अनुराधा शर्मा ('द व्यार'-मा प्रकाशित अङ्ग्रेजी निवन्धको संक्षिप्त अनुवाद : अम्बिका राई)
गोर्खाहरूका निम्ति खुकुरी शक्ति अनि शानको प्रतीक हो। यो तलवार अनि छुरा जस्तो धारिलो हतियार बनाउनेहरू आफू माथि गर्व पनि गर्दछन्।
मुखमा अम्बेडकरको विचार बोकेका भारतीय उपमहाद्वीपको कैयौँ नेपाली दलितहरू, जातको नाममा सिमानाको वारिपारि गरिने भेदभावसँग लड्न अनि आफ्ना समुदायका परम्पराबारे गौरवको निर्माण गर्न पहिलो चोटि एक भएर अघि बढेका छन्। 3 मार्च 2019-का दिन, नेपाल अनि भारत देशका लगभग 50 जना कामी, दमाई, सार्कीहरू सिलगढीमा भेला भएर जातको नाममा भइरहने अत्याचार, भेदभाव अनि दैनिक जीवनमा यसको अनुभवबारे एकअर्कासँग चर्चा गरे। यो एक दिने कार्यक्रमको अन्तमा गएर अन्तर्राष्ट्रिय कामी, दमाई, र सार्की कल्चरल हेरिटेज फोरम गठन गरियो।
दलितसँग हुने भेदभावविरूद्ध लडाइसँगै यस फोरमले दलित इतिहास र परम्परामाथि शोध अनि त्यसलाई लिपिबद्ध बनाउने निर्णय पनि गरेको छ। "हाम्रो लाजको कारणमध्ये मुख्य हो हाम्रो समृद्ध विरासतबारे हाम्रो अज्ञानता अनि जातबारे हाम्रा कुराकानी केवल भेदभाव लिएरै सीमित राख्नु” फोरमका प्रमुख संयोजक शेखर सेवाजले भने जसको मस्तिष्कको उपह हो यो क्रस-बोर्डर पहलको अवधारणा। उनले अझै भने, 'हामी को हौँ जान्ने र हाम्रा समृद्ध विरासत लिएर गर्व गर्ने समय आइसकेको छ।”
खुकुरीको धारमा
“खुकुरी– जो गोर्खा रेजिमेन्टको पहिचान हो, त्यो हामी बनाउँछौ, हामी जसलाई ‘तल्लो जातको’ भनिन्छ, र यो हाम्रो पुर्खाहरूले गरी आएको काम हो।” मिथिलेश बराइली कामीले भने। उनी संयोजक अनि सञ्चालन समितिका सदस्य हुन्। ‘कामीहरूले फलामलाई हिर्काएर मजबुत अनि धारिलो बनाउँछन् भने, दमाई अनि सार्कीहरूले यसको चम्किलो छालाको खोल बनाई दिन्छन्।
खुकुरी केवल लडाईंको मैदानमा चलाउने हतियार मात्र होइन, तर दैनिक जीवनमा काम लाग्ने चिज पनि हो। “कुनै पनि धार्मिक अनुष्ठान खुकुरी बिना अधुरो हुन्छ। गोर्खा जातिको वीरताका प्रतीक हो खुकुरी, अनि यसै खुकुरीको ब्याज बनाएर मुटुको छेउ अनि पहाडे टोपीमा सिउरेर लगाउँछन्।”
तर त्यही खुकुरी बनाउनेहरूलाई बिर्सिन्छन्। जुन मुटुको छेउमा त्यो खुकुरी सिउरिन्छन्, त्यो मुटुमा उनीहरूको लागि ठाउँ छैन। “उनीहरूले गरेको कामको त कुरा नै छोडी दिनुहोस्, बरु उल्टा अछुतको रूपमा हेर्छन्। सहरमा भने, ठुलो जातको घरमा पस्नु त पाइन्छ, तर सानो जात अनि ठुलो जात चको विवाहलाई भने स्वीकार गर्दैनन्। यति मात्र कहाँ हो र, ‘कामी’ शब्द नै कसैले भन्न नहुने शब्द जस्तै भइसकेको छ। यसलाई कहिले त गालीको रूपमा प्रयोग गरिन्छ। कति जना भने आफूलाई कामी भन्न पनि लजाउँछन्, अनि त्यसको सट्टामा अलिक इज्जतदार पदवी लिन्छन्”- 31 वर्षीय बराइली कामीले भने।
