तपाईँले किनेको डेनिमको शर्टमा रगतको छिटा छ? निश्चय नै छैन, किनकि यस्तो महँगो शर्टहरू त चम्किलो प्याकेटमा ठुल ठुला शपिंग मलहरूमा बिक्री गरिन्छ अनि चलचित्रका महान् व्यक्तित्वहरूले पनि यही शर्ट लगाउछन्। तब त्यसमा रगतको छिटा कसरी होला? तर विश्वभरिका महान्, सज्जन अनि धनी मानिसहरूले लगाउने यी कपडाहरू कुन परिस्तिथिमा तयार गरिन्छ, तपाईँलाई थाहा छ? तेस्रो संसारबाट उच्च स्तरीय कपडा निर्यात हुदैन, बरु निर्यात हुन्छ मजदुरहरूको रगत, पसिना अनि श्रम जसको ठिक मूल्य मजदुरहरूले पाउदैनन्। ठुल ठुला उद्योगपतिहरूको सस्तोमा वस्तु तयार गर्ने अड्डा बनेको छ तेस्रो संसार, पसिनाको दोकान बनेको छ तेस्रो संसार। ठुल्ठुला ब्रान्डको प्राय सबै कपडाहरू यही पसिनाको दोकानमा तयार गरिन्छ। उद्योगपति अर्थात् पुँजीपतिहरूले आफ्नो नाफाको तिर्खा मेटाउन मजदुरहरूको पसिना पिउछन्, पसिनाले नपुग्दा यिनीहरूलाई रगत पिउन बेर लाग्दैन। अविश्वसनीय परिस्तिथिमा मजदुरहरूलाई काम गर्न लगाईन्छ। कम्ती भन्दा कम्ती ज्याला, आधा भत्किएको कारखाना, अनि कपडाको रङ्गबाट निस्कने प्रदूषण। त्यहाँ न त हुन्छ न्यूनतम ज्यालाको प्रबन्ध, न मजदुरहरूको सुरक्षाको लागि ठोस कानुन, न ८ घण्टा कामको नियम न नै काम गर्ने सही वातावरण।
पुँजीवादको विकाश सँग-सँगै धेरै अविकशित देशहरू पसिनाको दोकानमा परिणत भइसकेको छ। बांग्लादेश ती देशहरू मध्ये एक हो, जहाँ कानुन त छ तर खटिखाने जनताको सुरक्षाको निम्ति होइन। कानुनले त ठुल ठुला उद्योगपतिहरूलाई सुरक्षा दिन्छ।
२४ अप्रेल, सूर्यले अरू अन्य दिन झैँ आकाशमा आफ्नो आगमन जनाईसकेको थियो। स्कुले नानीहरू स्कुल जान लागेको थिए, कपडा कारखानाका मजदुर कारखाना जान तयार थिए। हजारौँ मजदुरहरूले त्यही दिन आफ्नो ज्यान गुमाउनु पर्छ भन्ने कसलाई थाहाँ थियो र? ‘राणा प्लाजा ध्वस्त भयो रे’ अचानक टेलिभिजनमा खबर आँउछ। त्यहाँ काम गर्नेहरूका परिवार विचलित हुन्छन्, आखाँमा आशु अनि शरीरमा चिसो पसिना र कम्पन लिएर तिनीहरू घटनास्थल मा पुग्छन। तर कसरी खोज्ने इटा र सिमेन्ट मुनि दबिएका तिनीहरूको आफन्तहरूलाई। त्यो असहायता अनि वेदना सायद नै हामी कल्पना गर्न सक्छौ होला। नाफा कमाउने लालचले अन्धो बनेको पुँजीपतिहरूको साथै सरकारको लापरवाहीले गर्दा हजारौँ मजदुरहरूको ज्यान जादा मेरो शरीरमा बगिरहेको रगत उम्लियो, अनि यो स्वभाविक पनि हो। यदि यो घटनाको स्मरण गर्दा कसैको आँखामा आशु अनि मुटुमा प्रतिरोधको ज्वाला जल्दैन भने, उसलाई मान्छे भन्न ठिक नहोला।
