Sunday, June 7, 2020

जेएनयूमा ‘पाँच बाइ पाँच’-को डेमोक्रेसी !

छुदेन काविमो


‘हामीले गोर्खाल्याण्डको निम्ति त्यही भित्तामा त पोस्टरिङ गरेका थियौं,’ गाड़ीको अघिल्लो सिटबाट निक्कीले पछिल्तिर चिहाइन्। र निकै उत्साहित बन्दै सुनाइन्।
मैले बाहिर हेरेँ।
उनको चोर ओंलाले जहाँ देखाइएको थियो, त्यहाँ अग्लो भवनको भित्तामात्रै उभिएको थियो। च्यातिएका कागज टाँसिएका केही अंशहरू थिए। तर, पोस्टर जस्तो केही थिएन।
मैले बिस्तारै टाउको उठाए। भवनको पर्खाल हेरेँ। छेउमा उभिरहेको रूखका हाँगाहरू हेरेँ। र, योजकतिर फर्केर सोधेँ, ‘अब जेएनयूमा पनि लगाम लगाउने तयारी गरेकै हो त?’
योजक हल्का मुस्कुरायो र भन्यो, ‘लगाम ?’
त्यसपछि अलि लामो स्वास तान्यो र फेरि थप्यो, ‘यहाँ चारजना भन्दा धेर हिँड़दा 144 धारा मात्रै लगाएको छैन। अरू गर्नसक्ने सरकारले सबै गरिसके।
सरकार विचारसंग यति धेरै किन डराउँछ हँ ?’
....
जवाहरलाल नेहेरू विश्वविद्यालय अर्थात् जेएनयू। जहाँ पढ्ने मैले कहिले सपना देखिनँ। मलाई त थाहै थिएन, जेएनयू गरीबहरू पनि पढ्ने विश्वविद्यालय हो। म जहाँ जन्मेँ, त्यो ठाउँको निम्ति त सिलिगुड़ीकै नर्थ बंगाल यूनिभर्सिटी पनि सपना सरह थियो। जेएनयूको के कुरा गर्ने ? 
हो। विश्वका सर्वश्रेष्ठ विश्वविद्यालको सूचीमा पर्छ जेएनयू। जहाँ पढ्ने सौभाग्य यो जुनिमा त मैले पाइनँ। तर, फातसुङको कारण मैले त्यो विश्वविद्यालयको धरती टेक्ने अवसरचाहिँ पाएँ। जहाँ उभिने सपना भारतका हरेक पहिलो श्रेणीका विद्यार्थीहरूसंग हुन्छ।
जेएनयू विश्वमा नै प्रसिद्ध छ। त्यसैले त यो विवादहरूदेखि नि अलग छैन। जेएनयू आज पनि घरिघरि विवादहरूसंग नै रहन्छ। किनकि, त्यहाँ विचार गर्न सिकाइन्छ। प्रश्न गर्न सिकाइन्छ। हरेक कुरामाथि स्वतन्त्रतासंग बोल्न सिकाइन्छ। काश्मीरको कुरा, प्यालाइस्टेनको स्वतन्त्रताको कुरा, दार्जीलिङको समस्याको कुरा, महाराष्ट्रका किसानका कुरा, दलितका कुरा, जनजातिका कुरा। हरेक मुद्दामाथि त्यहाँ विमर्श हुन्छ। चर्चा हुन्छ। पोस्टरिङ हुन्छ। विरोध प्रदर्शन हुन्छ। त्यही भएर त सरकारलाई जेएनयूसंग एलर्जी हुन्छ। 
खासमा हाम्रो समाज महाश्वेता देवीले हजार चौरासीकी मा-मा उठान गरेको पात्रहरूको कथा जस्तै छ। माथिबाट हेरे, सबै ठिकै लाग्छ। केहीले नोकरी पनि पाइरहेका छन्। केहीले व्यपार पनि गरिरहेका छन्। केहीले राम्रै खाना लाउन पाइरहेका छन्। केहीले मोजमस्ती गरिरहेकै छन्। त्यसैले अलिमाथि हुनेहरूलाई लाग्छ, ‘सबै ठीकै त छ। किन अर्काको निम्ति सोच्ने ? किन पीड़ाको कथा सुन्ने ?’
