Monday, September 2, 2019

रूढिवादी प्रथा र नारी हिंसा


बिपल रसाइली 

दक्षिण सिक्किमको मल्लीमा बोक्सीको आरोपमा एक वृद्ध नारीमाथि सामाजिक हिंसा भएको छ। 8 मईको राती भएको यस अमानवीय घटनाले मानव समाजलाई नै कलङ्कित बनाएको छ। उक्त घटनाबारे जानकारी पाएपछि सिक्किमका एक सञ्चारकर्मी घटना स्थल पुगेका थिए। उनले घटनबारे एउटा भिडियो तयार गरेछन्। उनको भिडियो सामाजिक सञ्जालमा आगो झैँ फैलियो। त्यही भिडियो मार्फत नै बोक्सी काण्डको यथार्थ पायौँ।
परिवारसाथै नाति-पलातिका धनी वृद्धा नारीलाई उनैको घरमा पुगेर मानसिक अनि शारीरिक प्रताडना दिनु नितान्तै अमानवीय हो। आफूलाई दैविक शक्तिधारी दाबी गर्ने केही फर्जी मानिसहरूले समाज विकास क्रममा बढिरहेको मानव सभ्यतालाई नै बदनाम गरेका छन्। सिक्किम राज्यमा भएको यस्तो रुढीवादी बोक्सी प्रकरण मिडियामा प्रथम चोटि छाएको हो। तर राज्यको कतिपय गाउँ बस्तीहरूमा अझै पनि यस्ता रुढीवादी कुसंस्कार जारी छ।
नारी हिंसा र रूढीवाद 
छिमेकी राष्ट्र नेपालका वामपन्थी अभियान्त विश्व भक्त दुल्लाल ‘आहुति’ अनुसार 'बोक्सी प्रथा रूढीवादले तयार गरेको सामाजिक जडता हो'। उनी अनुसार, यसको सामाजिक प्रभाव अहिले पनि गाउँ घरहरूमा देखिन्छ। अन्धविश्वास अनि रूढीवाद रहेको समाजमा विशेष महिलहरू नै यस हिंसाको सिकार हुने गरेका छन्। अहिलेसम्मको घटना क्रम अनुसार दलित, विधवा, शोषित उतपीडित वर्गहरूमा नै यसको सोझो प्रभाव देखिएको छ। 
यस्ता घटनाहरूलाई गम्भीर्तापूर्वक अध्ययन गर्नु हो भने आर्थिक अनि सामाजिक रूपमा पछाडीएकाहरू नै रुढीवादको सिकार हुन्छन्। साधारण शैलीमा भन्नु हो भने, 'गाउँमा जसका निम्ति कानुनी लडाई लडिदिने छैनन्। जसको पारिवारिक अवस्था दुर्बल छ।' उनीहरू नै रुढीवादी प्रथाका सिकार बन्छन्। किन कि उनीहरूसँग न्यायप्रणाली, आर्थिक क्षमता अनि सामाजिक पक्षधर्ताको सहयोग हुँदैन।
ऐतिहासिक रूपमा हेर्दा, सामन्ती युगको संरचनाले नै यस्ता कुसंस्कारहरूको विकास भएको पाउँछौँ। तर आहुती भन्छन् 'अहिलेको यो पुँजीपति युगले पनि 'हरहर मुभी' जस्ता चलचित्र मार्फत मानव सभ्यतालाई सामन्ती युगको चेतनातिर धकेल्ने गरेको छ'। उनको यो तर्कले एउटा नवीन बहसलाई नै निमत्याएको छ। यद्यपि, यस्ता नारी हिंसा रोक्नका लागि राज्यको ठुलो दायुत्त हुने उनको मत छ। यसैले राजनैतिक आन्दोलनहरूले रुढीवादी प्रथा साथै नारी हिंसालाई पनि सम्बोधन गरिनु पर्ने उनको ठम्याइ छ। 
यसरी भयो घटना
