शमीक चक्रवर्ती
सन्दर्भ : मातृभाषा दिवस
२१
फरवरी । अन्तर्राष्ट्रिय मातृभाषा दिवस। म बालखा छँदा यो दिन बङ्गला भाषा दिवस मात्रै
थियो। सन् १९९९-मा यूनेस्को-को घोषणा र त्यसपछि संयुक्त राष्ट्र सङ्घको सन् २००८-को अधिवेशनको स्वीकृतिले यो दिन अन्तर्राष्ट्रिय
मातृभाषा दिवस कहलायो। घोषित उद्देश्य थियो—
भाषागत र सांस्कृतिक विविधता अनि बहुभाषिकताबारे सामूहिक जागरूकता
निर्माण गर्नु।
सन् १९५२ -मा त्यसताका पूर्व पाकिस्तानमा (अहिले बङ्गलादेश) सरकारी भाषाको हिसाबले उर्दू लाद्ने षड़़्यन्त्रविरूद्ध
बङ्गला भाषालाई रक्षा गर्ने अभियानमा ४ -जना शहीद भएका थिए। यस देशमा पनि असमको बराक उपत्यकामा असमिया भाषाको जबर्जस्ती
अतिक्रमणविरूद्ध बङ्गला भाषाको निम्ति ११-जनाले प्राण गुमाएका थिए सन् १९ मई,
सन् १९६१-को
दिन। शासकको फरमानविरूद्ध आफ्नो भाषाको मर्यादा र प्रेम लिएर मानिसहरूको इमानदार प्रतिरोध
थियो यो। एकजना बङ्गलाभाषी हुनुको नातामा भाषा सङ्ग्रामको यो गौरवमय इतिहास लिएर गर्वित
छु म।
तर यो गर्व के केवल
बङ्गला भाषा लिएर मात्रै हो? कि
कुनै पनि मातृभाषा लिएर हो? अथवा
कसैको मातृभाषा रक्षा गर्न सङ्ग्रामको जोश लिएर हो?
आफ्नै भाषा लिएर मात्र गर्व महसुस हुन्छ हामीलाई, तर सबैको नै मातृभाषाको अधिकार छ, अनि त्यो अधिकार चाहिँ मेरो मातृभाषाको
अधिकारभन्दा कुनै हिसाबले कम होइन, त्यो
सत्य बुझ्न थुप्रैलाई गाह्रो पर्छ। अन्यान्य भाषाहरूको मामिलामा त्यस सङ्घर्षको स्पिरिटलाई
अनुभव गर्नु गाह्रो हुन्छ।
मेरो
मातृभाषा दिवस, अर्काको
मातृभाषा दिवस...
२१
फरवरीबारे मलाई थाहा थियो। तर विगतको केही वर्षमा दार्जीलिङ-तराई-डुवर्समा हिँड़िरहँदा के थाहा लाग्यो भने संयुक्त राष्ट्र सङ्घको घोषणा भए पनि
२१ फरवरीबारे अरू भाषाभाषीलाई उति थाहा छैन।
अर्कोतिर, २० अगस्टबारे मलाई थाहा थिएन। नेपाली भाषाको
सरकारी स्वीकृतिको दिन — ‘मान्यता दिवस’।
सन् १९९२-को २० अगस्ट भारतको संविधानमा नेपाली भाषाले
आधिकारिक भाषाको रूपमा मान्यता पायो। जसरी त्यसको निकैअघि,
सन् १९६१-मा
पश्चिम बङ्गाल राज्य विधानसभामा प्रमुख आधिकारिक भाषाको रूपमा नेपाली भाषाले मान्यता
पाएको थियो।
भाषाको
सङ्घर्ष, भाषाको मान्यता
त्यसताका
मुख्यमन्त्री विधानचन्द्र रायले दार्जीलिङ पहाड़मा बङ्गला भाषालाई जबर्जस्ती चालू गर्न
प्रयास गर्दा तीव्र जनविरोधको अगाड़ि झुकेर अन्तमा त्यतिबेला पहाड़का तीनवटा सब-डिभिजनको लागि आधिकारिक भाषाको रूपमा नेपाली
भाषालाई मान्यता (West Bengal Official Language
