Sunday, June 7, 2020

कसले छिराउँदै छ पहाडमा ड्रग्स ?

उमेश परियार


राजमार्गसित सोझै जीवन र समाज जोडिन्छ। संस्कृति जोडिन्छ। अर्थनीति जोडिन्छ। भविष्य जोडिन्छ। रोजगार जोडिन्छ। राजनीति जोडिन्छ। राजमार्गसित राम्रो कुमा मात्र जोडिँदैन। नराम्रा कुरा पनि जोडिन्छ। मलाई लाग्थ्यो, समाजको निर्माणमा राजमार्गसित समाजको अर्थनैतिक सम्बन्ध छ। तर समाजको पतनमा पनि यस्तै सम्बन्ध हुने रहेछ।
म राजमार्गसित जोडिएको ठाउँ कालिझोडामा बस्छु। मूलधारको मिडियामा काम गरिरहेको छु। मैले हेर्दाहेर्दै राजमार्ग भएर एनएचपिसी आयो। अवश्यै पनि यो विकासको क्षेत्रमा ठूलो उपलब्धी होला। रोजगारको निम्ति अवसर पनि होला। तर त्यति मात्रै होइन रहेछ। राजमार्गले कालिझोडालाई जीवन पनि दियो, विशृङ्खलता पनि दियो। निर्माण पनि दियो, पतन पनि दियो। गुण पनि दियो अवगुण पनि दियो।
सचेतहरूले गर्ने काम भनेको समाज निर्माण कै हो। हामीले गाउँलाई आध्यात्मतिर डोहोऱ्याउन पूजाहरू गऱ्यौं। साहित्यसित जोड्न गोष्ठीहरू गऱ्यौं। समाजसेवा गऱ्यौं। सहयोग गऱ्यौं। हाम्रो लक्ष्य त समाज बनाउनु नै थियो। तर जसरी हामी समाज बनाउन सङ्घर्ष गरिरहेका हुन्छौं, उसरी नै समाज भत्काउनेहरू पनि सङ्घर्ष गरिरहेकै हुँदारहेछन्। म त्यो दिन झस्किएँ, जुन दिन गाउँकी माइली काकी आफ्नो जीवन कै सबैभन्दा खराब खबर सुनाउन मकहाँ आइन्। उनी छोरोलाई बचाउन चाहन्थिन्। किन भने उनको छोराले मृत्यु र पतनको बाटो रोजिसकेका थिए। के हामीले हाम्रा युवा पुस्तालाई त्यसै मर्न दिनुपर्ने हो त? कुलतमा लागेकालाई सही बाटोमा ल्याउने काम कसको हो त? जसरी टिस्टा थुनिएको छ, यसरी नै कालिझोडामा मनभरि आफैलाई थुनेर राख्ने माइली काकीहरू अनेकौं रहेछन्। मलाई काकीको आँशुले पोल्यो। 
मैले धेरै साथीहरूलाई कालिझोडाको युवा शक्ति नशाखोर बन्दै गइरहेको र त्यसको निगरानी र निर्मुलनबारे निरन्तर बताउँदै आइरहेकै थिएँ। कतिले कानमा तेल हालिदिए, कति सतर्क बसे। हेर्दाहेर्दा कालिझोडामा आत्महत्या गर्ने, विविध नशालु पदार्थको सेवनको कारण असंवेदनशील बन्ने र कुलतमा फस्नेहरूको संख्या बढ्दै गयो।
 हामीले एउटा समूह बनायौं र राजमार्ग भएर आउने ड्रग्स वा नशालु पदार्थहरूको मुहान खोतल्ने प्रयास गऱ्यौं। यो यति ठूलो सञ्जाल रहेछ, यसको न फेद थाहा पायौं न टुप्पो। आखिर कसरी छिर्दैछ त कालिझोडामा नशालु पदार्थहरू? 2007 मा विद्युत परियोजना कालिझोडा आएपछि स्थानीयहरूको निम्ति रोजगारको अवसर खोलियो। रित्ता गोजीहरू भरिए। गाउँमा नै रोजगारको अवसर देखेपछि विदेशिएकाहरू पनि फर्किए। यो त एउटा वेरोजगार गाउँको निम्ति शुभ खबर हो। तर कहिलेकाँही शुभ खबरले कालान्तरमा दुखद परिवेशको निर्माण पनि गर्दोरहेछ। गाउँको गोजी केही रुपियाँले त भरियो तर गोजी केवल रुपियाँले मात्र होइन ड्रग्सले पनि भरिन थालेको कसैलाई पत्तै भएन। काकीको छोरा त्यही ड्रग्सको पहिलो ग्राहक बनेका थिए। छोराको जीवन र व्यवहारमा आएको फेरबदल देखेर काकी आत्तिइन्। त्यसपछि यस्ता धेरै काकीहरू आत्तिन थालिन्। 