सङ्गीत रुचाउँछन्, सङ्गीतकार होइन
“हामी सङ्गीत बनाउँछौ। हामी नाँच्छौँ। हामी सुनको गहना बनाउँछौ। हामी फलाम पगाल्छौ, तामा हिर्काउछौँ अनि छाला ट्यान् गर्छौँ। यो हामीले अमूल्य विरासतमा पाएका हौँ। यसमाथि हामीले गर्व गर्नुपर्ने हो तर हामीलाई लज्जित हुनु कर लगाउँछन्।” सेवाले बताउँछन्। उनी अखिल सिक्किम अनुसूचित जाति कल्याण संस्थाका अध्यक्ष हुन्।
पोस्ट-मास्टरको छोरो उनी, उनलाई कहिले पनि पारम्परिक सङ्गीत सिक्न कसैले प्रोत्साहन दिएन, जो उनको जातले पाएको पेसा हो। पछि गएर सेवाले आफ्नो गाउँमा दमाई समाजको गठन गरे। साथ साथै उनले सङ्गीतकारहरूको एउटा टोलीको पनि गठन गरे— जसमा कोही विद्यार्थी थिए अनि कोही पेशेवर सङ्गीतकार। उनीहरू नौमती बाजा अनि अरू धेरै किसिमको बाजाहरू बजाउँदै, आफ्नो राज्य अनि राज्यबाहिर साङ्गीतिक भ्रमणमा पनि गए।
सात वर्ष अघि, उनले आफ्नो गाउँ मार्तममा, नौमती बाजाको प्रचार गर्न कञ्चनजङ्गा नौमती संस्था सुरु गरे। नौमती बाजाको परम्परा लुप्त हुँदै गएको कारण उनले यो संस्था सुरु गरेका हुन्।
सेवाले भने, “मानिसहरू आफ्नो जातको काम नगरेर, अरू ठुलो ठुलो कामको खोजीमा लाग्छन्। हाम्रो अहिलेको नयाँ पुस्ताहरूलाई आफ्नो विरासतको बारेमा धेरै कम्ती थाहा छ। मैले यो भन्न खोजेको होइन कि हामीले आफ्नो जातले पाएको काम मात्र गर्नुपर्छ। तर हामीलाई आफ्नो संस्कृतिबारे थाहा हुनुपर्छ, यसलाई बुझ्नुपर्छ, यसलाई पुनर्जीवन अनि यसको संरक्षण गर्न सक्नु पर्छ। यदि हामीले नै गरेनौं भने अरू कसले गर्छ?”
सेवाले आफ्नो नौमती बाजा दलसँग हिँड्दा धेरै अनुभवहरू पाए जुन उनको सङ्घर्षलाई लामो र विस्तृत बनाएको छ। “मेरो एक जना ठुलो जातको साथीको बिहेको दिन, म अचम्म अनि दङ्ग परें।” सेवाले बताए। “हामीलाई अतिथिको रूपमा बोलाइएको थियो। अनि हामीले विवाहका परम्परागत सङ्गीतहरू पनि बजायौँ। त्यहाँ सबैजनाले हाम्रो सङ्गीत मन पराए। खाना खाने बेला अघिसम्म सबै कुरा ठिक चल्दै थियो। त्यस पछि हामीलाई अलग्गै एउटा होटेलमा खाना खानु पठाए। यो मेरो आफ्नै साथीको बिहे थियो, मेरो गाउँमा। यो धेरै अपमानजनक लाग्यो।“
सेवाले यो कुरा स्वीकार गरेनन्। “यो केवल खानाको कुरा मात्र थिएन, यो हाम्रो इज्जतको पनि कुरा थियो। यो कुरा मैले उनीहरूलाई बताए, र उनीहरू यो कुराले गर्दा लज्जित भए।”