Act-1961) दिइएको छ। अखिल भारतीय स्तरमा मान्यता आयो सन् १९९२, २० अगस्टको दिन।
यसरी नै भारतमा अङ्ग्रेजी, असमिया,
बङ्गला, बोड़ो, डोगरी,
गुजराती, हिन्दी, कन्नड़,
कश्मीरी, कोङ्कणी, मैथिली,
मलयालम, मराठी, मैतेयी
(मणिपुरी), नेपाली, उड़िया,
पञ्जाबी, संस्कृत, सन्थाली,
सिन्धी, तामिल, तेलुगु र उर्दू – यी २३-वटा मान्यताप्राप्त सरकारी भाषा (२२-वटा आठौँ अनुसूचीअन्तर्गत र १-वटा थप अङ्ग्रेजी भाषा) हो।
राष्ट्रभाषाको
अफवाह, भाषा मान्यताको यथार्थ
उल्लेखनीय
छ, हिन्दी भारतको राष्ट्रभाषा होइन। भारतको
कुनै राष्ट्रभाषा छैन। यस्तो झूटो प्रचार प्रायः नै फैलाउन प्रयास चल्ने गरेको छ। अङ्ग्रेजी
अनि देवनागरी लिपिमा लेखिने हिन्दी सर्वभारतीय स्तरमा अधिकारिक कामको भाषा मात्रै हुन्।
त्यसरी नै यस राज्यमा
बङ्गला र अङ्ग्रेजीसाथै नेपाली, उर्दू, गुरूमुखी,
अलचिकी (आधिकारिक
रूपमा भनिन्छ, तर वास्तवमा अलचिकी सन्थाली भाषाको लिपि
हो), उड़िया, हिन्दी र हालैमा कुरूख र राजवंशी/कामतापुरी भाषाहरू पनि आधिकारिक भाषाको
मान्यता प्राप्त गरेका भाषा हुन्।
भारतमा जम्मा ८८०-वटा भाषाहरूमा बोल्ने चलन छ र तीमध्ये
सबै राज्य र केन्द्रशासित अञ्चलहरूमा केवल ३१-वटा आधिकारिक भाषाले मान्यता प्राप्त गरेका छन्।
इतिहासमा धेरै भाषा
हराएका छन्। टिकिरहेका भाषाहरूको अगाड़ि छ भाषा बचाउने चुनौति। वर्चस्ववादी भाषा-संस्कृतिको अतिक्रमणबाट आम भाषाले नझुक्ने
लड़ाइँ जारी छ।
भाषाको
द्वैत चरित्र
भाषा
शासकको हातमा दमनको अस्त्र हो, मान्छेको
हातमा लड़्ने हतियार।
जुन अङ्ग्रेजीलाई ब्रिटेनको
रानीले भारतमा साम्राज्य विस्तार गर्न हतियार बनाएर निर्यात गरेकी थिइन्, जुन भाषालाई लर्ड मेकलेले भारतीय पहिचान
बोकेका मानिसहरूको एक अंशलाई मनबाट ब्रिटिश बनाएर ब्रिटिश शासनलाई दह्रिलो बनाउने काममा
उपयोग गरेका थिए, त्यही
अङ्ग्रेजी नै आज धेरै जनताको लागि मनको कुरा अभिव्यक्त गर्ने भाषा हो, धेरैका लागि शासकविरोधी सिर्जनाको हतियार
हो। जुन हिन्दीलाई राष्ट्रभाषा हो भनेर हल्ला फैलाएर हिन्दी-हिन्दी-हिन्दुस्तानको पक्षमा प्रचारकहरूले आज देशका जनताको कैयौँ शताब्दीदेखि बनिएको
मूल्यलाई भत्काएर चक्नाचुर पार्न खोज्दैछन्,
त्यो हिन्दी नै फेरि देशको विस्तृत क्षेत्रमा मानिसहरूको प्रतिवाद-प्रतिरोधको हतियार हो।
यसरी, भाषा द्वैत चरित्र लिएर टिकिरहन्छ। शासकको
हातमा एक प्रकारले, आम
जनताको हातमा अर्को प्रकारले। पूँजीको पहाड़ बढ़़ाउनसाथ,
क्षमताको वर्चस्वसित भाषा जोड़ियो भने त्यो एकप्रकारको हुन्छ, अनि त्यो मनको भावना, सपनाको सिर्जना अभिव्यक्त गर्ने प्रक्रियासँग
