ। सबैभन्दा पहिले, उहाँले फारसको पत्र (पर्शियन लेटर्स) नामक पुस्तकमा काल्पनिक यात्रीहरूमार्फत तत्कालिन फ्रान्सेली समाजको आलोचना गरे। उहाँ इङ्गल्याण्डबाट धेरै प्रभावित थिए र राजतन्त्रका समर्थक थिए, तर उनी राजाको शक्तिलाई सन्तुलन वा नियन्त्रण गर्न अन्य संस्थाहरूलाई बलियो बनाउन चाहन्थे। आफ्नो दोस्रो पुस्तक स्पिरिट अफ लज-मा उनले राजाको निरङ्कुशताको सट्टा संवैधानिक राजतन्त्रको बारेमा कुरा गरे। अप्रत्यक्ष रूपमा उनले फ्रान्सको निरङ्कुशता र केन्द्रीकरणको आलोचना गरे अनि राजतन्त्रलाई सुधार गर्न सुझाव दिए।

उहाँले पहिलो पटक परम्परागत व्यवस्थाको एक विकल्प प्रस्तुत गरे। उहाँको भनाइ कत्तिको मूल्यवान थियो भन्ने प्रमाण अमेरिकी संविधानमा यस विचारलाई स्वीकार गरिएको र क्रान्तिकारी फ्रान्समा पनि उहाँका सिद्धान्तहरूलाई संवैधानिक रूप दिइएको कुराबाट पाइन्छ। आज पनि यो सिद्धान्तको सान्दर्भिकता समाप्त भएको छैन र विभिन्न देशका संविधानमा पनि यसलाई धेरथोर स्वीकार गरिएको देखिन्छ। भारतको संविधानमा पनि न्यायपालिका र कार्यपालिकालाई पूर्ण रूपमा अलग राख्ने कानुन राज्यको नीति निर्देशक सिद्धान्तहरूमा स्वीकार गरिएको छ।

तेस्रो सबैभन्दा महत्त्वपूर्ण नाम रुसोको हो। रुसो रोमान्टिक थिए, उहाँले आफ्नो आचरण तथा लेखनमा रूढिवादीहरूलाई बेवास्ता गर्दै स्वतन्त्रता र समानताको विचार प्रस्तुत गरे। उहाँले साहित्य, शिक्षा, समाज र राज्यका बारेमा नयाँ विचार प्रस्तुत गरेर भावना र विवेक दुवै तहमा मानिसहरूलाई प्रभावित गरे। राज्यको ईश्वरीय सिद्धान्तलाई अस्वीकार गर्दै उहाँले सम्झौताबाट राज्यको जन्म भएको कुरा बताए। उहाँले यस सम्झौता गर्नेलाई अर्थात् जनतालाई सशक्त भने। धेरै विवेकपूर्ण र तर्कसंगत विश्लेषण गर्न नसके पनि उनले समकालीन समाजलाई धेरै हदसम्म प्रभावित पारे।

उनको सबैभन्दा महत्त्वपूर्ण पुस्तकको यो वाक्य क्रान्तिको शङ्खघोष बनियो– “मानिस स्वतन्त्र जन्मन्छ, तर पछि ऊ चारैतिरबाट साङ्लाहरूले बाँधिन्छ।” उहाँको आस्थाको केन्द्र मानिस थियो, त्यसैले स्वतन्त्रता, समानता र भ्रातृत्व (लिबर्टी, इक्वालिटी एन्ड फ्रेटरनिटी) जस्ता सिद्धान्तहरू उहाँका लेखनीबाट प्रकट भयो। उहाँका विचारहरू काल्पनिक मानिए पनि उहाँले समकालीन समाजका मानिसहरूको मोहभङ्ग गर्न सफल भए। मध्यमवर्ग उहाँको भक्त बने र उहाँका विचारहरूले क्रान्तिमा ठूलो प्रभाव पारे।

