Monday, September 2, 2019

घृणाको राजनीतिमा उभिएको देश : हिन्दुस्तान


सुमेन्द्र तामाङ


देशको वर्तमान माहौल सोचनीय अवस्थामा पुगेको छ। केही दिन अघि एक जना दाज्यू लाई सोधे– “तपाईँलाई के लाग्छ भारतको भविष्य कस्तो होला?”
उनको प्रतिक्रिया यस्तो थियो – ‘भाइ! मुस्लिमहरूले हाम्रो देशलाई भित्रैबाट खोक्रो बनाइसकेका छन्, मुस्लिमहरू सबैलाई यस देशबाट खेद्नु पर्छ, अनि मात्र भारतको सुनौलो बिहानी आउने छ’। उनी स्वयम् एक दलित हुन्। एक जना विद्वान मित्रलाई पनि प्रश्न गरे, “के यो मारपिटमा आधारित राजनीतिले युवाहरूलाई रोजगार देला त? उनको प्रतिक्रिया अर्नब गोस्वामीको स्टाइलमा थियो – ‘प्रथममा भारत देश आउँछ तब मात्र रोजगार’। उनले अझै थपे ‘भारत माताकी जय' भन्न नसक्ने युवाहरूलाई के को रोजगार?’ म ढुङ्गाको मूर्ती नै भएँ! चुपचाप बसेँ। एकप्रकारको चिसो पस्यो मनमा। गर्मीको मौसममा पनि अचानक विइन्टर फिल गरेँ। 
यसको ठिक दुई दिन बाद। बिहारको बेगूसरायमा एक जना मुसलमान व्यक्तिमाथि दिउँसै ज्यानमारा आक्रमण भयो। उनको ढाडमा गोली लाग्यो। हतपत ज्यान जोगाएर उनी अस्पतालतिर भागे। मानिसहरूले खुनमा लतपत भएको उनको शरीर देखे, तर कसैले पनि सहयोग गरेनन्। मानवता हराइसकेका मान्छेहरू चुपचाप रमिती रहेँ। ... अस्पताल पुगेर पीडित स्वयम्ले यी घटनाबारे सुनाए। यता मेरो मन झनै हिउँ झैँ चिसियो। 
सँगै कलेज पढेका मेरा मित्र अहिले दार्जिलिङको एउटा कलेजमा पढाउँछन्। उनको सुरक्षाका निम्ति कलेज र उनको नाम गोप्य राख्दै छु। हालै उनले मलाई कल गरेँ। उनको स्वरमा डर थियो। मैले अनुभव गरेँ। भारतीय जनता पार्टी/आरएसएसको हिंसात्मक विचारधाराको आलोचना गर्दा उनी विरुद्ध विभिन्न थरिका आरोप लगाउँदो रहेछन्। उनलाई ममतापन्थी भन्ने आरोप रहेछ। कलेजका समकालीन प्राध्यापक अनि उग्रजातिवादी विद्वानहरूबाट उनी टार्गेट रहेछन्। 
वर्ष 2014 मा जादवपुर विश्वविद्यालयमा हामीसँगै थियौँ। त्यस समय हामी ममता ब्यानर्जीको तानाशाही विरुद्ध लडेका हौँ। हामीमाथि लाठी चार्ज भयो। तर, उसैलाई आज ममता पन्थीको ट्याग लागिरहेको छ। कस्तो विडम्बना?
आलोचना नसहने, असहमतिलाई घृणा गर्ने, अवहेलना गर्ने, देशविरोधी बनाउने राजनीति व्यापक भइरहेको छ। यस मामिलामा दार्जिलिङ कुनै अपवाद होइन। देशमा भइरहेको विभिन्न अल्पसङ्ख्यक आक्रमणहरूबाट यो कुरा प्रस्ट छ। देश अशान्तिको मुख्य कारण मुसलमान समुदायलाई मानिन्छ। केवल आरएसएस मात्र होइन। बहुसङ्ख्यक देशवासी नै यही प्याटर्नमा सोच्छन्। अहिले घृणाको राजनैतिक हावा हाबी छ। बुनियादी मुद्दाहरूमा प्रश्न उठाउन साथ, देशको शासकवर्गले प्रश्नकर्तालाई देशद्रोहीको उपाधि दिने गर्छ। त्यति मात्र होइन। राष्ट्रद्रोहको मुद्दा पनि टाउकोमा थोपी हाल्छ। फेसबुकमा लेख्दा घर घर पुलिसको वारन्ट पुग्छ। यस्तो स्थितिमा देशको गणतान्त्रिक परिवेश कहाँ पुगिसक्यो आफै मूल्याङ्कन गर्नुहोस्। 