जोड़ियो भने त्यसको अर्थ नै अर्को हुन्छ।
अङ्ग्रेजी वा हिन्दी
लिएर यस्तै द्वैतताको कुरा आयो। यही बहसलाई अझै विस्तृत गर्दा बङ्गला अनि नेपाली यहाँसम्म
कि सन्थाली भाषा लिएर पनि त्यही कुरा लागू हुन्छ। त्यसैकारण, वर्ग दृष्टिकोणबाहिर, शोषक-शोषित सम्बन्धबाहिर, क्षमतावान
र क्षमताहीनको सन्दर्भबाहिर भाषाको कुरा गर्नु अर्थहीन हुन्छ।
भूमिका गर्दा गर्दै
धेरै कुरा भनी पठाए। यस लेखनको सन्दर्भ बुझ्न अब कसैलाई गाह्रो पर्दैन होला। हालैमा
पश्चिम बङ्गालभरि बङ्गला अनिवार्य गर्ने निर्देशनको परिप्रेक्ष्यमा यस लेख लेख्न प्रयास
लिइएको हो।
बङ्गला
भाषालाई अनिवार्य भन्ने नयाँ निर्देशनको परिप्रेक्ष
यो निर्देशन जुन समयमा आएको थियो, त्यसको परिप्रेक्ष्य लिएर छलफल गर्नु जरूरी भएको
छ। पहिला पनि हिन्दीको अतिक्रमण थियो तर केन्द्रमा नयाँ सरकार सत्तारूढ़़ भएपछि यो निकै
नै बढ़़ेको छ। हिन्दू-ब्राह्मणवादी एकखालको
विचारलाई भारतीय संस्कृति हो भनेर संज्ञा दिँदै आफ्नो राजनैतिक एजेन्डालाई अगाड़ि बढ़़ाउन
खोज्दैछ केन्द्रको भाजपा सरकारले। आरएसएस त्यसको पछाड़ि छ।
हिन्दी-हिन्दु-हिन्दुस्तानको राजनीति
‘मुसलमान’ वा
‘गौमांस’, ‘भारतमाता’ वा
‘भारतीयता’ लिएर
आफ्नै कल्पनाको उद्देश्यपूर्ण बाटोमा तिनीहरू हिँड़्दै छन् अनि देशलाई पनि हिँड़ाउन
खोज्दैछन्। त्यसको शिकार एकातिर घरमा गौमांस राखेको
‘आरोप-मा
उत्तर प्रदेशको मोहम्मद आखलख हुन्छन् भने अर्कोतिर कर्नाटकमा साहित्य अकादेमी पुरस्कारप्राप्त
डा. कुलबर्गी पनि हुन्छन् । किनभने उनले इतिहासको
शोधद्वारा प्रमाण गरेका छन् कि उनका स्वजातीय
‘लिङ्गायत’-हरू
खासमा हिन्दू होइनन्। यो कुरा सङ्घ परिवारको लागि खतरनाक हो अनि भाजपाको भोट ब्याङ्कको
लागि पनि हानिकारक।
यस सन्दर्भलाई अझै
बढ़़ाउँदिनँ, तर यति चाहिँ भन्नै पर्छ कि यस्ता प्रचारले
गर्दा मानिसमात्रै शिकार नभएर, त्यससित
खत्तम हुँदैछ भाजपा सरकार आउनअघि दिइएको विकासको आश्वासनको आशा, देशको प्रगति,
मानिसहरूको राम्रोसँग बाँच्ने सपना,
आर्जन गरिएको अधिकार,
साम्प्रदायिक र जातिगत सद्भावना,
अनि सर्वोपरि मानिसहरूको पारस्परिक विश्वसनीयता। यो एक अँध्यारोतिरको
यात्रा हो।
हिन्दुस्तानमा बस्नलाई
हिन्दूजस्तै भएर बस्नुपर्छ। मुस्लिम होस् वा आदिवासी,
दलित होस् वा किराँती
– सबैले हिन्दूजस्तै जीवनचर्या आत्मसात गर्नुपर्छ। त्यो पनि जेसुकै
प्रकारको हिन्दू भएर होइन, सवर्ण
हिन्दूहरूको जीवनलाई अप्नाउनु पर्छ। त्यो चाहिँ के हो?
त्यो चाहिँ वेदमा लेखिएको छ,
मनु संहितामा लेखिएको छ!