तर, जब जमीनबाट हेरिन्छ। हरथोकमा समस्या देखिन्छ। समाजको समस्या। जातको समस्या। वर्गको समस्या। महँगाइको समस्या। बेरोजगारीको समस्या। प्रणालीको समस्या। 
भारत विश्वकै वृहत गणतान्त्रिक देश हो। तर, गणतन्त्र भनेको संख्याहरूको खेल पनि त हो। जहाँ ठूलो र शक्तिशाली समूहले आफूभन्दा कम्जोरलाई जहिल्ये थिचिरहेको हुन्छ। उनीहरूको अधिकार मिचिरहेको हुन्छ। 
भारतीय गणतन्त्र भनेको त्यही संख्याहरूको गणतन्त्र त हो। जहाँ ठूलो माछाले जहिले सानो माछालाई खाइरहेको हुन्छ। यो क्रम त तल भूँइसम्म नै जारी छ।
खासमा जेएनयूमा त्यही भूइँका विद्यार्थीहरू पनि पढ्न पुग्छन्। किनकि, जेएनयूको निर्माण वास्तवमा त्यसैको निम्ति गरिएको थियो। भारतका पहिलो प्रधानमन्त्रीको नाममा बनाइएको यो विश्वविद्यालय उनकै दल कंग्रेसलाई पनि समस्या बनेको थियो। जतिबेला भारतमा इमरजेन्सी लागू भयो, त्यो बेला इन्दिरा गान्धी जेएनयू पुग्दा कालो झण्डा देखाइएको थियो। अहिलेको सत्तासीन दलको निम्ति त जेएनयू ठूलै चुनौति बनेको छ। त्यही भएर त राष्ट्रवादको नारा अलाप्ने दलहरूले मीडिया लगाएर नै जेएनयूको अलग अनुहार देखाउने कोशिश गरिरहन्छ। विद्यार्थीहरूको निधारमा देशविरोधीको नेमप्लेट टाँस्ने प्रयास गरिरहन्छ। 
....
जेएनयूमा एक सेमिस्टरको खर्च कति ?
‘बीए लेभलको निम्ति वार्षिक 250 मात्रै।’
त्यो भन्दा माथिको निम्ति ?
वार्षिक 287 रूपियाँ जति होला।
सुनेर म तीनछक्क परेँ। त्यतिमात्रै होइन, त्यहाँ महीलाहरूको निम्ति पनि छुट्टै आरक्षण हुन्छ। कुनै सुदुर गाउँबाट कोही भर्नाको निम्ति पुगोस्, उसको निम्ति छुट्टै अङ्क दिइन्छ। 
बुझेपछि लाग्यो, ‘त्यहाँ त गरीब भन्दा गरीब विद्यार्थीले पनि पढ्नसक्छन्। उसंग दक्षता चाहिँ हुनुपऱ्यो। त्यही भएर त, जेएनयू पुग्नसक्ने विद्यार्थीहरूको टाउकोमा दिमागमात्रै हुँदैन। वर्षौदेखि दबाइँदै आएको आवाज पनि उसंगै त्यहाँ पुग्छ। 
थिचिएका त्यही विचारहरूले जब मञ्च पाउँछ, तब त जेएनयू विवादमा पर्छ।’
.....
अँ।
त्यो मेरो जीवनकै पहिलो जेएनयू यात्रा थियो।
हामी कम्पाउन्डभित्र छिरिसकेका थियौं। निक्की निकै खुशी थिइन्। उनी मलाई जेएनयूको कथा पालैपिलो सुनाउँदै थिइन्।
कथा गर्दै हामी एउटा रातो इट्टाले उभिएको भवन अघि पुग्यौं। त्यसैलाई देखाउँदै उनले थपिन्, ‘हामी क्यान्टिन आइपुग्यौं। दा केही खानुस् न। ल!’
