Sunday, June 7, 2020

शिक्षा र रोजगारको अधिकार सङ्घर्षको सन्दर्भमा युवावर्ग र राजनीतिक आन्दोलनबारे केहि चर्चाहरू

जनार्दन थापा

आजको एकध्रुवीय पुँजीवादको विकासको प्रचण्ड रापले विश्वका सबै गरिब मुलुकहरू लगायत भारत जस्तो विकासशील देशलाई पनि पोल्ने काम गरिरहेको छ। उचित अनि आवश्यक शिक्षा र रोजगारबाट लगभग बिस सय करोड युवाहरू प्रताडित छन् भने अर्कोतिर लगभग आँठ करोड शिक्षित र उच्च प्रशिक्षित युवाहरू रोजगारका निम्ति भौतारिनु बाध्य छन्। पुँजीवादी मुनाफामा आधारित औद्योगिक असमान प्रमुखताले गर्दा स्वाभाविक रूपमा गाउँ, कमान र बस्तीहरूबाट शिक्षित, अशिक्षित वा प्रशिक्षित र सामान्य युवाहरू रोजगारको खोजीमा देश-विदेशका धेरै प्रान्तहरूमा गइरहेका छन्। हाम्रा युवा शक्तिहरू विषम परिस्तिथिहरूमा छन् भने औद्योगिक क्षेत्रहरूतिर पनि कारखानाहरू बन्द वा रुग्ण अवस्थामा रहेको कारण श्रमिकहरू छटनी र रोजगारविहिन पनि हुन् बाध्य भइरहेका छन्। चिया कमानहरूमा पनि अधिकांशका स्थितिहरू आवश्यक रूपमा हुनुपर्ने हो तर सो नभएको श्रमिक आन्दोलनकर्ताहरूले गुनासोहरू गरिरहेका छन्। 
कामको खोजीको व्यवस्था र बेकारीपनको विवशताका उराठलाग्दो स्थितिबाट विक्षुब्द्ध बनिरहेका मानसिकतामा यौवनका सुन्दर जीवनका चाहनाहरू आँखा अघाडी जलेर खरानी बनेर गइरहेको स्थितिहरू त्यति नै यथार्त हो जति यथार्त सपना र रहरहरू जल्ने गरेका ज्वालाहरू दावानल पनि बन्न सक्छ जसले यौवन र सपनाहरूलाई जलाउन बाध्य पार्ने कलुषित समाज व्यवस्थाका हिमायती पुँजीवादी साम्राज्यवादीका दलाल सत्ताधारी शासक वर्गका विरुद्ध उनीहरूका स्वर्ग सिंहासन सत्तामा पनि डढेलो लाउने झिल्का समेत बन्न सक्ने छन्। 
हामी बाँच्ने गरेको समाज वर्गीय समाज नै हो। शोषक र शोषित वर्गमा विभाजित समाज। शोषक भनेको उत्पादन गर्ने र समस्त साधनहरूका मालिक हुन् र शोषित भनेको बाँच्नका निम्ति श्रम बेच्न बाध्य हुने श्रमिकवर्ग। शोषकले उत्पादनको साधनहरूमा मालिकाना हक मात्रै कब्जा गर्दैनन् बरु अनिवार्य रूपमा आवश्यक कुशल र सामान्य श्रमलाई सस्तोमा किन्ने प्रयास गर्दछ भने अर्कोतिर श्रमिकहरू बाँच्नका निम्ति आफ्नो निजी सम्पतिको रूपमा भएको श्रमलाई पनि उचित मुल्यमा बेच्न सक्दैनन्। मालिक र श्रमिकवर्गको यो प्रारम्भिक सङ्घर्षहरू आजको विकसित र वैज्ञानिक उन्नतिको नोमेन्क्लेचार र आविष्कारहरूका माझमा अझ तीव्रतर भएर देखा परिरहेका छन्— गुप्तहत्या, सत्तापलट, खाडीका युद्धहरू, सद्दामदेखि गद्दाफी हुँदै हालैका इरानका सैन्यप्रधान सुलेमानीको प्रत्यक्ष हत्या र धम्कीहरू। 
