Tuesday, July 11, 2017

गोर्खा जाति गठनको इतिहास

कपिल तामाङ


गोर्खा जातिको राष्ट्रियताको प्रश्न पुस्तौ देखि चलिआएको छ र पछि दार्जीलिङ पहाड़मा यो छुट्टै राज्यको मांग लिएर धनीभूत भएको छ। तर सबभन्दा पहिला यो याद गर्नु पर्छ कि 'गोर्खा' शब्द आफैको उत्पत्ति लिएर धेरै विवाद र शङ्काहरू छन्। गोर्खाहरूको जातीय निशानको पछाड़ि यस जातिको आनुवंशिकता, परिवार, गोत्र, भाषा र अरू एथनिक निशानहरू मात्र नभएर औपनिवेशिकता पनि रहेको छ। भारतमा पहिचानको सङ्कट गोर्खाहरूको निम्ति नयाँ कुरो होइन। हामी मंगोलयेड हो कि आर्य? हामी रैथाने हो कि सरुवा? हामी भारतीय हौँ कि नेपाली? अथवा गोर्खा र नेपालीमा के भिन्नता छ? त्यसैले पौराणिक इतिहासको पाना पल्टाएर हेरौं 'गोर्खा राष्ट्रियता'को उत्पत्ति।
पहिलो कुरा 'गोर्खा' शब्दको उत्पत्ति लिएर एकमत छैन। यसको धेरै पुरानो इतिहास छ, जुन कुरा हामी पछि गर्नेछौँ। १५५९ को गोर्खा वा शाह (राजपुत) साम्राज्यको स्थापना पछाड़ि, त्यहाका वासिन्दाहरूलाई यस नामले बोलाउन थालियो। अङ्ग्रेज-नेपाली युद्ध (१८१४) हुन भन्दा पहिला 'खस' मानिसहरूलाई गोर्खा वा गोर्खाली नामले बोलाइने गरिन्थ्यो। अरू मंगोलयेड जनजाति जसलाई 'किराती' भनिन्छ तिनीहरूलाई 'खासेतार' भनिन्थ्यो।
भारतमा 'गोर्खा' शब्दलाई विशेष जातिगत संज्ञा दिइयो विशेष गरी १९४३ मा सर्वभारतीय गोर्खा लिग स्थापित भएपछि। त्यस पश्चात् भारत स्वतन्त्र हुन अघि र पछि यस शब्दको उपयोग राजनैतिक रूपमा हुन थाल्यो। 'गोर्खा' र 'नेपाली' दुवै शब्द एउटै अर्थमा समान रूपले चलाइए पनि यसको प्रयोग लिएर धेरै विवादहरू रहेको छ। यो विवाद पचासको दशकमा पहिलोपल्ट सुन्नमा आयो अविभक्त कम्युनिस्ट पार्टी अफ इंडियाका नेता गणेशलाल सुब्बा र अखिल भारतीय गोर्खा लिगका नेता रामकृष्ण शर्मामा यस विषयलाई लिएर विवाद चल्यो। पछि गएर GNLF को सभापति सुवास घिसिंगले 'गोर्खा' शब्दको पक्ष लिनलाई 'नेपाली' शब्दलाई त्याग गरेको देखि यो विवाद झनै थर्कियो।
यस नेपाल वा नेपाली शब्दको उत्पति विषय खोज गर्दा स्थानीय सूत्रबाट यो पत्तो लाग्छ कि उहिलेनै 'ने' नाम गरेको एक जना हिन्दु साधु पुरुषले पौराणिक युगमा आफैलाई काठमाण्डौंमा स्थापित गरेको थिएछ। त्यहीबाट 'नेपाली' शब्दको उत्पति भएको र यसको अर्थ चाहिँ साधुले रक्षा गरेको ठाउँ भयो (पाली भाषामा ‘पाला’ भनेको रक्षा) भयो। पछिलो वैदिक शास्त्र अथर्व वेद परिशिष्टमा (वेद-पछाड़िको अथर्व वेद सिरास उपनिषद) नेपाल शब्दको प्रथम उपयोग गरिएको छ र यसलाई ‘कम्बल निर्यात गरिने ठाउँ’को रूपमा देखाइएको छ। धेरैजना शोधार्थीहरूले फेरी 'नेपाल' शब्दको उत्पति 'नेपा' शब्दबाट भएको मान्छन् जसले नेवार साम्राज्यलाई इंगित गर्छ, जुन अहिलेको काठमाडौँ उपत्यका हो। पौराणिक संस्कृत सूत्रहरू (अथर्व वेद परिशिष्ट) अनि गुप्त