प्रदीप लोहागुण
[ पहल-द्वारा आयोजित पहिलो र दोस्रो चरणको पैदलयात्राको अनुभव ]
कुनै लेखकले भनेका छन्— ‘तिमी मेरा अघि–अघि नहिँड़ कि म तिमीलाई पछ्याउन नसकुँला, तिमी मेरो पछि-पछि पनि नहिँड़ कि म तिमीलाई नेतृत्व गर्न नसकुँला । हामी सँग-सँगै हिड़ौं र सँगै लक्ष्यमा पुगौं ।’
अलग राज्यको सङ्घर्षमा सड़कमा ओर्लिएका जनता र यो जनान्दोलनलाई नेतृत्व गरिरहेका दलहरू सँग-सँगै हिँड़्ने प्रतिबद्धता हो ‘पहल सांस्कृतिक अभियान’ । हामी संस्कृतिकर्मीहरु कुनै राजनैतिक दलको नेताको पछि लागेर हिड़्न सक्दैनौं, न कुनै दलको झन्डा बोकेर हिड़्न सक्छौ । हामी राज्याकांक्षी जनतालाई हाम्रो पछि लागेर हिड़ौ पनि भन्न चाहँदैनौ । बस् यति नै भन्छौं, न्यायको यो लड़ाइँमा हामी सँग-सँगै हिड़ौ।
कवि-लेखक, सर्जक र संस्कृतिकर्मीहरु स्वभावले नै सत्ता र संस्थापनको विरोधी हुन्छन्। उनीहरूको सृजनामा कुनै न कुनै रूपमा सत्ता र संस्थापनले आमजनताको हक अधिकार विरुद्ध गरिराखेको जालझेल र शोषण-उत्पीड़नविरुद्ध आवाज उठाइरहेका हुन्छन् । फरक यति मात्र हो कि कसैले यो विद्रोहको आवाज अलिबढ़ी मुखर भएर उठाइरहेका हुन्छन् त कसैले सुस्तरी उठाइरहेका छन् । अहिले ‘पहल सांस्कृतिक अभियान’- मा सामेल कवि, सर्जक र संस्कृतिहरुले निरन्तर यो विद्रोहको आवाज उठाउदै नै आएका थिए, यति बेला आएर विद्रोहको यो स्वर अझ बड़ी मुखर र चर्को भएको छ ।
पहाड़का विद्यालयहरूमा तेस्रो भाषाको रूपमा बङ्गला भाषा अनिवार्य गर्ने पश्चिम बङ्गाल सरकारको शिक्षानीति विरुद्ध उठेको प्रतिवादको स्वरले शिथिल भइसकेको गोर्खाल्याण्डको आवाजलाई फेरी एकपल्ट गर्जनमा परिणत गरिदियो। सोसल-साइटमा राज्य सरकारको विरोध गरिरहेका राज्यकांक्षी जनता स्वतःस्फूर्त सड़कमा ओर्ले । अब भाषाको मुद्दा गौण भएर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा फेरि एकपल्ट बहसको सतहमा देखा परेको छ । जनताले स्व:स्फूर्त आन्दोलनको बाटो समातेको यो घटना वास्तवमा बङ्गला भाषा अनिवार्य गर्ने राज्य सरकारको नीतिको प्रतिवाद मात्र चाहिँ होइन । वास्तवमा यो घटना एउटा बहुसङ्ख्यक जातिले एउटा अल्पसंख्यक जातिसत्तामाथि गरिरहने उत्पीड़न, दमन र भेदभावको विस्फोटन हो।
बहुजातीयता र बहुसंस्कृतिको मिक्षणबाट निर्माण भएको यो देशको राष्ट्रिय चिन्हारीको फर्मेटदेखि किनारामा पारिएको एउटा सीमान्तकृत जातिको पहिचान सङ्कटको निकास खोज्ने सङ्घर्ष हो यो आन्दोलन। राज्यसत्ताले आफ्नो मशिनरी र बल प्रयोग गरी यो गणतान्त्रिक र न्यायपूर्ण सङ्घर्षलाई दमन गर्ने कोसिस गरेपछि जनताको आक्रोश र आवेगले पश्चिम बङ्गाल सरकारको राज्य विभाजन हुननदिने टेकलाई कठोर चुनौती दियो । गणतान्त्रिक पद्धतिबाट जुलुस, धर्ना, र प्रदर्शनमार्फत राज्य आतङ्कको प्रतिवाद र अलग राज्यको दाबीमा आन्दोलन गरिरहेका आम जनतामाथि गोली प्रहार गरी बर्बरतापूर्ण अत्याचार शुरु गरेपछि अहिले गोर्खाल्याण्डको मुद्दा राजनैतिक दलहरूको मेनिफेस्टोबाट निस्केर जनताको हृदयमा पुगेको छ । जनताले यतिखेर यो मुद्दालाई यसरी अङि्गकार गरेका छन् कि यसको निम्ति उनीहरू ‘गर कि मर’- को स्थितिमा पुगेका छन्।
