Tuesday, July 11, 2017

कविता

पहाड़े साथीबाट चिठ्ठी
विपुल चक्रवर्ती (अनुवाद : संगीता खेवा)


यस वर्ष बर्खामा पहाड़ नआउनु होस्
यस बर्ष पहाड़ भयङ्कर छ चारैतर्फ
खोला र झोड़ाहरू पागल सरह कुदिरहेका छन्
र के आश्चर्य
तिनीहरूको पक्षबाट रातो रगतको भल बगिरहेको छ।

यस बर्ष बर्खामा पहाड़ नआउनु होस्
थाह छ, रगतको छेउबाटै नहेरी हिड़ेर जाने
सबैलाई आदत भइ सकेको छ
यो सड़ेको देशमा आज
थाह छ, तपाई न भए पनि एकपटक त पक्कै
आउनु चाहनु हुन्छ कान्छा-कान्छी जस्तै निश्चिन्त
घुम्नुलाई पहाड़ी बर्खामा ।

हजुर, पहाड़ आज अनबरत बर्खामा लिप्त छ
रातो बर्खामा !
खतरनाक हतियार
विनोद प्रधान

तेरोमा आँसु-ग्यास छ,
मेरोमा खिया परेको आँसु मात्रै छ
तरै पनि तँलाई मसँग किन यति साह्रो डर?
किन सेना थुपारेर भत्काउन खोज्छस् हाम्रै घर?
.
तेरोमा बन्दूक छ, बटालियनको चुम्बक छ,
मेरोमा कुट्टे, कोदालो र भुत्ते बम्फक छ
तरै पनि तँ किन मेरो सपनामा खाड़ल खन्छस्?
मजदुरको औजारलाई किन खतरनाक हतियार ठान्छस्?



ओ सरकार !
डीके. वाइबा


ओ सरकार !
तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो
तिम्रै कृषी विभागले वितरण गरेको हो
तिमीले देखेको आर्चरी
तिम्रै खेल विभागले वितरण गरेको हो
तिमीले देखेको हँसिया, मार्तोल र आरी
तिम्रै श्रम विभागले वितरण गरेको हो
अनि तिमी भन्छौ
हामी हतियार बोक्ने आतङ्ककारी?

तिमी कृषी विकासको कुरा गर्छौ
अनि कृषकलाई कोदालो दिन्छौ
तिमी खेल विकासको कुरा गर्छौ
अनि नानीहरूलाई आर्चेरी दिन्छौ
तिमी चियाको बुट्टा फाँड़्न हँसिया दिन्छौ
तिमी वोर्डको घर बनाउन मार्तोल र आरी दिन्छौ
अनि भन्छौ हामी आतङ्ककारी?

यदि तिमीले वितरण गरेको
कोदालो, आर्चरी, हँसिया, मार्तोल र आरी
विफोटक हतियार हो भन्छौ भने
यदि तिमीले दिएकै सामाग्री देखाएर
हामी हतियारधारी आतङ्ककारी ठान्छौ भने
तिमी विफोटक समाग्री निर्माण गर्ने कारखाना हौ सरकार !
यदि तिमीले दिएकै सामाग्री चलाउँदा आतङ्करी ठान्छौ भने
तिमी आतङ्ककारी जन्माउँने अड्डा हौ सरकार !



कानुनको खेती
पुकार पारदर्शी


भुँड़ीमा उत्पाद मचाएकाले
यसपाली डल्ले खोर्सानीलाई
खाद्य दण्ड संहिता 1568054 धारा अन्तर्गत
मुद्दा दर्ता गरी अचारको बोइममा सुरक्षित हालियो।

प्रिय मुख्यमन्त्री
गाउँमा हामी कानुनको खेती गर्छौँ नी।

गाउँमा लागु हुने धारा दुईटै मात्र हो
धोबी धारा र शुद्ध धारा
पिउने पानी लिन आमाले शुद्ध धारा लिन पठाउनुहुन्छ
बाउको पेन्ट मैला पारिदिदा धोबीधारा पठाउनुहुन्छ।

