सुमेन्द्र तामाङ
यसै वर्ष 11 जनवरीको घटना हो। कालेबुङ सहरको मुटु मानिने डम्बरचोकमा हामी हस्ताक्षर अभियानमा उत्रेका थियौँ। शिक्षा निजीकरणको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीहरूमाथि पुलिस प्रशासनले बलपूर्वक आक्रमण गरिरहेको थियो। यसै बीच केन्द्र सरकारले एनआरसी, सीएए जस्ता साम्प्रदायिक मुद्दालाई संवैधानिक सीलमोहर गऱ्यो। जसको कारण विद्यार्थीहरूको आन्दोलनले तिब्र रूप िलन पुग्यो। केन्द्र सरकारको हिन्दूत्त्ववादी नीतिविरूद्ध विद्यार्थीहरूले देशव्यापी विरोध प्रदर्शन गरे। शिक्षा निजीकरण र वर्तमान कट्टर-हिन्दूत्त्ववाद विरुद्धको विद्यार्थी आन्दोलनमा एनआरसी अनि सीएए प्रमुख मुद्दाको रूपमा देखा पऱ्यो।
देशव्यापी हडताल र आन्दोलनहरू भइरहेको समय पनि कालेबुङ बजार ‘नर्मल’ थियो। यो सहरले संवेदना हराइ पठायो कि भन्ने भान भो।
विद्यार्थीहरू आफ्नै तालमा ट्युसनबाट फिर्दै थिए। सहर पसेका मानिसहरू आफ्नै कामधन्दामा व्यस्त थिए। पुलिसको ब्यारिकेडमा फ्लेक्स टाँगेर हामी हस्ताक्षर उठाइरहेका थियौँ। ब्यानरमा ठुलठुलो अक्षरले लेखेका थियौँ — “जेएनयु, जामिया, जादवपूर लगायत आन्दोलनरत सम्पूर्ण विद्यार्थीहरूलाई पहाड, तराई, डुवर्सबाट समर्थन सहितको एकबद्धता।”
कोही चुपचाप आएर हस्ताक्षर गरे। कसै कसैसँग गम्भीर गफ पनि भयो। कालेबुङमा मिडिया कर्मीहरू धेरै छन्। फोनबाटै समाचार लिएर उनीहरू एकैछिनमा कता हराए कता।
हिउँदोको न्यानो घाममा डम्बरचोक रोमान्टिक देखिँदो रहेछ। जम्पर र प्यानटमा चिटिक्क परेका किशोर-किशोरीहरूको व्यस्तता उत्तिकै थियो चौकमा। स्मार्ट फोनमा टाउको झुकाए पछि के पो देख्छन् र आजका युवाहरू। उनीहरू चोकमा ओहेर-दोहोर गरिरहे। हामी उनीहरूको स्मार्टनेस् हेरीरह्यौँ। यही बीच हामी माझ कसैले भने— ‘अहिलेको जेनेरेसन घोप्टे जेनरेसन हो’। ‘ठिकै हो’ मैले पनि मनमनै ठाने।
यस्तै के के भइरहँदा एकजना उमेर पुगेका व्यक्ति डम्बरचोकमा देखा पऱ्यो। मेरो बाउ भन्दा अलिक जेठो हुनुपर्छ। साइनोले बडा भन्न मिल्ने उनको उमेर थियो। उनको हातमा एक मुठा साग थियो। हामी कहाँ आउ कि नआउ गर्दै टाडैबाट हेरिरहेका थिए। हातको इसाराले सोध्दै पनि थिए — ‘के हो त्यो’? उनी हामी नजिक आइसकेपछि मैले सुस्तारी भने— “हेर्नुहोस् बडा, आज देशमा विद्यार्थीहरूलाई दिउँसै कुटपिट गरिरहेका छन्। मध्यरातसम्म विद्यार्थीहरूमाथि कुटपिट भइरहेको छ। तपाईको नाता-नातिनी पनि कलेज जान्छन् कुनै दिन। उनीहरूमाथि पनि कुटपिट होलान्। कसले दिने सुरक्षा?”
