Monday, September 2, 2019

तथाकथित बुद्धिजीवी र उत्पीड़ित वर्ग


लीलाबहादुर छेत्री

समाजप्रति व्यावहारिक रुपमै सरोकार राख्नेहरूले जहिल्यै तहिल्यै सङ्घर्ष गर्दैआएको गौरवमय इतिहास छ। यस वर्गले हिजो पनि सङ्घर्ष गरेका हुन्।आज पनि सङ्घर्षरत् छन्। र,यो क्रम भोलि पनि उस्तै रहिरहने हो। उत्पीड़ित वर्गको हितमा हुँदैआएको सङ्घर्ष गतिवेग थामिएको दिन परिवर्तन निम्छरो बन्नेछ। विकास र प्रगतिका मार्गहरू अवरुद्ध हुनेछन्। त्यसैले समयको परिवर्तनसंगै यस वर्गको सङ्घर्ष पनि अझ जटिल बन्दै गइरहेको छ। परिवर्तन र प्रगति नि:सन्देह बृहत्तर समाजको सरोकारप्रति चासो राखेर सङ्घर्ष गर्नेहरूले हासिल गरेका महान उपलब्धी हुन्। तर,यस कुरालाई फासीवादीहरू सोझै अस्वीकार गर्छन्। सङ्घर्षमा रहिआएको समाज विज्ञानको भूमिकालाई अस्वीकर गर्दै धार्मिक कट्टरता र अन्धतासित घोलेर उत्पीड़ित वर्गलाई कसरी दिग्भ्रमित पार्ने भन्नेमा फासीवादीहरू तल्लीन रहने गर्छन्। साम्प्रदायिक प्रोपागाण्डा चलाएर यस्तो प्रवृत्तिले उत्पीड़ित वर्गलाई जहिले पनि उच्छेद र किनारा लगाउँदै आएको छ।
सङ्घर्षको बिउ विचार हो। यो विचार कुनै पुस्तकले लेखेपछि शुरु भएन। कुनै चमत्कारले भएन। नता कसैको परिभाषाले नै परिभाषित गर्न पऱ्यो। कुनै प्रोपागाण्ड चलाएर पनि भएको होइन। उत्पीड़ित वर्गको जीवनशैली, मुक्तिको सपना र सम्भावनाले सङ्घर्षको जन्म भएको हो। शोषक र सामन्तीहरूको अड़चनबाट आफू कसरी अगाड़ि बढ़्ने भन्ने कुराले यस वर्गलाई सङ्घर्ष सिकायो। हिजो जुन विचारले सङ्घर्षको बीजारोपण भएको थियो आज पनि त्यही विचारलेनै सङ्घर्षलाई अगाड़ि बढ़ाइरहेको छ। यस सङ्घर्षले उत्पीड़ित समुदायको मुक्तिको बाटो मात्रै खोज्दैआएको छैन। यस सङ्घर्षले यसै वर्गका मेहेनतमा भइआएको समाजविकास र इतिहासनिर्माणमा इँटा थप्ने काम सम्भव हुँदैआएको हो। तर यसै सिलसिलामा समाजमा फासीवादको ढलीमली शुरु भएको छ। पुँजीवाद र फासीवादीहरूका पृष्ठपोषकहरू विभिन्न रुप लिएर सक्रिय बन्नथालेका छन्। यसै क्रममा वैचारिक धरातलमा आएर औपनिवेशिक सोंचले पनि जरा गाड़िसकेको छ। तब उत्पीड़ित समुदायको मुक्तिको लागि हुँदैआएको सङ्घर्षले अर्को चुनौतीसंग सामना गर्नु परेको हो। र, यसरी सङ्घर्ष जटिल बन्दै जानु  र चुनौती लागातार बढ़्दै जानुमा विशेष़ गरी समाजमा आफूलाई बुद्धिजीवी र उत्पीड़ित समुदायको हिमायती ठान्ने तथाकथित बुद्धिजीवीहरूको उदय र सक्रियताले पनि हो। यस्ता तथाकथित बुद्धिजीवीले फासीवाद र पुजीवादलाई त्यसरी प्रस्तुत गर्छन् जुन कुरा उत्पीड़ित समुदायको लागि मुक्तिको एउटै मात्र बाटो हो।