आफ्ना सपना र आकाङ्क्षा प्राप्तिका लागि जनता सड़कमा ओर्लेर प्राणको आहुति दिन तयार रहेको यो निर्णायक सङ्घर्षको बेलामा कवि, सर्जक र संस्कृतिकर्मीहरु चुपचाप बस्नु भनेको राज्य सत्ताको क्रुर दमनकारी चरित्रलाई मौन समर्थन जनाउनु जस्तै हो । जनताको आकाङ्क्षालाई आफ्नो सत्ता-शक्तिको बुटले कुल्चिन खोज्ने राज्यको तृणमूल सरकारको हैकमवादी शाषणको प्रतिवाद जनाउन हामी पहल सांस्कृतिक अभियान लिएर सड़कमा आएका हौ। सृजनात्मक रूपमा हामीले राज्य सरकारको दमन र उत्पीड़नको प्रतिवाद त जनाउँदै छौ नै, राज्यप्रतिको यो सङ्घर्षमा जनता सँगै सड़कमा पुगेर उनीहरूलाई उत्साह र ऊर्जा प्रदान गर्ने काम पनि गरिरहेका छौ ।
राज्य आतङ्क विरुद्ध अनि गोर्खाल्याण्डको पक्षमा पहल समूहले अहिलेसम्म दुइचरणको पैदल यात्रा सम्पन्न गरिसकेको छ।
हामीले १९-२१ जुनसम्म कालेबुङदेखि दार्जीलिङसम्म पहिलो चरणको पैदल यात्रा सम्पन्न गर्यौँ । त्यसपछि २६-२८ जुनसम्म जोरबंग्लोदेखि सुकुनासम्मको दोस्रो चरणको पैदलयात्रा पुरा गर्यौँ । दुवै चरणको पैदल यात्राको क्रममा हामीसँग कवि-लेखक, गायक-संगीतकर्मी, पत्रकार, ऐनजिवी, अधिकारकर्मी, चलचित्र निर्माता, स्वतन्त्र फोटोग्राफर लगायतका कलाकर्मीहरु जोड़िएका थिए । दुवै चरणको पैदल यात्राको क्रममा कतै हामीले जनतालाई ऊर्जा र उत्साह दियौं, कतै हामीलाई जनताले उत्साह र ऊर्जा दिए । भारतमा गोर्खाहरुले गरिरहेको चिन्हारिको सङ्घर्षको यात्रामा शायद यो पहिलो मौका थियो कि सर्जक र संस्कृतिकर्मीहरु पनि सङ्गठित हिसाबले सड़कमै ओर्लेर जनतासँग साहित्यिक- सम्वाद र वैचारिक विनिमय गरिरहेका थिए। हामी संस्कृतिकर्मीहरुका लागि त यो पहिलो सुखद अनुभूति थियो नै, गोर्खाल्याण्डप्रेमी जनताका लागि पनि यो पहिलो अनुभव थियो शायद। एक जना कवि, एक जना संगीतकर्मी अनि एक जना सर्जकका रूपमा हामीले देखेको प्रतिबद्धता हामीले आत्मसात गरेको जिम्मेवारीबोध र हामीले निर्वाह गरेको आफ्नो अंशको भूमिकाको गठजोड़़ हो पहल सांस्कृतिक अभियान। हामीले यो पैदलयात्रामा के अनुभव गर्यौ भने जनभावना भन्दा माथि केही र कोही नहुदोरहेछ । राजनैतिक नेतृत्वले त जनआकांक्षा र जनभावनालाई प्रतिनिधित्व मात्र गर्ने हो, संस्कृतिकर्मीले त जनभावनालाई कलात्मक तरिकाले मुखरित मात्र गर्ने हो । वास्तवमा सर्वोपरि शक्ति भनेको त जनभावना नै रहेछ।