पिड़ित वृद्धाको छिमेकमा मानसिक रोगी एक जना युवती थिइन्। उनको उपचार झाँक्री र जनपाहरूले गरिरहेका थिए। यसै क्रममा, आफूलाई दैविक शक्तिधारी(चलनचल्तीको भाषामा माता) ठान्ने आर्क एक जना युवती र रोगीको परिवार 8 मई राती अचानक वृद्धको घर पुग्यो। 'वृद्ध बोक्सी हो' भन्ने दाबी गर्दै बन्द कोठामा राखेर उनीहरूले दैविक विधिहरू गरे। वृद्धलाई शारीरिक अनि मानसिक तनाव दिए। पीडित पक्षको बयान यस्तो छ। घटनाका आरोपी दुर्गा प्रधान, लक्ष्मी प्रधान, अरुण प्रधान विरुद्ध स्थानीय पुलिस थानामा रिपोर्ट दर्ता गरेको छ। आरोपिहरू विरुद्ध प्रशासनले कार्वाही सुरु गरेको छ। 
राज्यका निम्ति चुनौती
तर विडम्बना के छ भने, सिक्किम राज्यमा अहिलेसम्म यस्ता घटनामाथि नियन्त्रण गर्न निश्चित कानुन नै छैन। तर विहार, झारखण्ड लगायव अन्य राज्यहरूमा कानुन बनिएको छ। यसैले 'शान्ति राज्य'को पुरस्कारले सम्मानित सिक्किम राज्यमा यस्ता घटना घट्नाले राज्य कानुन व्यवस्था साथै यहाँका नागरिक समाजको भूमिकामाथि पनि प्रश्न खडा हुन्छ। अन्धविश्वास साथै रुढीवादी प्रथा जस्ता अमानवीय घटनाहरूलाई निर्मूल पार्न सामाजिक चर्चा अनि राजनैतिक आन्दोलनहरूले पनि ठुलो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। जबसम्म समाजका बैद्धिकस्तरबाट यस्ता घटनाहरूको विरोध/आलोचना हुँदैन तबसम्म रुढीवादलाई उखेल्न सम्भव हुन्न।
मल्लीको उक्त घटनाले गम्भीर प्रश्नहरू थडा गरेका छन्। आर्थिक रूपले कमजोर ती वृद्धाले सामाजिक न्यान पाउँला त? रूढीवाद विरुद्ध सिक्किमे समाजको सामूहिक आवाज उठ्ने छ? साथै सबै भन्दा महत्त्वपूर्ण प्रश्न त राज्यको कानुन व्यवस्थामाथि खडा हुनेछ। रूढीवादलाई निर्मूल पार्न कानुन तयार गर्ने कि नाइँ?
मौन नागरिक समाज
देशको ग्रामीण क्षेत्रहरूमा आज पनि रूढीवादी धारणाहरू यथावत्/सक्रिय छन्। यहाँ दलित, विधवा, गरिब वर्गहरू नै यसको चटारोमा परिरहेका छन्। यस्ता घटना प्रकाशमा आए तापनि राज्यको कुनै पनि निकाय अथवा सङ्घ संस्थाहरूले जनचेतनाका लागि ठोस पहल गरेको देखिन्न। आधुनिक युगका शिक्षित युवाहरूले पनि यस्ता विषयहरूलाई गम्भीर्तापूर्वक लिँदैनन्। तर जब यस्तो घटना देखा पर्छ, तब प्रश्न त त्यहाँकै नागरिक समाज अघि त उठ्ने हो। दक्षिण सिक्किममा भएको उक्त घटनाको चर्चा चुलिएको थियो। तर यस घटनालाई लिएर क्षेत्रका तथाकथित शिक्षित समाजको ठोस पहल खासै देखिएन। यसैले राज्य सरकारले रुढीवाद एवं अन्धविश्वास सम्बन्धी कानुन बनाउनु जरुरी छ। जसलाई लिएर नागरिक समाजले प्रशासनलाई चाँप दिनसकून्। यस माग लिएर बौद्धिक जमातले सकारात्मक पदक्षेप ग्रहण गरौँ। कुशल समाज गठनका निम्ति निर्माणात्मक बहसलाई सतहमा ल्याउनु आजको आवश्यकता हो।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...