खासमा भोक लागेको थिएन। घाम निकै चर्किएको थियो। दिल्लीको गर्मीले बाहिर उभिनै नसक्ने अवस्था थियो। त्यही भएर चिसोको निम्ति पनि क्यान्टिनभित्र छिर्नैपर्ने भयो।
मैले स्वीकृतिको टाउको हल्लाइदिएँ। हामी भित्र गयौं। सिँड़ीबाट ओर्लेर ग्राउन्ड फ्लोरमा पुग्यौं। टेबलमा बसेर लस्सी अर्डर गरेका मात्रै थियो। एकजना अग्ला मानिस म भए ठाउँमा आइपुगे।
उनी पीएचडी गर्दै गरेका छात्र रहेछन्। हाफपाइन्टमा नै आइपुगेका उनको अनुहारमा हल्का दाह्री थियो। आउनसाथ उनले चिम्सो आँखा ठूलो पार्दै सोध्यो, ‘निक्की ! हामीले पोस्टर टाँस्ने भित्ताहरू देखाइदियौं?’
निक्कीले कञ्जुस हाँसो अलिकति हाँसिन्। र भनिन्, ‘पल्लोभित्तामा एउटा पोस्टर बँाचेको छ। त्यो भरै देखाइदिन्छु। अहिलेलाई त पोस्टर टाँस्ने भित्तामात्रै हेर्नु भो।’
त्यसपछि अग्लो मानिसले मेरो अनुहारमै हेरे। र भने, ‘अहिले त पोस्टरधरि टाँस्न दिँदैन नि ? हाम्रो कथा त माया लाग्दो पो छ त ?’
माया लाग्दो कथा ? लस्सी पिउँदै म मुस्कुराएँ, ‘किन नि?’
उनी दिल खोलेरै हाँसे। र, आफ्नो कथा शुरू गरे— यहाँ हरेक मुद्दामाथि बोल्न सकिन्छ। रातभरि स्वतन्त्रतासंगले कम्पाउण्डभित्र हिँड़्न सकिन्छ। यहाँ न कुनै विभेद छ। न महिलाहरूलाई कुनै डर छ। दिल्लीमा हरसमय बलात्कारको घटना घटिरहन्छ। तर, जेएनयूभित्र राती जतिसुकै बेला एउटी केटी खुल्लासंगले हिँड़्न सक्छिन्। एउटालाई अर्कोसंग कुनै सरोकार हुँदैन। यो स्वतन्त्रता त देशको अर्को ठाउँमा शायदै छ।
एउटा समय त यस्तो नि थियो। यहाँ रातभर पोस्टर टाँसिन्थ्यो। 
सीरियाको मुद्दा। काश्मीरको मुद्दा। गोर्खाल्याण्डको मुद्दा। प्यालेस्टाइनको मुद्दा। मजदूर आन्दोलन। महिला आन्दोलन। हरेक मुद्दामाथि यहाँ चर्चा हुन्थ्यो। पोस्टरिङ गरिन्थ्यो। त्यो बेला आफ्नो वालमा अरूले पोस्टरिङ गरि नदिऊन् भनेर हामी रातभरि स्पेस् जोगाउँन रूँगेर बस्थ्यौं। अब त्यो पूरै बन्द गरिसकेको छ। पोस्टर टाँस्नलाई निषेध गरिएको छ। लगाइएका वालका पोस्टरहरू उप्काइएको छ। कसैले नयाँ पोस्टरिङ गरेको भेटे, कार्वाही गरिन्छ। 
केही साल अघिको कुरा हो। यूजीसी-को एउटा नियम देशमा लागू हुँदै थियो, जो विद्यार्थीहरूको हित विरूद्ध थियो। त्यतिबेला कन्हैया कुमारहरू हामीसंगै थिए। संगै क्यारेमबोर्ड खेल्थ्यौं। त्यो नियमबारे अरू विश्वविद्यालयसम्म कुरा पुगेकै थिएन। तर, हामीलाई लाग्यो, यसको विरोध गर्नैपर्छ। अनि हामीले विरोध प्रदर्शन शुरू गऱ्यौँ।
