Tuesday, July 11, 2017

बङ्गालमा दार्जीलिङ कहिले गाभियो?!

निकिता लामा

दार्जीलिङ सधै बङ्गालकै अंश हो सोच्नेहरूलाई यहाँको खास इतिहास थाहै छैन। इतिहासको पन्नाबाट त्यो इतिहास एक पल्ट फेरी दोहराउनु जरुरी छ।
पृथ्वीनारायण शाह (१७२३-१७७५) गोर्खा भन्ने सानो ठाउँको राजा भएता पनि तिनले नेपाल साम्राज्य बनाउने अभिलाषा लिएर काठमाडौं उपत्यकाको मल्ल राज्यहरूलाई जित्ने प्रयत्न गरेका थिए। यी मल्ल राजाहरुले त्यतिबेला, १७६७ मा ब्रिटिशको सहायता मागे। ब्रिटिशले सहायता दिएको बापत् इस्ट इन्डिया कम्पनीको व्यापार नेपालसँग फैलाउन थाले।
त्यसपछि, सन् १७६९मा शाहले उत्तर-दक्षिणको क्षेत्रहरू जितेर आफ्नो राजधानी गोर्खा क्षेत्रबाट काठमाडौंमा सार्यो। । त्यही साम्राज्यको नाम नेपाल साम्राज्य भयो।
त्यसपछि आफ्नो साम्राज्यलाई पूर्वीतिर बढ़ाउने लक्ष्य लिएर तिनले सेन वंशबाट १७७३मा विजयपुर साम्राज्य जिते अनि टिस्टासम्म विस्तृत भयो नेपाल साम्राज्य। दार्जीलिङ, खर्साङ जस्ता ठाउँहरू त्यो साम्राज्यमा गाभियो। त्यस्ताकका कालेबुंग सिक्किम साम्राज्यको अंश थियो। सन् १६४१मा फुन्ट्सोन्ग नामग्याल सिक्किमको पहिलो छोग्याल (शासक) बने। उसको उत्तराधिकारी तेन्सुंग नामग्यालको पालोमा भुटान सँग युद्धमा (सन् १७०६) भुटानले कालेबुंगको दखल लियो।
१७९० को दशकमा नेपालको शाहहरूले सिक्किमको राजधानी राबडेन्स माथि हमला गरे अनि यहाँका पहाड़ी क्षेत्रदेखि टिस्टासम्म कब्जा गरे। १८१४को ब्रिटिश र नेपाल बिचको युद्धमा, ब्रिटिशले सिक्किमका मानिसहरूको सहायताले शाह वंशलाई हराए।
इस्ट इन्डिया कम्पनी-ले १८१५को सुगौली सन्धि मार्फत् यी सबै क्षेत्र हत्त्याउन सफल भए। तिब्बतसँग आफ्नो व्यापार बड़ाउने नीतिले गर्दा ब्रिटिशले सिक्किमलाई मेचीदेखि टिस्टासम्मको जमिन उपहार स्वरूप तितालिया सन्धी (१८१७) मार्फत् दिए।
जब सुगौली सन्धि भएको थिएन तब नेपाल राज्यको सिमाना यस प्रकारको थियो— पूर्व पट्टि टिस्टा नदीसम्म, पश्चिमपट्टि कंग्रा सत्लज नदीसम्म, दक्षिण पट्टि तराई, दक्षिण-पश्चिममा नैतिताल अनि हिमालय पर्वत उत्तर दिशामा। यस सन्धिपछि नेपालले एक तिहाई जमिन (४०, ००० स्कोयर किलोमिटर) इस्ट इन्डिया कम्पनीलाई दिन पर्यो। त्यसबेला न त नेपाल राज्य, न नै भारत राज्यको गठन भएको थियो, तर यस सन्धि पछि दार्जीलिङ सँगै अरू धेरै ठाउँहरू पनि ब्रिटिश-अधीन भारत देशको हिस्सा बन्यो।
 फरवरी १८२९मा जी.ए.लोयेड अनि जे.डब्लु ग्रान्ट-ले दार्जीलिङलाई स्वास्थ्य निवास साथै हिल स्टेशन बनाउने विचार गरे। त्यसपछि १८३५मा ब्रिटिशले छोग्याललाई 'दानपत्र (Deed of Grant)' मा हस्ताक्षर गराउन सफल बने। अनि यसरी उनीहरूले दार्जीलिङ क्षेत्रलाई हत्त्याउन सफल बने अनि नगद रु. ३००० दिन राजी भए। साल १८४९मा छोग्यालले दुई जना ब्रिटिशलाई उनीहरूको जंगल भित्र पसेको आरोपमा गिरफ्तार गरे। यसै पश्चात ब्रिटिश आर्मीहरू सिक्किममा पसेर त्यस ठाउँलाई कब्जा गरे। त्यस बेला सिक्किम राज्यको धेरै महत्व थियो कारण चीन, तिब्बत जस्ता देश सँग जोड्ने सिक्किम एउटै मात्र राज्य थियो, जसको धेरै सीमाक्षेत्र अनि लासा सँग व्यापारको रुट थियो।
१८६५ सालको नभम्बरमा भएको ब्रिटिश-भुटान युद्ध पछि ब्रिटिशहरू कालेबुंग अनि डुवर्सलाई आफ्नो कब्जामा लिन सफल बने। यी सबै क्षेत्र पहिला पश्चिम डुवर्सको नामले चिनिने गरिन्थ्यो तर पछि गएर दार्जीलिङमा जोडियो।
सन् १८६० पछि मात्र दार्जीलिङले सहि रूपले एउटा जिल्लाको आकार लिन सफल भयो। बिस्तारै चिया बगानहरू पनि चालु हुन थाल्यो। ब्रिटिशले फौजमा भर्ती हुने ठाउँहरू पनि बनाए। यहाँको चिया बारी, खेतमा काम गर्न अनि फौजमा भर्ना हुन धेरै गरीब मानिसहरू यहाँ आउन थाले। यो नयाँ गठन भएको दार्जीलिङ जिल्लालाई १८७०मा 'नन-रेगुलेशन डिस्ट्रीक्ट' भनेर घोषित गरियो, यसको मतलब थियो कि बङ्गाल प्रेसिडेन्सीको कुनै नियम यहाँ चल्ने छैन। सन् १८७४मा यसलाई 'सीड्युल डिस्ट्रीक्ट'मा परिणत गरियो। १९०५ सालमा जब बङ्गालको विभाजन भएको थियो त्यसबेला दार्जीलिङलाई बिहारको भागलपुर सब-डिभिजनमा हालिएको थियो। सन् १९१९ मा फेरि त्यसलाई फेरेर दार्जीलिङलाई 'ब्याकवर्ड ट्रयाक्ट' भनियो। यसको मतलब हो, बङ्गालको ऐन, यदि राज्यपालले खारेज गरेभने, यस जिल्लामा लागु हुँदैन।
ब्रिटिशहरूको दार्जीलिङमा पहिलोचोटीको हस्तक्षेपको १०० साल पछि, सन् १९३५मा दार्जीलिङलाई पूर्ण रूपले बङ्गालमा हालियो।



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...