Thursday, June 27, 2013

कथा : प्रतिवाद

“बाबु तिम्रो बाउले आत्महत्या गरेछन्”। 


“आत्महत्या...... हा हा हा ! त्यो तपाईँले आत्महत्या देख्नुभयो? म त त्यसलाई हत्या भन्ठाने थे। जे होस्, म अन्धोलाई त्यसमा कुनै सरोकार छैन।”



“अँ यहाँ तपाईँ नि को हुनुहुन्छ”। भास्करले, पात्लो खाडीको च्यादर तान्दै सोध्यो।



“भाइ हामी सरकारी कामदारी हौ।” दुई कर्मचारी मध्ये एकले भने। “त्यसो त तपाईँ सहुलियत दिलाउन आउनुभएको जस्तो छ नि।” “हो भाइ सामाजिक हैसियतले केही नभएको हुनाले, सरकारद्वारा केही सर-सहयोगको रूपमा ५०० रुपियाँ तिम्रो नाउँमा आएको छ। तिमी आन्धो छौ भनेको सुन्दा हामी घरैमा आयौ।”



“हा हा हा ! भास्कर जोड-जोड, हास्यो। हास्दा-हास्दै त्यो खाडीको च्यादर भुइँमा खस्छ।”  भास्कर हुन्छ निवस्त्र। नग्न शरीरलाई केही ओझेल दिन एक कर्मचारी त्यस च्यादर उठाई फेरि भास्करको शरीर ढाकी दिन्छ।



भास्कर भन्छ “५०० रुपियाँ...सायद कात्रोको रुपियाँ दिनुभाको होला।” “हामीले होइन भाइ, यो सरकारको कोष हो।” 



 “जिउँदाहरुलाई लछारी-पछारी नांगै-भुतुङ्गै बनाउने सरकारले अब त मुर्दालाई कात्रो किन्ने पैसा दिन थालेछ। हेर्नुहोस्, मेरो जिउदो शरीर निवस्त्र छ, यी पेटमा अन्न छैन, चार दिन भयो। म अन्धो छु दश वर्ष देखि....फेरि मेरो आमा छैनन् न नै कोही आफन्त... फेरि एउटा बुवा, उनलाई पनि हत्या... .”



ती नयनले कहिले धर्ती नदेखे पनि धर्तीमा शोषण गर्ने कैयौं शोषणकारीको लामा-लामा जिब्रो उसको मस्तिस्कले देखिसकेको थियो। 



एक कर्मचारीले तुरन्तै भन्यो , “ भाइ तिमी गलत बोल्दैछौ। तिम्रो बुवाको हत्या भएको होइन...त्यो आत्महत्या हो।” 



“तपाइले देख्नु भो?”



“हो मैले मात्र होइन सबैले देखेको।” 



“त्यसो भए तपाईँ मात्र होइन समस्त देख्नेहरु अन्धो रहेछन्। म अन्धो होइन किनभने मैले त्यहाँ हत्या देखे। औ यो साचो हो।”



“कसरी?”



“तपाइ जान्न चाहनुहुन्छ?”



“हो।”



“त्यसो भए तपाईँले प्रतिवाद गर्नुहुनेछ ? तपाईँको देशलाई, तपाईँको सरकारलाई” 



“गरौला”