एसोसिएसन फर डेमोक्रेटिक राइट्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार, 17औं लोकसभा चुनावमा निर्वाचित 43% सांसदहरूविरुद्ध आपराधिक मुद्दाहरू छन्। ती मुद्दाहरू मध्ये बलात्कार, हत्या, नारी हिंसा, ज्यानमारा आक्रमण जस्ता गम्भीर आरोपहरू छन्। जसमा घोषित मुद्दाहरू 14% छन्। 2009 मा 30% सांसदहरू विरुद्ध यस्ता मुद्दाहरू थियो भने, 2014 मा 35% थियो। यस चोटि 40% को आँकडा पनि पार गरेको छ। 
के त्यसो भए यो देशको संसद् यस्ता अपराधीहरू लुक्ने ठाउँ भइसक्यो त? के देशको वर्तमान संसदीय राजनीति अपराधीहरूले सञ्चालन गरिरहेका छन् त?
विपक्षी दलहरूमा पनि यस्ता अपराधिक मुद्दाहरूमा परेका सांसदहरूको नाम पाइन्छ। काँग्रेसको 27 जन अर्थात् 57% सांसदहरूको नाममा यस्ता अपराधिक मामिलाहरू दर्ता छन्। जनता दलको 18 जना अर्थात् 81%, डीएमके-को 10 जना अर्थात् 43% अनि तृणमूल काङ्ग्रेसबाट 9 जना अर्थात् 41% सांसदहरू क्रिमिनल लिस्टमा छन्। भाजपाको 116 सांसदहरू अर्थात् 39% को नाममा क्रिमिनल केसहरू चलिरहेको छ। आपराधिक मामिलामा संलग्न व्यक्तिहरू निर्वाचित बनेर संसद् पुग्नु भनेको साधारण कुरा होइन। यसैले अपराधीहरूको हातमा छ अहिलेको संसदीय व्यवस्थाको भविष्य। यी नै अपराधीहरू हुन् अम्बानी, अदानीहरूका मित्र। 
क्रिमिनलहरूले सञ्चालन गरिरहेको देशमा मारपिट र आक्रमण हुनु निश्चित छ। गणतन्त्रको उलङ्घन भईरहेको छ। ठाउँ ठाउँमा जनताको आक्रोश आन्दोलका रूपमा अघि आइरहेका छन्। सत्ताले पुलिस बल लगाएर आफ्नै जनतामाथि लट्ठी चार्ज गरिरहेका छन्। गोली चलाइरहेका छन्। रोजगारको अभावमा युवाहरू बेहाल छन्। भारत स्वतन्त्र भएपछि पहिलो पल्ट बेरोजगारी बढेर 7% पुग्न लागेको छ। शिक्षा निजीकरण कुनै नयाँ कुरा होइन। स्वास्थ्य व्यवस्था नाफाखोरी व्यवसाय बनेको छ। यस्ता अनेकौँ वुनियादी मुद्दाहरू छन्। शासकवर्गलाई यी जम्मै मुद्दाहरूबारे कुनै सरोकार नै छैन। विपक्षी दलले पनि आफ्ना मुद्दाहरू यस्तै प्रकारले तयार गरेका छन्। पोपुलिज्ममाथि उभिएको राजनीतिले जनताको बुनियादी समस्याहरू कहिले समाधान गर्न सक्दैन। कुनै प्रकारको जनाकांक्षालाई पूर्णरूपले न्याय दिन सक्दैन। त्यसैले यी सबै समस्याहरूको दोष मुस्लिम, दलित, आदिवासी, जनजाति, रोहिङ्ग्या, पाकिस्तान, बङ्गालादेश, चीनमाथि डाइभर्ट गरिन्छ। 