जति सेवाले अरू ठाउँको भ्रमण गरे, उनले यो भेदभाव हरेक ठाउँमा नै पाए। “हाम्रो निम्ति अलग्गै खाने अनि बस्ने व्यवस्था गरिन्थ्यो। हामीले सङ्गीतको बाटो केवल आफ्नो जातको पेशाले गर्दा होइन तर आफ्नो इच्छा अनि जुनुनले गर्दा रोजेका हौँ। उनीहरू हाम्रो सङ्गीत मन पराउँछन्, हामीलाई होइन।”
तर बाजा भने आफै बज्दैन। सेवा अनि उनको दललाई अझै पनि बिहामा गीत अनि सङ्गीत बजाउन बोलाइन्छ। उनी बताउँछन्, “म नम्र तरिकाले भए पनि, जातले गर्दा हुने भेदभावबारे आवाज उठाउँछु। अनि कुनै किसिमको मर्यादा हानी सहँदिनँ।”
दलितको पानी अशुद्ध
भारत, नेपाल अनि भुटानको संविधानले देशको नागरिकलाई कुनै किसिमको भेदभाव बिना, सम्मानजनक जीवन जिउने अधिकार दिएको छ। तर नेपाली हिन्दुहरू मध्ये भने अझ पनि जातपातको भेदभाव भइ रहेको छ।
ठुलो जातका हरूले दलितहरूलाई ‘पानी न चल्ने जात’ भनी सम्बोधन गर्छन्। “नेपालमा अहिलेसम्म जातपात प्रथा कायम छ”— भन्छन् गौतम, जो एक दलित कार्यकर्ता हुन्। “सहरमा त्यति बेसी भेदभाव पाइँदैन होला, तर गाउँबस्तीमा भने दलितसँगको भेदभाव डरलाग्दो रूपमा पाइन्छ। छुवाछुत अझसम्म प्रचलित छ। पानी थाप्ने धारा बेग्लाबेग्लै हुन्छ। दलितहरू मन्दिरमा पस्न पाउँदैनन, अन्य जातको घरमा पस्न मिल्दैन। कहिलेकाहीँ सरकारी अफिसमा पनि पस्न दिँदैनन्।”
गौतम आशा गर्छन् कि जब हिन्दु राज्य परिवर्तन भएर लोकतन्त्र आएको छ, सायद बिस्तारै आउला तर परिवर्तन अवश्य आउने छ। उनी भन्छन्, ‘यो छिटो छिटो भइहाल्ने कुरा त होइन, तर हामी एकजुट भई यो लडाई लड्नुपर्छ। एउटा राम्रो कुरा यो पनि हो कि संविधानले दलितहरूको लागि छुट्टै प्रबन्ध गरेको छ। कानुनले पनि छुवाछुतको अन्त गर्न नियम बनाएको छ। अब ऐनलाई पनि उपयोग गर्नु मिल्छ।”
गोर्खा पहिचानको बरगाछ
साल 2016-मा, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कामी, दमाई अनि सार्कीहरूका लागि तीन वटा छुट्टै विकास बोर्ड गठन गर्ने घोषणा गरिन्। उनले दार्जिलिङ अनि कालेबुङ पहाडका नेपालीभाषी एथ्निक समुदायहरूका निम्ति घोषणा गरेको 15-16 वटा बोर्डमध्ये यी बोर्डहरू पनि आयो। (अहिले त पहाडका प्राय सबै एथ्निक समुदाय, जनजाति-भाषा-जातको समुदायहरूका निम्ति, यहाँसम्म कि उच्चजातको लागि पनि यस्ता एक-एक वटा बोर्ड छ। यो सब गठन गर्नुको पछाडि एउटा ठुलो कारण थियो 2014 मा नयाँ उभारले भएको गोर्खाल्याण्ड आन्दोलनलाई शिथिल पार्नु। राजनैतिक हिसाबले भने यस्तो चाल चालेर उनलाई फाइदा त भयो, तर सँगसँगै आलोचना पनि भयो यसरी पहाडको एकता तोड्न ‘डिभाइड एन्ड रूल’ नीति अपनाएकोले गर्दा। उनले कमजोरीको फाइदा उठाइन्, तर यस विभाजन भने उनले सृजना गरेको होइन। भेदभाव, खास गरी जातपात सम्बन्धित भेदभाव समाजको गहिराइमा छ। यद्यपि बङ्गालको पहाड क्षेत्रमा यस पूर्वाग्रह परम्परागत ढङ्गमा भने अहिले छैन भन्दा हुन्छ।
