Friday, September 1, 2023

पुस्तक समीक्षा : मोहनदास -- भ्रष्टाचार र राजनीतिले ठगिएका युवाहरू

 श्रद्धाञ्जली दाहाल


एउटा शुद्ध भ्रष्टाचारको सिङ्गो दस्ताबेज हो उदय प्रकाशको सन् 2006 मा प्रकाशित उपन्यास ‘मोहनदास’। उनले यो उपन्यासको लागि भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। थुप्रै भाषामा अनूदित उनको यस लघु उपन्यास चलचित्र बनेको छ। 

आजको परिवेशमा उपन्यास मोहनदासमा जस्तै थुप्रै मोहनदासहरू हाम्रो समाजमा बेरोजगार छन्। 

कुनै समयको कुरा। दुईजना मित्रहरू बि.ए. पास गरेर नोकरीको खोजीमा निस्केका थिए। दुवैजानाले नोकरीमा नियुक्ति हुन अन्तर्वार्ता दिनु परे। एकजनाले स्नातकको परीक्षामा धेरै राम्रो अङ्क ल्याएर उत्तीर्ण गरेका थिए र उनको अन्तर्वार्ता पनि राम्रो भएको उनले आफ्नो साथीलाई सुनाएको थियो। 

अन्तर्वार्ता सकेर दुवै घरमा फर्के। अन्तरवार्ताको परीक्षणमा एकजनाको मात्र नाम आयो। जसले राम्रो गरेको छु भनेको थियो उसको नाम आएन। उनको साथीको नाम आयो, किनभने उसको एकजना आफन्त पर्ने त्यस समयका मन्त्री थिए। स्नातकमा राम्रो अङ्क ल्याएर पास गर्ने व्यक्ति बेरोजगार भए।

अर्को घटना, एक जना गाउँले बाबु, जसले छोरालाई खेती गरेको पैसाले पढाएको थियो। छोराले पढिसकेर सरकारी विभागमा काम पनि पाए तर नोकरी गर्दागर्दै उनको आकस्मिक निधन हुन्छ। सरकारको सेवा गर्दागर्दै उनको निधन भएको हुँदा उनको नोकरी त उनकै परिवारले पाउनु पार्ने हो। 

धार्मिक विधि अनुसार उनको शुद्धिकार्य सकेर केही समयमा उनका भाइ दाजुको नोकरीको कुरा लिएर विभागमा जाँदा अर्को गाउँकै मान्छे नियुक्ति भइसकेको हुन्छ, कारण उसको दाजु शिक्षा विभागको उच्च अधिकारीको पदमा कार्यरत हुन्छन्। 

भ्रष्टाचार सामाजिक शत्रु हो। शक्तिले मान्छेलाई भ्रष्ट बनाउँछ। भ्रष्टाचारलाई सरल अर्थमा व्यक्तिगत सन्तुष्टि प्राप्त गर्न सार्वजनिक पद वा शक्तिको दुरुपयोगको रूपमा परिभाषित गर्न सकिन्छ। 

हालैमा भारतले विश्वका तीन सबैभन्दा भ्रष्ट देशहरूमा स्थान कमाएको छ। यो भारतमा भ्रष्टाचार नोकरसाही, राजनीति र अपराधीहरू बिचको सम्बन्धको परिणाम हो। 

आज हामीले देखिरहेका छौँ, पैसाको राजनीति हुन्छ। आफ्नो स्वार्थ पूरा गर्नका निम्ति मात्रै राजनीति भइरहेको छ। आज इमानदार छवि भएका मन्त्रीहरूको सङ्ख्या औँलामा गन्न सकिन्छ। जबसम्म आफ्नो व्यक्तिगत रुचिलाई अघि राखेर राजनीति गरिन्छ, तबसम्म राजनीतिमा परिवर्तन आउन सक्दैन, परिणाम आउँछ त केवल भ्रष्टाचार। 

हामीले इतिहासलाई हऱ्यौँ भने भ्रष्टाचारको लागि मात्र राजनीति गरिएको छैन।

भगत सिंह एक पूर्ण समाजवादी थिए, जसले भारतलाई धर्मनिरपेक्ष, सङ्घीय, लोकतान्त्रिक, समाजवादी राष्ट्रमा ढाल्न विश्वास गर्थे, जहाँ बाठो मान्छेले लाटो व्यक्तिलाई शोषण गर्न असम्भव होस्। उनी ब्रिटिस शासनलाई उखेल्न व्यक्तिगत वीरता भन्दा पनि जन सामूहिक कार्यमा विश्वास गर्थे। लेनिनका प्रशंसक उनी अक्षर र आत्मामा समाजवादलाई विश्वास गर्थे र जनताले भारतको स्वतन्त्रताको लागि सामाजिक-आर्थिक परिवर्तनका साथै शोषणमुक्त समाज निर्माण गर्न चाहन्थे। 

