Monday, September 2, 2019

वर्गरहित सिक्किम : चामलिङ सत्ताले देखाएको झुठो सपना थियोे


एन बी घिमिरे 

'19-को चुनाव र चामलिङको हार
2019को चुनाव सकियो। पवन कुमार चामलिङको नेतृत्वमा पच्चिस वर्षदेखि सिक्किममा सत्तासीन 'सिक्किम प्रजातान्त्रिक मोर्चा'को सरकार ढल्यो। धेरैका निम्ति यो पत्याउनै नसक्ने कुरा थियो भने धेरैले चामलिङको हार अगावै देखिसकेका थिए। तर चामलिङ आफैँ भने निकै कन्फिडेन्ट थिए र चुनावी जनसभातिर भन्थेँ "यस पटक भने सिक्किमको राजनैतिक इतिहासबाट विपक्षीको नामोनिसान मेटाइदिन्छौँ।" तर भयो अर्कै। नामोनिसान कसैको मेटिएन उल्टा उनको सरकार ढल्यो। 
चामलिङको यति बलियो सत्ता कसरी ढल्यो त? के कस्ता कारणहरू थिए जसले गर्दा राज्यका जनता गोलेको नेतृत्वमा रहेको 'सिक्किम क्रान्तिकारी मोर्चा'तिर होमिए?
वास्तवमा नब्बेको दशकतिर चामलिङ जुन प्रजातन्त्रको कुरा गर्थे, जुन 'जनता राजमा जनतै राजा'को नारा दिन्थे त्यो 2010 सालतिर आइपुग्दा पूर्णरूपमा हराइसकेको थियो। यहीँ कारण थियो कि एउटा ठुलो जमात प्रजातान्त्रिक हक अधिकारबाट वञ्चित थिए र गाउँ घरमा रहेका केही सामन्ती तप्काकाहरूको पैतालामुनि दब्बिएर बस्नुपरिरहेको थियो। भण्डारीले विपक्षमा हुँदा त्यो जमातलाई राम्रोसँग नेतृत्व दिन सकेनन्। ती थिचिएको र दब्बिएको जमात, सास फेर्नका निम्ति छट्पट्टाइरहेको थियो। ठिक त्यसै समय पीएस गोले त्यो जमातको काँधमा काँध मिलाउन निस्किए। 
2014-को चुनाव आयो। चामलिङ पुनः सत्तामा आए। विपक्षीका केही निर्वाचित नेताहरू रातारात चामलिङको छाता मुनि ओतिन पुगे। जनतालाई विपक्षीबाट भरोसा हरायो। गोलेलाई जेल लगाइयो। गोले जब जेल पसे सिक्किममा अब विपक्षी हरायो भनेर सबैले सोचे। साँच्चै त्यस समय राज्यमा विपक्षीको छिटाहरू कतै देखिन्न थ्यो। चर्चामा कमै देखिन थाले विपक्षीहरू। गाउँ घरमा चामलिङको फोटो भएको झन्डा मात्रै देखिन थाल्यो। तर त्यस्तो समयमा पनि क्रान्तिकारी मोर्चाका दुई नेता भने लगातार बोलिरहेका थिए। उनीहरू लगातार गाउँ पस्ने काम गरिरहेका थिए। जब गोले जेलबाट निस्किए त्यस पटक भने चामलिङले गोलेलाई चिन्न सकेनन्। सायदै क्रान्तिकारी मोर्चाका ती दुई नेताले गाउँ र बस्तीतिर जनतामाझ गरिरहेका कामलाई चामलिङले हल्का रूपमा लिएका थिए। तर गोले जेलबाट निस्किएपछि क्रान्तिकारी मोर्चाले आफ्नो तीव्रता बढायो। सिक्किमको राजनैतिक इतिहासमा सरकारी नोकरीमा भएका कर्मचारीसमेत राजनैतिक हक र अधिकारका निम्ति खुलेर बोलेको पहिलो पटक छर्लङ्ग देखियो।