ठ्याक्कै तिम्रै जस्तो बटालियन गाउँ पनि छ
एक बटालियन धानको बाला
एक बटालियन मकैको घोगा
एक बटालियन रहर
एक बटालियन आफ्नै देशमा बाँच्ने सपना
र एक बटालियन अधिकार माग्ने आँट छ
बस्, मात्र गाउँसित बन्दुक छैन।

बरू पहिल्यै घोषणा गरिदिनुपर्थ्यो अदालतले
कि काँटा, फरूवा, धनुकाँड़ सब अवैध हो।

तिम्रो काँटा, फरूवा र बेल्चाभन्दा बलिया
जीवनको खेत खन्ने यी औँलाहरू छन्
तिम्रा बटालियनभन्दा धेरै सङ्ख्यामा धुलोका कणहरू छन्
जसले उमार्छ हाम्रो निम्ति छाक्कैपिछेको भोक
अझ धेर गाउँसित जाँगरहरू छन्।

आफ्नै रूख ढाल्यो भने अवैघध हुन्छ
फारसमा घर बनायो, कानुन विरोधी
मासु खायो, धर्म विरोधी
अधिकारको मुट्ठी उठायो, राष्ट्रविरोधी
उब्जनी नदिने जमिनको कुद नतिर्दा घुसखोरी।

तिमीलाई चै कसले दियो साइरन बजाउने अनुमति?
पारसको रूख ढालेर लैजाँदा
कानुन लाग्छ कि लाग्दैन?
कुन चुनाउ आयोगले भन्छ
कि भोटको अघिल्लो रात बेस्मारी पैसा बाँड़नु
पुलिसले रक्सी पिउँदा 34 लाग्छ कि लाग्दैन?
चालकहरूबाट लिएको घुस कुन ट्याक्समा जोड़िन्छ?
पुलिसले मात्रै हेलमेट नलाउने नियन
देशको संविधाभित्र पर्छ कि पर्दैन।?

यी सब प्रश्नहरूको जवाफ दिए
मलाई फाँसी दिए हुन्छ।

प्रिय मुख्यमन्त्री
गाँउमा हामी कानुनको खेती गर्छौँ नी।

कि त पहिल्यै भनिदिनुपर्थ्यो प्रशासनले
रेडियोको पुर्जा बम बनाउन काम आउँछ
कमसेकम आमाले चार दिन खेताला धाएर
आफ्नो बनाएको रेडियोको पुर्जाको बम बनाएर
ध्वस्त पारिदिन्थे दुखको साम्राज्य।

चुह्लाको बुङबङ धुँवाले नपोल्ने
गाउँको आँखा अगाड़ी
तिम्रो टियर ग्यास काम लाग्दैन।

यहीँ हावा, यहीँ पधेँरा, यहीँ घाम, यहीँ पृर्थ्वी
हाम्रो निम्ति कानुन हो।
यहीँ माटो हाम्रो अदालत हो
हामी आफै हौँ यहाँको न्यायधीश।

प्रिय मुख्यमन्त्री
के म काँटा, फरूवा र बेल्चा लिएर अदालत आऊँ?

तर त्योभन्दा पहिले
तिम्रो सत्ता गाड़ने खाड़ल खनिराखूँ है।




कन्चनजंगा
भिमा राई 'तोलाछा'

कारंगकुरुंगका हुल पुनः एक पल्ट
आकाशै ढाकेर उड़िरहेछ
कालो बादल हटेर गोर्खाको शिर शिरमा
लालीगुराँस सजिएको छ
प्रत्येक गोर्खाको छाती छातीमा सम्पूर्ण कन्चनजंगा
एउटा गतिलो आभा भएर मस्तसित उभिएको छ

बन्द कमानका मजदुरहरू
युगौ शोषित जनताहरू
आत्महत्या मात्र गर्दैनन्
युगौ शोषित किसान मजदुरहरू
श्रम र मुनाफाका श्रोत मात्र होइनन्
होशियार होशियार संसारकै बीर जाति
स्वाभिमानको युद्ध लड़्न नांगो छातीमा
विश्वासको आगो लिएर चेतनाको राँको बालेर
फेरी एक पल्ट शायद अन्तिम पल्ट बौरिएका छन्