“खै पेन कता छ?” उनले सोधे। हस्ताक्षर पनि गरे। हिँड्न अघि भनिराखे— “हेर नानी! केही गर्न नसके तापनि अत्याचार विरूद्ध आवाज उठाउनु सबैको अधिकार हो”।
कुरा स्पष्टै छ नि, विद्यार्थीहरू देशका भविष्य हुन्, आधार हुन्। तर सत्ताको कुनीति विरूद्ध विद्यार्थीहरूले आफ्नो विचार राख्दा उनीहरूमाथि भयानक आक्रमण भइरहेको छ। मान्छेले जति नै सुविधाजनक जीवन किन नबाचून्, गणतन्त्रका पक्षधरहरूमाथि सत्ताले गरिरहेको दमन नबुझेसम्म उनले सार्थक मानव जीवन बाचेका हुँदैनन्। यदि कुनै पनि दमनकारी सत्ताले लाठी-मुग्रो गरेर सत्य तर्कलाई दबाउन खोज्छन् भने त्यो कुनै पनि अवस्थामा जनता र देशको हितमा हुँदैन। यो त तानाशाही नीतिको एउटा अंश नै हो।
अहिले भारत खतरामा छ। हिन्दूत्त्व राष्ट्रवादले यहाँ फासीवादी खेल खेली रहेको छ। दिन दिनै साम्प्रदायिक हो-हल्ला मच्चाएर धर्मको राजनीतिक मार्केट तयार गरिरहेको छ। जसरी सबै हिन्दू कट्टरवादी हुँदैनन् त्यसरी नै सबै मुसलमानहरू पनि आतङ्कवादी हुँदैनन्। न त अवैध नागरिक नै हुन्छन्। भारत विभिन्न जात, धर्म, लिङ्ग आदिका शोषित बहुसङ्ख्यकहरूको थलो हो। यस थलोलाई सुसम्पन्न घर बनाउनुका निम्ति भाजपा तथा आरएसएसको फासीवादी प्रकोपबाट निस्किनु अत्यन्तै जरूरी छ।
एनआरसी अनि सीएए धार्मिक ध्रुवीकरणको एउटा खेल हो। जुन खेलले राजनीतिक दलहरूलाई व्यापक फाइदा पुऱ्याउँछ। यसैले त आज देश भरि नै केन्द्र सरकारको नीतिविरूद्ध सामाजिक आन्दोलन सुरू भइसकेको छ। यी आन्दोलनहरूलाई दबाउन बीजेपी सरकारले थरि थरिका दमनकारी औजारहरू प्रयोग गरी रहेको छ।
देशको अधिकांश मिडियाहरू बिकाउ छन्। भाजपा सरकारको गोजीमा छ आईटी सेल। हरेक क्षण हजारौ फेक न्युज प्रसारित भइरहेका छन्। साम्प्रदायिक झगडाको भिडियो सर्कुलेट भइरहेको हुन्छ। यस्तो तनावपूर्ण माहोलमा राजधानी दिल्लीको प्रमुख सडकमा विद्यार्थीहरूलाई खुल्ले आम पेस्तोल ताकिँदैछ। पुलिस मुक दर्शक बनिरहेको छ।
जामिया, जेएनयुलगायत शाहिनबागका आन्दोलनकारीमाथि यस्तै प्रकारको हमला भइरहेको छ। नकाबलगाएका कोमल शर्मा, पेस्तोल ताक्ने कट्टरवादीहरू चाहें त्यो गोड्से होस् वा गोपाल शर्मा अथवा कपिल गुज्जर सबै सबै हिन्दूत्त्ववादी उग्रराष्ट्रवादले बौलाएका छन्।
यो बिशालु उग्रराष्ट्रवाद हाम्रा क्षेत्रमा पनि नराम्रो तरिकाले फैलिरहेको छ। सँगै पढेका सहपाठी मित्र, पल्लो घरको बडा, छिमेकी दाजु सबै सबैमा जय श्रीराम फरम्याटको राष्ट्रवाद हाबी भइसकेको छ। देशलाई धर्म र उग्र-राष्ट्रवादको रङ्ग दलेर फासीवादी सत्ता हाँकी रहेका छन् मोदी-अमित शाह र योगी आदित्यनाथहरू।
उग्र-राजनीतिक मानसिकताले भरिभराउ संसदमा श्रमजीवि जनतालाई पासो लाउन विभिन्न थरिका योजनाहरू बनाइरहेको छ। श्रम कानुनहरू फेरबदल गरेर रातारात मजदुरहरूको अधिकार खोसिरहेको छ। संसद सत्र चलिरहेकै समय गुण्डाहरूले मुसलमानलाई मार्ने वक्तव्य दिन्छन्। त्यही संसदमा बलात्कारीहरू नेताहरू सामाजिक न्यायको ढोङ्ग पिट्छन्। देश हाँक्ने प्रतिनिधिहरू नै दमनकारी छन् भने, जनताको सामूहिक चेतनामा पनि दमनको गन्ध हुन्छन् नै। गणतान्त्रिक व्यवस्थामा अल्पसंख्यकको कुरा आखिर कसले पो सुन्छ र?