चामलिङको वर्गरहित सिक्किम
चामलिङ भन्थे, "हामी सिक्किमलाई वर्गरहित बनाउने दर्शन बोकेर हिँडेका छौँ।" तर त्यो भाषण मात्रै थियो। वास्तवमा उनीहरूको बाटो समाजवादतिरको कदापि थिएन। राज्यलाई अौद्योगिकरण गर्न अघि उनी यस्तो भाषण हाँक्थे। उनी भन्थे "हाम्रो शत्रु भनेको वर्ग शत्रु मात्रै हो।" भण्डारीको विरोध गर्दा उनले प्रजातान्त्रको भाषण गर्थे र मार्क्सवादी शब्दकोश प्रयोग गर्थे। कविता लेख्थे 'मेरो त जातै मान्छे।' 
उनी लेख्थे --
"समस्याका ठुला-ठुला चक्काहरू 
सिमानाका युद्धभूमिहरूमा भन्दा
यी गाउँ-घरका झोपडीहरूमा
डर लाग्दा युद्धहरू छेडिएका छन्"
यसरी लेख्ने चामलिङकै दुई दशक भन्दा लामो शासनकालमा छुट्टियो गान्तोक सहर र कर्जी गाउँबिच ठुलो खाडल। हजारौँ युवाहरू पढाइ छाडेर 'एक परिवार एक नोकरी' अन्तर्गत अस्थायी रूपमा भिलेज गार्डको काम गर्न बाध्य बने। अर्कोतिर एक मुठी युवाहरू जो 'हार्बर्ड र केमब्रिज' पढिरहेका छन्। यस्ता दुईवटा जमातबिच ठुलो वर्ग रेखा कोरियो उनकै लामो शासनकालमा। 
जसले लेख्थे--
"भुँडी-दौडमामा नब्बे हारेर
दशको जित्ने पालो छ,
र दस अपच भएर यहाँ 
नब्बे भुँडी खाली छ।" 
उनैको लामो शासनकालमा नब्बे भुँडीले पेटभरि खान पाएनन्। नब्बे आँखाले सपना पनि आरक्षणको आधारमा देख्न बाध्य भए। नब्बे दिमागले सचेतनाको पाठ पढ्न पाएनन्। सुने त केवल बीपीएल चामल बाँडेको भाषण। र दस खुट्टाहरू भने राज्यलाई चुसेर बाहिरसम्म लम्किन सफल भइसकेका थिए। तर सिक्किमको वास्तविक इमेज गान्तोकमा बसेका पत्रकारहरूले लेखेका समाचारमा कहाँ देखिन्थ्यो र? केही पत्रकारहरू आँट गरेर सिक्किम देखाउन गाउँ पस्थे र रिपोर्ट लेख्थे। तर उनीहरूको पेटमा ताला लाग्न सुरु हुन्थ्यो। कति जना पत्रकारहरूमाथि भौतिक हमलासम्म भयो। सचेत तप्काकाहरू कि उनको पक्षमा बोल्थे कि बोल्न छोड्थे। भयको साङ्लोमा बादिएर बसेका थिए जनता। प्रजातान्त्रिक र गणतान्त्रिक चरित्र र सचेतना यहाँसम्म निर्माण भयो कि कलेज लेभलका विद्यार्थीहरूलाई प्रश्न सोध्दा भन्छन् 'राज्य दिवस भनेको एसडीएफ सरकार गठन भएको दिन हो।'
हजारौँ सरकारी कर्मचारीहरू भिक्टिमाईज भए। हामी छरछिमेकतिर देख्थ्यौँ चुनाव पछाडि विपक्षमा बोल्नेहरू कुम्लो कसेर सुदूर पश्चिम र उत्तरतिरका दुर्गम क्षेत्रतिर सरुवा हुन्थे। चामलिङको लामो शासनकालमा धेरै जनावाजहरू दबिए। धेरै प्रजातान्त्रिक आन्दोलनहरू गर्भमै हराए। 
'एन्टी-ड्याम' अभियान