बंशको पालाको लेखाइहरूमा यस देशलाई 'नेपाल' भनेर सम्बोधित गरिएको छ। शाह बंश अघाड़ी वर्तमान समयको नेवारहरू जो कि काठमाण्डौं उपत्यका र वरिपरिका बासिन्दाहरू हुन् तिनीहरूलाई 'नेपा-मी' भनेर भनिन्थ्यो। त्यसताका छरिएको नेपाल साम्राज्यलाई एकजुट बनाउनलाई पृथ्वी नारायण शाहले (गोर्खा राजा) 'नेपाल' शब्द प्रयोग गरेका थिए। यसैको निरन्तरतामा धेरैवाट सुधारहरू पछि यस देशको नाम 'नेपाल' भयो। अन्तमा देशको यही औपचारिक नामले 'नेपाल' र 'नेपाली'शब्दको महत्त्व बढ़ाइ दियो।
'गोर्खा' शब्दको बृहत् रूप हेर्दा यो शब्दले विशाल स्थानमा बस्ने जातीय प्रशाखालाई गाभेको छ। यसमा हिमालय, हिमालयको फेद र गङ्गाको तीरवर्ती स्थानमा बस्ने ककेसियन, खस र तिब्वती-बर्मेली 'किरात'हरूलाई गाभिएको छ।
यसोसले 'गोर्खा' शब्दले नेपालको एउटा विशेष ठाउँमा बसोबास गर्ने मानिसमात्र वा गोर्खेको चिन्हारी वा गोर्खाल्याण्ड माग्ने मानिसहरू मात्र बुझाउदैन। ब्रिटिशकाल देखि नै जसरी 'नेपाली' र 'भारतीय' भन्नाले स्वतन्त्र देशको अस्तित्व बुझाउछ 'गोर्खा' शब्दले भने त्यो भन्दा पहिलाको ऐतिहासिक महत्त्व बोकेको छ।
यसै सन्दर्भमा एकापट्टि ब्रिटिशकाल देखिनै स्वतन्त्रता सङ्ग्रामको चेतनामा तपिएको अहिलेको बङ्गलादेश वा पाकिस्तानमा बस्ने मानिसहरूमा डरलाग्दो भारतीय हुने भावना थियो भने अर्को पट्टि उत्तर-पूर्वीय स्थान तथा कश्मिरमा बसोबास गर्ने नागरिकहरूमा उक्त भावाना थिएन। यो भारत देश र यसका सिमाना चिरकाल देखिनै विद्यमान थियो भन्ने तथ्य त केवल शासकहरूको सुविधाको भनाइ मात्र हो। जसरी शासकहरूले बङ्गाली राष्ट्रियतालाई ‘बङ्गलादेशी’ र ‘भारतीय’ राष्ट्रियता साथै पन्जाबी जातिलाई ‘पाकिस्तानी’ र ‘भारतीय’ राष्ट्रियतामा बाँड़िदियो। त्यसरीनै गोर्खा जाती पनि ‘नेपाली’ र ‘भारतीय’ राष्ट्रियतामा विभक्त गरियो।
नेपालमा स-साना उपजातिहरू जस्तै नेवार, खम्बु, लिम्बु, शेर्पा, मंगर, गुरुङहरू छुट्टै छुट्टै इलाका आ-आफ्नो भाषा र संस्कृति लिएर बसे भने भारतमा, मुख्यतः चियाबगानले गर्दा, उपजातिहरूको मिश्रण भयो। यिनीहरू सँगै एउटै स्थानमा बसोबास गरे एउटै भाषा प्रयोग गर्न थाले। यसरी भारतमा लिम्बु, मंगर, नेवार गुरुङ, तामांग यहाँ सम्म कि नेपाली जातिमा पहिले नगनिएको लेप्चा र भुटिया जनजाति समेत एउटै नेपाली वा गोर्खाली चिन्हारीमा गाभियो। विभिन्न जनजातिहरूलाई एउटै चिन्हारीमा गाभ्ने काम धेरै जटिल प्रक्रियाद्वारा धेरै समय लगाएर भयो जसमा राजनैतिक स्वार्थनै सबैभन्दा बेसी थियो।
भारतको राजनैतिक प्रक्रियाले 'गोर्खा' चिन्हारीको स्थापना गऱ्यो। केही नयाँ शब्दहरूलाई हालिने प्रयास बेला बेला भइरह्यो जस्तै भारपेली (भारतीय-नेपाली) वा भार्गोली (भारतीय-गोर्खाली)। तरै पनि यिनीहरूले बृहत् समर्थन पाउन सकेनन् । नेपालमा 'नेपाली' र 'गोर्खाली' दुवैं शब्दको बराबर उपयोग गरिन्छ। औपचारिक नेपाली खबरकागजलाई अहिले पनि ‘गोर्खा पत्र’ भनिने गरिन्छ।