त्यो हाम्रो ठूलै संघर्ष थियो। जसलाई विश्वविद्यालको प्रशासनले बिस्तारै दबाउन लाग्यो। हामीलाई फ्रिडम स्क्वाइर-मा प्रदर्शन गर्न वञ्चित गराइयो। नारा लगाउने ठाउँसम्म उनीहरूले तय गरिदिन थाले। बिस्तारै प्रशासनमा धरि फेरबदल गर्दै उनीहरूको मान्छे राखिन थाल्यो।
चर्को विरोधपछि नियममा केही त फेरबदल गरियो। तर, हामीलाई भिक्टिमाइज गर्न शुरू गरियो। मलाई होस्टेल ट्रान्सफर गरेर पल्लो छेउ पुऱ्याइदियो। कारण बताउ नोटिस-हरू दिइन शुरू गरियो। होस्टेलहरूतिर सीसी क्यामेरा लगाउने कार्य शुरू भयो।
हाम्रा केही साथीहरूले सीसी क्यामेरा उखालेर फ्याकिँदिएछन्। अहिले त्यो सबै ठाउँमा छैन। तर, पनि सरकारको नजर हामीप्रति राम्रो छैन। यो सबै भन्दा सस्तो र सबै भन्दा राम्रो विश्वविद्यालय हो। जहाँ देशका कुनाकुनाबाट पनि गरीब विद्यार्थीहरू पढ्न आउँछन्। तर, यसलाई नीजिकरण गर्ने कोशिष शुरू हुन थालेको छ। यसो भइदिए, पछाड़िएका गरीब विद्यार्थीहरूले भोलि कहाँ पढ्ने त ?
हाम्रो संघर्ष यसको निम्ति पनि हो। र, त्यो स्वतन्त्र स्पेशको निम्ति पनि हो, जो सरकारले जेएनयूलाई दिएको होइन। तर, जेएनयूका विद्यार्थीहरूले आफै बनाएको हो। जसलाई हामी बँचाइ राख्न चाहन्छौं। तर, यो निकै गाह्रो कुरा हो। जो बिस्तारै हाम्रो हातबाट फुत्किँदै गइरहेको छ। अचेल सानो कार्यक्रम गर्न परे पनि अनुमतिको निम्ति घण्टौं पर्खिनुपर्ने अवस्था छ। राती खुल्ला बहस र वैठकहरू गरे, लाइट काटिदिने चलन शुरू हुन थालेको छ।
सब भन्दा दुःखद कुरा त मीडियाको चलखेलसंग लाग्छ। खास कुरा भारतीय मीडियाहरूले देखाउन छाड़िसकेको छ। कन्हैयालाई राष्ट्रविरोधी बनाएकै घटना हेर्नुस ना। अहिले काश्मीरकै एजेन्डालाई हेर्नुस्। कसरी मीडियाले मुद्दालाई डाइभर्ट गरिदिएको छ !
केहीवर्षअघि जेएनयूभित्रबाटै नाजिब अहमद फरार भए। जो बर्खर गाउँबाट पढ्नलाई दिल्ली आएका थिए। उनलाई एउटा दलको घोषणा पत्र लिन अस्वीकार गरेकै कारण हत्या गरिएको आशंका गरिन्छ। तर, आजसम्म उनी निखोज छन्। उनको परिवारले आजसम्म न्याय पाउन सकेको छैन। दिल्ली पुलिसदेखि सीबीआईसम्मले जाँच गऱ्यो। तैपनि दोषी पक्राउ परेको छैन। 
यस्तो मुद्दा उठाइए, लगेर आइएसआइएससंग जोड़िदिन्छ। नत्र, राष्ट्रविरोधीको संज्ञा दिइन्छ। हामी सबै भन्दा पहिल्ये मानवताको पक्षधर हौं। यसैको निम्ति बोल्ने मञ्च ती भित्ताहरू बनेका थिए, जहाँ हामी रातदिन पोस्टरिङ गर्थ्यौं। तर, आज त्यो पूरै बन्द गरिदिएको छ। 
केही ठाउँमा पाँच बाइ पाँचको बोर्ड राखिदिएको छ। अब हामीले पोस्टर पनि उनीहरूको साइजमा त्यहाँ टाँस्नुपर्ने अवस्था छ।
सोच्नुस्, उनीहरूको साइजभित्र अँटाउनुपर्ने आवाज कति बलियो होला त ? 