भारतले शिक्षालाई संवैधानिक अधिकार ठहर गर्दै ‘अनिवार्य शिक्षाको’ नारा त दिइरहेको छ तर बजटमा कटौती गरेर संवैधानिक अधिकारको मजाक पनि उडाइ रहेको छ। अर्कोतिर शिक्षालाई कर्पोरेट फाइनान्सको शरणमा पुऱ्याएर निजीकरण गरिसकेको छ। शिक्षालाई मुनाफाको वस्तुको रूपमा तयार माल जस्तै गरि भारतीय गरिब जनताको करबाट बनेको बजटका संसाधनहरूबाट सुविधाहरू पाएर शिक्षित प्रतिभाहरू पनि विशुद्ध मालको रूपमा निर्यात-आयात बिना लगानीको प्रतिभा पलायनद्वारा भारतीय सम्पत्तिहरू पनि विकसित देशहरूमा अनुचित रूपमा सम्प्रेषित भइरहेको छ। यो पनि विकसित देशहरूले तेस्रो विश्वका गरिब देशहरूलाई शोषण गर्ने एउटा विशेष रूप नै हो। 
भारत एउटा प्राकृतिक संसाधनहरूले परिपूर्ण महान देश हो। असङ्ख्य खोला-नाला, जल, जंगल, जमिन, खनिज सम्पदाहरूले भरिएको देश हो र यहाँका जनता पनि महान परिश्रमी र उद्योगीहरू छन् तर साम्राज्यवादका गिद्धे दृष्टिले गर्दा समस्त संसाधनहरूमाथि एकाधिकार पुँजीको अधिकार र कब्जामा रहेका छन्। तर शिक्षा र रोजगारबाट वञ्चित मात्र होइन आफ्ना गाउँबाट पनि विस्थापित गराई रहेको स्थिति भयङ्कर भयावह रहेको छ। गाउँ छोड्न नमाने वा स्वेच्छाले दिइएन भने बलात्कारदेखि हत्या हिंसासम्मको सहारा लिने तथ्यहरू छापामा आउने गर्दछ। उडिसा, झारखण्ड, छतीसगड, मध्यप्रदेश आदि क्षेत्रहरूका आदिवासी क्षेत्रहरूमा जल-जंगल-जमीनहरूका अधिकारहरू अपहरित भएका छन्। 
आजका सचेत युवाहरूले उपयुक्त तथ्यहरूलाई बुझ्ने प्रयास गरेनन् भने, उनीहरूका यन्त्रणा र पीडाहरूलाई आत्मसात गर्नु सकेनन् भने, अशिक्षाको अन्धकारमा कैद गर्ने षडयन्त्र एवम बेरोजगार र कर्महीन जीवनका यन्त्रणाबाट मुक्त हुन सक्दैनन्। व्यक्तिगत रूपमा कुनै युवाको सफलता हुन् सक्दछ तर समग्र युवाहरूका सुन्दर र सुशिक्षित जीवनका सपनालाई उपेक्षा गर्नु उचित हुदैन। समग्र भारतको समग्र युवाका सपना साकार गर्नु पर्दछ। 
यसर्थ समाजमा व्याप्त शोषण र उत्पीडनका जातोमा पिधिनु पर्ने गरिब शोषितवर्ग र अर्कोतिर कलकारखना आदि उत्पादनका समस्त संसाधनहरूमाथि एकाधिकार मालिकाना जमाएको शोषक वर्गको सङ्घर्षमा युवा वर्गले कुन वर्गको पक्षधरता लिने हो? भन्ने दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण हुने गर्दछ। यसै त यसबारे अघि संक्षिप्त चर्चाहरू पनि गरेका छौँ। यस विषयमा अझ स्पष्ट बनौ कि शिक्षा र रोजगारको अधिकारको सङ्घर्ष पनि यस शोषक वर्गद्वारा सञ्चालित शासन सत्ताको विरुद्ध सङ्घर्ष नै हो- अर्थात् यो पनि एउटा वर्गीय सङ्घर्ष नै हो। स्पष्ट र निर्दिष्ट भाषामा भन्नु हो भने यो पनि राजनीतिक सङ्घर्ष नै हो। अर्थात् राजनीतिक वर्गीय समाजमा राजनीतिक वर्ग सङ्घर्ष नै हो। 