यसै कारणले धेरै जसो मानिसहरू गोर्खा शब्दले भारतीय चिन्हारीको काम राम्ररी गर्दैनन् भनी ठान्छन् भन्ने कतिपय मानिसहरू गोर्खा शब्दको प्रयोग निम्नतर काम गर्ने मानिसहरू जस्तै चौकीदार वा घरमा काम गर्ने इत्यादिलाई बुझाउनेको रूपमा गरिन्छ भनेर यस शब्दलाई नापसंद गर्छन्। नेपाल र तिब्बतको ज्ञाता G.Tucci को भनाइ अनुसार 'गोर्खा' शब्दको उत्पति 'गोरक्षा' बाट भएको हो जसको अर्थ 'गाईको रक्षा' हो। संस्कृतिका कतिपय शास्त्रहरूमा यही शब्दको बयान रहेको छ। हुन पनि ‘गोरक्षा’ र गोरखनाथ मान्ने हिन्दु धर्मावलम्बीहरूको १४-१५ औ शताब्दीमा उत्तर भारतीय क्षेत्रमा जस्तो प्रभाव थियो त्यस अनुसार अघिको अनुमान ठिकै होला भन्न सकिन्छ। तर नेपाल सम्बन्धी विशेषज्ञ हर्क गुरुङ भन्ने सूर्य विक्रम ज्ञवालीको विचारलाई महत्त्व दिन्छन्। हर्क ज्ञवालीले गोर्खा शब्द उहिलेको 'गोर्खा' भन्ने शब्दबाट आएको हो भनी लेखेका छन् जसको अर्थ हो 'कर उठाउने ठाउँ'।
'खस' जाति पहिला घुमन्ते गाई-बस्तु चराइ हिँड़्ने जाति थिए जो पूर्वीय युरोप वा एसिया माइनरको छेउ-छाउका ककेसिय स्थानबाट भारत उपमहादेशमा बसेका थिए। वास्तवमा 'खस' रू भारत-उपमहादेश पस्न अघि मध्य एसिया, इरान अनि अफगानिस्तानमा पसेका थिए पछि हिमालयको पाददेशमा बसोबास गर्न थाले। एक जमानामा खसहरूलाई भारपेली-आर्य मानिए तापनि वर्तमान शोधकर्ताहरू खसहरूलाई ककेसियनका सन्तान मान्छन् कारण यिनीहरू मध्ये आनुवंशिक समानता पाइन्छ। आर्यहरूको आक्रमणको समयमा खसहरूसंग तिनीहरूको युद्धको धेरै वटा दृष्टान्तहरू पाइन्छ।
खसहरूले 'मास्तो' भन्ने एउटा पुरातन धर्म पालन गर्थे जसमा तिनीहरू गोष्ठी विशेष देवता पुज्थे साथै पशुहरुको बलि पनि दिन्थे। खसहरूले त्यति बेला कुनै जाति प्रथा मान्दैन थिए जब आठौँ शताब्दीमा गुरु गोरखनाथको अनुमायी भएर यिनीहरू हिन्दुमा परिणत भए। त्यसपछि खसहरू विभिन्न जाति तथा उपजातिहरूमा विभक्त भए। तरपनि खस ब्राह्मणवादी जातिप्रथा र भारपेली-आर्य ब्राहमणवादी जातिप्रथामा धेरै भिन्नता थियो। प्रसिद्ध खस जातिहरू मध्ये केही हुन्— बाहुन, छेत्री, ठकुरी, सार्की, कामी, दमाइ अनि गाइने।
'किराती'हरू खासमा हिमालय अनि त्यसको फेदी साथै भारत उपमहादेशमा पर्ने गङ्गाको तटवर्ती इलाका बसोबास गर्ने गोष्ठी थिए। भारपेली-आर्यहरूले खस र किरातीहरूलाई एक समान रूपमा हेर्थे। मनुस्मृतिमा त झन् यी दुवैलाई जोड़ेर 'अपवित्र'को संज्ञा दिएको छ। किरातीहरू जिवात्मवादी र प्रकृतिवादी मानिसहरू थिए जसले यिनीहरूलाई सबैभन्दा पुरानो जाति बनाउछ। हिन्दु धर्ममा रहेको कतिपय तन्त्र-मन्त्र शिव र शक्तिको पूजा यही किरातीहरुको जीवात्मा र प्रकृतिवादी रीतिको उपज हो। वर्तमान समयमा भने किरातीहरूले आफ्नो उहिलेको धर्मलाई पूर्ण रूपले छोड़ेर हिन्दु, बौद्ध र ख्रिस्टीय धर्म अपनाउदै छन्। महाभारत र रामायणमा 'किराती'हरूलाई ‘सिंहको व्यवहार भएको तर निर्दोष आत्मा भएको मानिस’ भनेर वर्णन गरिएको छ भने राजाहरू 'किराती' सेना आफू पट्टि भए लड़ाइमा बलियो भएको भान गर्थे।