जम्माजम्मी, जुन
जनजातिहरू हिन्दुत्वको मूलधारमा नबसेर पनि प्रान्तीय रूपमा हिन्दू हुन् भनेर गनिन्थे, तिनीहरू पनि जुन प्रकारको सङ्कटको सामना
गर्न थालेका छन्, त्यो
मुस्लिमहरूभन्दा त्यति कम्ती होइन।
बर्चस्व, वर्चस्ववादी : विषय अनि विषयी
भारतको
इतिहासमा उहिलेदेखि धार्मिक रूढ़िवादविरूद्ध नाना थरीका आन्दोलनको बाटोबाटै सास लिनु
सक्ने जुन परिसरहरू बनाइएका थिए, ती
क्रमशः सङ्कुचित भइरहेका छन्। हिन्दू-हिन्दी-हिन्दुस्तानको उफ्रिपाफ्रीसितै जोड़िएको
छ हिन्दी भाषा पनि। शासकको हात भएरै। प्रधानमन्त्री गुजराती हुन् त के भयो, यो उफ्रिपाफ्रीमा हिन्दी नै उनको हतियार
हो। जसरी ब्राह्मणवाद सवर्णहरूले मात्रै बोक्दैनन्,
दलितको आत्मसमर्पणमा पनि बस्छ,
जसरी पितृसत्ता पुरूषहरूभित्र मात्रै होइन, नारीका मानिलिने विचारभित्र पनि बस्दै
गर्छ, त्यसरी नै गुजराती प्रधानमन्त्रीभित्र
हिन्दीको वर्चस्ववादी विचारले आफ्नो ठाउँ बनाएको हो। किनभने त्यो अझ भाषा मात्रै होइन, क्षमताको वर्चस्वको हतियार पनि हो।
हालैमा सबै सीबीएसई
विद्यालयहरूमा हिन्दी अनिवार्य गर्ने निर्देशन आयो। हिन्दीलाई आधिकारिक कामको लागि
अझै जोड़सँग थोप्न थालिएको छ। त्यससित यस बङ्गालमा हालैको रामनवमीको दिन एक अनौठो घटना
देख्न पायौँ हामीले। विभिन्न जिल्ला र कलकत्तामा पनि आरएसएस-भाजपाको मद्दतमा रामनवमीका शोभायात्राहरू
निस्केका थिए, जसको एउटा उद्देश्य थियो – मुस्लिम आबादी क्षेत्रहरूमा
गएर त्रास र उत्तेजना तयार पार्नु र अर्कोतिर यो हैकमवादी यस नयाँ राजनीतिलाई जनमानसमा
परिचित गराउनु। यसको पृष्ठपोषक धेरै हिन्दीभाषी व्यापारीहरू हुन् र अरूहरूसितै लौरो, त्रिशूल र आक्रामक शरीरिक ईशारा बोकेर
बन्द कारखानाहरूका हिन्दीभाषी कैयौँ श्रमिकहरू पनि सेनाको भूमिकामा थिए।
इतिहासको
बाटोमा दुखद मोड़
त्यो
हिन्दीभाषी मजदूरहरूको प्रवाहको अंश कलकत्ता वा दक्षिणी बङ्गालका जिल्लाहरूका औद्योगिक
क्षेत्रहरूका ती मानिसहरू हुन्, जो
उहिलेको कुनै समयमा कामको खोजीमा बङ्गाल आएका थिए। अरू धेरैजना उड़िया, तेलुगु वा अन्य भाषाभाषी कामदारहरूझैँ।
यिनीहरूले यहाँका बङ्गाली मजदुरहरूसँगै काँधमा काँध मिलाएर सङ्घर्ष गरे, झण्डा बोकेर जुलूसमा हिँड़े, कारखानागेटमा धर्नामा बसे, बन्द हुनु आँटेको कारखानालाई र आफ्नो जीवन-जीविका-परिवार-छोराछोरीलाई बचाउन कोशिश गरे। यस यात्रामा
कता कता यस बङ्गालमा नै हिन्दीको मान्यता मात्रै होइन,
उड़िया-तेलेगुभाषीहरूले
पनि कैयौँ स्वीकृति जितेका छन्, विभिन्न
श्रमिक इलाकाहरूमा हिन्दीभाषी स्कूलहरू त छँदैछन्,
कता कता उड़िया वा तेलुगु मिडियम स्कूलहरूको अस्तित्वले त्यो
स्वीकृतिको जययात्राको पहिचान बोक्दछन्। आज तिनीहरूका उत्तरदायीहरूमध्ये कोही कोही
देशका अन्य मानिसहरूझैँ गलत प्रचारमा भुलिएर गलत बाटोमा हिँड़िरहेका छन्।
अर्कै
इतिहास बोकेको यस क्षेत्र
पहाड़-तराई-डुवर्समा यस मान्यताको सङ्घर्षको अर्कै यात्रा थियो। त्यो दक्षिणी बङ्गालका औद्योगिक
क्षेत्रहरूजस्ता वा उत्तर बङ्गालका विभिन्न शहर क्षेत्रका आप्रवासी हिन्दी र अरू भाषाभाषी
श्रमिकहरूझैँ होइन। चियाबारी क्षेत्रमा नेपाली भाषा-भाषीहरूले स्कूल शिक्षाको अधिकारमात्र होइन,
समग्रतामा सामाजिक जीवनमा तिनीहरूको भाषाको अधिकार स्थापना गरेका
छन्। सादरीभाषी आदिवासी मजदूरहरूले त्यति जीत त पाएका छैनन्, तर हिन्दीमा स्कूल शिक्षा र अलि अलि भाषाको
मान्यता पाएका छन्। उराउँहरूको कुरूख भाषाले हालैमा मान्यता पायो। दीर्घ सङ्घर्षको
इतिहास रहे तापनि भूमिपुत्र राजवंशीहरूले पनि भर्खरै भाषाको मान्यता पाए। सरकारले यी
