बुद्धनाथ शर्मा
भारतको सामाजिक सुधार अभियानमा अग्रज रहेकी सावित्रीबाई फुलेको जन्म 3 जनवरी 1831- मा भएको हो। उहाँले महिला र अवहेलितहरूका निम्ति जीवनव्यापी सङ्घर्ष गर्नु भएको थियो। त्यस समयको कुरीतिहरू जस्तै बाल बिवाह, सती प्रथा, दहेज, बाल शिशु-हत्या, जातीय र लैङ्गिक भेदभाव आदिको घोरविरोध गर्दै बिधुवा पुनर्विवाहको पक्षमा निरन्तर आवाज उठाउनु भएको थियो।
लैङ्गिक र सामाजिक न्यायका निम्ति शिक्षा मात्र उपयुक्त हतियार हो भन्ने बुझेपछि उहाँले आफ्नो समाज सुधारक पति ज्योतिराव फुले अनि फातिमा शेख जस्ता साथीहरूको सहयोगमा महिला अनि अवहेलित जातिका मानिसहरूलाई शिक्षित गर्न अग्रसर हुनु भयो।
लक्ष्मी र खण्डोजी नेभेष पाटिलको कोखबाट जन्मिएकी सावित्रीको 9 वर्षको उमेरमा 13 वर्षीय ज्योतिराव फुलेसँग बाल विवाह भएको थियो। यस घटनाले सावित्रीको जीवनमा ठुलो भूमिका निर्वाह गरेको थियो। ज्योतिराव शिक्षालाई महत्त्व दिने मानिस थिए। विवाह अघि शिक्षादेखि वञ्चित रहेकी सावित्रीको सिक्ने र पढ्ने उत्सुकता देखेर ज्योतिरावले उनलाई पढाउन थाल्नु भयो। छिट्टै उनले पढ्नु र लेख्नुमा दक्षता हासिल गर्न थालिन्। तेस्रो र चौथो श्रेणीमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएपछि उनलाई शिक्षिका हुने इच्छा जाग्यो। फलस्वरूप उनले अहमदनगरको सुश्री फारको संस्थानबाट शिक्षिका प्रशिक्षण लिन सुरु गरिन्।
त्यही समयमा ज्योतिराव फुलेले सबै हिन्दु धर्मशास्त्रहरू पढिसकेका थिए र सबै मानिस बराबर हुन् भन्ने निष्कर्षमा पुगेका थिए। उनले शिक्षालाई सबै सामाजिक असमानता उन्मूलन गर्ने माध्यमको रूपमा पहिचान गरेका थिए।
सावित्रीबाई फुले उनका पतिबाट धेरै नै प्रभावित भइन्। फुले दम्पतीले शिक्षाको क्षेत्रमा क्रान्तिकारी सुधारहरूको वकालत गर्न थाले। उहाँहरूले सन् 1848- मा भारतको पहिलो स्वदेशी रूपमा सञ्चालित बालिका विद्यालयको स्थापना पुणेको भिडेवाडामा गरेका थिए। यद्यपि शूद्र समुदायका क्रान्तिकारी फुले दम्पतीको विश्वास र क्रियाकलापलाई त्यति बेलाका प्रतिगामी र रूढीवादी समाजले स्वागत गरेन। उच्च जातिका मानिसहरूद्वारा कार्यवाहीको डरले ज्योतिरावका बुवाले उनीहरूलाई आफ्नो घर छाड्ने आदेश दिए।
आफ्नो घरबाट निकालिएका फुले दम्पतीलाई साथी उसमान शेख र उनकी बहिनी फातिमा शेखले शरण दिए। शरण साथसाथै उहाँहरूले फुले दम्पतीलाई घरमै स्कुल खोल्ने जग्गा पनि दिए। सावित्रीबाई विद्यालयको पहिलो शिक्षिका बन्नुभयो (उनलाई भारतको पहिलो महिला शिक्षक पनि मानिन्छ)। फुले दम्पतीले पछि ‘अछुत मानिने’ माग र महर जातिका नानीहरूका लागि स्कुल सुरु गरे। सावित्री, ज्योतिराव र फातिमा शेखले सन् 1848 र 1852- को अन्तरालमा 18 वटा भन्दा धेरै स्कुलहरू खोले। यी स्कुलहरूमा सबै जातिका छात्र-छात्राहरूले शिक्षा आर्जन गर्न सक्थे।