खासमा, अहिले त जेएनयूमा नै पाँच बाइ पाँचको मात्रै डेमोक्रेसी बाँचेको छ। त्यही साइनबोर्डभित्रको डेमोक्रेसी क्या !
उनले कथाको बिट मारे। मैले अन्तिम घुट्की लस्सी पिएँ।
.....
हाम्रो कार्यक्रम बेलुकी अलि अबेर शुरू गरियो। त्यहाँ भाषाको कुरा भयो। किताबको कुरा भयो। असममा लागू भएको एनआरसीमाथि चर्चा गरियो। 
रातको एघाह्र बजी हामी फेरि एकजुट भयौं। र जेएनयूको कथा गर्न थाल्यौं। तर, कथा शुरू हुन पाएकै थिएन। हामीले त्यो भवन छोड़्नुपर्ने निर्देश आयो। 
बाह्र बज्न लागेको थियो। हामी फेरि बाहिर निस्कियौं। मध्येरात भए नि त्यहाँ विद्यार्थी-हरूको चहलपहल घटेको थिएन। हामी एउटा बन्द ढाबाको अघिल्तिर पुग्यौं।
मैले चिया पिउँन मात्रै शुरू गरेको थिएँ। अघिकी कार्यक्रम सञ्चालिकाले आफ्नै कथा शुरू गरिन्— ‘2016 तिरको कुरा हो। जतिबेला जेएनयू मेरो निम्ति ड्रिम यूनिभर्सिटी थियो। जेएनयू पढ्ने सपनाले नै मलाई सिक्किमदेखि दिल्ली ल्याइपुऱ्याएको हो।’ 
जब मेरो भर्ना भयो, त्योबेला मसंग पैसा थिएन। मेरी साथी बिनीता थिइन्। उनले जेएनयूको जम्पर किनिदिइन्। त्यो जम्पर लगाउँदा म कतिधेरै खुशी भएकी थिए, त्यो यहाँ बताउँन सक्दिनँ। म बाहिर कहीँ जाँदा नि त्यही जम्पर लगाउँथेँ। त्यो लाएपछि आफैलाई गर्व अनुभव गर्थे। तर, महीनादिनपछि नै नयाँ समस्या शुरू भयो।
म पुगेको पछिल्लो महीनाको कुरा हो। काश्मीरी विद्यार्थीहरूले त्यहाँ एउटा कार्यक्रमको आयोजना गरेको थियो। जो अफजल गुरूसंग सम्बन्धित थियो। अफजल गुरूलाई भारतको संसदमाथि आक्रमण गरेको अभियोगमा फाँसी चढाइयो। तर, उनीसंग जोड़िएका न्यायिक प्रक्रियासम्बन्धी केही विवाद छन्। जो जहिले जेएनयूमा उठिरहन्छ।
त्यो दिन एकसय जति काश्मीरी विद्यार्थीहरूले त्यही सम्बन्धित कार्यक्रम गरिरहेका थिए। केहीले कविता सुनाइरहेका थिए। केहीले कथा सुनाइरहेका थिए। त्यो सबरमति ढाबा नजिकको घटना हो।
त्यसको ठीक विपरीततिर अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) का एक दर्जन विद्यार्थीहरू भेला भएका थिए। उनीहरू काश्मीरी विद्यार्थीहरूको विरूद्ध काउन्टर प्रदर्शन गरिरहेका थिए। बारबम्बर नारा लगाइरहेका थिए, ‘भारत माताकी जय!’
यस्तो प्रदर्शन त जेएनयूमा 365 दिन हुन्छ। त्यसैले मैले खासै ध्यान दिइनँ। तर, केही साँझ परेपछि नै त्यहाँ झड़पको माहोल बनियो। शायद, त्यो बेला बाहिरका मानिसहरू पनि काउन्टर प्रदर्शनमा सामेल भइसकेका थिए।
त्यही बेला जेएनयू स्टूडेन्ट यूनियनका अध्यक्षलाई बोलाइयो।
मैले पहिलोचोटि चिनेँ, उनी कन्हैया कुमार हुन्। 
त्यसपछि कन्हैयालाई पक्राउ गरियो। म त छक्क परेँ, घटनासंग उनको कुनै सम्बन्ध थिएन। तैपनि किन पक्राउ गरिएको ?