दलितहरूबिना यो समाज कुनै पनि रूपले चलन सक्दैन। तर, यो हिन्दु वर्ण विभाजनले गर्दा दलितहरूमाथि अत्याचार गरिन्छ। एउटै कुवाबाट पानी भरे कुटपिट गरिन्छ। हत्या गरिन्छ। स्कुल पढ्ने उच्च वर्णको साथीलाई दलित विद्यार्थीले मिठाई दिए। ती दलितको कुटपिट हुन्छ। हत्या हुन्छ। कति सजिलो छ हिन्दुत्वको नाममा हत्या गर्नु। यही राजनीतिलाई प्रोत्साहन दिँदै देशको राजनीति चलाइरहेका छन् मोदीपन्थीहरूले। आरएसएसको विचारधारा अपनाएर बौद्धिक बनिरहेका छन् हाम्रातिरका उग्रजातीवादीहरू। 
मुसलमान समुदायका निम्ति त यस देशमा जिउन नै गाह्रो भइसक्यो। धेरैलाई यो कुरा पच्दैन होला तर उत्तरप्रदेशका मुस्लिम समुदायका मानिसहरूले भनेका थिए- ‘अब 2019 मा बीजेपीले भोट जिते हामी यस ठाउँ छोडेर गए नि हुन्छ’। बीजेपीले भोट जित्यो। बृहत् आँकडाले। ती चिन्तित अल्पसङ्ख्यक मुसलमानहरूमा के बितिरहेका होलान्? कसैलाई पर्वाह छैन। गुजरातमा दलित परिवारलाई ‘भारत माताकी जय’ भन्न लगाए। दुइसय जना कट्टर हिन्दुहरूले उनीहरूलाई कुटपिट गरे। भिडियो बनाइयो। इन्टरनेटमा सार्वजनिक गरियो। दिनहुँ घटिरहने यस्ता घटनाहरू सामान्य भइसकेछ। मारपिट, हत्या, दङ्गा, धार्मिक कट्टरवाद, सबै ठिक ठाक चलिरहने मनोरञ्जन झैँ भइसकेको छ। अब देशको जनता संवेदनशील रहेनन्। देशको ठुलो जनसङ्ख्या फासीवादी राजनीतिको चपेटामा परिसकेका छन्।
यो घृणाको मनोविज्ञान हरेक घरहरूमा विकसित भइरहेका छन्। हरेक क्षेत्रमा हाबी भइरहेका छन्। जस्ता हिंसात्मक राजनीतिलाई प्रोत्साहन दिने व्यक्तिहरू खोज्न टाढा जानु पर्दैन। आरएसएस/बीजेपीको फासीवादी राजनीतिलाई ग्रहण गर्नेहरू प्रत्येकले हातमा तरवाल बोकेका हुँदैनन्। यी सबै हाम्रा छेउछावैका आफन्तजन, इष्टमित्र, साथी-भाइ, दिदी-बहिनी, छिमेकीहरू नै हुन्। पुलिस अधिकारीको हत्या गरेको आरोपमा संलग्न प्रमुख आरोपी प्रज्ञा ठाकुरलाई जिताउने भोपालकै जनता हुन्। 11 जनालाई शहीद बनाउँदै गोर्खाल्याण्डको आवाजलाई मार्ने सीआरपीएफ-को टाउकेको कटपुताली राजु विष्टलाई जिताउने पनि यही दार्जिलिङकै जनता हुन्। मदन तामाङको हत्याकाण्डमा नाम आएको गुटलाई फेरि पहाडमा ल्याउने यहीकै जनता हुन्। योगी आदित्यनाथ, जसले आफ्ना जनसभामा मुस्लिम नारीहरूलाई बलात्कार गर्ने कुरा राख्दा जनताले सिटी मार्छन्। त्यस्ता कट्टरवादीहरूको हातमा यस देशको धरातल उभिएको छ। अहिलेको भारत अरू अल्पसङ्ख्यक समुदायहरू विरुद्ध घृणामा उभिएको देश हो। खुन खराब, मारपिट, दादागिरीमा उभिएको देश। जहाँ विपक्षी पनि कट्टरवादकै भाषामा उभिएका छन्। 
कट्टर हिन्दूहरूको देश, न्यायप्रेमी भारतवासीको देश होइन! फासीवादी देश, गणतान्त्रिक देश होइन! घृणामा उभिएको देश, एकवद्धतामा उभिएको देश होइन!

No comments:

Post a Comment