रूपेन कार्की
नाजीको युवा सङ्गठन थियो, जसको नाम थियो, ‘हिटलर युथ’ (Hitlerjugend), यसमा पुरुषहरूलाई मात्र भर्ती गरिन्थ्यो भने नारीहरूको अर्कै सङ्गठन थियो, जसको नाम थियो— ‘लिग अफ जर्मन गर्लस' (Bund Deutscher Mädel)।
हिटलरले आफ्नो किताब ‘मेन काम्फमा’ लेखेको थियो “जोसँग युवा हुन्छ, उसको भविष्य हुन्छ”। त्यसैले होला सन् 1923-मा 1200 सदस्यहरू भएको हिटलरको युवा सङ्गठनमा सन् 1940-को अन्ततिर सदस्यता 8 मिलियनमा पुगेको थियो। पछि यी नै युवाहरू हिटलरको सेनामा सामेल भए। यी नै युवाहरूले लाखौँ लाख मान्छे मार्ने काम गरे।
केही दिन अघि एउटा खबर कागजमा पढिरहेको थिएँ, आइ.एस.आइ.एस जस्ता आतङ्कवादी सङ्गठनमा संसारका धेरै देशहरूबाट हजारौँ युवाहरू भर्ती हुनका लागि गएका थिए। त्यो रिपोर्ट सन् 2015-को थियो। त्यो बेला 85 वटा देशहरूबाट 30,000 भन्दा धेर युवाहरू त्यस सङ्गठनमा भर्ती भएका थिए। युवाहरू त यस्ता सङ्गठनमा पनि गएकै हुन् र जाँदै छन्।
“युवाहरू राजनीतिमा आउनुपर्छ” भनेर धेरैले भनिरहेको बेला, यो भनाइलाई राम्रोसँग चर्चा गरिनुपर्छ भन्ने लागेको छ। के युवाहरू राजनीतिमा आउँदा अथवा सहभागी बन्दा मात्र राजनीति राम्रो हुने हो त? देशको भविष्यलाई सुधार्न युवाहरू सक्रिय रूपमा राजनीतिमा सामेल हुनुपर्छ भनेर मात्र हुन्छ त? युवा त पोलट्री कुखुरा पनि एक दिन हुन्छ। युवा त गाईको बाछा पनि एक दिन पुग्छ। युवा त बाख्रा पनि एक दिन पुग्छ। उमेरको रूपमा युवा हुनु त प्रकृतिको नियम हो। कसैले म युवा नहुने भनेर लाखौँ लाख दियो बाती बालेर भगवानलाई प्रार्थना गरे पनि हुँदैन। जन्मेपछि नानी हुनु, युवा हुनु, वृद्ध हुनु र मर्नु त प्राकृतिक नियम नै हो।
युवाहरू भनेको समाजको सबैभन्दा शक्तिशाली श्रम शक्ति हो। समाजमा उत्पादन गर्ने उत्पादन शक्ति हो। अँ, समाजको भविष्य युवाहरूमा निर्भर बन्छ तर वैचारिक रूपमा खाली खोपडी बोकेर उमेरका रूपमा मात्र युवा भन्ने मानिसहरूलाई युवा भन्न सकिँदैन। यस्ता रिक्त खोपडी बोकेर कुद्नेहरूले देखाउने समाजको भविष्य भनेको अन्धकार हो। माथि हामीले देख्यौँ नि कसरी जैविक रूपमा मात्र युवा बन्न पुगेका मानिसहरू कुनै तानासाह, कुनै तानासाही समूहको हतियार बन्न पुगेका थिए।
महत्त्वपूर्ण कुरा भनेको, युवाहरूले कस्ता विचार बोकेका छन्, त्यो हो। गलत विचार बोकेका युवा त झन् समाजका लागि खतरनाक हो। हामी सामान्य रूपमा “ए युवा हो! राजनीतिमा आउनु पर्छ” भनेर नारा लगाइदिन्छौँ, यस्ता विचारलाई स्वीकार गरिदिन्छौँ। तर मलाई लाग्छ युवाको सहभागिता ठुला कुरा हुँदाहुँदै पनि युवाले बोकेको विचार भने त्योभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। भेडाहरूको विशाल समूहलाई एउटै फुच्चे नानीले चराउन सक्छ। युवाहरू पनि विशाल समूह मात्र हुने तर विचारको रूपमा भेडा सरह बन्ने हो भने शासकको लट्ठीको इसारामा बाँच्ने प्राणीमा रूपान्तरित हुनु बाहेक अरू केही पनि बनिँदैन।