भाषाहरूलाई स्वीकृति दिएता पनि व्यवहारमा प्रभावकारी बनाउन कुनै पहल लिएको छैन। कुरालाई
अझै बढ़ाउँदा लेप्चा अथवा राभा, तिब्बती
अथवा भूटिया, धिमाल वा टोटो अथवा अझै धेरै भाषाहरूको
खण्डमा घट्दै गरेको मान्यता र व्यवस्थापनको अभाव हामीले देखिरहेका छौँ।
दुखलाग्दो
मोड़मा डरलाग्दो प्रदर्शन
छोड़िदिनुस्
यो कुरा। रामनवमीको जुलूस र हिंदीको बर्चस्व बारे जुन चर्चा हुँदै थियो, हामी बरु त्यसमा फर्केर आयौं। त्यस जुलुसको
हुँकारपछि कलकत्ता र अरु ठाउँहरूमा पनि साधारण मध्यम वर्गीय बङ्गालीहरूका एक अंशभित्र
तीब्र प्रतिक्रिया भयो। हाम्रो चिनजान बङ्गाल त यस्तो होइन भन्ने प्रतिक्रिया! अर्काको धर्मप्रति सुप्त विद्वेषको वातावरण
धेरै हदसम्म रहेतापनि यस्ता खुल्लमखुल्ला आक्रमण र उक्साहट त पहिला कहिल्यैपनि आएको
थिएन! बरु त्यसको विपरीतमा साम्प्रदायिक सद्भावको, पारस्परिक सहनशीलताको एक परम्परा हाम्रो
समाजमा छ।
प्रदर्शनको
प्रतिवादमा, प्रगतिको
पथमा
यसकै
निरन्तरतामा कैयौं सौहार्दताको कार्यक्रम नववर्षको दिन प्रतिवादको रुपमा आयो। बङ्गालको
परम्पराको कुरा चर्चामा आयो, कट्टरवाद
विरुद्ध भव्य अभिव्यक्तिहरू जोरसँग आयो। बङ्गला भाषा-समाज-संस्कृतिको उदारता र सहनशीलताको कुरालाई
राख्नुनै त्यसको उद्देश्य थियो, तर
केही उद्धत अभिव्यक्ति वा उग्र-बङ्गाली
राष्ट्रियताको धुन पनि कता कता बज्दैछ जस्तो लाग्यो।
म व्यक्तिगतरूपमा दोधारमा
परे। दुई प्रकारका।
धार्मिक कट्टरवादसित
सम्वन्ध छुट्टाउनलाई आफ्नो जीवनमा जुन जुन कुराहरू त्यागेको थिए— विभिन्न लोकाचार, लौकिक देवदेवी, धेरै मोटिफहरू इत्यादि, उग्र धार्मिक रूढ़िवाद विरुद्ध ती फर्किनु
थाल्यो सकारात्मक रूपमा। कैयौं तथाकथित प्रगतिशील मित्रहरूनै त्यसको प्रवक्ता हुन्।
तिनीहरूले पीरबाबा वा शीतला माताको पुजालाई मनपराउन थाले!
म जस्तै तिनीहरूले पनि व्यक्तिगत जीवनमा धार्मिक रुढ़ीवादलाई त्याग्ने
बाटोमा यी सबै छोड़ेर आएको थिए। नव-उदारवादले
देखाएको छद्म-स्वतन्त्रताको बाटो जसरी उन्मुक्तिको सही
बाटो ट्याक्कै होइन, त्यसरी
नै यी लोकाचारहरू सानो भएतापनि सामन्तीसमाजकै अभिव्यक्ति हुन, उच्चबर्णको धार्मिक उग्रताविरुद्ध लड़ाइमा
यी कुराहरूले हतियार हुनेछैन भनेरै बुझेको थिए। यो चाहिँ एक प्रकारको दोधारको स्रोत
हो। अर्को दोधार मनमा आयो अचेल जुन क्षेत्रमा बसोबास गर्छु, हिड़ीरहन्छु,
त्यसको अनुभवबाट। उत्तरबङ्गालको पहाड़-तराई-डुवर्समा, चियाबारी क्षेत्रमा बङ्गलाको उपयोग निकै
कम्ती छ। पाठ्यक्रममा कहिल्ये नपढ़ेको भाषापनि मैले सिकीसकेको छु, जसरी सबैजनाले सिक्छन्, कर परेर वा मानिसहरूसित मेलमिलापले गर्दा।
यो मेलमिलापले मलाई झन स्पष्ट पारिदिएको छ कि क्षेत्र-भाषा-जाति जे नै होस्, सङ्कट-समस्याहरू चाहिँ आमजनताका जीवनमा कमबेसी एउटै हो।
कलकत्ताको गल्लीहरूमा
बिहारी रिक्सावाला-ठेलावालाहरुले, अथवा हावड़ा-हुगली-वर्धमानका औद्योगिक क्षेत्रहरूमा वा सिलिगुड़ी-अलीपुरद्वारमा बिहार-युपी-उड़ीसाका कामदारहरू जब कामबाट फर्केर जाड़ो रातमा आगो बलेर गीत गाउँछन्, जब डुवर्समा सजिलोसँग बङ्गला-हिन्दी-सादरी-नेपालीमा सुखदुःखको कुराकानी गर्छन् चियाबगान
क्षेत्रका मानिसहरू, जब
पहाड़मा हिन्दु-बौद्ध-इसाई धर्महरूका नियम वा खाद्याभ्यास एक-अर्कासित एकाकार हुन्छ, तब
बुझ्न सकिन्छ विविधताको अर्थ के हो! अझ
कल्पना गर्नसकिन्छ कि शासकहरूको वा बाहिरबाट हस्तक्षेप नभएको भए बकस्तो सजिलो नै हुनेथियो
साधारण समाज-जीवनमा मानिससँग मानिसको मेलमिलाप। तर
आजको स्थिति त्यस्तो मौका कहाँ छ र?
