Friday, September 1, 2023

पारिजात : फर्केर हेर्दा

 राधिका तामाङ



“बाँच्दै छु, अझ बाँच्नु छ, दुःख-सुख दुवै पोल्टामा सँगाल्दै। समय सतत् परिवर्तनशील छ। म सङ्कोचका पर्दाहरू च्यात्दै छु। आफैलाई अभिव्यक्त गर्दै छु। कसैको जीवन कष्टप्रद नहोस्। कोही मौन रुवाई नरुहोस् अथवा नक्कली हाँसो नहाँसोस्। म पनि यही चाहन्छु तर जीवनमा कष्टहरू आउँछन्, त्यसैले त सामना गर्न सकिन्छ, सङ्घर्ष गर्न सकिन्छ। परिणाम स्वरूप आफ्नो सुख र व्यथाहरूलाई बढी दुःख झेल्ने एक थरी विशाल समूहसँग छ्यासमिस पार्न सकिन्छ, नत्र व्यक्तिगत सुखको परिभाषा के? ” 

पारिजात नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार प्रापक पहिलो लेखिका हुन्। उनको उपन्यास शिरीषको फूलले वि.सं 2022 सालमा मदन पुरस्कार प्राप्त गरेको हो। 

पारिजातको जन्म दार्जीलिङको लिङ्गिया चिया बगानमा 13 मार्च 1934- मा पिता डा. कालुसिङ वाइबा र माता श्रीमती अमृत मोक्तानको कोखबाट भएको हो। उनी साहित्यिक नाम पारिजातले परिचित भए तापनि उनको खास नाम विष्णुकुमारी वाइबा हो। 

पत्नी पछि छोरालाई गुमाउनुको पीडा खप्न नसकेर डा. केएस वाइबा वि.सं. 2010 सालमा आफ्नो देश नेपाल फर्किन्छन्। वि.सं. 2011 सालमा पारिजात पनि सदाको लागि नेपाल पस्छिन्। उनले प्रारम्भिक पढाइ दार्जीलिङमै हासिल गरी पद्मकन्या विद्याश्रमबाट प्रवेशिका र पद्मकन्या कलेजबाट बीए सम्मको पढाइ हासिल गरेकी थिइन्। त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजीमा एम. ए.- गर्न उनी भर्ना भएकी थिइन् तर शारीरिक असक्तताको कारणले उनको पढाइ अधुरो नै रह्यो। 

पारिजातले छैटौँ श्रेणीमा पढ्दादेखि नै साहित्य सिर्जना गरे तापनि पछि काठमाडौँमा बसाइ सरेपछि वि.सं. 2013 सालमा ‘धरती’ पत्रिकामा कविता छापिएपछि उनको साहित्यिक यात्रा सुरु भएको हो।

पारिजातले सुरुमा प्रेम वियोग, निराशाजनक कविताबाट आफ्नो लेखन सुरु गरे तापनि पछि उपन्यासमा विसङ्गतिवादी, अस्तित्ववादी, प्रयोगवादी, नारीवादी, सामाजिक यथार्थवाद हुँदै प्रगतिवादी लेखनमा उनले राम्रो छाप बसाएकी छन्। 

पारिजातको बुबा पारिजातलाई डाक्टर बनाउन चाहन्थे तर पारिजातलाई सानैदेखि साहित्यमा रुचि थियो। उनको पहिलो अस्तित्ववादी उपन्यास 'शिरीषको फूल'ले पाठकहरू माझ उनी लोकप्रिय बनिन् र यसै उपन्यासले धेरै आलोच्य पनि बनिन्। पछि साम्यवादी विचारधारा अङ्गालेपछि पारिजात आफैले यो उपन्यासलाई लत्त्याइन्। र उपन्यास ‘महत्ताहीन’-लाई ‘शिरीषको ‌फूल’-भन्दा राम्रो भएको बताइन्। तर पाठकहरूले ‘शिरीषको फूल’-लाई नै सर्वाधिक रुचाएका छन्। शिरीषको फूलको अङ्ग्रेजी अनुवाद ‘ब्लु मिमोसा’– अमेरिकाको मेरील्याण्ड युनिभरसिटीमा आज पनि पाठ्यक्रममा पढाइन्छ। 

पारिजातको जीवन बाल्यकालदेखि नै सङ्घर्षमय थियो। घरको आर्थिक सङ्कट उनले सानैदेखि बेहोरेकी थिइन्। उनी 13 वर्षको हुँदादेखि नै उनलाई बाथको रोगले च्यापेको हो। यो रोगले उनलाई जिन्दगीभरि नै सतायो। तर उनलाई रोगले जति नै सताए पनि उनले अध्ययन र लेखन भने छाडिनन्। 

पारिजातले काकाको छोराको सङ्गतले गर्दा सानैदेखि किताब पढ्न सुरु गरेकी हुन्। घरको आर्थिक अवस्था राम्रो नभएर उनले मदन मेमोरियल स्कुलमा तीन वर्ष शिक्षिकाको जागिर पनि गरिन्, तर रोगले ओछ्यान परेपछि उनी जागिर छोड्न बाध्य भइन्। र आजीवन बहिनी सुकन्या र ज्वाइँ निर्मल लामाको शरणमा उनी बसिन्। 

पारिजात सानैदेखि विद्रोही स्वभावकी थिइन्। एकपल्ट उनले स्कुलमा नै विद्रोह गरेकी थिइन्। उनी अन्याय, अत्याचार, शोषण, दमनको घोर विरोधी थिइन्। खुलेर विरोध गर्थिन्। 2046 सालको जन आन्दोलनमा राजा विरुद्ध निकालिएको कालो पट्टी आन्दोलनमा पारिजात शारीरिक रूपमा असक्त हुँदाहुँदै पनि आन्दोलनमा सहभागी भएकी थिइन्। उनी नारीहरूलाई सचेत, सबल र सक्षम भएको हेर्न चाहन्थिन्। 


देवकोटा पछिको सबैभन्दा धेरै कृति दिने लेखक मानिन्छ पारिजातलाई। पारिजातले तीनवटा कविता सङ्ग्रह, तीनवटा कथा सङ्ग्रह, तीनवटा आत्म संस्मरण र दसवटा उपन्यास गरी जम्मा 19-वटा कृति दिएकी छन्। यसमध्ये ‘शिरीषको फूल’, ‘अनिदो पहाडसँगै’, ‘परिभाषित आँखाहरू’ पारिजातको चर्चित कृतिहरू हुन्।      

वि.सं. 2050 सालमा वीर अस्पतालमा उपचारको क्रममा पारिजातको मृत्यु भएको हो। 

पारिजातको सम्पूर्ण रचनाहरूलाई सिक्किमको निर्माण प्रकाशनले सङ्कलन गरी “पारिजातको सङ्कलित रचनाहरू”को नाम दिएर छवटा ग्रन्थमा प्रकाशन गरेको छ। सिलगढीमा पारिजातको प्रतिमा पनि निर्माण गरिएको छ। <<<

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...