साथीहरूले सुनाए, विद्यार्थीहरूको जुनसुकै कार्यक्रम हुँदा नि अध्यक्षको हस्ताक्षर चाहिन्छ। शायद उनकै अनुमतिपछि नै काश्मीरी विद्यार्थीहरूको कार्यक्रम भएको थियो। र, त्यही कार्यक्रमको कारण झड़प भएकोले उनलाई पक्राउ गरिएको हो।’
अहँ तर, होइन रहेछ। पछि पो हामीले बुझ्यौं, कन्हैयालाई त देश विरोधीको आरोप थोपिसकेको रहेछ। राष्ट्रिय मीडियाले आरोप लगाएको रहेछ, ‘जेएनयूमा पाकिस्तान जिन्दावादको नारा लगाइयो।’
त्यहीदिन मैले पहिलोचोटि बुझेँ, ‘मीडियाले कसरी आम मान्छेको भावनासंग खेल्छ।’ 
त्यो बेला त म नयाँ थिए। तर, आजसम्मको अनुभवले भन्छ, जेएनयूको कुनै सामान्य विद्यार्थीले त्यस्तो नारा लगाउँदैन। अझ त्यो झड़पमा त कन्हैया थिएनन् पनि। भए नि, उनले कसरी त्यस्तो नारा लगाउन सक्छन् र ?
तर, यो कुरा मैले को कसलाई बताउँदै हिँड़्नु ?
त्यो घटना खासमा जेएनयूलाई बदनाम गराउने खेला थिएछ। जसको निम्ति लामो समयदेखि षड़यन्त्र बुनिरहेको रहेछ। जो हामीले पत्तै पाएनौं। 
जब बिनिताले किनिदिएको जेएनयूको जम्पर लगाएर बाहिर हिँड़्नै नसक्ने स्थिति बनियो, तब पो मैले बुझे, सरकारले जेएनयूको स्वतन्त्रता खोस्ने खेला शुरू गरिसकेको छ।
त्यो बेला त अवस्था यति भयानक थियो नि, हामी सबै राष्ट्रविरोधी बनिसकेका थियौं। जेएनयूभित्र सधैको जस्तो पढाइ हुन्थ्यो। सधैको जस्तो प्रदर्शन भइरहन्थ्यो। तर, टीभीले बाहिर अर्कै कुरा देखाइरहन्थ्यो। र मानिसहरू हामीलाई सोध्थे, ‘पाकिस्तान जिन्दाबादको नारा चै किन लगाउनु ?’