सुभाष चन्द्र बोसको राजनीतिक विचारहरू प्रारम्भिक रूपमा वर्गविहीन समाज र राज्य समाजवादको साथमा भारतको लागि पूर्ण स्वतन्त्रताको समर्थनमा थिए।

आजको राजनीतिमा यस्तो वैचारिक राजनीतिको धारणा पाइँदैन। 

भ्रष्टाचारकै कारण आज धेरै युवाहरू बेरोजगार छन्। सानो भन्दा सानो कुरामामा पनि भ्रष्टाचार भइरहेको हामी देखिरहेको हुन्छौँ। विलियम गाडिसले भनेका छन् - शक्तिले मानिसलाई भ्रष्ट गर्दैन, मानिसले शक्तिलाई भ्रष्ट गर्छ, अथवा (Power doesn't corrupt people, People corrupt power) राजनीति हाम्रो जीवनबाट टाढाको कुरा होइन। एउटा असल राजनीतिले समाजलाई परिवर्तन गर्न सक्छ। 

राजनीतिले युवाहरूलाई कसरी ठग्छ भन्ने कुराको प्रमाण नयराज पाण्डेको उपन्यास 'उल्लारले' पनि देखाएको छ। जसरी उपन्यास उल्लारमा प्रेमललवा ठगिएको छ, त्यसरी नै हाम्रो समाजका अनेकौँ प्रेमललवाहरू ठगिरहेका छन्। त्यसैले अब पैसाको र कुर्सीको राजनीति होइन तर हरेक मानिसलाई एउटा असल र समानताको जीवन जिउन दिने राजनीतिको खाँचो छ। हाम्रो समाजलाई सधैँ असल नेतृत्त्वको खाँचो पर्छ। 

प्रजातन्त्रमा जनताले भोट दिएर जितेको व्यक्ति मात्र सत्तामा पुग्छ। आफ्नो व्यक्तिगत सरोकारलाई पूर्ति गर्नका निम्ति अन्धो मान्छेलाई भोट दिएर जिताउने स्वार्थहरू अब पुरानो भइसकेको छ। 

थिओडोरी रुसोभिलटले भनेको छ “यदि हामीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा राख्यौँ र तिनीहरूको भ्रष्टाचारलाई हाँसेर स्वीकार गर्छौँ भने, हामी आफैँ गलत छौँ।”

एउटा जिउँदो मान्छेले मात्र समाज- लाई नेतृत्त्व दिन सक्छ। अन्धो मान्छेले अरूलाई बाटो देखाउन सक्दैनन्। अबको नेताहरू बाटो देखाउन सक्ने हुनुपर्छ। 

एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो मोहनदास। लेखकले भनेको छ 'यो कुनै प्रतिकथा, रूप या कुटाख्यान होइन। यो प्रस्ट कथा हो। सत्य त के हो भने यो कथा पनि होइन, तर कथाको आडमा आफ्नो समय र समाजको एउटा वास्तविक जिन्दगीको विवरण हो। मोहनदास जिउँदो जाग्दो मानिस हो। मोहनदासले बीए पास गरेको हुन्छ। जब उसले बि. ए पास गऱ्यो, उनको बाबु काबा र आमा पुतलीबाइलाई पूरा विश्वास थियो कि अब चाडै उसले राम्रो जागिर पाउनेछ। सबै बाबु - आमाको आशा त त्यै नै हुन्छ। सबैको नजर मोहनदासमा टिकेको थियो। 

बीए पास गर्ने ऊ आफ्नो कुल खानदान कै पहिलो केटो थियो। त्यो पनि फर्स्ट डिभिजनमा। मोहनदासले रोजगार कार्यालयमा आफ्नो नाम दर्ता गरायो। 'रोजगार समाचार' मा प्रकाशित हुने सबै विज्ञापनमा पनि उसले निवेदन हाल्यो। आफ्नो पढाइमा भन्दा धेरै मेहनत उसले रोजगारका लागि गऱ्यो। 