त्यसो भए सुन्नुहोस......., करिब सात वर्ष अघिको कुरो हो। म अन्धो नै थिए। मेरो एकमात्र हेरचाह गर्ने मेरा बुवा थिए। बुवा मलाई संसार देखाउनु चाहनु हुन्थ्यो तर गरिब टुहुराको लागि यो असमर्थ थियो। मेरा बुवाका साथी राजु हामी सँग घनिष्ट थिए। रातका अन्धकारमा बुवाले लखतरानको भोज हटाउन एक बोतल पिएर मेरो छेउमा बसी मिठा-मिठा गफ गरिरहेका थिए। ढोकामा ढकढकीयो। राजु काका थिएछन्। उनी भित्रै आए। मेरो समस्त दर्द-पीडा हटाउन उपाय लिएर  आएछन्। उनले मेरो बुवालाई भने दाजु हेर्नुहोस् तपैको छोरा निको हुनेछ। मेरोमा एउटा उपाय छ. बुवा हर्षले गदगद् भए। राजु काका भन्दै गए, यो घर बाहेक तपाईँको जमिन गरिदिनुहोस् अनि उपचार गर्नुहोस। बुवाले भन्नुभयो-तर यो जमिनको पैसाले पुग्ला र यति ठुलो अपरेसनको लागि। राजु काका भन्दै गए, धत्तेरी दाजु पनि बचत खातामा राख्नुपर्छ. आठ वर्षमा चार गुणा बढ्छ। हो र त्यसो भए भोलि नै गर्नु पर्ला, तर कसले पो गर्लान् मलाई त अत्तोपत्तो छैन- बुवाले भने। राजु काकाले आतुर साथ जवाब दिए, म छदैछु नि, मैले नै एजेन्ट गर्दैछु। एयटा असल कम्पनी रहेछ। अरे आठ वर्षमा चार गुणा पो। दाजु यस्तो त अरू कहाँ पाइन्छ र? फेरि कम्पनीले सीमित समयको लागि अफर पो दिएको। २८ तारिक त सकिन्छ दाजु झट्टै गरिहाले मात्र पाइन्छ अफर। नभन्दै बुवाले सबै जमिन बिक्री गर्नु भयो। अनि सबै रुपिया राजु काकाले भने अनुसार राख्नु भयो। यसरी ७ वर्ष बित्यो।  अब पैसा फर्किन १ वर्ष बाकि। बुवा खुसीले गद्गद् थिए,........चार डबल। हिज बिहान सधैँ झैँ बुवा काममा जानु भयो साँझ झमक्क परि सके पछि फर्किनु भयो। सधैँ दिनमा नखाने तर हिज भने ढधेर पिउनु भए छ त्यसैले मैले सोधे, बुवा आज किन.......? मेरो प्रश्नको अर्ध वाक्यमै बक्न लागे बुवा। तँ चुप, अब तेरो बुवा कहाँ रह्यो र? तेरो सुन्दर भविष्य यहीँ खाल्डो भित्र राख। तेरो निधारमा यहीँ रहेछ हैन भने भिख माँग। म अब तलाई धेरै पाल्न सक्दिन। मैले सोचे थे अब त तेरो आँखा बनिनेछ, म बुढोलाई पाल्ने छस। म पनि त हाड-छालाले बनिएको हुँ, कत्तिन्जेल रग्डिएर बस्नु, ती रोडामा? 



मैले बुझ्न सकिरहेको थिइन आज किन बुवाले यस्तो बोली गर्नु भयो शायद जीवनमा प्रथम पल्ट होला यसरी बोल्नु भाको........ अनि अन्तिम पल्ट पनि। 



छिनैमा शान्त भावमा बोल्नु भयो, “हेर, त्यो राजु भागेछ। त्यो कम्पनी उडेछ। हाम्रो पैसा गयो, उड्यो हावामा.... अब तैले संसार देख्दैनस।” “बुवा होस् मलाई संसार देख्नु छैन, तपाईँलाई महसुस गर्न पाए हुन्छ। मलाई पानी दिनु होस् बस्....... म भन्दै गए तर बुवा कत्ति खेर जानु भएछ। पछि खबर पाए हत्या।” 



“होइन आत्महत्या।” 



“अझै तपाईँ यसलाई आत्महत्या भन्दै हुनुहुन्छ? आफ्नो जीवन भरीको कमाई खाईदिएर जीवनमा बाँच्ने आधारनै खोसिदिए पछि मानिस कसरी पनि बाँच्न सक्छ र? यो त सपनाको हत्या हो, मान्छेको हत्या हो।” भास्कर गर्जियो।



दोस्रो कर्मचारीले सुस्तरी भन्यो, “हो मित्र यो हत्या हो। यो षड्यन्त्रलाई बुझ्ने कोसिस गर कारण जनताले त बुझी सके यसो कान थपेर सुन त।” 



बाहिर हल्ला-खल्ला भई रहेको थियो, आक्रोशित जनताहरू एक सुरमा नारा लगाउदै थिए —



गरिबको पैसा फर्काइ दे ! 



सरकार मुर्दाबाद !



प्रशासन हामीलाई जवाब दे !

   अमित छेत्री









No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...