हाम्रो पैदलयात्राको उद्देश्य राज्य आतंकको विरोध गर्ने अनि गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई उत्साह र ऊर्जा दिनु मात्र पनि होइन। हामीले हाम्रा गणतान्त्रिक र सांस्कृतिक मूल्यहरूको स्थापना र रक्षाको लागि पनि सचेत छौं। हामीले यसकारण पैदलयात्राको क्रममा गरिएको सम्पूर्ण सम्बोधनमा अलग राज्यको लड़ाईलाई न्याय र अधिकारको लड़ाई पनि भनी रह्यौं। अनि यो आन्दोलनलाई उग्र-जातीय अनि साम्प्रदायिक नबनाउन आन्दोलनकारीहरूलाई आग्रह गरी रह्यौं। किनभने हाम्रो लड़ाई बङ्गाली जाती विरूद्ध होइन, राज्यसत्ता विरूद्ध हो। धेरै न्यायप्रिय बङ्गाली साथीहरूले हाम्रो यस लड़ाईलाई भौतिक, नैतिक र बैचारिक हिसाबले साथ-समर्थन दिईराखेका छन्। यसको ज्वलन्त उदाहरण हो हाम्रो सांस्कृतिक अभियानमा प्रत्यक्ष जोड़िएका साथी शमीक चक्रवर्ती। वामपन्थी विचारधारालाई अंगीकार गरेर हिड़्ने शमीक चिया मजदुरहरूका सङ्घर्षसित संलग्न छन् र २००८ मा गोर्खाल्याण्ड आन्दोलनमाथि एक बङ्गला/अंग्रेजी वृत्तचित्र बनाउने टोलीका सक्रिय सदस्य हुन्। पैदल यात्राका सहयात्री कवि सुभाष सोताङले आफ्नो हरेक सम्बोधनको क्रममा शमीकको योगदान र भूमिकाको चर्चा गर्न भुलेनन्, र यो लड़ाई बङ्गाली जाती विरुद्धको लड़ाई होइन भन्ने चर्चा राख्दा सबै ठाउँमा नै जनताले यसलाई उत्साह र आदरसाथ ग्रहण गरे। जनताका गणतान्त्रिक सुझबुझ र उदार दृष्टिकोण हामीले प्रत्यक्ष गर्यौं।
पैदल यात्राको क्रममा ठाउँठाउँमा भेटिएको जनता कुनै न कुनै राजनैतिक दलको समर्थक त थिए नै होलान्। तर हामी माथि पनि उनीहरूको आशा र अपेक्षा कम छैन। ‘पहल’ सांस्कृतिक समूह अहिलेको ताजा परिस्थितिमा आन्दोलनको ड्राइभिंग फोर्स नभए पनि डाइरेक्टिभ फोर्स चाहिँ हो। सायद जनताले पनि यति कुरा बुझीसकेका छन् होला। मलाई सम्झना छ तीन माइलमा मैले आफ्नो सम्बोधनको क्रममा राज्यसत्ताको दमन र उत्पीड़नविरुद्ध मात्रै आवाज उठाइन, तर गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेका नेताहरूलाई पनि जनभावना विपरीत जान नहुने खबरदारी दिए। मैले यसो भन्दै गर्दा जनताले जाहेर गरेको प्रतिक्रियाले अनुमान लगाउन सकिन्छ की यसपाली धोका भए जनताले आफ्नै नेतृत्व विरूद्ध पनि विद्रोह बोल्नेछन्। कवि-लेखक सुभाष सोताङले आफ्नो प्रत्येक सम्बोधनमा दुई लाइनलाई निकै जोर दिएर भने। हामीलाई राज्य जस्तो व्यवस्था होइन, राज्य नै चाहिन्छ अनि आमा लिन हिँड़ेका नेताहरूले आमा नै लिएर आएको हुनुपर्छ, छेमा ल्याएको हुनुहुँदैन। उनी यसो भन्दा जनताको थप्पड़ीको गड़गड़ाहटले उनको वक्तव्यलाई अन्तरबाट समर्थन जनाएका थिए।
हाम्रो समुहले बाटोमा हिँड़्दाखेरि जुन गीतहरू गायौं, जुन कविताहरू बाचन गर्यौं, त्यसमा जातीय उन्मुक्तिको गीतहरू बाहेक आम खटिखाने मानिसहरूले झेलेको दुख र त्यसबाट मुक्ति खोंज्ने गीतहरू पनि थियो। लालीगुराँस समुहका भाइबहिनीहरूले ती गीतहरू गाउँदा, साथी छेवाङले कराएर ‘इन्कलाब जिन्दाबाद’ स्लोगन भट्टाउँदा सबैजनाले नै त्यसमा सहभागिता दिंदै थियो। पेशोकदेखि लिएर बाटोको दुवै पट्टी चिया बगानले