आजको अवस्थामा अल्पसंख्यकको आवाजलाई विद्यार्थीहरूले उठाइरहेका छन्। नारी आन्दोलनहरूमा उठिरहेको छ अल्पसङ्ख्यकको मुद्दा। दलित आन्दोलनहरूले बहसमा ल्याइरहेका छन् अल्पसङ्ख्यकको सरोकारलाई। तर यस्ता आन्दोलनहरूलाई सत्ताले देशद्रोहीको ट्याग लगाउने कोसिस गरी रहन्छ।
हालमा चलिरहेको विद्यार्थी आन्दोलनले अन्धो राष्ट्रवाद अनि अन्तराष्ट्रिय पुँजीको लुटको प्रतिरोध गरिरहेका छन्। सरकारले राष्ट्रवादको नाममा रेलसेवादेखि भारत पेट्रोलियमसम्म बेची सक्यो। देशमा बेरोजगारीको आँकडाले 9% पार गरिसक्यो। शहरहरूमा बेरोजगारी त झनै 22%मा पुगेक छ। स्थानीय नौकरी दिनोदिन घटिरहेको छ। ठेकाप्रथामा मजदुरहरूको दोहन भइरहेको छ। 9 करोड भारतीयहरूको एउटा विशाल कुवाबाट आरएसएसले आफ्नो राजनैतिक नौका खियाइ रहेको छ। कुन कुवाबाट बजारवादलाई सस्तो श्रम पुगिरहेको छ। तब के भारतीयले चाहेको ‘अच्छे दिन’ यही हो त? तर सरकारलाई प्रश्न गर्न पाइन्न। प्रश्न गरे हाले, जवाब पाइन्छ ‘भारत माता की जय’। नौकरी छैन, खाना छैन, घर छैन। तर सत्ताले यी वुनियादी मुद्दाहरूको समाधान छोडेर जनतालाई नागरिकताको अर्को समस्यामा फसाएको छ। देशको धर्म-निरपेक्षतामाथि हमला भइरहेको छ। त्यसै कारण विद्यार्थीहरूले सङ्घर्षको बाटो अप्नाए। विद्यार्थी रोहित भेमुलाको सपना हजारौँ विद्यार्थीहरूका निम्ति प्रोत्साहन बनेको छ। नजीबको लाशमाथि उभिएको यो सरकार अहिले विद्यार्थीहरूसँग डराइ रहेको छ। यति धेरै कुराहरूको निष्कर्ष साग बोकेका बडाले एकै वचनमा भनेका थिए— ‘नानी! आवाज उठाउनु सबैको अधिकार हो’। बास, गाँस अनि कपासको यस लडाइँमा तपाईँ कुन तर्फ हुनुहुन्छ? एकपल्ट शान्त दिमागले सोच्नु होस्। किन कि अबको समय निर्णय लिने समय हो। जनताले आफ्नो देश आफै बनाउनु पर्नेछ। देश बनाईरहेका छौँ भनेर विद्यार्थीहरूले ब्यानर उचालेछन्। त्यो देश घृणा, हत्या, लुट, बलात्कार, दमनमाथि नउभियोस्। भोलिको पीडिले प्रश्न गर्लान्— ‘तपाईँ कहाँ हुनु हुन्थ्यो? तपाईँले के गर्नु भो?’ त्यस प्रश्नको उत्तर दिन आजै केही गर्नु होस्। आफ्नो अधिकारको आवाज आफै उठाउनुहोस्।
No comments:
Post a Comment