जस्तो सन् 2000-को दशक लाग्यो राज्यलाई अौद्योगिकरण गर्नका निम्ति सरकारले कदम चलायो। हजारौँ निजी कम्पनीहरू भित्रिए। यहाँको प्राकृतिक सम्प्रदायको बलात्कार भयो। टिस्टामा बाध लाग्ने भयो। सरकार र कम्पनीबिच सम्झौता भइसकेको थियो। चाहिएकोभन्दा अत्यन्तै धेरै प्राकृतिक विनाश हुने स्पष्ट थियो। राज्यभरिका विद्यार्थीहरू र सानातिना सङ्गठनहरू त्यस समय एन्टी-ड्याम अभियानमा निस्किए। आन्दोलन गर्ने योजना बनाए। राज्य बन्द गर्ने योजना थियो विद्यार्थीहरूको। तर रातारात त्यो आन्दोलन गर्भमै दबियो। कसरी दबियो र कसले दबायो त्यस समय ठिम्याउनसम्म गाह्रो भयो। र टिस्टामा बाध लाग्यो र अहिले उ गम्भीर बिमार भएको छ। तर बोल्न सक्थेनन् कोही। गान्तोकमा कोही बोल्थे र हराउँथे। गाउँमा बोल्नेहरू सामन्ती चरित्रका क्याडरहरूको सिकार बन्थे। लेखकहरू एकदमै जोगिएर लेख्थे। नब्बेको दशकमा लेख्नेहरू कत्तिजना नेपाल पसेका थिए। वास्तवमा फ्लाइओभरमुनि भिखारी भेटिँदैन सिक्किममा। तर प्रजातान्त्रिक चरित्रको खडेरी चलाइदिएको छ सत्ताले। स्कुलको पाठ्यक्रममा राज्यको राजनैतिक इतिहास छैन। स्टेट बोर्ड नै छैन। गान्तोकमा हुने राजनीतिले गाउँलेको मस्तिष्कलाई असर नै पार्दैन। यसैको आडमा चामलिङ बस्थे। नत्र सरकारमा आउनुभन्दा अगाडि उनी जति प्रजातान्त्रिक हक अधिकारको भाषण गर्थे त्यो विगत पच्चिस वर्षमा कहाँ हराएको थियो? अनि बिस्तारै दर्जनौँ निजी कम्पनीहरू भित्रियो राज्यमा। नोकरी दिने नाममा राज्यको अनेकौँ युवाहरूको मजदुरीको शोषण गर्न आएका थिए उनीहरू। भित्र्याइएको थियो उनीहरूलाई।
'14-को विद्यार्थी प्रदर्शनी
सन् 2014। सिक्किम प्रजातान्त्रिक मोर्चा स्याकुर फिल गर्दै सत्तामा गज्जक भएर बसेको थियो। निजी स्कुल, कलेज र युनिभर्सिटीहरू राज्यमा तीव्रताका साथ बढ्दै थियो। शैक्षिक क्षेत्रमा निजीकरण बढिरहेको थियो। चुनाव अगाडि मुफ्त शिक्षाको विज्ञापन गरेको सत्ताले विद्यार्थीहरूको फिस तीव्र रूपमा बढायो। विद्यार्थीहरू सडकमा आए। प्रशासन खनाइयो। विद्यार्थीलाई पुलिस बल लगाएर थिचियो। अनेकौँ विद्यार्थीहरू अस्पतालमा भर्ना भए।
प्रजातान्त्रिक मूल्यका निम्ति आन्दोलन