आजका हरेक बूढाबूढी मानिसहरू पनि युवा भएर नै आएका हुन्। प्रगतिशील काम गरेर पाको भएका मानिसहरू त समाजका एसेट हुन्, सम्पत्ति हुन्, धरोहर हुन्। युवाको रटान लगाएर अनुभवी मानिसहरू पनि किनार लगाउन मिल्दैन। खासमा सबै तहका मानिसहरूको विचार समाजले लिनु नै बुद्धिमत्ता होला। कतिपय युवा वर्ग प्रतिगामी, रूढिवादी, जातिवादी, अवैज्ञानिक विचार बोकेर आफैलाई युवा भन्दै आफ्नै कुममा धाप मार्ने काम पनि गर्छन्। त्यस्ता मानिसहरू जसले समाजलाई ओरालो लैजाने विचार बोकेको छ भने ती मानिसहरूलाई युवा भन्न मिल्दैन। बूढो टाउको बोकेको युवा शरीर भने हुन्छ होला। तर कतिपय मानिसहरू उमेरको रूपमा युवा अवस्था पुगे पनि प्रगतिशील, वैज्ञानिक विचारका साथ काम गरिरहेका पाइन्छन्। जसलाई हामी युवा समूहमा नै सामेल गर्न सक्छौँ।
अर्का किसिमका युवाहरू जो ‘आइ एम अवे फ्रम पोलिटिक्स’, ‘आइ डोन्ट लाइक पोलिटिक्स’, ‘म एपोलिटिकल हो’ आदि भनेर भनिरहेका सुन्छौँ। आजको व्यवस्था अनुरूप समाजबाट अलग रहने अनि जे हुन्छ त्यो भइरहन दिने प्रवृत्ति विकास भएको देखिन्छ। तर हामीले यसमा पनि चर्चा त गर्नै पर्छ। एपोलिटिकल रहन कति सम्भव छ? राजनीतिदेखि टाढा रहन कति सम्भव छ? बजारमा माचिस किन्न जाँदा त्यसमा पनि ‘कर’ अर्थात् ट्याक्स लाग्छ। कर कति लाग्ने, सरकारले निर्णय गर्छ। सरकार को हुन्छ? जसलाई जनताले भोट दिएर पठाएका हुन्छन्। भोट घरमा बसेर हुँदैन चुनावमा उत्रिएको हुनु पऱ्यो। राजनीति नगरी प्रतिनिधि हुँदैन। स्कुलमा के पढाइन्छ, के सिलेबस हुन्छ, कस्तो राष्ट्रिय शिक्षा नीति लागु गरिने हो, त्यो सरकारले निर्णय गर्छ, राजनीतिले निर्णय गर्छ।
गाडी भाडा तेलको मूल्यमा निर्भर गर्छ, तेलको दाम हामी निर्णय गर्दैनौँ। सरकारले चाहे बढाउँछ, चाहे घटाउन पनि सक्छ। अस्पतालमा डाक्टर-नर्स कतिजना हुन्छन्, औषधीको दाम कति हुन्छ, एम.आर.आइ हुन्छ कि हुँदैन, एक्स.रे हुन्छ कि हुँदैन, सरकारले मसिन अथवा आवश्यक पूर्वाधार बनाएन भने यी सुविधाहरू उपलब्ध हुने कुरा आएन। गाउँमा पाइपमा पानी आउँछ कि आउँदैन, त्यो सरकारले पानीको सुविधाको लागि कति पैसा खर्च गरेको छ, त्यसमा निर्भर गर्छ। चामल, तेल, चिनी, दाल, प्याजको दाम कति हुन्छ, हामी निर्णय गर्दैनौँ। त्यो राजनीतिले नै निर्णय गरिरहेको हुन्छ। बारीमा फलेको अन्न, सब्जी आदिले कति मूल्य पाउँछ, त्यो राजनीतिले निर्णय गर्छ, त्यो सरकारले निर्णय गर्छ। पढेर घर बस्नु पर्ने हो कि काम पाउने हो, बेरोजगार बसिने हो कि होइन, त्यो राजनीतिले नै निर्णय गर्छ। ड्रग्सको व्यापार बढ्छ कि बढ्दैन, भट्टु शक्ति बढ्छन् कि बढ्दैन, त्यसै पैसा खान पाइन्छ कि पाइँदैन, भ्रष्टाचार बढ्छ कि बढ्दैन त्यो राजनीतिमा नै निर्भर गर्छ।
फेरि कतिपय हाम्रा साथी भाइहरूले खाली भोट हाल्ने क्रमलाई मात्र राजनीति भनेर बुझ्ने गरेका छन्। कतिले सरकारलाई प्रश्न गर्नु पनि राजनीति हो भनेर बुझ्ने गरेका छन्। कतिले राजनीति भनेको विपक्षी हुनु भनेर बुझेको पनि पाइन्छ। तर यति कुरामा मात्र राजनीतिलाई बुझ्न खोज्नु, सीमित गर्न खोज्नु चाहिँ घाम आफ्नो आँगनमा मात्र लाग्छ भनेर ठान्नु हो। मलाई लाग्छ यो पढिसकेर मनमा केही सोच आयो भने त्यो पनि राजनीति हो। मान्छे राजनीतिक प्राणी हो। गाई, बाख्रा, पशु