कपिल तामाङ
हालैमा भएको लोकसभा चुनावमा भाजपा पुन बहुमत भोटले सरकार गठन गर्न सक्षम बनेको छ। 5 वर्ष केन्द्र सरकारमा रहेको भाजपामाथि अधिकांश जनताको गुनासो थियो। साम्प्रदायिक हिंसा, आर्थिक, राजनैतिक, सामाजिक अनि धार्मिक सङ्कटको मात्र बढेको थियो। देशमा जात र धर्मको आधारमा विभाजन भएको देखेर अल्पसंख्यक जाति, धर्म, लिङ्ग आदिका मानिसहरू, बामपंथी बिचारधाराका मानिसहरू, प्रजातन्त्रवादी, कलाकार, सर्जक सबै सबैले चुनावमा भाजपा सरकारलाई भोट नदिने अपिल जनता समक्ष प्रेस, सोसियल मिडिया आदि माध्यमबाट गरे। तर चुनावको परिणाममा भने भाजपाको जीत भयो। कहाँ चुके त ति मानिसहरू जसले भाजपालाई भोट नदिने प्रचार गरेका थिए? भाजपाको कस्तो रणनीतिले विजय हासिल गऱ्यो? यी जम्मै कुरा बुझ्नु आवश्यक छ।
पुलवामा र बालाकोट
5 वर्षपछि चुनाव प्रक्रिया चल्दा भाजपा सरकारको अवस्था सङ्कटपूर्ण थियो। केही महिना अघि नै मध्यप्रदेश, राजस्थान अनि छत्तीसगढको विधानसभा चुनावमा हारको सामना गर्नु पऱ्यो भाजपा सरकारले। त्यसपछि रफाल घोटाला, बेरोजगार संख्यामा वृद्धिबारे सरकारी आकडाहरूले सब भाजपा सरकारको बिफल कार्यप्रणाली स्पष्ट पारेको थियो। कांग्रेसले पनि जोडतोडले यसको बिरोध अनि प्रचार गरिरहेको थियो अनि आम मानिसहरूमा पनि आशंका अनि मतभिन्नता देखिन थालेको थियो। बिस्तारै भाजपा विरूद्ध राजनीतिक माहौल तयार हुँदै थियो। त्यसै बिच पुलवामा आतङ्की हमला भयो। धेरै सुरक्षा कर्मीहरूले आफ्नो ज्यान गुमाए। देशभरि मातम छायो। पुलवामा आतङ्की हमला देशको सुरक्षा व्यवस्थाको आधारमा मोदी सरकारको ठुलो बिफलता थियो। सरकार अनि सैन्य संस्थाहरूमाझ यस घटना लिएर ठुलो बहस भयो अनि प्रति-आक्रमण गर्ने निर्णय लिँदा केहि दिनमा बालाकोट एयर स्ट्राइक भयो। एयर स्ट्राइकको खबर पत्र-पत्रिका, न्युजहरूमा विभिन्न शैलिमा प्रकाशित भयो। कुनै मिडियाले तीन सय त कुनैले पाँच सयसम्म आतङ्की मारिएको पुष्टी गरे। तर वास्तबमै आतङ्की मारिएको थियो वा थिएन सोबारे आजसम्म आधिकारिक प्रमाण छैन। जे नै होस्, यसको चुनावी फाइदा भाजपाले उठाउनुसम्म उठायो। देशमा चुनावी प्रचार सुरु भइसकेको थियो। जम्मै भाजपा नेतहरूले आर्मी अनि देश सुरक्षाको नाममा भोट माग्न थाले। कर्नाटकका एक भाजपा नेताले एयर स्ट्राइकको कारण आफूहरूले 22 सिट पक्का जित्ने दावीसम्म गरे। बालाकोटको घटना सुरक्षा चिन्तादेखि फुत्किएर चुनाव मुद्दा, असली अनि नकली देशभक्ति जस्ता निम्नस्तरीय राजनीतिमा परिवर्तन भो। जहाँ विपक्षी राजनीतिक दलहरूले टिप्पणी गर्नसमेत कसेनन्। यसैले पुलवामा अनि बालाकोट प्रकरण भाजपाको लागि सफल चुनावी हतियार साबित भयो।
बङ्गालको परिप्रेक्षमा तृणमूलको तानाशाही शासन
बङ्गालमा 35 वर्षसम्म सीपीएमको शासन अनि अहिले तृणमूलको सरकार रहेकोले मुलधारको राजनीतिदेखि बङ्गाल अलग रहन्थ्यो। 2014 मा बहुमतले सरकार गठन गरेको भाजपाले बङ्गाललाई आफ्नो रेडरमा राखेको थियो। सीपीएमको तानाशाही शासनको विरोध गर्दै तृणमूलले बङ्गालको सत्ता कब्जा गरेको थियो। तर पछि गएर तृणमूल पनि ठुलो तानाशाही अनि अराजक गुण्डागर्दीको गढ बन्न पुग्यो। विशेष गरि राज्यको विभिन्न जिल्ला लगायत दार्जीलिङ पहाडमा बङ्गाल सरकारप्रति सधै गुनासो अनि बिरोध देखा पऱ्यो। यसैले सरकारको आलोचना अनि विरोधहरूलाई साम्य बनाउन तृणमूल सरकारले अतिवादी प्रशासनिक कार्वाही र भयपूर्ण नीति अपनाउन थाल्यो। तृणमूलको यसै आक्रामक प्रशासनिक पदक्षेपलाई जनविरोधी बताउँदै भाजपाले बङ्गालमा फाइदाजनक चुनावी मैदान तयार गऱ्यो। जहाँबाट भाजपाले यसचोटी 17 वटा सिट हासिल गऱ्यो।
मोदी वर्सेस हु?