सामान्य रूपमा युवा वर्गका सुशिक्षित बन्ने तथा जिउनका निम्ति कामको अधिकारको प्रश्नलाई वर्ग सङ्घर्षकै एउटा विशेष हिस्सा वा रुप हो भनेर बुझ्ने प्रयासहरू गरिन्छ भने वर्ग सङ्घर्षका ऐतिहासिक क्रमिकतालाई वैज्ञानिक ढङ्गमा बुझ्ने बुझाउने काम कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले नै गर्नु भएको सत्य तथ्यलाई यस कारणले बुझ्नु पर्दछ कि सर्वहारा वर्ग भनेको आधुनिक औद्योगिक विकासको साथ साथै नवीन र क्रान्तिकारी वर्गको रूपमा उदय भएको पुँजीवादको अपरिहार्य प्रतिस्पर्धी वर्ग हुन् जो एक अर्काको बिना अस्तित्त्वमान हुनै सक्दैन भने अस्तित्त्वको सङ्घर्षको लामो ऐतिहासिक प्रक्रियाहरूमा सर्वहारा वर्गले आफ्नो वर्गीय मुक्तिका निम्ति पुँजीवादको विविध रूपहरूसँग निर्णायक युद्ध गर्ने तथ्य कुनै मनोगत वा भावनात्मक कुनै कोरा कल्पनाक कुराहरू होइनन्- मानव समाज विकासको एउटा अपरिहार्य नियति नै हुने गर्दछ भन्ने तथ्यलाई इतिहासको विकासक क्रमिक अध्ययन गर्ने हो भने स्पष्ट हुने छौँ। हामीलाई राम्रोसँग थाह छ वर्तमानमा कम्युनिस्टहरू सत्तामा छैनन् र यस्तो लाग्दछ संसारबाट कम्युनिष्टहरू मासिएर गए अब कहिले फर्केर आउनेवाला छैनन्। अहिलेको पुँजीवादी साम्राज्यवादी शोषणपूर्ण व्यवस्था नै श्रेष्टतम समाज हो भन्नेहरू धेरै छन्। स्वयं साम्राज्यवादी नाइके अमेरिका घरेलु आन्तरिक ऋणको दहमा फसेको छ। आर्थिक नव उदारवादको नाममा आर्थिक औपनिवेशिक साम्राज्य स्थापित गरेर लुटेन भने अमेरिकी साम्राज्य ध्वस्त हुन बेर छैन। तर संसारभरि आतङ्क मच्चाएर सत्तापलट, गुप्तहत्यादेखि वैदेशिक सैन्य प्रचलन गरेर अन्तर्राष्ट्रिय हैकम जारि छ। के यहि हो श्रेष्ट सभ्यता? तर हामीलाई पेरिस कम्युनको अल्पकालीन दमनले संसारभरि गणतान्त्रिक र समाजवादीहरू स्तब्ध भएन तर प्रशिक्षित भए र खासमा सर्वहाराको नेतृत्वमा कम्युनिष्ट पार्टीले मजदुर वर्गको हातमा शासन सत्ता नै सुम्पेको थियो-पछि युरोप हुँदै चीन, कोरिया, भियातनाम र ल्याटिन अमेरिकाका देशहरूमा पनि व्यापक प्रभाव परेको थियो। कालान्तरमा कमुनिष्टहरूले आफ्ना सङ्घर्षहरू परिपेक्षमा नयाँ पुस्ताले शिक्षा ग्रहण नै गर्नेछन्। जसरी मार्क्स-एङ्गेल्स, लेनिन, स्टालिन, माओ आदिले आ-आफ्ना समयमा शिक्षा लिएर सर्वहारा वर्गका सङ्घर्षलाई अघाडी बढाएका थिए।

भारत जस्तो विशाल र महान देशमा यस्ता आफ्ना जनताले न्यूनतम आधारभूत अधिकारको सङ्घर्षमा सर्वहारा वर्गको नेतृत्त्वमा आत्मसात गर्ने नै छन्। सङ्घर्षहरूका विविधताहरूमा शाषकवर्गको शक्तिले पनि आन्दोलनको दशा र दिशालाई प्रभाव पार्ने गर्दछ। तर साम्राज्यवादको हस्तक्षेपको कारण भारतमा धर्मनिरपेक्षता र गणतन्त्रको प्रश्नलाई शाषक वर्गको एक अर्को वर्गको छिना झपटीको खेलमा सर्वहारा वर्गको हस्तक्षेपको अनिवार्यतालाई स्विकार गरेर युवा वर्गले शिक्षा र रोजगारको अधिकारको सङ्घर्षलाई दावानल झैँ सल्काउनु नै पर्दछ।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...