बङ्गालको
सत्ताका बङ्गलाको ट्रम्पकार्ड
दिल्लीको
हिन्दी अतिक्रमण विरुद्ध यस राज्यको शासकहरूले जहिलेपनि बंचित बङ्गालको कार्ड खेलेका
छन। पहिलाको सरकार पनि त्यस्तै थियो। अहिलेको सरकार पनि। आजको सरकारबाट त कुनै आशा
पनि थिएन अरू केहि गर्नेछ भनेर। बङ्गाल-बङ्गालीको एकता बढ़ाउनु र अन्य जनजातिहरूभित्र फुट ल्याउने राजनीति हामीले तिनीहरूबाट
देखिरहेका छौं। अर्कोतिर पहिलाको सरकारले पनि वर्ग-राजनीतिको घोषित बाटो छोड़ेर यस्तै बङ्गला-बङ्गालीको बाटो अपनाएको थियो। आफ्नो सत्ता मजबुत गर्नलाई। जातिसमूहको आत्मनिर्णयको
लड़ाईमाथि तिनीहरुको पालोमा दमन नै त्यसको सबुत हो। बङ्गालको 'पक्षधर'
तिनीहरूबाट केन्द्रको बन्चनाको कुरा सुन्दासुन्दै हामी हुर्केको
छौं। पछि महसुस गरे कि बन्चना केवल केन्द्रले होइन,
राज्यले पनि गर्छ। राज्यले मात्र होइन, क्षेत्रीय प्रशासनले पनि गर्छ। बन्चनाको
स्लोगन चाहिँ सत्ताको सिढ़ीमा एक ट्रम्पकार्ड हो। भोटको बेलामा त त्यो झन् काम लाग्छ!
अब यस परिप्रेक्ष्यमा, राज्य सरकारले दिल्लीको अतिक्रमण विरुद्ध
आफ्नो राजनैतिक लड़ाइमा बङ्गला भाषालाई हतियार बनायो। अब अनिवार्य हुनेछ बङ्गला पठनपाठन।
कुनै पनि नोटिस स्पष्टरूपमा आएको छैन, तीनवटा भाषा सिकाउने कुरा आएतापनि त्यसको पाठ्यक्रम चाहिँ केकस्तो हुनेछ, त्यो पनि स्पष्ट छैन। तरैपनि यस मुद्दामा
जम्माजम्मी समर्थन र विरोधको ध्रुवीकरणमा छुट्न थाल्यो समाज।
बङ्गलालाई अनिवार्य
गर्ने पक्षमा बहसहरू कुन कुन प्रकारका आयो,
त्यो चाहिँ माथि गरिएको चर्चाबाट स्पष्ट भयो होला। अर्कोतिर बङ्गाली
समाजबाट उठेको विरोधको सुरमा नानाथरीका स्वरहरू सुन्न पाइयो।
सर्वभारतीय स्तरमा
बङ्गला भन्दा हिन्दी र अंग्रेजीको आवश्यकताबाट कसले विरोध गर्दैछन् भने कसैले स्ट्याटस
सिम्बल भनेर सोच्छन बङ्गला नबोल्न सक्नलाई,
कोहीकोहीले त फेरि नानीहरूलाई तीनवटा भाषा सिक्नुपर्छ भनेर आतंकित
भयो— यस्ता बहसहरू आयो।
अल्पसंख्यकको
भाषा, सङ्ग्राम, मान्यता, हिड़ाई
पहिलानै
तराई-डुवर्स-दार्जीलिङ पहाड़ लिएर सोच मनमा आयो, त्यससितै आयो जुटमिल-रेल
कलोनीको हिन्दी-ओरिया-तेलगु मिडियाम स्कुलहरूको कुरा पनि। जहाँनिर मिश्रित भाषाभाषी मानिसहरू बस्छन्
र व्यावहारिक जीवनमा बङ्गला चल्दछ, त्यहा
एकप्रकारको कुरा हो, तर
जहाँनिर विस्तृत क्षेत्रमा सँगै बसोबासो गर्छन निर्दिष्ट एउटै भाषाको मानिसहरू, त्यहाँ के छ यसको समाधान? पहाड़मा विस्तृत क्षेत्रभरी नै नेपाली भाषाभाषी
मानिसहरू बस्छन्, तिनीहरूको
पठनपाठनको माध्यम, आधिकारिक
कामको भाषा, सबैमा नेपाली उपयोग गर्ने जितेका छन् त्यहाँका
मानिसहरु। तराई-डुवर्समा पनि स्कुल पठनपाठन र जनजीवनमा
नेपाली र त्यससित हिन्दी भाषाले आफ्नो ठाउँ बनाएकै हो।
बाहिरबाट हेरेर अथवा
घुम्न मात्रै आएर यो बुझिहाल्नु गाह्रो छ कि यस क्षेत्रका अनगन्ती मानिसहरू बङ्गलासँग