खोज्दै जाँदा भेट्यौं, कालिझोडाको गाजीमा ड्रग्स भर्ने मूल गौंडा हो सेभोक बजार। अहिले कालिझोडाले जुन परिस्थितिको सामना गरिरहेको थियो, त्यो सेभोक बजारको भूतकाल थियो। सेभोक बजार एउटा आफै थाकिसकेको गाउँ हो। जहाँ प्रत्येक रात जन्मिरहेका छन् एडिक्टहरू। कालीझोडालाई मात्र नभएर सिलगढीदेखि सिक्किम अनि कालेबुङसम्मलाई थाहा छ, ड्रग्स ओसार पसारको मुल गौंडा सेभोक नै हो भनेर। तर कोही छैनन्, जसले यसबारे मुख खोलुन्। थाहा छैन उनीहरूको मुख केले बन्द गरिरहेको छ। 
जतिले पनि मुख खोले, कालिझोडाका अभिभावकहरूले त्यसलाई पत्याइदिएनन्। ड्रग्स खाने छोराछोरीको आमाबाबा कहलाइने डरले नपत्याएका हुन्? कि छोराछोरीलाई सम्हाल्न नसकेपछिको निराशाको कारण? उनीहरू नै जानुन्। 
तर जब धेरै कम उमेरका युवाहरू आत्माहत्याको सिकार बन्दै गइरहेको घटना लगातार अघि आउँदै गयो, मानिसहरू आत्तिन थाले। गाउँका युवाहरू ड्रग्सकै सिकार भएको कुरा सबैलाई थाहा भयो तर कसैले पनि मुख खोल्ने भने आँट गरेनन्। 
एक दिन मेरो एकजना मिल्ने दाजुको छोराले आत्माहत्या गऱ्यो। अन्तिम संस्कारको दिन खोलाको बगरमा डल्लै गाउँले भेला भए। त्यही दिन हो गाउँलेको मनको पिलो फुट्यो। सबैले आआफ्ना पीर सुनाए। तर यतिखेरसम्म ढिलो भइसकेको थियो। युवा भाइहरू ड्रग्सको लतमा डुबिसकेका थिए। 
मलाई अचम्म लाग्यो, यति भइसक्दा पनि कोही सामुहिक आवाज उठाउन तयार थिएनन्। बरु शैलु दाजुहरूले आवाज उठाइदिने जिम्मा मलाई सुम्पिए। म मिडियामा थिएँ र स्वाभाविक थियो, आवाज उठाउने माध्याम म नै हुन सक्छु। मैले स्वीकारें। 
कालिझेडामा अनेकौं राजनैतिक दलहरू छन्। म मिडियामा रहेकोले कुनै पनि राजनैतिक रङमा मुछिएको थिइनँ। हुन त यो एक्लैले मोल्न सक्ने जोखिम्को कुरा होइन। जबसम्म सारा गाउँले मिलेर ड्रग्स छिराउनेहरूलाई कठघरामा उभ्याउँदैनन् तबसम्म केही हुने वाला छैन। मलाई गाउँले सहयोग गर्ने आशा बोकेर 10 नोभेम्बर 2018 गाउँका सबै व्यक्ति विशेषलाई निम्ताएँ। 