यसरी 2019 लाग्दा लाग्दै राज्यमा सानो ठुलो निकै आन्दोलनहरू निस्किए। अघिल्लो वर्ष नै सिक्किम प्रोग्रेसिभ युथ फोरमले गेजिङमा तीव्र प्रदर्शनी गरिसकेको थियो। राज्यमा स्वस्थ क्षेत्रमा निजीकरणले आकाश छोइसेको थियो। उनी फेरि निस्कियो गान्तोक चलो आन्दोलन। वास्तवमा गान्तोक चलो आन्दोलनले निकै ठुलो उथलपुथल पार्‍यो। स्वास्थ्य सुविधाको मागमा निस्किएको यस आन्दोलनले तमाम सिक्किमे आम जनताको मनबाट राजनैतिक डर र भयलाई निकालेर फ्याँक्न सफल भयो। 10 दिनसम्म आन्दोलन गरेर रित्तै हात लिएर फर्किएका युवाहरूले एउटा ठुलो फल लिएर फर्किएका थिए। त्यो थियो प्रजातान्त्रिक र गणतान्त्रिक मूल्यको प्रचार र विकास। जस्तो तरिकाले सत्ताले यो आन्दोलनलाई दबाउँदै थियो जनताको अगाडि भण्डाफोर हुँदै थियो उनीहरूको निरङ्कुशता। 
शिक्षक आन्दोलन
गान्तोक चलेको लगत्तै पछाडि निस्कियो अस्थायी शिक्षकहरूको आन्दोलन। स्कुल छोडेर शिक्षकहरू सडकमा उत्रिए। यो आन्दोलन यति तीव्र थियो कि यसलाई नेतृत्व गरिरहेका शिक्षकहरूलाई प्रशासनले थुनुवासम्म गर्‍यो। तर यतिबेलासम्म धेरै जनताको मनमा राजनैतिक चेतनाको विकास भइसकेको थियो। भोलिपल्ट जनताको भीडले जेल घेराउ गरेरै निक्ल्यो ती शिक्षकहरूलाई। यसले सरकारी कर्मचारीहरूलाई आफ्नो हक र अधिकारका निम्ति बोल्न प्रेरित गर्‍यो र उनीहरूको मनबाट डर र त्रासलाई निकालेर फ्याँक्न सफल भयो।
मजदुर आन्दोलन र नाङ्गो पुँजीवाद
सिक्किममा हजारौँ निजी कारखानाहरू निर्माण भएपछि यहाँ हजारौँ मजदुरहरू भए। तर उनीहरूको पक्षको हक र अधिकार अगावै खोसिएको थियो। कुनै कानुन उनीहरूको पक्षमा थिएन। जब केही मजदुरहरू कम्पनी म्यानेजमेन्टको अमानवीय हरकतको विरुद्धमा सडकमा निस्किए त्यस समय मात्रै छर्लङ्ग भयो हकिकत। उनीहरूको कुनै हक अधिकार नै थिएन। यहाँसम्म कि ट्रेड युनियन एक्टसम्म खोसिएको थियो र खोसिएको छ। एक महिना श्रम भवन अगाडि बसेर मजदुरहरू आफ्नो हक र अधिकार मागिरहे। तर त्यस समय नाङ्गो पुँजीवादलाई राज्यले देख्यो। कम्पनी अगाडि सरकार लाचार थियो। एक महिनापछि ती मजदुरहरू खाली हात फर्किए। श्रमिकहरूले श्रम मन्त्रीको अनुहारसम्म देखेनन्। यी जम्मै आन्दोलनहरूले अदृश्य रूपमा सिक्किम प्रजातान्त्रिक मोर्चालाई ढल्नमा ठुलो सहयोग गरेको थियो। तर सबैभन्दा ठुलो प्रत्यक्ष फ्याक्टर भने यस पटक जातीय मुद्दाहरू देखिए। तर ती देखिएका मुद्दाहरू थिए भने आन्दोलनहरूले जनतामा पारेको प्रभाव भित्री कारणहरू थिए। अहिले जनताहरू नेताहरूसँग बिस्तारै डराउन छाड्दै छन्। यहाँ सामन्ती चरित्र बिस्तारै मर्दैछ र प्रजातान्त्रिक चरित्र बिस्तारै उम्रिदैछ। 
सिक्किम र पुँजीवाद