हामीले बाहिरबाट जेएनयू फर्किने रिक्शाधरि पाउन छाड़िसकेका थियौं। जेएनयू भन्नसाथ उनीहरू टाउको अर्कोतिर फर्काउँथे। यहाँसम्म कि गुगलमा राष्ट्रविरोधीहरूको गड़ कहाँ हो ? सर्च गरे जेएनयूलाई देखाइन्थ्यो। 
अनि त सरकारले जेएनयूको प्रशासनमा अझ धेर उनीहरूको मान्छे राख्न थाले। हाम्रो स्वतन्त्रको हरेक कुरामा हमला गर्न शुरू गरे। जुन ठाउँमा चौबीस घण्टा ढाबा खुल्ला रहन्थ्यो। ती ढाबाहरूलाई रातको एघाह्र बजी बन्द गर्न थालियो।
ढाबा बन्द गरेर के भो त ? हामीले बाहिर निस्किन छाड़ेनौं। हामी केही साथीहरूसंग एकजुट बन्यौं। र आफ्नै नयाँ ढाबा खोल्यौं। जसको नाम राख्यौं, ‘गोरिल्ला ढाबा’।
हामीले पैसा संग्रह गरेर राती चिया बनाउँथ्यौं। त्यही चिया पिउँदै राती हामी स्वन्त्रताको गफ गर्थ्यौं। एकाडेमिक कुरा गर्थ्यौं। हरेक समस्यामाथि चर्चा गर्थ्यौं।
तर, त्यो पनि प्रशासनलाई सहन भएन। उनीहरूले नयाँ निर्देश जारी गऱ्यो, ‘रातको एघाह्रबजेपछि केटीहरूले होस्टेलबाट बाहिर निस्किन पाउने छैन।’
जेएनयूमा जुन सम्मानता र स्वतन्त्रता महीलाहरूले देख्छन्, त्यो मलाई लाग्दैन कि देशको कुनै अर्को ठाउँमा छ। हामीले त्यहाँ हरेक कुरा संकोचबिना गर्न सक्थ्यौं। प्रशासनले अब त्यही स्वतन्त्रतामाथि आँखा गाड़ेको थियो। उनीहरू भन्थे, ‘अब केटीहरूले रातको एघाह्रबजेपछि होस्टेल छोड़्न पाउने छैन।’
हामी त्यति माया लाग्दा केटीहरू पनि त थिएनौं। त्यसपछि हामीले ठीक उल्टो घोषणा गरिदियौं। हामी एघाह्र बजीसम्म चै बरू आफ्नै रूमभित्र बस्छौं। तर, त्यसपछि चाहिँ जम्मै केटीहरू बाहिर निस्किन्छौं। हामीले त्यो लड़ाईँलाई ‘पिञ्जड़ा तोड़ौं’-को संज्ञा दिएका थियौं।
ठीक रातको एघाह्रबजी हामी होस्टेलबाट बाहिर निस्किनथाल्यौं। 
प्रशासनलाई हामीसंग धेरै समस्या भइरहेको थियो। उनीहरू हामीलाई दबाउन नसकेकोमा मुर्मुरिरहेका थिए। तर, एडमिनको अघि हामीले जुन प्रदर्शन गर्थ्यौं, त्यसमा रोक लगाइसकेको थियो। हामीलाई प्रशासनिक कार्यालयदेखि कोशौं टाड़ामात्र प्रदर्शन गर्ने अनुमति दिएको थियो। त्यसपछि उनीहरूले पर्चा र पोर्सटरतिर पनि रोक लगाउन थाल्यो।
एउटा समय यस्तो थियो। जेएनयूको पर्चामात्रै पढे पनि सामान्य सिभिल परीक्षा उतीर्ण गर्न सकिन्थ्यो। कसैले एउटा मुद्दाको पक्षमा पर्चा बाँड़े, विरोधमा अर्कोले बाँड़िरहेका हुन्थे। अनि, त्यो दुवैको अड़ान गलत रहेको भन्दै अर्को समूहले नयाँ पर्चा बाँड़िरहेको हुन्थ्यो। 
थेसिस, एन्टीथेसिस र सिन्थेसिस के हुन्छ ? त्यो पर्चा पढेर बुझ्न सकिन्थ्यो।
मलाई मार्क्सिज्मसंग कुनै सरोकार छैन। मैले न मार्क्सको थ्योरी गहिरोसंग पढेकी छु। न त लेनिनको सिद्धान्त घोकेकी छु। त्यसैले कसैले मलाई लेफ्टिस मान्छ भने त्यो उसको भ्रममात्रै हो। 
तैपनि यहाँ आएर मैले दलितको समस्यालाई देख्दा दुख्न सिकेकी छु। जनजातिको अधिकार खोस्दा बोल्न सिकेको छु। देशको कुनै पनि कुनाको किन नहोस्, पीड़ित मान्छेको आवाजलाई दबाइँदैछ भने उसंगै उभिन सिकेकी छु।