परिचित नै छैनन्। टुरिज्मसँग जोड़िएकाहरू बङ्गाली टुरिस्टसँग केहीहदसम्म मेलमिलापले
गर्दा बङ्गला बोल्न सक्दा पनि अरुहरूको लागि बङ्गला धेरै टाढ़ाको भाषा हो। हिन्दी चल्छ, तर बङ्गला निकै कम्ति। एउटा कारण हो हिन्दीझैँ
नेपालीमा पनि देवनगरी हरफको उपयोग, अनि
बङ्गला हरफ वा भाषाको गठन बारे अपरिचित हुनु।
बङ्गालमा बस्छन्, तर किन चाहिँ बङ्गला बुझ्दैनन अथवा त्यसलाई लिएर किन यति
आपत्ति छ भनेर प्रश्न गर्दैथियो केही बङ्गाली संवेदनशील मित्रहरू। गोर्खाल्याण्डको
मागको कुरा तिनीहरूलाई सम्झाए। अझै एउटा कुरा त मनमा राख्नै पर्छ—लामोसमयदेखि चिया बगानहरूमा बङ्गाली म्यानेजरहरूले बड़ाबाउ अनि
उसको अधीनकाहरूले बङ्गाली बाबुको भूमिका निभाएकोले नेपाली-आदिवासी चिया श्रमिकहरुको
जीवनमा बइगालीहरू शोषणयन्त्रको पुर्जाको हिसाबले नै देखापरेका छन। कुनैपनि भाषा त्यसकारणले
भाषा मात्रै होइन, त्यसलाई वर्गचरित्र दिएर देख्छन मानिसहरू। आफ्नो जीवनको
अनुभवबाट। बङ्गला भाषालाई बर्चस्वबादी हो भनेर ठान्नुमा यो इतिहास पनि लुकेको छ।
सोचेको जस्तै भयो। यस क्षेत्रमा निकै प्रतिक्रिया भयो बङ्गला भाषाको अतिक्रमण
विरुद्ध। क्षेत्रीय राजनैतिक दलहरू त यसलाई एजेन्डा गर्थ्यो नै। त्यससितै यसको प्रतिक्रियामा
साधारण मानिसहरू-बुद्धिजीवि-कवि- कलाकार-लेखक-समाजकर्मी-कार्यकर्ता सबैमा नै उथलपुथल हुनथाल्यो।
सड़कमा जुलुस देखि चिया बगानमा सभा, हलभित्र प्रतिवादी सेमिनार देखि फेसबुकमा हलचल— सबै नै शुरु भयो।
अन्धोको हस्तीदर्शन
जुन बङ्गालीहरूले यसलाई केवल बिमल गुरुङहरूको मुद्दा हो भनेर
ठान्छन् र जुन नेपालीहरू यसलाई गोर्खा जातिमाथि नै उद्देश्यपूर्ण आक्रमण हो भनेर सोच्छन्, त्यो दुवै पक्षको हेराइ नै अन्धोको हस्तीदर्शन जस्तै हो। बङ्गाली
समाज जुनप्रकारले हिन्दी र अंग्रेजीको अतिक्रमणले पीड़ित छ, नेपाली समाजको स्थिति
पनि मैले बुझेकोअनुसार, त्यसभन्दा राम्रो छैन।
स्ट्याटस सिम्बलको हिसाबले मातृभाषा नबोल्न सक्ने वा खोज्ने समस्या दुवै समाजमा
नै बढ़िरहेको छ। तर ढाँचागत रूपमा विगतको प्राय एक दशकदेखि क्रमसँग नेपाली भाषालाई अप्रधान
पारेर अंग्रेजीको दबदबा बढ़िरहेको छ। खासगरी पहाड़मा। नेपालि माध्यम स्कुल नै खतम हुनु
आँटेको छ। यसको विरुद्ध नेपाली समाजमा आवाज उठाउन जरूरी छ। बङ्गाली समाजमा पनि त्यस्तै।
जुन जुन भाषाहरूले हिड़्दा हिड़्दै कमबेसी केहि अधिकार आर्जन गरेको छ, त्यस्तो सबै भाषालाई नै आर्जन गरेको अधिकार बचाउन प्रयास लिन
जरुरी छ। त्यों स्कुलशिक्षामा मात्रै होइन, व्यवहारिक जीवनमा, सरकारी काममा, विज्ञानको शोधमा, साहित्यचर्चामा — समग्र जनजीवनमा मातृभाषाको उपयोग बढ़ाउन काम हुनुसकेन भने यस्ता
सबै निर्देशन वा सम्पूर्ण लड़ाई— दुवै नै देखावटी मात्रै हुन्छ, असल काम केहि हुँदैन। तर कहाँ छ र त्यस्ता पहलहरू?