जुन समय सिक्किममा पुँजीवादले प्रवेश गर्‍यो उ आफ्नो साम्राज्यवादी चरित्रको थियो। यसलाई मलजल गर्ने राजनैतिक दल थियो चामलिङको नेतृत्वमा भएको सिक्किम प्रजातान्त्रिक मोर्चा। चामलिङसँग भएका एक बौद्धिक तप्का थिए जसले मार्क्सवादी साहित्य पढ्थे र लेख्थे। उनीहरूले पुँजीवादको हरेक चरित्रलाई राम्ररी बुझेका थिए। जनतालाई झुक्क्याउनका निम्ति उनीहरूसँग जनवादी शब्दहरू प्रशस्तै थिए। चामलिङ र उनका नजिकका साहित्यकारहरू वर्गीय दृष्टिकोणमा साहित्य-आख्यान सिर्जना गरिरहेका थिए। र अर्को एउटा बौद्धिक तप्का थियो जसले वर्गीय दृष्टिकोण राख्थे तर उनीहरूलाई बाध्यताले बाँधेर राखेको थियो। उनीहरू पनि लगातार लेखिरहेका थिए र अहिलेसम्म लेखिरहेका छन्। तर खुलेर लेख्न भने उनीहरूलाई मुस्किल पर्‍यो।
यसरी भारतीय पुँजीवादको दलाली गरिरह्यो चामलिङ सत्ताले। किताब, भाषण, कविता, उपन्यास र नारामा जनवादी कुरा र जीवन, चरित्र अनि व्यवहारमा जनविरोधी कदम। यहीँ चाल थियो चामलिङ सत्ताको। आफैँलाई पर्यावरणको रक्षक मान्ने चामलिङ जसले 'टेन मिनेट्स टु अर्त' जस्ता योजनाहरू बनाउँछन् उनैको समयमा टिस्टा रङ्गितको त्यस्तो हालत हुन्छ।
अब के?
चामलिङ सरकार ढल्यो अब के हुन्छ त? के अब जनताको सपना पूरा हुन्छन् त। के चामलिङले बनाउन नसकेको वर्गरहित समाज अब निर्माण हुन्छ त? जनताको कामहरू हुन्छन् त? यी सब हुन्छन् भनेर सोच्नु हाम्रो भ्रम बाहेक अरू केही पनि हुनेछैन। हो केही फरक केही समयका निम्ति अवश्य हुनेछ। लेखकहरू केही समया खुलेर लेख्ने छन्। पत्रकारहरू खुलेर पत्रकारिता गर्नेछन्। नयाँ सरकारले केही फिल्मी कदमहरू चाल्ने छन्। त्यसपछि उ पनि यहाँका साथै राष्ट्रिय पुँजीपतिहरूको दलाल बन्नेछन्। कति अगावै बनिसके। अब चाहेनन् भने पनि बाध्यतावश बन्न ननै पर्नेछ। कारण यो व्यवस्था जनताले होइन पुँजीपतिहरूले चलाउँछन्। तर हामीलाई स्पष्ट थाहा छ कि, को को के के-का निम्ति राजनैतिक मैदानमा उत्रिएका हुन्। 
चुनावको नतिजा लगत्तै पछाडि अनेकौँ हिंसाका खबरहरू आए। दंगाफसाद भएको पनि देखियो। बदलाको भावना बोकेर तीव्ररुपमा राजनीति हुँदैछ। यसमा दुःख पाउने भनेको आम जनताले हो। साधारणवर्गले हो। यसैले साधारणवर्गले यति कुरा बुझ्नुपर्छ कि यो व्यवस्थाभित्र उनीहरूको सपना पूरा हुनेवाला छैन। सर्वहारावर्गले मुक्ति पाउनेवाला छैनन्। समाजमा रहेको वर्ग विभाजन मेटिनेवाला छैन। यसैले आम जनताको मुक्तिको बाटो भनेको सर्वहारा क्रान्तिको बाटो हो चुनावी बाटो होइन। यसको प्रथम कदम भनेको आफूमा प्रजातान्त्रिक चेतना र गणतान्त्रिक चरित्र निर्माणका निम्ति सङ्घर्ष गर्नु हो।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...