प्राणी आदि चाहिँ एपोलिटिकल हुँदा हुन्छ तर मान्छे चाहिँ एपोलिटिकल हुन्छु भन्दा पनि हुँदैन। गाई, बाख्रा एपोलिकटल बस्यो पनि उनीहरूको जीवन राजनीतिसँग जोडिएको हुन्छ नै। अँ, यसो भनिरहँदा दलाल राजनीतिक पार्टीका सदस्यता लिनु भन्न खोजेको चाहिँ होइन। सत्ताको राजनीति बुझ्नु विपक्षीको चाल बुझ्नु, अझ विशेष रूपमा पुँजी लगानी गर्नेहरूको स्वार्थ बुझ्नु चाहिँ मुख्य कुरा हो। त्यसैले मलाई लाग्छ एकोहोरो एपोलिटिकल भन्नेहरू कि त अति सोझा हुन्, कि त सत्ता पक्षीय हुन्, कि अति प्रिभिलेज्ड हुन्, जसलाई राजनीतिक परिवर्तनले प्रभाव पार्दैन।
सत्तापक्षले आफ्नो गल्ती लुकाउन आफ्ना एजेन्टहरू लगाएर जनतालाई एपोलिटिकल हुने दर्शन पढाउँछ। मलाई त लाग्छ पौडी खेल्न कुवामा पसेको मान्छेले पानी नलागोस् भनेर रटान लगाएभन्दा फरक छैन यो समाजमा एपोलिटिकल बस्न। त्यसैले युवा राजनीतिदेखि अलग रहने कुरा पनि उचित होइन भनेर हामीले मान्नै पर्दछ।
युवामा समाज विकासको गतिबारे ज्ञान, समाजको आर्थिक नीति र जगको ज्ञान, समाजमा अवस्थित समस्याका ज्ञान, इतिहासको ज्ञान, आर्थिक र सामाजिक संरचनाको ज्ञान आदि बारे केही ज्ञात नभएको तर टिक- टकमा दुई मिनटको समय मात्र दिने मानिस युवा भएको हिसाबले मात्र समाजलाई सञ्चालन गर्न योग्य छ भनेर मान्न सकिन्छ? पुँजीवादले सिकाएको खोक्रो उपभोक्तावादी समुन्द्रमा डुबेर युवाहरू नेता बन्ने सपना बुनेर मात्र हुन्छ? अथवा युवाहरूलाई राजनीतिमा सामेल गराउन खोजेर मात्र हुन्छ? त्यसैले युवाहरू राजनीतिमा सामेल हुनु भन्ने नारालाई आधाकल्चो मान्न सकिन्छ। केटाकेटीलाई छुरी दिनु भन्ने कुरा कति खतरनाक हो। त्यो हतियारले उसले केक पनि काट्न सक्छ अनि हात पनि काट्न सक्छ। कुन कुरामा उपयोग गर्ने पहिला स्पष्ट पारेर छुरी दिनु चाहिँ उचित हुन्छ। त्यसैले युवाले सङ्गठित गर्नुको लक्ष्य थाहा पाउनु, समूहले बोकेको विचार थाहा पाउनु अनि सही विचार बोकेर सङ्गठित हुनु चाहिँ पुरा मान्न सकिएला।
अहिले सिक्किममा पनि एक किसिमको रटान लगाएको पाइन्छ, ‘युवा राजनीतिमा आउनु पर्छ’ भन्ने। कतिले विगतको चुनावमा पनि युवाको सहभागिता धेरै भयो भनेर ठुलो नाक पारेको पाइयो। कतिले अब झन् हुनुपर्छ भनेर भाषण नै गरेको सुनिन्छ। तर कस्ता युवा, किन युवा, कुन विचारको युवा, भन्ने कुराको चर्चा गरेको पाइँदैन। बेरोजगारी आकाशभन्दा ठुलो भएर गएपछि युवाहरू राजनीतिमा सामेल हुनु पनि चाहेका हुन् कि भन्ने चर्चा पनि छ, अवसरहरूका ढोकाहरू बन्द भएर पनि धेरै युवाहरू सहभागी भएका हुन् कि भन्ने कुरामा पनि चर्चा गर्छन् मानिसहरू।
अन्तमा युवा राजनीतिमा सामेल हुनु भनेर कसैले भन्दै छ भने सचेत रहनुपर्छ। कस्ता राजनीतिको कुरा गर्दै छ, त्यो बुझ्नु पर्छ। कसको फाइदाको लागि गरिने राजनीतिको कुरा गरिन्दैछ त्यो बुझ्नु जरुरी छ। कुन वर्गका राजनीति स्वार्थपूर्तिका लागि गरिन्दैछ, त्यो बुझ्नु जरुरी छ। युवा भन्दै कुद्ने युवाहरूको स्वार्थलाई बुझ्नु पर्छ। युवा करेन्ट जस्तै हो तारमा कुदे बिजुली बल्छ तर जता सुकै बगे ज्यान पनि लैजान सक्छ। <<<
No comments:
Post a Comment