Sunday, June 7, 2020

अनागरिक

प्रवीण खालिङ

माटोको कानुनले
जुन दिन फूललाई सोध्नेछ
जवाकुसुमभन्दा पहिले 
सयपत्री फुलेको हो की होइन ?
कुनै पनि क्षण लाली गुराँसले 
आफू फुल्नु थालेको
ऐतिहासिक दस्तावेज प्रस्तुत गर्नुपर्नेछ
नत्र गुराँसले आफ्नो पहिचान हराउने छ
यदी माटोसितको साइनो पुष्टि ऩभए
सुनाखरी, बुक्कि फुल, 
चितुचाङ्गे, बगानबेलीहरूलाई
डिटेन्सन क्याम्पमा बसेर मुस्कुराउनु भनिनेछ

फुल्न अघि फुलले आफूलाई 
माटोसितको नाता प्रमाणित गर्नुपर्नेछ।
नोटः यो कानुनबाट कमललाई भने 
छुट दिइएकोछ।

माटोको नीतिले
पृथिवीलाई सोध्नेछ
यो फोक्टा, गह्रा र कान्लामा 
किन कोदोका बालाहरू 

मुट्ठी उज्याएर 
हाम्रो विरोध गर्दैछ
अनि भन्नेछ विरोध गर्नु भनेको 
राष्ट्रद्रोही कार्य हो
मुट्ठी उज्याउने कोदोका सन्तानलाई 
देशद्रोही करार गर्नुपर्छ
अब कोदोले पनि फल्नअघि
नीतिको विरोध गर्नु भनेको देशको विरोध 
गर्नु होइऩ भन्ने तथ्य प्रमाणित गर्नुपर्नेछ।
निगुरोलाई पनि खतरा छ
उसले पनि दस्तावेज जुटाउनु पर्नेछ 
प्रश्नवाचक उभिनु अघि।

नियमले खोज्दै जानेछ
कञ्चनजङ्घाले विश्वको तेस्रो उच्च हिमचुली
कहिलेदेखि भएको प्रमाणित गरोस
किन कि यो हाम्रो देशमा उभिएको छ
हाम्रो देशमा कहिलेदेखि
उभिएको हो त्यसको पुस्तैनी दस्तावेज देखाउनुपर्छ।
र
यी टिस्टा-रङ्गीत, गङ्गा-जमुना-सरस्वतीहरू
अहिलेसम्म कागजपत्र बिनै किन बग्दैछ?
सर्वोच्चको फैसला अमान्य गर्दैछ
संसद भवन जस्तो गोलो हलुङ्गेको थालमा
भात मान्ने अकिञ्चनले
राम खान्छ कि रहीम ?

लाल बजारको ठाडोमा
मोहब्बत गल्लीको चेपमा
देशभरिको
त्यो फुटपाथे किताब दोकानेले
गीता-कुरान र बाइबल किन सँगै राखेर बेच्दैछ
अनुसन्धानको निम्ति अख्तियार लगाइनेछ।

यत्तिधेरै सचेत
यत्तिधेरै सतर्क
यत्तिधेरै देशभक्तले
आफूलाई मान्छेभन्दा निक्कै माथि
र भगवानभन्दा अलिकति कम्ती सम्झन्छन्।

तर यो माटोमा
फुल फुल्न अघि कोपिलामै अपराधि
कुनै शिशु जन्मनु अघिनै भ्रुणमै अपराधि
माटोको कानुनले नै भनेको छ
यो भूमीमा जोकोही जन्मदै अपराधि हुन्
जसलाई कुनै पनि समय अकारण अपराधि घोषित गर्नसकिन्छ।

फुल, खोला, झरना, हावा, हिमाल र फसल 
अनि प्रकृतिले समेत
दस्तावेज प्रस्तुत गर्नु पर्नेछ
हावाले धरतीमा जीवन बचाउनुको 
प्रमाण दिनुपर्नेछ
पशु-पन्छी र रूखपात सबैले 
दस्तावेज दिनुपर्नेछ।
नोटः यो अनुच्छेद गाईमा भने 
लागु हुने छैन।

लोकगीतले भाकाको प्रमाण दिनुपर्नेछ
मुन्दुमले पारुहाङ र तगेरा नुमाफुङमाले 
हस्ताक्षर गरेको
एटेस्टेट कपि बुझाउनुपर्नेछ
नत्र अहिलेसम्म 
आम नागरिक रहेका मान्छेसरह
अनागरिक हुनसक्छन् प्रकृति
नागरिकता प्रमाणित गर्न नसकेर
अनागरिक हुनुभन्दा
नागरिक हुन खोज्ने आन्दोलनमा 
गोली खानेछन्
माटोमा कानुन बनाउने मान्छेलाई भन्दा
उनीहरूलाई राम्ररी थाहा छ
गोली खानु भन्दा धेरै खतरनाक कुरा हो अनागरिक हुनु।





No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...