Sunday, June 7, 2020

सिन्कोना र सङ्कटकाल

बिपल रसाइली

दार्जिलिङ पहाडको ठुलो उद्योगको रूपमा चिया बगान र सिन्कोना बगानलाई चिनिन्छ। पहाडमा चियाको गाछहरू रोपिरहेको समय नै सिन्कोनाको गाछहरू पनि हाम्रै पुर्खाहरूले रोपिरहेका थिए। लेखक कवि स्वर्गीय पूर्ण राईद्वारा लिखित स्रोत ग्रन्थ ‘सिन्कोनाको खेती’-को आधारमा दार्जिलिङ पहाडमा सिन्कोनाको खेती सन् 1800 देखि नै भएको थाहा लाग्छ। कालेबुङको निम्बोङ भन्ने ठाउँमा अङ्ग्रेज शासनकालमा पहिलो चोटि सिन्कोना खेती लगाएको थियो। तर त्यो ठाउँ सिन्कोनाका निम्ति उपयुक्त हुन सकेन। पछिबाट दार्जिलिङ जिल्लामा पर्ने मङपूबाट सिन्कोनाको खेतीलाई विस्तार गरिएको हो। पहाडको विभिन्न ठाउँहरू मङपू, मन्सोङ, रोडगू, लाटपञ्चार, सिटोङ आदि विभिन्न क्षेत्रहरूमा हालसम्म पनि सिन्कोना उद्योग रहेको छ। 
सिन्कोमा एक औषधीय उद्भिद् हो। पौदालाई जमिनमा रोपेपछि दश वर्षभित्र बोटमा तयार भएको बोक्रालाई निकालिन्छ। सोही बोक्रालाई सुकाएर फैक्ट्रीको मसिनबाट पाउडर बनाइन्छ। यहीबाट एलकलाइड लगायतका उत्पादन तयार गरिन्छ, जसलाई विभिन्न औषधिहरूमा प्रयोग गरिन्छ। 
उत्तर बङ्गालको दार्जिलिङ अनि कालेबुङ जिल्ला मिलाएर कूल 14 वटा विभागहरूमा सिन्कोनाको खेती गरिन्छ। जहाँ हजारौँ मजदुरहरू कार्यरत छन्। यस खेती पश्चिम बङ्गाल राज्य सरकार अन्तर्गत रहेको छ।

सिन्कोना र सङ्कट
मानिसहरूका जीवनमा औषधि एक मूलभूत विषय हो, जसलाई उपार्जन गर्ने दार्जिलिङ पहाडको सिन्कोना खेती भने हाल मरणासन्न स्थितिमा रहेको छ। राज्यको एक निकायको रूपमा रहेको यस खेतीको वर्तमान अवस्था आजको हाम्रो समाजको लागि ठुलो अध्ययनको विषय बनेको छ। बगानसित सम्बन्धित विविध समस्या र सरोकारहरूबारे हाम्रा समाजलाई कुनै प्रकारको चासो छैन। पहाड, तराई अनि डुवर्स क्षेत्रमा रहेको चिया उद्योगहरू पनि आज सङ्कटकालीन स्थितिमा रहेका छन्। यसरी नै सिन्कोनाको खेती पनि एक सङ्कटको घेरोभित्र रहेको पाइन्छ। विगत लामो समयदेखि बगानको व्यवस्थापनमा व्यापक समस्याहरू देखिँदै छ। जसबारे राज्यको निकाय र स्थानीय राजनैतिक दलहरू समेतले कुनै प्रकारको चासो देखाएको छैन। 
सिन्कोनाको उद्योगको व्यवस्थापनले उपार्जन गरेको समस्याले स्थानीय समाजलाई व्यापक असर पारेको छ। मूलतः सिन्कोनाको खेतीमा दैनिक रूपमा आफ्नो श्रम दिएर परिवार आर्जन गर्ने मजदुर परिवारमा बगानको बिग्रिन्दो अवस्थाले व्यापक समस्याहरू खडा गरेकोछ।
गाँस बास र कपास
भारतको संविधानको आधारमा भन्ने हो भने देशको नागरिकहरूका मूलभूत आवश्यकता गाँस, बास, र कपास हो। देश स्वतन्त्र भएको सात दशक बितिसक्दा पनि नागरिकहरूको मूलभूत आवश्यकता जस्ताको त्यस्तै छ। देशका आम नागरिकको बुनियादी समस्याहरूबारे मूलधारको राजनीतिमा कतिसम्म गम्भीर छ? सो हामीले देखि नै रहेका छौँ। 
दार्जिलिङ पहाडको भूगोलभित्र सत्तरी प्रतिशत श्रमजीवी मानिसहरू पर्छन्। ठुलो हिस्सामा चिया अनि सिन्कोना बगान रहेको छ। जहाँ मानिसहरूले गाँस, बास र कपासको लागि दैनिक रूपमा सङ्घर्ष गरिरहेका छन्। पहाडमा यी दुई उद्योगहरूले एक शताब्दी पुरा गरिसकेको छ। चिया अनि सिन्कोनाका गाछ सितै सपना रोपी राखेका पुर्खाहरूका हड्डी यहीको माटोमा विलीन भएका छन्। हाम्रा पुर्खाहरूले देखाएका सुन्दर सपना र आज हामीले भोगी रहेको विषम अवस्था। दोष कसको? गतिलो प्रश्न हाम्रा अघि छन्।
दार्जिलिङ पहाडले केवल चिन्हारीको नाममा रहेको गोर्खाल्याण्डको आन्दोलन मात्र देखेको छ। तर हाम्रा यही जमिनमा खुन पसिना एक गरेर उपार्जन गर्ने यी मजदुरहरूका गाँस, बास र कपासको मुद्दालाई अहिले आन्दोलनको रूप दिन सकेका छैनौँ। यस्तो स्थिति हुनुमा पहाडको राजनीतिक कमजोरी हो।

