Monday, April 15, 2019

यस चुनावमा चुन्नलाई केही छैन

शिवम शर्मा


प्रत्येक पाँच वर्षमा एउटा सांसद पठाउन दार्जीलिङको लागि केवल रूटिन भएछ, प्रतिनिधि चुन्न र प्रतिनिधिको चुनाव प्रचार प्रसारको उर्जा चुनाव परिणामको दिन, पाँच वर्षको लागि स्थगित भैदिन्छ। भारतवर्षमा 545 वटा सासंदमा दार्जीलिङको भूमिका खासै निर्णायक पनि छैन तर भाजपाको लागि बङ्गाल पस्ने प्रथम खुड्किलो बन्यो दार्जीलिङ 2009 मा ।

गोर्खाल्याण्डको निम्ति भाजपालाई सघाउनुमा दार्जीलिङले दस वर्ष गुमायो। दार्जीलिङको मूद्दाहरू एउटा छुट्टै राज्य गोर्खाल्याण्ड त मूल हो, तर साथमा जोडिएका जटिल विषयहरू हुन् चिया कमानको दयनीय अवस्था, रोजगारको अभाव, पर्यटकहरूको बोझ ढाडमा बोक्ने कुल्लीहरूको दशा, शैक्षिक संस्थानहरूको अभावले पढ्न नपाएका हाम्रा छात्रहरू, अथवा येन-तेन-प्रकारले पढ्दा पनि सिलगढी, कलकत्ता, दिल्ली जानपर्ने बाध्यता। स्वास्थ्यसेवाको जुन जर्जर स्थिति छ, यसले निम्नवर्गीय मानिसहरूलाई मर्नुपर्ने स्थिति भएको कुरा हामी छल्न सक्दैनौँ। तर आज यी मुद्दाहरू सबै भाजपा बनाम तृणमूलको राष्ट्रिय राजनीतिको स्वार्थमा विलुप्त भएका छन्।

भाजपा एक फासीवादी ताकत हो जसले एक उग्रहिन्दूत्व विचारलाई पूज्य र अरू सबै विरोधका स्वरहरूलाई त्याज्य साबित गर्नलाई हिन्दु धर्मलाई प्रयोग गर्छ र उच्च ब्राह्मणवादी र मनुस्मृतिको अंहकारलाई प्रदर्शित गर्छ। अब दार्जीलिङलाई यसको के सरोकार छ भन्दा दार्जीलिङलाई भारतको पहिलो बहुसंस्कृतिलाई समेटेर लेप्चा, भुटिया र गोर्खाहरूबीच सामञ्जस्य स्थापित गर्ने माटो भन्नमा अतिशयोक्ति नहोला। आज त झनै विभिन्न धर्मलाई अंगीकृत गरिसकेको दार्जीलिङमा आरएसएस र भाजपाको साम्प्रदायिकतालाई हुर्किन दिनु चाहिँ दार्जीलिङको मुटुलाई क्षतविक्षत गर्नु हो।

अझै 2017 को 104 दिने जनान्दोलनमा राज्य सरकारले गरेको आतंकमा भाजपाको मौन स्वीकृती, सेना पठाउनु र सासंदको कर्तव्यविहीन र उत्तरदायित्वबाट भाग्ने रवैयाले पनि भाजपाको चरित्र स्पष्ट पार्छ।

तृणमूलले दिएको घाउ त अझै आलै छ, पश्चिम बङ्गालमा तृणमूलद्वारा पञ्चायत चुनावमा गरिएको हिंसा, दार्जीलिङमा जबर्जस्ती जीटिए-2 को गठन, चिया श्रमिकको रोज निर्धारित नगरी चुनावमा अन्तरिम ज्यालाको लिपपोत गर्ने षडयन्त्रले बङ्गाल राज्यद्वारा चलाईएको घरेलु उपनिवेशवाद (internal colonialism) लाई प्रमाणित गर्छ। माकपाले मार्क्सको मखुन्डो ओडेर सर्वहारामाथि चलाएको दमन, गोर्खाल्याण्डको विरोध तथा सिप्सु इन्काउन्टर, सिंगुर नन्दीग्रामको बीभत्स काण्डले 2011 मा सत्ता गुमाएको हो।

त्यसर्थ प्रत्येक पार्टीको हाथबाट दार्जीलिङले घात पाएको हो, दार्जीलिङको समस्याहरू यथावत् नै छन्। आज पनि कुनै विषयमा गम्भीर छलफल भएको छैन। यस चुनावमा चुन्नको लागि केही छैन।  चुनावमा मूद्दा, मूल्य, सिद्धान्त र जनताको मत समेतको धाँधली प्रत्येक पार्टीले गर्नेछन्— यो निश्चित छ।

यस परिस्थितिमा जनताको एकमात्र न्यायोचित बाटो हो आफ्नो जटिल मुद्दाहरूलाई आफै लड्नुपर्ने स्थिति तैयार गर्नु। चिया मजदूरहरूको दुर्दशा निर्मुलन र हितको लागि पूँजीवादको पोषक दलहरूले कहिले प्रतिनिधित्व गर्न सक्दैनन्, वनबस्तीको समस्याको निवारण जीटीए अथवा राज्य सरकारको सत्तासीन दलले पनि कहिले गर्नेवाला छैन।

सत्ताधारी दलको स्वार्थ रक्षा कमजोर मेहनती जनताको छातीमा टेकेर हुन्छ। जनताले सडकमा उत्रिन बिर्से संसदले जनतामाथि मनमानी चलाउँछ। चुनावको सङ्कुचित दुनियाँबाट बाहिर हेरौँ यस चुनावमा आफ्नो मत, मत चोरी गर्ने दलहरूबीच न खसालेर 'नोटा'मा दिऊ र आफ्नो अडान मजबूर होइन मजबूत भएर राखौँ।

यस चुनावमा चुन्नलाई केही छैन। पूँजीवादको पोषण गर्ने उदारवादी लोकतन्त्र समेत फासीवादको उदयले कमजोर बन्दैछ। यस्तो स्थितिमा चाडै समग्र प्रगतिशील विचारहरूले केवल यही व्यवस्थाको प्रतिनिधि होइन तर व्यवस्था नै फेर्ने डिस्कोर्स दिन सक्नुपर्छ। इतिहास न भाजपाको रुढीवादी विचारले थामिन्छ, न बुर्जुवा प्रजातन्त्रले स्थिर बस्छ। द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तमा विश्वास राखौँ, र ह्यूमन एजेन्सीले यस अन्धकारलाई तोड्ने जमर्को गरे, साम्यवादी संसारको स्थापना निश्चित छ।

यस लडाईमा प्रत्येक हारले सर्वहारा जनतालाई अझै परिपक्व पार्नेछ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...