तथाकथित बुद्धिजीवीहरू सक्रिय रहने ठाउँ कुन हो र उनीहरूको व्य़ावहारिक जीवन भोगाइ आदिका बारेमा केही बुझ्न जरुरी हुनथालेको छ। किनभने साँचो बुद्धिजीवीहरू उत्पीड़ित वर्गको साथ सङ्गतमा मात्र नरहेर उनीहरू बौद्धिक गतिविधिमा सामेल रहन्छन्। र, आफ्ना जीवनवृत्त पनि केही हदसम्म यसैमा रिङाउँछन्। तर तथाकथित बुद्धिजीवीहरू भने अहिले सामाजिक सञ्जाल विशेष अनलाइन पोर्टल र फेसबुकमा देखाउँछन्। अनलाइन पोर्टलमा रहेर आफ्नो टीआरपी बढ़ाउनमा ध्याउन्न हुन्छन् । अनि, जसले इमानदार भएर उत्पीड़ित वर्गको हितका लागि सङ्घर्ष गरिरहेका छन् उनीहरूलाई कसरी बदनाम गर्ने भन्नेमा लागिपर्न थालेका छन्। चिया श्रमिकहरूका दयनीय जीवन एकातिर छ। मजदूहरूको हरिबिजोग। तर यस वर्गका बुद्धीजीवीलाई यस्ता समस्यासित कुनै चासो छैन। बन्द तथा गतिरोधव्याप्त चिया कमानहरूसित कुनै सरोकार राख्दैन। बरु बृहत्तर सामाजाकि हक हितको नाममा स्टण्ड गर्छन्। व्यक्तिगत ईर्ष्या र यसैमा खुरन्धर लागिपर्छन्। व्यक्तिहगत स्वार्थ पूरा गर्ने प्रोपागाण्डालाई सामाजिकीकरण गर्नेमा पनि तल्लीन रहन्छन्। यस्ता बुद्धिजीवीहरूका असली नियत हो अरुका बारेमा घृणा फैलाएर आफू हिरो हुनु। त्यसैले उत्पीड़ित वर्गको सङ्घर्षमा चुनौती बढ़्दै गएको हो। तर एउटा कुरा निश्चित छ भने यस्ता तथाकथित बुद्धिजीवीहरू लामो समयसम्म टिकेको इतिहास छैन। यद्यपि समाजमा अराजकता फैलाउनपरूवनै धराशयी बनाउन आवश्यक छ। 
तथाकथित बुद्धिजीवीहरूसित जुझ्नलाई आमउत्पीड़ित वर्गसित फुर्सत छैन। उनीहरू आफ्नो रोजमर्राको जीवनले व्यस्त छन्। सामाजिक सञ्जालको जालोले समाजलाई कुन दिशातिर लगिरहेको छ भन्ने बारेमा मन्थन गर्नेहरू यसको प्रभाव भविष्यमा उत्पीड़ित वर्गमा पनि पर्ने कुरालाई नकार्न नसकिने बताउन थालेका छन्। 
तथाकथित बुद्धिजीवीहरू उत्पीड़ित वर्गको हितका लागि जो-जो सङ्घर्षरत छन् उनीहरूलाई टार्गेट गर्नुमा लागि पर्छन्। त्यसैले अहिले तथाकथित बुद्धिजीवीहरूका हिरोगिरी उत्पीड़त वर्गका सांचो हिमायतीहरू समक्ष एउटा चुनौती भएको छ। यस्तो ताकतसित लड़्न पनि जरुरी हुनथालेको छ। 
तथाकथित बुद्धिजीवीहरू जहिल्यै तहिल्यै सामाजिक असुरक्षाले ग्रसित हुन्छन्। उनीहरू समाजमा आफ्नो अस्तित्व जोगाइराख्न समग्र समाजकै विरोधमा उत्रिन पनि उद्दत देखिन्छन्। तथाकथित बुद्धिजीवीहरू समाजमा सबैलाई सेमटेर लानुमा क्षमता नभएकाहरू समूह हुन्। जोहरू समग्र सामाजिक संरचना धराशयी बनाएर पनि आफू बाँच्ने स्पेश तयार पार्छन्। जुन स्पेश निर्माणको लागि यस वर्गकाहरू पुजीवादी वा फासावादी ताकतको सहारा लिन पुग्छन्। यस्ता उदाहरणहरू विशेष गरी चुनाउको छेक पारेर अघि आएका छन् पहाड़मा । जुन यसचोटिको चुनाउहरूमा पनि देखियो। यस्ता बुद्धिजीवीहरू चुनाउमा आफ्नो बजार बढ़ाउनुमा माहिर हुन्छन्। बौद्धिक निष्ठता भन्ने कुरा अनलाइन पोर्टल र सामाजिक सञ्जालहरू लेखेर व्यक्त गर्न सकिने होइन। जुन कुरा सङ्घर्षशील वर्गको मुक्तिको लागि व्यावहारमा उतार्न पर्ने त्यही कुरा यस्ता बुद्धिजीवीहरू अहिले अनलाइन पोर्टल र फेसबुक वालमा उतार्नमा लागेका छन्। जुन कुरा उत्पीड़ित वर्ग र यस वर्गको हितमा सङ्घर्ष गर्नेहरूलाई लागि चिन्ता र चुनौती दुवै हो भन्ने कुरालाई ख्याल राख्ने बेला आएको छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...