खासमा सरकारलाई समस्या त्यहीँ त हुँदो रहेछ नि। उनीहरूलाई लाग्दो रहेछ, ‘विद्यार्थीहरू जेएनयू आऊन्। पढाई गरून् र आफ्नै लागिमात्रै सोचुन्। फर्केर नोकरी गरून्। तर, देशको दुर्दशाबारे केही नसोचुन्। समाजको बिसंगतिमाथि प्रश्न नगरून्। खासमा सरकार सोंचहरूदेखि डराउने रहेछ। प्रश्नहरूदेखि आतिने रहेछ।’
म त सिक्किमको अति सामान्य परिवारमा हुर्किएकी केटी हुँ। जहाँबाट एउटा सपनासंग जेएनयूमा आइपुगेकी हुँ। यहाँ आउनेहरू अधिकांश मेरो जस्तै परिवारकाहरू त छन्। त्यसैले त हामीलाई लाग्छ, गरीब पीड़ित र शोषितहरू भनेका सबै हामी जस्तै हुन्छन्। हामीसबै उनीहरूका साथीहरू त हौं। उनीहरूको आवाजलाई कुनै पनि किसिमले दबाइन्दैछ भने, हामी कसरी चुप लाग्न सक्छौं र? जेएनयूमा सिक्ने सबै भन्दा ठूलो कुरा त्यही त हो। 
त्यही भएर त हामी हरेक मुद्दामाथि आवाज उठाउने कोशिष गर्छौं। यसो गर्दा कसैले हामीलाई राष्ट्रविरोधीको संज्ञा नै दिन्छ भने पनि दिइयोस्। 
उनले लामो सुस्केरा तानिन् र मेरो अनुहारमै हेरिन्। मैले नाँड़ीको घड़ी हेरेँ। त्यो बेला बिहानको तीन बजिसकेको थियो।
....
जेएनयूको त्यो एउटै रात थियो। जहाँ मैले दर्जनौं जेएनयूको कथा सुन्ने अवसर पाएँ। त्यसपछि केही थकथकी बोकेर कालेबुङ फर्किएँ। किनकि, पहिल्ये फर्किनलाई हतार गरेकोमा अहिले मलाई पछुतो लागिरहेको थियो।
यतिबेला पनि मलाई लागिरहेछ, ‘मैले किन त्यहाँबाट भोलिपल्ट नै फर्किनलाई टिकट गर्न अह्राए?’
खासमा मलाई पनि जेएनयू जानअघि लागेको थियो। जेएनयूको स्तर अर्कै हुन्छ। त्यहाँ हुनेखाने परिवारमा हुर्केकाहरूमात्रै हुन्छन्। हामी जस्ता हुँदा खाने परिवारमा हुर्केकाहरूलाई एडजस्ट हुन गाह्रो हुन्छ। तर, पुगेपछि मेरो त्यो भ्रम टुट्यो। 
त्यो दिन कथा सुनाउने पात्रहरूलाई यतिबेला खूब सम्झिरहेको छु। उनीहरूसंग भेला भएका अरू एकदर्जन साथीहरू पनि थिए। जसको अनुहार मेरो दिमागमा अहिले पनि घुमिरहेकै छन्।
तैपनि मैले यहाँ निक्की र योजकको नाम मात्रै लेख्न उचित सम्झेँ। किनकि, उनीहरू जेएनयूका विद्यार्थी होइनन्, तर दिल्ली विश्वविद्यालयका हुन्। जेएनयूका विद्यार्थीहरूको नाम मैले यहाँ यसकारण उल्लेख गरिनँ, किनकि मलाई थाहा छैन, त्यो पाँच बाइ पाँचको डेमोक्रेसीमा उनीहरूको नाम अँट्न सक्छ वा सक्दैन ?
कुनै कारणले त्यहाँ उनीहरूको नाम अटाइएन भने नि ? 
मेरो कारणले गर्दा कसैले शोकजको जवाफ दिन परोस्। होस्टेल सरूवा हुन परोस्। अथवा जरिमाना तिर्न परोस्। अथवा मुद्दा नै धाउन परोस्। त्यो म कदापी चाहदिनँ।
त्यसैले त मैले यहाँ जेएनयूको कथा मात्रै लेखेँ। कथाका पात्रहरूको नाम लेखिनँ। 
कुरा बुझ्नु भो नि, होइन ?

(साभार-- अन्नपूर्णा पोस्ट)

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...