भरिएको हो। त्यहाँबाट छिर्दा यी गीतहरू यस्तो आन्दोलनको बेलामा पनि निकै सान्दर्भिक लाग्दै थियो। हाम्रो पहिलो रातको बसाईको बन्दोवस्त गरका थिए पेशोक चिया बगानका मजदुर-कर्मचारीहरूले। उनीहरूसँग बातचित गर्दाखेरी जब उनीहरुले गोर्खाल्याण्डको मागसँग चिया मजदुरहरूको लागि निम्नतम ज्यालाको माग पनि जोड़्ने आग्रह व्यक्त गरे, तब कस्तो गोर्खाल्याण्डको सपना आम मानिसहरू बोकिरहेका छन् त्यसको झझल्को पनि आयो। पहिचानको स्वीकृति त चाहिन्छ नै, त्यससित मजदुरहरूमाथिको हेपाइको अन्त, युवाहरूको रोजगार, विद्यार्थीहरूका शिक्षा, नारीहरूका मर्यादाको जीवनको चाहनाहरू पनि छुट्टै राज्यको सपनासित गाभिएकै छ भनेर राम्रोसँग हामीले महसुस गर्यौं।
कालेबुङबाट दार्जीलिङसम्म अनि जोरबंग्लोबाट सुकुनासम्म जनताका गीत गाउँदै हिड़्दा, जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने कविता सुनाउदै हिड़्दा र जनताको आवाजलाई मुखर पर्ने भाषण दिँदै हिड़्दा हामीले ठाउँ-ठाउँमा पाएको स्वागत, सत्कार, माया र सम्मानले हामीलाई एकै चोटि थुप्रै अनुभूतिहरु दिए। कतै हामी आफूले गरेको काम सँग गर्वित भयौ भने कतै जनताको माया र आत्मियताले भावुक र आत्मविभोर पनि भयौ। कालेबुङको ९, ७ माइल, ३ माइल, टिस्टा बजार, पेशोक, लप्चुबजार, ६ माइल, ३ माइल, जोरबंग्लो, घुम, दार्जीलिङको जनताले ठाउँ-ठाउँमा बसेर हामीलाई खदा लगाइदिए, चिया खाजा खुवाए । बाटोमा खानु भनेर सामल -तामाल पठाइदिए । वास्तवमै भन्ने हो भने हामी यति भव्य स्वागत र सत्कारका हकदार थिएनौ। हामी त यो सृजनात्मक पैदल यात्रा गरेर केवल आफ्नो भागको जिम्मेवारी पालन गरिरहेका थियौ। तैपनि जनताले हामीलाई अपार माया दिए। हामीलाई स्वागत - सत्कार गरेर चिया - खाजा खुवाएर जनताले हाम्रो थकित शरीरमा प्राण मात्र भरेका थिएनन तर गोर्खाल्याण्डको आर-पारको यो लड़ाइमा उनीहरूले पनि आफ्नो उत्साह सहभागिता र कटिबद्दता जाहेर गरेको सङ्केत थियो यो। दुइचारणको पैदल यात्राको क्रममा केही यस्ता हृदयस्पर्शी घटनाहरूको पनि अनुभव भयो जसले मलाई जीवनभरी सुखद अनुभूतिको मिठो उद्वेलन दिइरहने छ। कालेबुंगबाट यात्रा शुरु गरेर साँझ पेशोकमा बास गरेका थियौ। भोलिपल्ट बिहान पेशोकबाट घुमसम्मको यात्राको क्रममा लप्चुबजार कटेर केही माथि पुग्दा बाक्लै पानी पर्यो । समूहका साथीहरुमध्ये केहीसँग छाता थिएन। हामीले एउटा दोकानमा हरियो प्लास्टिक माग्यौ। दोकने दिदीले केही मिटर प्लास्टिक भटाभट काटेर दिइन्। हामीले कति कर गर्दा पनि उनले त्यसको दाम लिनै मानिनन्।