मोहनदास हरेक ठाउँ जान्थ्यो। लिखितमा उसको नाम सबै ठाउँमा आउँथ्यो तर अन्तर्वार्तामा फालिन्थ्यो। उनले पाउनुपर्ने जागिर कुनै आठ-दस कक्षा पास वा बी.ए.मा तेस्रो या दोस्रो डिभिजन ल्याएकाले प्राप्त गर्थे। प्राय ती जागिर पाउनेहरूसँग कसै न कसैको सिफारिस हुन्थ्यो। हरेक जागिर पाउनेहरू कुनै न कनै हाकिम, नेता या ठुलो मान्छेको ज्वाइँ, छोरो, भतिज, भान्जो वा केही नभए चापलुसीवाज हुन्थ्यो। 

मोहनदास हरेक पटक असफल हुन्थ्यो तर पनि उसले आस मारेको थिएन। भारतमा निक्कै भ्रष्टाचार छ, भन्ने उसलाई थाहा थियो तर पनि दस बीस प्रतिशत मानिसले योग्यता र क्षमताको आधारमा जागिर पाउन सक्छन् भन्ने लाग्थ्यो। दुई तीनवटा जागिर उसको हातबाट छुटेपछि उसलाई लाग्न थाल्यो, यदि उसको बाबुसँग धेरै पैसा थियो भने घुस दिएर पनि उसले त्यो जागिर सजिलै पाउन सक्थ्यो। 

समय बित्दै गयो। मोहनदासले सरकारी जागिर खान पाउने उमेर पार गर्न लाग्दै थियो। उसको उमेरसँगै उसको बाबु आमाको आशा पनि विलीन हुँदै गयो। 

तर केही समयको अन्तरालमा मोहनदासको नाममा जिल्लाको सबै भन्दा ठुलो कोइला मिलबाट जागिरको लागि इन्टरभ्युको चिट्टी आउँछ। नयाँ भविष्यको आशा बोकेर ऊ ओरियन्टल कोइला मिलमा पुग्छ। एक घण्टाको लिखित परीक्षा उसले आधा घण्टामै सक्छ। प्रश्नहरू उसलाई निक्कै सजिलो लागेको हुन्छ। कोइला मिलको भर्ना कार्यालयबाट चुनिएकाहरूमध्ये मोहनदासको नाम आयो।

उसले त्यहाँ बुझाउनु पर्ने कागज पत्रहरू बुझाउँछ र अर्को हप्तासम्ममा उसको ठेगानामा नियुक्ति पत्र आउनेछ भन्ने आश्वासनको साथ घर फर्किन्छ। दिन ढल्दै जान्छ, हप्ता, महिना बित्तै जान्छ तर मोहनदासको नियुक्त पत्र आउँदैन। धेरै चोटि उसले कार्यालयमा गएर सोधेको हुन्छ, काम हुँदै छ मात्र भनिन्थ्यो। ऊ भित्रको आशा फेरि निभ्दै गयो। केही समयमा मोहनदासले थाहा पाउँछ, बिछियाटोलको विसनाथ त्यहाँ मोहनदासको नामले चार वर्षदेखि काम गरिरहेको छ। 

विसनाथको बाबुले त्यहाँको कर्मचारीलाई पट्याएर मोहनदासको जागिर पत्र विसनाथलाई दिलाएको हुन्छ। पैसाको शक्तिले ठगिएको छ मोहनदास। अब सुरु हुन्छ मोहनदासको लडाइ, आफूले पाउनु पर्ने जागिरको, आफ्नो नाम र प्रमाण पत्रको अधिकारको लडाइ। व्यवस्थाले उसलाई पागल झैँ छटपटाउन मजबुर बनाएको छ। आफैसँग ऊ सङ्घर्ष गरिरहेको छ। 

अन्तमा जीत भनेको सत्यको हुन्छ। जति नै छोप्न खोजे पनि सत्यलाई छोप्न सकिँदैन। नक्कली मोहनदास र उसको बाबुलाई जीएम मुक्ति बोध न्यायिक दणडाधिकारी (प्रथम श्रेणी) को आदेशमा जालसाजी, धोका, झुटको आरोपमा भारतीय दणडसहिंताको आधारमा घारा 419/ 420/468/467 र 403 अन्तर्गत पक्राउ गरेर जेलमा हालिन्छ। 

अन्तमा भए पनि मोहनदासले न्याय पायो तर हाम्रो समाजमा यसरी ठगिएका मोहनदासहरू कयौँ छन्। कहिले पाउने उनीहरूले न्याय (?) यसरी ठगिएका अन्य कयौँ मोहनदासहरूको यथार्थ कथा लेख्न अझ बाँकी नै छ। <<<

No comments:

Post a Comment