खेतबारीमा डल्ला फोड़्ने
चियाबारीमा कलम काट्ने हातहरू
चाम्रा हत्केला, बाँझो पैतालाहरू,
मन मनका भारी बोक्ने
विकृत शरीर भएका तर बलिष्ठ काँधहरू
बन्दुकलाई आँक्न सक्ने टाउकाहरू
मसाल भएर सल्कन तयार छन्
खुनी सत्ताका खुनी कानुन तिमी सक्छौ भने
रोक रोकेर त हेर साउनमा
टिस्टाको गति कति तीव्र हुन्छ
मार मारेर त हेर एक एक थोपा रगतले
रगतकै बालि उमार्छ
ठोक्न सक्छौ भने गोली छातीमा,
कन्चनजंगा झुकाउन खोज्ने दुस्साहस
धेरै महँगो पर्छ।



उसलाई थाहा थियो
पवित्रा लामा


जब ऊ हिँड़ेथ्यो आफ्नो घरबाट
आँखाभरि, मुटुभरि, छात्तीभरि 
बोकेर सपना बासभूमिको
ऊ जान्दथ्यो, 
यो उसको अन्तिम यात्रा हो
यो उसको अन्तिम लड़ाईँ हो।

उसले छोइराख्यो देउता थान 
उसले खुवायो परेवालाई अन्नका दाना
उसले गोड़िराख्यो मकैका ससाना बोट
ढोग्यो आमालाई, 
हात हल्लाउँदै विदा माग्यो गाउँ घरकालाई
मिलायो पाइला सहोदरहरूसित
र हिँड़्यो अन्तिम लड़ाईँ लड़्न
निहत्था ।

उसलाई थाहा थियो, 
ऊ आज पक्रा पर्न सक्छ
सत्ताको निर्मम लौरोले
ऊ आज रगतपच्छे हुनसक्छ
जेल हुनसक्छ, नेल हुनसक्छ
ऊ आज शहीद पनि हुनसक्छ

उसलाई थाहा थियो, 
वासभूमिको लड़ाइँमा शहीद हुनभन्दा
धेरै धेरै सजिलो थियो रमिते बन्न
धेरै धेरै सजिलो थियो मीरजाफर बन्न
अझ धेरै सजिलो थियो गद्दार बन्न

तर ऊ विश्वविजयी गोर्खाको सन्तान थियो
तर ऊ खाँटी योद्धाको सन्तान थियो
र त ऊ निस्क्यो तिरङ्गालाई अङ्गालेर
शहीदको सपना पूरा गर्न
सय वर्षे निद्रालाई त्यागेर
ऊ उत्रियो मूल सड़कमा
र आँटकै भरमा लल्कार्यो शत्रु सत्तालाई
छात्तीमा थाप्यो तातो गोली
र ढल्यो पुर्लुक्क भन्दै आमा....!!!

उसलाई थाहा थियो
उसको हरेक पाइलाले तय गरेको दुरीले
साकार बनाउनेछ हजारौं शहीदहरूको सपना

पुर्खाहरूको पौरख र माटोको गौरव 
फर्काइ ल्याउन जब निस्क्यो ऊ घरबाट
उसलाई थाहा थियो
य़ो उसको अन्तिम यात्रा हो
यो उसको अन्तिम लड़ाइँ हो ...