यसबाहेक क्रान्तिअघि अझै पनि यस्ता धेरैजना चिन्तकहरू थिए, जसले आफ्नो स्वतन्त्रता, तर्क अनि विज्ञानको अवधारणाले फ्रान्समा मात्रै नभएर सम्पूर्ण युरोपमा युक्तिवादको नयाँ लहर सृजना गर्दै धर्मकेन्द्रित सामन्ती समाजहरूमा नयाँ क्रान्तिकारी उभार सिर्जना गरेका थियो। यसको मूल आधारमा तर्क, बुद्धि र विवेक थियो, तर यस क्रान्तिको सबैभन्दा महत्त्वपूर्ण कुरा नागरिक अधिकारको घोषणा थियो, जसका प्रायः सबै धाराहरू संयुक्त राष्ट्र सङ्घको मानवअधिकार घोषणापत्रमा स्वीकार गरियो। यसमा करिब 17 वटा मुख्य कुराहरू छन्, तर तीमध्ये पनि कतिवटा धेरै महत्वपूर्ण छन्, जुन जारी गरिएको दुई सय वर्षभन्दा बढी समय बितिसक्दा पनि भारत लगायत सम्पूर्ण विश्वका लागि सान्दर्भिक छन्, किनभने यसमा रहेका धेरै लक्ष्यहरू अझै पनि संसारमा लागू भएका छैनन्, यसका कार्यान्वयन हुन बाँकी नै छन्।

संसारको कुनै पनि ठाउँमा जात, धर्म वा भाषाको आधारमा व्यक्ति वा जातिमाथि उत्पीडन हुँदा यो घोषणापत्रलाई सम्झिन्छ। यसका केही महत्त्वपूर्ण कुराहरू यस्ता छन्:-

मानिसका केही प्राकृतिक अधिकारहरू छन्, जुन उसलाई जन्मदेखि नै प्राप्त हुन्छ, जस्तै आफ्नो सुरक्षाको अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, सम्पत्तिको स्वामित्वको अधिकार आदि।

कानून सामान्य इच्छाको अभिव्यक्ति हो। राज्यको जन्म व्यक्तिहरूको सामूहिक प्रयासको परिणाम हो, त्यसैले व्यक्तिले आफैँ वा आफ्ना प्रतिनिधिहरूमार्फत शासन र कानून निर्माणमा सहभागी हुने अधिकार पाउँछ।

कुनै पनि संस्था, चाहे परिवार होस् वा राज्य, त्यसको कर्तव्य हो नागरिक अधिकारको रक्षा गर्नु।

राज्यले व्यक्तिमाथि दमन गर्नु हुँदैन, यसका लागि त्यसको अधिकारहरूमाथि नियन्त्रण गर्ने व्यवस्था हुनुपर्छ।

सत्ता यदी जनताको पक्षमा छैन भने त्यसलाई परिवर्तन गर्ने र हतियार उठाउने पनि अधिकार छ।

प्रत्येक व्यक्ति दोषी प्रमाणित नभएसम्म निर्दोष ठहरिनेछ, यदि कुनै व्यक्तिलाई बन्दी बनाई राख्नु नितान्त आवश्यक छ भने, थुनेर राख्ने प्रत्येक प्रक्रिया प्रयोग गरिने कडा कानूनद्वारा कठोरतापूर्वक निर्धारित गरिनेछ।

कुनै पनि व्यक्तिलाई उसको विचारहरूका लागि उत्पीडन गर्न पाइँदैन, यहासम्मकि धार्मिक विचारहरूको लागि पनि पाइँदैन, जबसम्म ती विचारहरूको अभिव्यक्ति कानूनद्वारा स्थापित व्यवस्थाको उल्लङ्घन गर्ने नहोस्।

(हिस्टोरियन्स हिस्ट्री अफ द वर्ल्ड : हिस्ट्री अफ फ्रान्स, 1715-1815 बाट उद्धृत र लेखकद्वारा अङ्ग्रेजीबाट अनुवाद गरिएको)

यस घोषणापत्रले फ्रान्सलाई मात्र नभई सम्पूर्ण विश्वलाई प्रेरित गऱ्यो र आज पनि गरिरहेको नै छ। आज जब भारतमा मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको व्यापक हनन् भइरहेको छ, धर्म र जातका आधारमा भेदभाव र उत्पीडन भइरहेको छ, निर्दोषलाई जेलमा हाल्ने काम भइरहेको छ, तब त्यो घोषणापत्रलाई फेरि एकपटक सम्झिनु कति आवश्यक छ भन्ने कुरा भनिरहनु पर्दैन। मलाई त्यो घोषणापत्रमा सबैभन्दा महत्त्वपूर्ण लाग्छ– ‘अन्यायविरुद्ध सबै प्रकारका प्रतिरोधहरू जायज छन्’ भन्ने कुरा

(साभार : न्युज क्लिक, 14 जुलाई 2023)

(हिन्दीबाट अनुवाद : शमीक चक्रवर्ती)


|

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...