छुवाछुत भन्ने कुरा अहिले हुँदैन, जातको नाममा लडाई झगडा हुँदैन भन्ने कुराहरू सुन्न पाइन्छ, तर यसले केवल जातको नाममा हुने भेद-भावलाई छोप्ने काम गर्छ। जातपातलाई लिएर राजनैतिक अथवा अरू कुनै परिसरमा चर्चा नै हुँदैन। दार्जिलिङ अनि कालेबुङमा मात्र होइन तर, छेवैको राज्य सिक्किममा पनि दिनहुँ जीवनमा रहेको यस्तो कुनै किसिमको छुवाछुत र जातपातको छोपिएको भेदभाव अझसम्म छ भन्ने कुरालाई पत्तो नै दिँदैन।
जब कुरा भारतमा बस्ने नेपालीहरू, भनौँ ‘गोर्खाहरू’को गरिन्छ, त्यति बेला चर्चा केवल गोर्खा पहिचानको मात्र गरिन्छ, अनि अरू पहिचानको कुरा कहाँ हराएर जान्छ। कालेबुङका कवि प्रदीप लोहागुण भन्छन्, “गोर्खा राष्ट्रियतावादले अरू सबै डिस्कोर्सेलाई छोपिदिन्छ। गोर्खा पहिचानको कुरा यति विशाल भएर आउँछ कि अरू कुनै पहिचानको कुरा अगाडि आउनै सक्दैन। गोर्खा राष्ट्रियतावाद एउटा बरगाछ जस्तो हो, जसले आफ्नो छहारीमा अरू कुनै डिस्कोर्सको बिरुवालाई उम्रिनु नै दिँदैन।”
तर, गोर्खा भन्ने पहिचानको वर्चस्वले जातपातको भेदभावको प्रश्नमा भने कुनै सुरक्षा दिनु सकिन्न, किनभने जातपातको कुरै त्यतिखेर आउँदैन। “यदि केवल गोर्खा पहिचान काफी भएको भए, र यदि सबै जना गोर्खा भए, कुनै जात नछुट्टाई, त्यसो भए सबै जना नै एकै समान हुनुपर्ने थियो, होइन? दुखको कुरा के हो भने, वास्तविकतामा यस्तो छैन।”
कसैको काम वा आर्थिक अवस्था जस्तो नै भए पनि, जातपातको भेदभावबाट बाँच्न निक्कै गाह्रो छ। लोहागुणले अझ भने – “बाहिरबाट हेर्दा भेदभाव नभएको देखिन सकिन्छ। साधारण दिनहरूमा एक अर्काको घरमा पनि जान्छन्। तर के जातहरूबीच विवाह गर्न दिन्छ समाजले? अझ यस्तो भेदभाव कुनै पनि सामाजिक कार्यक्रम, पूजापाठ वा बिहेको समय छर्लङ्ग देखिन सकिन्छ, जहाँ जातको पहिचान ठुलो भएर आउँछ।”
तल्लो जातकाहरूबाट त्यसै आशा गरिन्छ कि तिनीहरू माथिल्लो जातकाहरूको भान्सा घर या भगवानसम्म जाँदैनन्। यो कुरा यति बिघ्न आत्मसात् गरिएको छ कि मान्छेले त्यस्तै गर्छ, केही नभने तापनि। अथवा तिनीहरूलाई स्पष्टरूपमा भनी पटाइन्छ कहाँ सीमारेखा तान्नुपर्ने हो भनेर।
पहिचानको पीडा