देशको दुस्मन
प्रदीप लोहागुण


यो देश भन्ने अमूर्त मान्छेले
किन होला हामीलाई
जैले तैले दुश्मनजस्तै ठानेको।
तिमी जस्तो अजङ्गको मान्छेसँग
दुश्मनी मोलेर किन जोखिममा परूम म।

मूलधारतिर जाने रेलमा
चढ़्न वर्जित छ मलाई
दुवै हात फैलाएर दैलैमा बस्छ देश
र भन्छ
‘पहिले तेरो नागरिकतापत्र जाँच्नु छ’
सिमानामा बग्ने मेरो रगतको
राष्ट्रप्रेम जाँच्दैन देश
चियाकमान र कोइलाखानीतिर चुहुने
मेरो पसिनाको मोल जाँच्दैन देश।
बस, भन्छ
‘पहिले तेरो नागरिकतापत्र जाँच्नु छ’

मलाई मेरो देशको राजधानी
र, छिमेकी देशको राजधानी एकै लाग्छ
दुवै नयाँ ठाउँ र अञ्जान शहर।
किनभने देशले माया नगरेको पीड़ा छ मसँग।

राजधानीका चिल्ला सड़कहरूमा
कथङ्काल मैले पाइला टेकेँ भने
यत्रो बलड्याङ्ग्रे आँखा फुकाल्छ
र घुरिबस्छ देश।

देशले सरकार भन्ने एजेण्टलाई
जबकार्ड बोकाएर पठाउँछ मेरो गाँउ
अनि मलाई त्यहाँ थ्याप्चे हान्न अह्राउँछ।
मनरेगाको बाटोमा
देशले खूब उड़ाउँछ नागरिकप्रेमको धूलो।
मेरो थ्याप्चेको मनोविज्ञान पढ़्छ देश
र हरेक पन्ध्र अगस्तमा
छाट्छ अनेकतामा एकताको भाषण।
ए देश!

दबिएकै स्वरमा भए पनि
मेरो एउटा भन्नु पर्ने कुरा छ तिमीलाई
कि तिम्रा बाजे
स्वतञ्त्रतासङ्ग्रामको मशाल बोकेर निस्किँदा
मेरो बाजे पनि
राष्ट्रीयगीतको धुन अर्जाप्दै थिए।
तिम्रो बाबुले पसिना रोपेर सुन उमार्दा
मेरा बाबु पनि
चियाकमानमा फालिङ हान्दै थिए।

तिम्रा दाजुहरू गान्धीको पछि दगुर्दा
मेरा दाजुहरू सुवासचन्द्रलाई सघाउँदै थिए
तिम्री दिदीहरू साबरमति आश्रमतिर धाउँदा
मेरी दिदीहरू जीउमा बम बानेर पड़किँदै थिए।

कि तिमीलाई मेरो कुरा
बाहियात लाग्छ भने
खन्नू गान्धीको चिहान र सोध्नू
जंगबीर सापकोटा, दलबहादुर गिरी
हेलेन दिदीहरूको बलिदानको कथा।
खोज्नू गुमनाम सुवासचन्द्रलाईर सोध्नू
रामसिंह ठकुरीको भायोलिन बनाउने
कम्पनीको ठेगाना।
डुल्नू तिमी संसद भवनको लाइब्रेरी
त्यहाँ राखिएका सम्विधानसभाका
दस्तावेजहरू पल्टाउनू
र हेर्नू अड़िबहादुर गुरूङका
किरिङमिरिङ हस्ताक्षर।

यो देश भन्ने अमूर्त मान्छेले
किन होला हामीलाई
जैले तैले दुश्मनजस्तै ठानेको।
इतिहास र भूगोलको पत्र पत्र उप्काएर
देखाउँदा पनि
यो देशको मानचित्रमा
मेरो अनुहार छाप्पिँदै भने
म देशलाई माया गरिबस्नू
कि माया खोज्दै जानु कुनै अर्को देश?