पश्चिमी ढाका स्थित ८ तल्ले बिल्डिंग राणा प्लाजा ध्वस्त हुन्छ, हजारौँ (११२७) मजदुर मर्छन अनि अझ धेरै (२५००) घाइते हुन्छन्। यो अहिले सम्मको सबै भन्दा ठुलो औद्योगीक दुर्घटना प्रचार प्रसारक माध्यमहरूले भन्यो, तर यो त एउटा हत्या काण्ड थियो, जसको सिकार हजारौँ मजदुर बने। केही सम्वाददाताहरू अनुसार राणा प्लाजा ढल्नु एक दिन अघाडीनै बिल्डिंगमा डरलाग्दो चिरा परेको थियो र श्रमिकहरूले डरले मालिकलाई भनेका पनि थिए तर बिल्डिंगको मालिक सोहेल राणाले मिडिया लाई त्यो चिराहरू डरलाग्दो हैनन् भनेर भनेका थिए, अनि २४ अप्रेल जुन दिन त्यो डरलाग्दो दुर्घटना घटेको थियो त्यही दिन पनि श्रमिकहरूलाई जबर्जस्ती काम गर्न लगाइएको थियो नत्र उनीहरूको एक महिनाको तलब काटिदिने धम्कि पनि मालिकले दिएको थियो। संसारको सबै भन्दा सस्तो ज्याला भएको देशमा यस्तै हुन्छ।
११०० भन्दा बेसी मानिसहरू विशेष गरी महिलाहरू ब्रिटेनको रिटेलर जस्तै प्रिमार्कको निम्ति काम गर्थे। राणा प्लाजा ध्वस्त भएको सिलसिलामा पुलिसको रिपोर्ट अनुसार २००६ मा केवल पाँच तले बिल्डिंग बनाउने अनुमति दिइएको थियो राणा प्लाजालाई तर पछि अवैध कागज-पत्रको सहायताले अझ तीनवटा तला यसमा थपियो जसले गर्दा बिल्डिंग एकदमै अस्थिर र कमजोर भयो। बांग्लादेश यूनिवर्सिटी अफ इंजिनिअरिंग एण्ड टेक्नोलोजीको इन्जिनिएरहरूको एउटा दलको सर्वेक्षण अनुसार पाँचवटा मा तीनवटा कपडाको कारखानाहरूमा यस्ता दुर्घटना जहिले पनि हुनसक्छ।
छ महिना अघि तज्रीन फ्याक्ट्रीमा भएको आगलागीले ११२ जना श्रमिकहरूको ज्यान लियो र तिनीहरूको लास नचिन्न सकिने हिसाबले जलाई राख्यो। आगलागीको सुरक्षा पनि एउटा अर्को ठुलो समस्या भएको छ। प्राणघातक आगलागीको तांत लागेको छ ढाकाको कयौँ फ्याक्ट्रीहरूमा। सरकारी आंकडा अनुसार पनि भर्खरै घटेको यी दुईवटा डरलाग्दो घटनाहरूले कपडाको बंगलादेशी कारखानाहरूमा काम गर्ने १२३९ जना मानिसहरूको मृत्यु भइसकेको छ र हजारौँ मानिसहरू घाइते भएका छन्।
बङ्गलादेश कपडाको निर्यातमा संसार दोस्रो स्थानमा आउछ। ८०% भन्दा ज्यादा कपडाहरू यहाँ बाट युरोप र अमेरिकामा निर्यात हुन्छ। झन्डै १३ बिलियन पाउण्डको कारोबार भएको उद्धोगले प्रायः ३.५ मिलियन मानिसहरूलाई रोजगार दिएको छ।
ज्यादा जस्तो तेस्रो संसार र दक्षिण एसियाली देशहरूमा यस्ता दुर्घटनाहरू घट्ने गर्छ, त्यसैले यी देशहरूलाई संसारको पसिनाको दोकान भनिन्छ जहाँ संसारभरिका पुंजिपतिहरू सस्तो भन्दा सस्तो श्रमको खोजीमा आउछन् तर सुरक्षाको कुनै प्रावधान भने लिदैनन्। सरकार पनि विदेशी मुद्राको लोभमा यस्ता पुँजीपतिहरूलाई निम्ताउँछन्। तर के श्रमिकहरूको ज्यानको सुरक्षा पनि उनीहरूको जिम्मा होइन जसको निम्ति उनीहरू दिनरात खट्छन्? अब तपाईँलाई पनि कसैले एउटा डेनिमको शर्ट तयार गर्न कति पर्छ होला भनेर सोधे , एक दुई सय मजदुरको ज्यान भन्नु होला।
गुञ्जन राणा
No comments:
Post a Comment