बन्द कुलैन फैक्ट्री
लाटपञ्चार सिन्कोना बगानका एक पूर्व अधिकारी शिशिर चन्द्र प्रधान अनुसार, सत्तरीको दशकमा दार्जीलिङको सिन्कोना बगानबाट उत्पादन गरिएको कुइनाइन सलफाइट लगायतका पदार्थहरू विश्व बजारको लागि ग्लोबल टेन्डरसम्म पुगेको थियो। पहाडका निम्ति यो गर्वको कुरा हो। तर सन् 2000 सालदेखि सिन्कोना बगानको मुख्यालय मङपूमा रहेको सरकारी कुलैन फैक्ट्री नै बन्द रहेको छ। यसैले दार्जीलिङको सिन्कोना उद्योगमा नकारात्मक असर पारेको छ। बगानबाट तयार भएको सिन्कोनाको बोक्रालाई यहीकै फैक्ट्रीमा लगेर उत्पादनहरू तयार गरिन्थ्यो। त्यसपछि बजार व्यवस्थापन गरिन्थ्यो। तर उत्पादनको मूल साधन नै बन्ध भएपछि सिन्कोना खेती आज सङ्कटकालीन स्थितिमा पुगेको छ। 
सिन्कोना उद्योगलाई स्थानीय प्रशासन (जीटीए) अधीनस्थ रहेको छ। तर सिन्कोना फैक्ट्री पुन सञ्चालन गरिनु पर्छ भन्ने विषयमा आजसम्म कुनै प्रकारका ठोस पहल भएको छैन। यस मुद्दालाई गम्भीरताका साथ लिनुपर्ने दायित्व स्थानीय राजनैतिक दलहरूको पनि हो। बगानका मजदुर सङ्गठनहरू प्राय निष्क्रिय छन्। न त यसबारे सरकारलाई चासो छ। न त नागरिक समाजलाई नै सरोकार छ। यसरी सटिक उत्पादन नभएको कारण नै आज सिन्कोना उद्योग मरणासन्न अवस्थामा पुगेको हो।

बन्द आवाजहरू 
बगानमा वर्षौँदेखि आफ्नो श्रम दिने हजारौँ श्रमिकहरू आज आर्थिक सङ्कटमा परेका छन्। उनीहरूले बगानबाट पाउने दैनिक ज्याला कम दरमा पाइरहेका छन्। आजको स्थितिमा सिन्कोना श्रमिकहरूलाई आफ्नो परिवार चलाउन धेरै समस्या झेल्नु पर्ने हुन्छ। बगानमा दैनिक रोजको दर नितान्तै कम रहेको छ। जुन ज्यालाले श्रमिक परिवारको मूलभूत आवश्यकता पूर्ति हुँदैन। बगानमा नै निर्भर रहेका श्रमिक परिवारका विद्यार्थीहरूले युग सुहाउँदो गुणस्तरसित शिक्षा आर्जन गर्न सकिरहेका छैनन्। बगानका अधिकतम विद्यार्थीहरू स्कुल अनि कलेज ड्रपआउट छन्। आर्थिक अभावमा उनीहरूले सटिक शिक्षा पाएका छैनन्। स्वास्थ्य जीवनको धन हो। तर धनको अभावका कारण मानिसहरूले सुविधायुक्त स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्।

पुर्खौँदेखि आफ्नो श्रम दिँदै आएका सिन्कोना बगानका मानिसहरूले आजसम्म पनि आफ्नो जमिनको मालिकान हक पाएका छैनन्। सरकारद्वारा पारित आर्थिक योजनाहरूबाट श्रमिकहरूले खासै सुविधाहरू पाएका छैनन्। बगानको स्वास्थ्य सेवा, शिक्षा जस्ता वुनियादी विषयहरूमा सुधार छैन। बगैँचा मजदुर ऐन(plantation labour act)-बाट पाउने अधिकार र सहुलियतबाट श्रमिकहरू प्राय नै वञ्चित छन्। हाम्रा समाजको यस्ता गम्भीर विषयमा सम्बन्धित विभाग, स्थानीय राजनीति दल र नागरिक समाज मौन बस्छन्। शोषणको परिभाषाको कल्पना गर्ने हो भने, मानिसलाई कुटपिट गरेको अथवा भौतिक रूपमा सजाय दिएको बुझिन्छ। तर देश निर्माणदेखि आजसम्म खटिखाने मानिसहरूलाई राज्यले सधै आर्थिक शोषण गरिरहेको छ। यो शोषणको परिभाषा हामीले बुझ्न अत्यन्तै आवश्यक छ। बगानका खटिखाने मानिसहरू आफ्नो आर्थिक, सामाजिक र राजनैतिक स्वामित्व देखि आजसम्म पनि सङ्कटमा छन्। यी सङ्कटकाललाई श्रमिक एकता र सङ्घर्षले मात्र उन्मुलन गर्न सकिन्छ। राज्यसत्ता, श्रमिक शोषण र श्रमिक सङ्घर्षको विषयलाई सामाजिक बहसको रूपमा निर्माण गर्न जरुरी देखिन्छ।

No comments:

Post a Comment