त्यसपछि शुरु भयो ड्रग्स उन्मुलन अभियान। पोष्टरिङ गरियो। चेतावनी दिइयो। ड्रग्स छिराउनेहरू हतप्रभ बने। विस्तारै कालिझोडामा ड्रग्स छिर्न बन्द भयो। ड्रग्स छिर्न बन्द हुने वित्तिकै लतीहरूको जीवनमा समस्या देखा पऱ्यो। त्यसपछि शुरु भयो रिह्याब सेन्टर धाउने काम। एक दुई गर्दै प्राय सबैलाई लगियो पनि। गाउँ धेरै स्वच्छ हुँदै गयो। सामुहिकरूपले गऱ्यो भने कुनै न कुनै हदसम्म हामीले राम्रो काम गर्न सक्ने रहेछौं। अहिले कालिझोडामा ड्रग्स छिर्दैन त म भन्न सक्दिन तर हामीले केही हद छेकथुन गरेका छौं। अभिभावकहरूलाई सचेत गराएका छौं। विद्यार्थीहरूलाई सचेतना दिएका छौं। तर के यतिले मात्र पुग्ला त? 
कालिझोडामा त ड्रग्स छिर्न केही कम भयो होला, कालेबुङका विभिन्न ठाउँ, दार्जीलिङका विभिन्न ठाउँ, सिक्किमका विभिन्न ठाउँमा के कालिझोडाको नियति दोहोरिरहेको छैन त? 
जगजाहेर छ, जति पनि ड्रग्स छिर्छ, त्यो मूलबाटो हाइवे नै हो। हाइवेको आफ्नै प्रशासन छ। पुलिस छन्। सामाजिक सङ्गठनहरू छन्। केही सचेतहरू पनि छन् तर पनि कसरी छिर्दैछ त पहाडमा ड्रग्स? कसरी बनिँदैछ ड्रग्स छिराउने योजना? यसको सञ्जाल कत्रो छ? को को संलग्न छन्? के हामीले कालिझोडाका केही सचेत युवाहरूमा यी जम्मै खोजबिन गर्ने क्षमता छ त? के कालिझोडाले मात्रको अभियानले यत्रो ठूलो ड्रग्स माफिया रोक्न सक्छ त?
तपाईँहरूलाई जानकारी दिउँ, यही हाइवे 10 बाट छिराउँदै गरेको ड्रग्स कालेबुङ थानाले मात्र 2018 मा मात्र 22 चोटी पक्रिसकेको छ। यस तथ्यले के बताउँछ? वर्षमा कति ड्रग्स हाइवेबाट छिर्दा हुन्, त्यो कहाँ कहाँ पुग्दा हुन्? 
2019 को सेप्टेम्बरसम्म मात्र कालेबुङ पुलिसले ड्रग्स ओसार पसार गर्ने 15 वटा गिरोहलाई पक्रिसकेको छ। धेरैको मुद्दा चलिरहेको छ। कतिलाई छोडिएको छ। यद्यपि, पुलिस प्रशासन एक्लैले ड्रग्स माफियाको सञ्जाल नष्ट गर्न सक्ला त? हामीले पुलिस प्रशासनसित मिलेर जिल्लास्तरीय ड्रग्स रोकथान अभियान चलाउन सक्छौं। हरेक गाउँमा अभियानको एउटा शाखा राख्न सक्छौं। दार्जीलिङ पहाडभरिका मानिसहरूलाई त्यसको सदस्य बनाउन सक्छौं। हरेक स्कूललाई सदस्य बनाउन सक्छौं। हरेक सङ्गठनलाई सदस्य बनाउन सक्छौं। हरेक राजनैतिक दललाई सदस्य बनाउन सक्छौं। पुलिस प्रशासनलाई सदस्य बनाउन सक्छौं। गायक, लेखक, उकिल, चालक वा हरेकहरेकलाई सदस्य बनाउन सक्छौं। 
ड्रग्स माफियामा जो जो पनि संलग्न छन्, उनीहरूलाई कठघरामा उभ्याउन सक्छौं। पहाडलाई बचाउन सक्छौं। यदि तपाईँहरू साँच्ची नै यस्तो अभियान गर्न चाहनुहुन्छ भने आउनुहोस्, हामी जोडियौं र पहाड, तराई र डुवर्सस्तरीय अभियान चलाऔं। वाट्सएप ग्रुप बनाऔं, फेसबुक ग्रुप बनाऔं थवा सोसल मिडियाबाट पनि काम गरौं र जहाँजहाँबाट सम्भव छ गरौं तर पहाडलाई ड्रग्समुक्त क्षेत्र बनाऔं। 

प्रश्न गरेमात्र उत्तर पाइन्छ रे। त्यसो हो भने यो अभियानको शुरुवात एउटा प्रश्नबाट शुरु गरौं-कसले छिराउँदैछ पहाडमा ड्रग्स?

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...