वर्तमान समयमा पहाड़मा २२ बाट किराती जनजातिहरू छन् जसलाई एकै साथ गोर्खा भनिन्छ तिनीहरू हुन्— राई, लिम्बु, याक्खा, सुनुव, नेवार, जिरेल, हायु, गुरुङ, मंगर, तामांग, भुजेल, थकाली, थामी, चेपांग, कागते, छन्साल अनि तराईमा दुरा, दनुवार, माझी, धिमाल र मेथे।
खस र किरातहरू धेरै पहिला देखि एक साथ मिसिएर आएर आजको गोर्खा जाति बनिएको हो... सबैभन्दा पहिला खसहरूले हिन्दु धर्म अपनाए अनि कड़ा जाति प्रथा पालन गर्न थाले। भारपेली-आर्यहरूले खसहरूलाई समातेर किरातीहरू समेतलाई हिन्दु बनाउन खोजे। किराती उत्पतिकै भएता पनि नेवारहरू खसहरूका सबै भन्दा नजिक रहेको हुनाले सर्वप्रथम यिनीहरू हिन्दु धर्ममा लागे साथै जाति प्रथा मान्न थाले जब कि अन्य किरातीहरू जस्तै- राई, लिम्बु, तामांग इत्यादिको खसहरू सँग त्यति साह्रो मेल मिलाप थिएन र यिनीहरूको हिन्दु हुने क्रम खुबै बिस्तारो छ। किरातीहरू अन्तमा हिन्दु भएत पनि यिनीहरूको पुरातन धर्म प्रकृतिवादी, जीवात्मावादी र बलि प्रथा रहिरह्यो। किराती र खसहरू पहिले एक आपस्तको घोर विरोधी थिए कारण खसहरू पशुपालन गर्ने जाति थिए भने किरातीहरू सिकारी थिए। महाभारतमा खस र किरातीहरू दुवै मिलेर कुरुहरूको पक्षमा लडेको दृष्टान्त छ।
यिनीहरूको भाषाको उत्पति पनि भिन्न छन्। खसहरू भारपेली-आर्य भाषा चलाउथे भने तिब्बती-बर्मेली भाषा किरातीहरू चलाउथे। कसैले देवनागरी लिपि चलाउछन् भने कतिले तिब्बती लिपि। अहिलेको ‘नेपाली भाषा’ वा ‘गोर्खाली’ वा ‘पर्वते भाषा’ भारपेली-आर्य भाषा परिवारको हो जसलाई ‘खस कुरा’ भनिन्छ। यो भाषा १७ सौ शताब्दीमा बाहुन- छेत्री जस्ता उच्च जातिमा सीमित थियो। पृथ्वीनारायण शाहले प्रथम पल्ट खस कुरालाई सबै जनतामाझ प्रचलित बनायो। एउटा ठुलो भू-भागलाई शासन गर्नको निम्ति एउटा साझा भाषाको आवश्यकता थियो तरै पनि भोट-बर्मेली भाषा परिवारका किराती जन-जातिलाई खस भाषा स्वीकार गराउन उनलाई निकै गाह्रो परेको थियो। नेपालमा जन-जाति छुट्टै छुट्टै ठाउँमा अवस्थित हुनाले जनतामा एक भाषा स्विकार्ने काम खुबै ढिलो भयो। तर सँगैमा दार्जीलिङको परिप्रेक्षमा एक भाषा मान्ने प्रक्रिया खुबै छिटो भयो र बिस्तारै खस भाषा यहाँको जनजीवनको बातचित र वाणिज्यको माध्यम भयो। किरातहरूको २९ वाट भोट-बर्मेली परिवारको भाषा छन् र धेरै जसो भाषाहरू बिस्तारै हराउदै जाँदै छन्। आ-आफ्नो भाषा भएता पनि एउटै भाषालाई ‘नेपाली भाषा’ मानेर चल्दैछन यहाँका गोर्खालीहरू।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...