2014 अनि 2019 दुवै चुनावमा मोदी बने भाजपाको ठुलो चुनावी हतियार। संसदीय लोकतन्त्रमा कुनै एउटा नेतालाई सर्वशक्तिमान बनाउने अनि उनैको भक्तिगान र अतिप्रचार गरेर चुनाव लड्ने नयाँ रणनीति भाजपाको लागि धेरै लाभदायक भयो। हुन त कांग्रेस कालमा पनि ‘लार्जर देन लाइफ’ नेताहरू नदेखाइएको होइनन्। नेहरू, इन्दिरा गान्धी, राजीव गान्धी आदि थिए नै, तर उनीहरू पार्टी अधीन नै थिए।
यो आयाममा नै परिवर्तन ल्याएर भाजपाले मोदीमय माहौल तयार गऱ्यो। अमेरिकाको राष्ट्रपति चुनावमाझैँ सिङ्गो मैदानमा उत्रिएका बिपक्षमा कोही टिकेनन्। तर मोदीलाई मोदीदेखि सर्वशक्तिमान मोदी बनाउनमा धेरै पुँजीपतिहरूको हात छ। विगत पाँच वर्षमा उनीहरूले नै मोदीको हातको मह धेरै चाखे। जसको कारण सोसियल मिडिया अनि न्युज च्यानलहरूमा केवल मोदी मात्र गुञ्जिन्थ्यो। आफुलाई प्रचारमा ल्याउन मोदी स्वयम पनि कम सिपालु छैनन्। हर समय सोसियल मिडिया अनि न्युज च्यानलहरूमा सक्रिय रहने मोदी केही गम्भीर घटनाहरूबारे मौन बस्छन्। उनी स्वयम “वाह मोदिजी वाह” भन्दै सम्बोधन गर्छ। यस्तो देख्दा लिबरल बामपंथीहरू खिल्ली गर्छन। सोसियल मिडिया अनि न्युज च्यानलहरूमा यसलाई लिएर व्यापक चर्चा हुन्छ। यी थरिका चर्चाको राजनीतिक प्रभाव कस्तो हुन्छ त्यो चाहिँ भाजपा अनि मोदीलाई राम्ररी थाहा छ। मोदीको नामको ब्रान्ड जनमानसमा बस्नु नै भाजपाको ठुलो सफलता हो। विद्यार्थी नेता कन्हैया कुमार पनि मोदीझैँ चर्चामा थिए। तर उनीसँग पुँजीपति वर्गको साथ छैन त्यसैले उनी सीमित छन्। राहुल गान्धीले पनि यो कौशल अपनाउन खोजे तर भाजपाको आइटी-सेल अनि कार्यकर्ताहरूले ‘पप्पु’, ‘सेहेजादा’को उपनामले बदनाम गरे। यसो गर्नाले राहुल गान्धीको खिल्ली भन्दा धेर उनको नामलाई प्रचलित हुनु नदिनु हो। धेरै व्यङ्ग्यकार, कलाकार, सोसियल मिडिया अनि न्युज च्यानलहरूमा मोदीलाई खिल्ली, गुनासो आदि गर्दै धेरै पोस्ट वा खबर प्रकाशित भयो। जसले केवल मोदीलाई लाभ भयो। आममानिसहरू जसले फेक न्यूज, व्हाटस्एप आदिका खबर पढेर सत्य ठान्छन् उनीहरूकै निम्ति मोदी हिरो बने। फलस्वरूप 2019 को लोकसभा चुनाव भाजपाले बहुमत प्राप्त गऱ्यो।
“व्हट इस इन द नेम?” भनेर सेक्सपियरले भनेका थिए। उनले भनेको भएर नै यो वाक्य धेरै प्रचलित भयो, जो त्यसको ठिक बिपरित कुरा हो--‘ए पाराडक्स’। आज चुनावी प्रक्रिया पनि उस्तै भएको छ। अबको चुनावहरू पारम्परिक रणनीतिले जीत्न सम्भव छैन। समाजशास्त्रीय, मनोवैज्ञानिक क्रिया, विज्ञापन, प्रस्तुती, प्रतिनिधित्व-- यी सबै कुराहरूलाई ध्यानमा राखेर नै चुनाव लडिन्छ।
No comments:
Post a Comment