Friday, September 1, 2023

खै त महिला खेलाडीहरूको सुरक्षा ?

अम्बिका राई



महिला हिंसाको घटना हुनसाथ ‘आत्मरक्षा’ भन्ने शब्द पनि खुब चर्चामा आउँछ। महिलाहरूले पनि कराते सिकेर आफ्नो रक्षा आफै गर्न सक्नु पर्छ भन्ने “समाधान” पनि धेरैले दिने गर्दछन्। तर हालैमा महिला पहलवानहरूमाथि भएको यौन उत्पीडनको घटनापछि तथाकथित ‘आत्मरक्षा’को समाधानमाथि ठुलो प्रश्न खडा भएको छ। 

विगत जनवरी महिनामा भारतका महिला पहलवानहरूले रेस्लिङ फेडेरेसन अफ इन्डिया (Wrestling Federation of India-WFI) को प्रमुख साथै भारतीय जनता पार्टी (भाजपा)-को सांसद ब्रिज भुषण शरण सिंहले उनीहरूमाथि यौन उत्पीडन गरेको आरोप लगाएका थिए। 18 जनवरीदेखि लगभग तिसजना पहलवानहरू दिल्लीको जन्तर मन्तरमा यही घटनाको विरोधमा धर्नामा बसे। उनीहरूले पत्रकार सम्मेलनमा आफूमाथि भएको उत्पीडनको खुल्ला रूपमा जानकारी गराए। त्यसपछि खेल मन्त्रीले एउटा ओवरसाइट कमिटी (Oversight Committee)-को गठन गरी यो मुद्दामाथि निन्दा गर्ने र बहत्तर घण्टाभित्र रेस्लिङ फेडेरेसन अफ इन्डिया (WFI) जबाफदेही हुनु पर्छ भन्ने घोषणा गऱ्यो। 

धरणामा बसेका पहलवानहरूको माग थियो– ब्रिज भुषणको राजीनामा साथै फेडेरेसनको विगठन। उनीहरूले इन्डियन ओलम्पिक एसोसिएसनलाई यी मागहरू राखेर एउटा अर्जी पत्र पनि जम्मा गरे। यस पत्रमा पहलवान विनेश फोगतले टोकियो ओलम्पिकमा पदक हासिल नगरेकोमा ब्रिज भुषणले उनलाई मानसिक यातना दिएको घटना खुल्ला रूपमा उल्लेख गरिएको थियो। 20 जनवरीको दिन खेल मन्त्रीसँगको पाँच घण्टाको बैठकपछि पहलवानहरूले आफ्ना धरणा स्थगित गर्ने निर्णय लिए। तर दुई महिनाभन्दा धेर भइसक्दा पनि ओवरसाइट कमिटीको तर्फबाट कुनै खबर नआउँदा 23 अप्रिलको दिन उनीहरू पुनः दिल्लीको जन्तर मन्तरमा धरणा प्रदर्शनमा बसे। धेरै महिनासम्मको धरणा प्रदर्शनपछि पनि सम्बन्धित निकायबाट केही पहल नहुँदा उनीहरूले ब्रिज भुषणमाथि आधिकारिक गुनासो गर्ने निर्णय लिए। 

सात जना महिला पहलवानहरू र एक जना नाबालिगले ब्रिज भुषणको नाममा प्राथमिकी दर्ता गर्ने निर्णय लिए। तर दिल्लीको कनट प्लेस पुलिस थानाले उनीहरूको प्राथमिकी दर्ता स्वीकार गर्न मानेन। अन्तमा प्रदर्शनकारीहरूको चापले गर्दा 28 अप्रिलको दिन फेडरेसन प्रमुख एवम् भाजपा सांसद ब्रिज भुषणको नाममा दिल्ली पुलिसले महिला पहलवानहरूमाथि यौन उत्पीडन साथै मानसिक यातना दिएको आरोपमा दुई वटा प्राथमिकी दर्ता गऱ्यो। प्रथम प्राथमिकी दर्ता सात जना महिला पहलवानहरूले गरेका थिए भने दोस्रो दस वर्षीय नाबालिगको बाबुले गरेका थिए। यी दुवै प्राथमिकी दर्तामा IPC Section 354 (assault or criminal force to woman with intent to outrage her modesty), 354A (sexual harassment), 354D (stalking) and 34 (common intention) धारा लागु हुन्छ, जसले गर्दा दण्डसंहिताअनुसार दोषीलाई एकदेखि तिन वर्षसम्मको जेल हुन्छ। दोस्रो प्राथमिकी दर्ता अनुसार पोस्को (POCSO Act) को धारा 10 ले गर्दा दोषीलाई पाँचदेखि सात वर्षसम्मको जेल सजाय हुन्छ। यी महिला पहलवानहरूसँग सन् 2012 देखि 2022 भित्रमा भारत अनि विदेशमा विभिन्न यौन हिंसाका घटनाहरू भएको थियो। 

गत 3 मईको राती दिल्ली पुलिस र धरणामा बसेका पहलवानहरूबिच झडप भएको थियो। पहलवानहरूलाई जन्तरमन्तरभित्र फोल्डिङ बेड लैजान नदिने विषयमा उक्त झडप भएको हो। किसान आन्दोलनका कर्मीहरू 7 मईको दिन पहलवानहरूको आन्दोलनलाई भाग लिन आउँदा पुलिस प्रशासनले बाटोमा ब्यारिकड लगाएर अवरोध गरेको थियो। किसानहरूको कुनै पनि ट्र्याक्टरलाई धरणा स्थलमा छिर्न दिएन। यसरी नै 28 मईको दिन उनीहरूले ‘महिला महापञ्चायत’को घोषणा गरेका थिए। यसै दिन नयाँ संसद भवनको उद्घाटन पनि हुन गइरहेको थियो र यस उद्घाटनमा आरोपी ब्रिज भुषण पनि सामेल थियो।