सावित्रीबाईले शैक्षिक सुधार ल्याउने क्रममा कैयौँ अवरोधहरूको सामना गर्नु परेको थियो। उच्च जात भनिने मानिसहरूले निरन्तर रूपमा उहाँसँग दुर्व्यवहार गर्ने गर्थे। उहाँ घरबाट स्कुल तथा स्कुलदेखि घर जाँदा केही व्यक्तिहरूले उनको शरीरमा ढुङ्गा, सडेको अण्डा, टमाटर, माटो आदिले हिर्काउने गर्थे। उनले लगाएको साडी फोहोर- मैलाले बिग्रिन्थ्यो। तर यस्तो यातनाले पनि उहाँको दृढ इच्छाशक्तिलाई कमजोर बनाउन सकेन। उनले स्कुल जाँदा एउटा फाल्टु साडी झोलामा बोकेर जान थालिन्। बिहान लगाएको साडी बाटोमा मानिसले हिर्काएको मैलाले बिग्रिन्थ्यो। स्कुलमा पुगेर उनी झोलामा बोकेको सफा साडी लगाएर दिनभरि पढाउने गर्थिन्। बेलुका फर्किने बेलामा बिहानको मैला साडी लगाएर रूढीवादी तत्त्वहरूको फोहोर मैला आक्रमण सहँदै स्कुलबाट फर्किने गर्थिन्।
शैक्षिक सुधारको साथसाथै सावित्रीबाई आफ्नो पतिसँग सामाजिक सुधारको काममा पनि लागि परेकी थिइन्। सन् 1852- मा उनले महिला सेवा मण्डलको सुरुवात गरिन्। यस मण्डलको मुख्य उद्देश्य महिलाहरूका अधिकार, मर्यादा र अन्य सामाजिक मुद्दाहरू विषय उनीहरूमा चेतना जगाउने थियो। उहाँहरूले एक पटक बिधुवाहरूको केश काटिने प्रथाको विरोध गर्दै हजामहरूको विरुद्ध हडताल गरेका थिए।
सन् 1863- मा ज्योतिराव र सावित्रीबाईले ‘बाल हत्या प्रतिबन्ध गृह’ नामको हेरचाह केन्द्र सुरु गरे। यो सम्भवतः भारतमा स्थापना भएको सबैभन्दा पहिलो शिशु हत्या संरक्षण गृह हो। गर्भवती बिधुवा ब्राह्मण र बलात्कार पीडितहरूले (जो धेरै तरिकाले सताइन्थ्यो र धेरै चोटि मारिन्थे) त्यहाँ सुरक्षित रूपमा प्रजनन गर्न पाउँथे। यशवन्तरावलाई (जो एक बिधुवा ब्राह्मणका छोरा थिए) फुले दम्पतीले छोराको रूपमा अपनाएका थिए। यस बाहेक ज्योतिरावले 24 सेप्टेम्बर सन् 1873 मा सत्य- शोधक समाज (सत्य खोज्ने समाज) को स्थापना गरे। सावित्रीबाई समाजमा सक्रिय रूपमा सङ्लग्न थिइन्। सामाजिक शोषणहरूदेखि महिला, शूद्र, दलित र अवहेलितहरूको मुक्तिको परिकल्पना गरेर त्यो समाजको स्थापना गरिएको थियो। उनीहरूले ब्राह्मणको सङ्लग्नता बिना नै सस्तो बिवाहहरूको व्यवस्था गरे। यी बिवाहहरूमा दहेजलाई निषेध गरिएको थियो र अन्तरजातीय बिवाहलाई प्रोत्साहित गरिन्थ्यो।
उहाँ सामाजिक सुधार आन्दोलनमा सक्रिय रहनु बाहेक प्राकृतिक विपत्तिहरूको समयमा विभिन्न राहत कार्यहरूमा सङ्गलग्न हुनुहुन्थ्यो। सन् 1887- को अनिकालको समयमा उनले प्रभावित क्षेत्रमा निःशुल्क खाना वितरण गरेर महाराष्ट्रभरि 52 वटा निःशुल्क खाना छात्रावासहरू सुरु गरेकी थिइन्। उनले अङ्ग्रेज सरकारलाई सन् 1897- को खडेरीको समयमा राहत कार्य सुरु गर्न राजी गरेकी थिइन्।
सन् 1897-मा बुबोनिक प्लेगको तेस्रो विश्वव्यापी महामारी नालास्पोरा महाराष्ट्र वरपरको क्षेत्रमा आइपुगेको थियो। उनको डाक्टर छोरा यशवन्तरावसँगै उनले पुणेको बाहिरी इलाकामा क्लिनिक खोलेर प्लेगका बिरामीहरूको उपचार गर्न थालिन्। 10 मार्च 1897- मा बिरामीको उपचारको क्रममा प्लेगले भेटेपछि उनको मृत्यु भयो। यसरी सावित्रीबाईले जीवनभरि नै सङ्घर्ष गरेकी थिइन् भने उनको मृत्यु पनि सङ्घर्षको मैदानमा नै भएको थियो। <<<
No comments:
Post a Comment