गोर्खाल्याण्ड
राजु तामाङ



बाटो हो कि बगर? चिन्नै नसक्ने
यस्तो बाटो भएर म आउनु, भ आउदिन
'म गोर्खाल्याण्ड' पहाड़ धाऊदिन ।

एक टुक्रा रोटीमा राजनीति चल्छ त्यहाँ,
म त सोझो राजनीति जान्दिन
म त रोजगारको श्रोत, बेरोजगारको बस्ती धाऊदिन
आफ्नैहरूको छाक लुटि अघाउदिन
'म गोर्खाल्याण्ड' पहाड़ धाऊदिन ।

लाटो सोझोको घर लुटि, विराट अटालिकाहरुमा समाउदिन,
आफ्नैहरूको लड़ाइँमा म खुकुरी चलाउदिन
राक्षस राक्षसको बीच म अटाउदिन
आफ्नै सन्तान मारी म रमाउदिन
'म गोर्खाल्याण्ड' पहाड़ धाऊदिन।

जातिको ठुलो प्रेम छ मलाई
दाहुरा सुरुवाल र गुनह्यु चोली साट्न म जान्दिन
यस्तो खोक्रो आन्दोलनमा बगेको रगतले
सहिदको चिता पखाल्न मान्दिन
यस्तो शोर हल्लामा म रमाउदिन
'म गोर्खाल्याण्ड' पहाड़ धाऊदिन ।

निस्पट्ट अन्धकारमा कहाँ खोज्छौ मलाई?
गरिबको झोपड़ीमा बत्ती बालेर त हेर, म त्यहाँ छु
भोकोलाई रोटी देउ, नाङ्गोको इज्जत धाकि त हेर
कति रून्छौ आफ्नो दुःखमा, कसैको पीर साटी त हेर
म गोर्खाल्याण्ड त्यही छु खोजी त हेर ।

बेरोजगार युवालाई रोजगार देउ
अपाङ्गलाई साहारा देउ
अर्ध नग्न छानो टालि त देउ अनि हेर
म त्यही आशीर्वादमा बाँचेको छु,
म पहाड़को शान्ति अनि प्रगतिमा हासेको छु
म त अथक भावना हो, सबै गोर्खे मुटुमा बाँचेको छु ।

यसबेला... 
सुभाष सोताङ


सरकार! तिम्रो नरभक्षी शासनको
कविता  त लेख्छु-लेख्छु मँ
सरकार! तिम्रो जंगलराजको
कथा त लेख्छु-लेख्छु मँ

तर यसबेला कवी मात्र होइन मलाई,
मध्यान्हको चर्को रवि पनि हुनुपरेको छ
तर यसबेला लेखक मात्र होइन मलाई,
युद्धवाहक एउटा चेतक पनि हुनुपरेको छ

सरकार! तिम्रो अपराधी अनुहारको
चित्र त कोर्छु-कोर्छु मँ
सरकार! तिम्रो हत्यारा हैकमवादको
गीत त गाउँछु-गाउँछु मँ

तर यसबेला कलम मात्र होइन मँ
घाइते युगको मलम पनि हुनुपरेको छ
संगीनहरूको ब्यारिकेट  तोड्दै अधि बढ्ने
झुक्दै-नझुक्ने शिर पनि हुनुपरेको छ।

बोली माग्दा गोली लाउने सरकार विरुद्ध
भूगर्भ भएर पड्किनु परेको छ
सलाम गर्दा-गर्दा थाकेका हातहरूले
अब फलाम समात्न कर लागेको छ।
अस्तित्वका निलडामहरू धेरै-धेरै सह्यौं
शान्तिको मन्त्रसित अनेकपल्ट
सहनशीलताको बाँध तिमीले नै तोड्यौं
अब अधैर्य भूकम्प भएर उठ्नुपरेको छ।

सरकार! आफ्नो आवाज माग्दा हामीले
तिमी हाम्रो जिब्रो काट्नु खोज्छौं?
आफ्नै आमालाई आमा भन्दा हामीले
तिमी हाम्रो जीवन लुट्न खोज्छौं?

सरकार! गोली-बारुद दागेर
तिमी हाम्रो निधार छेड्ने खोज्छौं?
शहीद दुर्गा मल्लको सन्तानमाथि
तिमी विदेशीको कलंक थोप्न खोज्छौं?

भयो-भयो अति भयो
अब नतमस्तक शिर उठ्नुछ
भयो-भयो अति भयो
अब सुतेको बीर जाग्नुछ।


No comments:

Post a Comment