अतिक्रमण अनि अतिक्रमणविरुद्ध आवाज
बङ्गलालाई अनिवार्य गर्न खोज्नु पक्कै अन्य जातिसमूहले आर्जन
गरेको अस्मितामाथि अतिक्रमण हो। यसको विरोध हुनु जरुरी छ। तर त्यससित उठाउन पर्छ सबै
मातृभाषालाई व्यवहारिकरुपमा बढ़ाउने माग।
अर्कोतिर भाषाको जुन द्वैतताको कुरा अघि गरेको थिए, त्यो पनि दिमागमा
राख्नु जरुरी छ। पूर्वोत्तर भारत, वा उत्तरबङ्गालमा आज जातिसमूहको आन्दोलनसंगै जोड़िएको छ
भाषा आन्दोलनहरू पनि। आ-आफ्नो राजनैतिक नेतृत्वहरूले यस आन्दोलनहरूलाई नेतृत्व
गरिरहेको छ। ती नेतृत्वहरू फेरी चल्दै गरेको व्यवस्थामा कायम स्वार्थकै प्रतिनिधि गर्छन।
त्यसले गर्दा तिनीहरूले एकतिर क्षमतावान विरुद्ध आवाज उठाउँछ भने अर्कोतिर क्षमताहीन
विरुद्ध प्रयोग गर्छन क्षमतावानकै नीति।
भाषा आन्दोलनको धमिलोपनहरू
किनभने सधै नै यी आन्दोलनहरू क्षमताविरोधी होइनन् त। बङ्गलाको
पक्ष लिएर हिन्दी विरुद्ध आवाजको नियन्त्रण जुन राज्य सरकारको हातमा छ, तिनीहरूले नै कम बलशाली माथि, जस्तै नेपाली वा
राजवंशीहरू माथि अतिक्रमण चलाउँछ। ठीक त्यसरी नै आज नेपाली समाज र भाषाको राजनैतिक
प्रतिनिधिहरूले लेप्चा जस्ता उत्पीड़ित भाषाहरूको अधिकारलाई बढ़ाउन कुनै प्रभावकारि पहल
लिंदैन।
आसामको बोड़ो आन्दोलनले स्थानीय सन्थाल र अन्यान्य देशान्तरित मध्यभारतीय जनसमुदायहरूलाई
र बङ्गाली मुस्लिमहरूलाई बारम्बार आक्रमणको लक्ष्य बनाएको छ। मणिपुर र नागाल्याण्डमा
नागा र अन्यान्य जनसमुदायभित्र लामोसमयदेखि निरन्तर विवाद चलिरहेको छ। यस राज्यमा गोर्खाल्याण्ड
आन्दोलनको नियन्त्रण पनि क्षेत्रीय क्षमतावानहरूको हातमा छ, जसलाई समर्थन दिंदैछ भारतीय जनता पार्टी जस्ता उग्र-राष्ट्रवादी अनि धार्मिक जातीयतावादी शक्ति!
भाषा आन्दोलनको सही बाटो
त्यसकारण भाषा आन्दोलनलाई संवेदनशील हुनुपर्छ। आफ्नो र अरुहरूको
मातृभाषा रक्षाको पक्षमा उभिनुपर्छ। समग्रतामा कुनै प्रकारको औपनिवेशिकताको विरोधिता, चल्दै गरेको पुँजीवादी व्यवस्थाको बजारमुखिता र प्रायोगिक कौशलको
विरोध हुनुपर्छ। शासक तथा क्षमतावानको बर्चस्ववादी परम्पराबाट आफुलाई छुट्टाउनु पर्छ।
धार्मिक उन्मत्तता, क्षेत्रीयतावादी, उग्र-जातीयतावादी विचारलाई त्याग्नुपर्छ। तब हुनेछ सही प्रकारको भाषा
आन्दोलन।
No comments:
Post a Comment