कालेबुङ निवासी बराइली कामीलाई धेरैजसो अरू कसैको बिहेको समय तिनको जात के हो भन्ने प्रश्न गरिन्छ। र उनको उत्तरले माहौलमा अलिकति अफ्ट्यारोपन ल्याइदिन्छ। “म शान्तसँग आफूलाई ‘कामी’ भन्छु, ‘विश्वकर्मा’ (अलिक भव्यरूपले यस्तो भन्ने चलन अहिले बढिरहेको छ) होइन। अचानक त्यो ठाउँको माहौल बदलिन्छ अनि सबैको अनुहारमा एक किसिमको अफ्ट्यारोपन देखिन्छ। कोही बेला प्रश्न सोध्ने मान्छे मसँग माफी माग्छ, भन्छ — ए! सरी भाइ, म तिमीलाई दु:ख दिनु चाहेको थिइनँ।.... जस्तो कि म कुनै दु:खकष्टमा छु।.”— हाँस्दै भन्छन् बराइलीले।
राभाङ्गलाको 26 वर्षीय डाक्टर पल्लवी परियार भन्छिन् –“हामी आफैलाई दमाई भन्न लजाउँछौँ। यद्यपि म सिधै कुनै किसिमको भेदभावको सिकार त बनिनं, मेरो पेशाको सामाजिक मर्यादाले होला, तर पनि कहिलेकाहीँ साथीहरूको घर जाँदा कसैले मेरो जात सोध्यो भने मलाई अप्ठ्यारो लाग्थ्यो। म आफैलाई दमाई हो भनेर चिनाउनदेखि बचाउन खोज्थे। त्यसपछि त्यहाँको माहौल बेग्लै बनिन्थ्यो।
कसै कसैले त यस्तो भेदभावको बारेमा बोल्न पनि मन गर्दैनन्। “धेरैजसो नेपाली दलित यो विषय लिएर निक्कै संवेदनशील हुन्छन्। अनि आफूसँग भएको भेदभावको कुरा गर्न रूचाउँछदैनन्।” यसो भने एक बाहुन भारतीय-नेपाली लेखकले। उनले यो विषयमाथि धेरै काम गरेका छन्, र आफ्नो नाम उल्लेख न गरियोस् भन्ने चाहन्छन्।
भारतमा बस्ने नेपाली दलितहरूले आफूलाई ‘दलित’को रूपमा हेर्न चाहँदैनन्। यस अन्तर्राष्ट्रिय फोरमले आफ्नो नामबाट दलित भन्ने शब्द हटाएको छ यसमा भारतीय भागीदारहरूको चाहनाले गर्दा। “धेरै जनाले ‘दलित’ भन्दा एउटा गरिब मान्छेलाई कल्पना गर्छन्, जुन भारतको अरू ठाउँमा देख्न सकिन्छ। तर हाम्रो पहाडका नेपाली दलितहरू भने सबै जना त्यस्तो छैन। आर्थिक रूपमा धेरै जना राम्रो स्थितिमा छन्। उनीहरू आफूलाई ‘दलित’को नाम दिनमा लजाउँछन्।”— लोहागुणले भने।
नयाँ आशा
यस अन्तर्राष्ट्रिय फोरम एक अराजनैतिक मञ्च हो, जसको केही सदस्य राजनीति पनि गर्छन्। यो एउटा यस्तो साझा मञ्च हो जहाँ युवा अनि अनुभवी मानिसहरू छन्, र उनीहरू एक भएर देशको समस्याको समाधान गर्ने विचार राख्छन्। “दलित एकता अहिलेको घडीमा एकदमै जरुरी भएर गएको छ”।— परियारले भनिन्।
दिनहुँ जीवनमा हुने जातको भेदभावको अन्त, अनि आफ्नो कुशलता र कामले यस समाजलाई सहभागिता दिने सबै जातका मानिसहरूको निम्ति सम्मान र मर्यादा नै यस सङ्गठनको फोकस हुनेछ भन्ने अडान बताउँदै सेवाले भने, “आफ्नो जातको पहिचानमा गर्व गर्नु नै हाम्रो निम्ति सबै भन्दा महत्त्वपूर्ण पाइला हो”।
उनकै शब्दमा भन्नु परे— “हीनताबोधको भावना बेस्सी नै भयो।”
No comments:
Post a Comment