लामाहट्टा आउनअघि बाटोमा सागसब्जी बेच्ने एउटी खीनौरी दिदीलाई सम्झिन्छु जसले केही अघि बढ़िसकेको हाम्रो समूहलाई पछिबाट कराउदै आएर रोकिन् भनिन् भाइ बहिनीहरू आउनुहोस तपाईहरु यो गाजर र बिट लिएर जानु। नजिक पुगेर देंखे उनी अलिकति गाजर र केही बिटहरु राखेर बेच्न बसेकी थिइन। हुन त हामी पेशोक र लप्चुबजारका जनताले दिएको चिया-खाजा टन्न खाएर अघि बढ़ेका थियौ तर ती दिदीले देखाएको हार्दिकता र मायालाई सम्मान गरेर हामीले गाजर र बिट लियौ। जोरबंग्लो पुगुन्जेलसम्म हामी ज्यादै लखतरान भैइसकेको थियौ। गीत गाउदै साँझपख जोरबङ्गला पुग्दा एक जना श्यामवर्णका दुब्लो युवकले छेवान्गलाई जुरुकै बोकेर घुमायो।त्यो क्षणको अनुभूति यस्तो थियो मानौ हामी दुश्मनको किल्ला फत्ते गरेर फर्केको कुनै साहसी योद्धाहरु हौ। घुम स्टेसन पुग्दा बेलुकी साढ़े सात भैसकेको थियो। घुमका जनताले हामीलाई अपरान्ह २ बजिदेखी पर्खेर बसेका थिए। ठाउँ ठाउँमा सांस्कृतिक कार्यक्रम गर्दै हिड़दा हामी निर्धारित समयमा घुम पुग्न सकेनौ। निर्धारित समयभन्दा निकै अवेरमा पुग्दा पनि त्यहाँ पर्खेर बसेको जनताको उत्साहमा कुनै कमी थिएन। अहिलेसम्मको यात्राको सबैभन्दा धेरै सङ्ख्यामा जनता पाउँदा हाम्रो उत्साह पनि दोब्बर भएको थियो। घुममा हामीलाई वासको व्यवस्था गरिएको ठाउँबाट खानको बन्दोवस्त गरिएको ठाउँमा लामो दुरीमा थियो। रेल्वे स्टेशनमा सांस्कृतिक कार्यक्रम सकेर हामी खाना खानु जाँदा पनि त्यो लामो दुरी तय गरेर जनता हामीसँग-सँगै आएका थिए।
दोस्रो चरणको यात्रामा हामी खर्साङबाट पंखाबारी रोड भएर सुकुना झर्यौं। खर्साङ स्टेशनमा बिहान कार्यक्रम प्रस्तुत गरेर हिँड़्दा धेरै मानिसहरू हामीलाई साथ दिँदै तलसम्म आए। पंखाबारी रोड छिर्दा पानी पर्न थालिसकेको थियो। मैले र प्रनेश भइले एउटै छाता ओड़ेको थियौ। हामीसँग छुट्न अघि एक सज्जनले आफूले ओड़ेको छाता हामीलाई लिएर लिएर जान निकै आग्रह गरे। तथापि हामीले उनको आग्रहलाई सम्मानपुर्वक अस्वीकार गर्यौँ। किनभने प्रनेश भाइसँग पनि छाता थियो। उ केहिबेर मसँग ओत लागेको थियो। यात्राको क्रममा आत्मियताका, हार्दिकताका, प्रेमका र सौहार्दताताका यस्ता कैयौँ सानाठुला घटनाहरूले हामीले बाँकी जीवनका निम्ति मिठा सम्झनाहरू मात्र छोड़ेन तर धेरै कुराहरू सिकायो, सिक्न प्रेरित गर्यो।
हामीलाई थाहा छ, हामीले रोजेको बाटोमा जनताको माया र सद्भाव मात्र छैन, प्रशासनको निगरानी पनि छ। न्यायप्रेमी जनताको साथ र समर्थन मात्र छैन, राज्यसत्ताको गिद्धे दृष्टि पनि छ। गणतान्त्रिक अधिकार र मूल्यका रक्षकहरूको एक्यबद्धता मात्र छैन, स्थापनाको कुटनैतिक चलखेल पनि छ। भारतीय गोर्खाहरूले देखेको गोर्खाल्याण्डको सपना एउटा सिमान्तकृत जातिले बोकेको उग्र जातीय चेतको मुद्दा मात्र होइन, विश्वकै सर्ववृहत् गणतान्त्रिक देशमा राज्यसत्ताले नियोजित रूपले किनारमा पारेको जतिको न्यायको लड़ाई पनि हो। यो देशको निर्माणमा बराबरको योगदान पुर्याउने एउटा अपमानित जातिले सम्मानपूर्वक बाँच्न पाउनु पर्ने अधिकारको सङ्घर्ष पनि हो।
अब गन्तव्यसम्म नपुगुन्जेल हिड़्नेछौं हामीले रोजेको बाटो...
No comments:
Post a Comment