शान्तिपूर्वक ढङ्गमा प्रदर्शनकारी पहलवानहरू ‘महिला महापञ्चायत’का निम्ति नयाँ संसद भवनतिर गइरहेका समय दिल्ली पुलिसले पहलवानहरूमाथि लट्ठी चार्ज गऱ्यो, र उनीहरूलाई पक्राउ गरियो। 

एकतिर प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरिरहेको थियो भने अर्कोतिर देशकै निम्ति अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरिसकेका खेलाडीहरू आफ्नै देशको पुलिस प्रशासनसँग सडकमा न्यायका निम्ति सङ्घर्ष गरिरहेका थिए।

साक्षी मल्लिक, विनेश फोगत, अनि बजरङ्ग पुनिया जस्ता नामी पहलवानहरूलाई पुलिस प्रशासनले सडकमा जुन प्रकारको दूर्व्यवहार गरेको थियो, त्यो एकदमै सोचनीय छ। यी पहलवानहरूलाई त्यही दिन जेलबाट त छोडियो तर उनीहरूविरुद्ध अनेकौँ मामिलाहरू दर्ता गरिएको छ। उनीहरू विरुद्ध पुलिसले भारतीय दण्ड संहिता अनुसार यी धाराहरू लगाएको छ - Sections 188 (Disobedience to order duly promulgated by public servant), 186 (Obstructing public servant in discharge of public functions), 353 (Assault or criminal force to deter public servant from discharge of his duty), 332 (Voluntarily causing hurt to deter public servant from his duty), 352 (assault or criminal force otherwise than on grave provocation), 147 (rioting), 149 (Every member of unlawful assembly guilty of offence committed in prosecution of common object).

यो घटनापछि जन्तर मन्तरमा भइरहेको धरणामा पनि पुलिस प्रशासनले रोक लगायो। विरोधमा उत्रिएका पहलवानहरूलाई त्यहाँ बस्न नदिने कानुन बनायो। पुलिस प्रशासनको यस प्रकारका अत्याचारको विरोध गर्दै देशका नामी पहलवानहरू र ओलम्पिक खेलमा पदक जित्ने साक्षी मल्लिक साथै बजरङ्ग पुनियाले आफूहरूले जितेका पदकहरू 30 मईको दिन हरिद्वारको गङ्गा नदीमा विसर्जन गर्ने निर्णय लिए। यी मेडल केवल मेडल मात्र नभएर उनीहरूको जीवनको धेरै वर्षको मेहनत, प्रयास र बलिदानको फल पनि थियो। तर उनीहरूका निम्ति यो समय ती मेडलहरू भन्दा धेर महत्त्वपूर्ण थियो महिला पहलवानहरूको न्यायको प्रश्न। 

लगभग छ महिनाको सङ्घर्ष पछि हालैमा भाजपा सांसद ब्रिज भुषणको नाममा यौन उत्पीडन, stalking (पिछा गर्नु), र अन्य मुद्दाहरूमा चार्जसिट तयार भएको थियो। रेस्लिङ फेडेरेसन अफ इन्डियाको सह सचिव विनोद तोमरको नाममा पनि चार्जसिट बन्यो। ती चार्जसिट अनुसार ब्रिज भुषणविरुद्ध केही ठोस प्रमाण प्राप्त भएको पुष्टि गर्दै ट्रायल कोर्टले केस बढाउने निर्णय लिएको थियो। 18 जुलाईको दिन ब्रिज भुषण कोर्टमा उपस्थित हुने कुरा थियो। यो पत्रिका छाप्न प्रेसमा पठाउने दिन नै ब्रिजभूषणले दिल्ली हाइकोर्टबाट जमानत पाएको खबर आयो। कस्तो अन्धो हो कानून! 

यस घटनाले हाम्रो देशमा महिला खेलाडीहरूको सुरक्षाको व्यवस्था के कस्तो छ  भन्ने कुरा स्पष्टसँग बुझ्न सकिन्छ। यी घटनाहरूबाट हामी के बुझ्छौँ भने आजको खेल जगत् पनि पितृसत्तात्मक सोचले भरिएको छ। एकतिर भारतमा महिला खेलाडीहरूको सङ्ख्या एकदमै कम्ती छ। धेरै कष्ट गरेर केही महिला खेलाडीहरू अगाडी आए पनि उनीहरू यस किसिमका यौन हिंसाका घटनाको सिकार बन्न परिरहेका छन्। राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा खेलेर देशका निम्ति पदक ल्याउने खेलाडीहरू आज सडकमा उत्रेर पुरुष कोच, खेल अधिकारी अनि सत्तामा बसेका पितृसत्तात्मक सोच बोक्ने हरेक व्यक्तिको विरुद्धमा सङ्घर्ष गरिरहेका छन्। 



भारतको सम्मानित पहलवानहरू, जसले देशलाई विश्व स्तरका ठुला ठुला खेलहरूमा भारतलाई प्रतिनिधित्व गरेका थिए, ती सबै पहलवानहरू अझसम्म न्यायको माग गरिरहेका छन्। तर के अब ती पहलवानहरूले न्याय पाउँला त! भन्ने कुरा अब समयले नै बताउने छ। <<<

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...