Sunday, September 1, 2024

जात र प्रश्नहरू

 बिपल रसाइली 


केही दिनअघि फेसबुक संसारमा तथाकथित सानो जातकालाई आरिएको विभेदपूर्ण टिप्पणीविरूद्ध एउटा अभियान नै चल्यो। शिलङका एकजना युट्युबरले आफ्नो फेसबुक स्ट्रीमिङ गर्दै एकजना दर्शकलाई जातको आधारमा केही अशालीन शब्दहरू प्रयोग गरेका थिए। त्यो भिडियो फूटेज फेसबुक प्ल्याटफर्ममा धेरै नै भाइरल भयो। जसको प्रतिवादमा त्यस युटुबरविरूद्ध दार्जिलिङ, कालेबुङ लगायत विभिन्न ठाउँहरूका दर्जनौँ दलित सङ्गठन र समाजहरूले थानामा प्राथमिकी दर्ता गरे। केही ठाउँमा धरना दिने कार्यक्रम अनि विरोध प्रदर्शन पनि चर्को रूपमा गरेको देखियो। तर दोषीविरुद्ध हालसम्म पनि कुनै कारवाहि भएको जानकारी छैन। देशको न्याय प्रणाली कतिसम्म दलित मुद्दामा संवेदनशील छ भन्ने प्रश्न यस घटनाले उदाङ्गो भएको छ। यस्ता अनेकौँ घटना देशभरि नै घटिरहेको खबर हामी सुनिरहेका हुन्छौँ।

एकजना युट्युबरले दिएको बयान र यसको प्रतिवादको रूपमा खडा भएको बहसको वैचारिकता कतिसम्म दह्रिलो छ त भन्ने प्रश्न नै हामी दलित समाजको निम्ति चुनौति हो। कालेबुङ सहरमा भएको र्‍यालीमा नीलो झण्डासित बाबा साहेब अम्बेडकर अनि बुद्धको फोटो पनि देख्न पाइयो। कतै भने दोषी विरूद्धको आक्रोश मात्र पनि भेटियो। हाम्रो लडाई केवल त्यस दोषी विरूद्ध मात्र हो त..? हाम्रो सङ्घर्ष उहिल्यैदेखि रहीआएको जात व्यवस्था उनमूलनको सङ्घर्ष होइन र..? आजको जुलुस, नारा, आक्रोश अघि उभिएका प्रश्नहरू अझै धेरै छन्...।  

इतिहासका गल्तीहरू....

सिन्धुघाटी सभ्यता पाँच हजार वर्ष अघि विकसित भएदेखि यता समाजविकासको क्रम सुरु हुन्छ। हिन्दु नामकरण गरिएको निश्चित दर्शनको आधारमा समाज सञ्चालनको व्यवस्था सुरु भयो। जातको आधारमा वर्ण व्यवस्था (Caste)-को निर्माण गरियो। यही जात व्यवस्थाले विश्वका विभिन्न सभ्यताभन्दा एउटा छुट्टै विशेषता बोकेको छ। जातको आधारमा श्रम विभाजन नै यस व्यवस्थाको विशेषता हो भन्ने चर्चा धेरै पाइन्छ। 

आजको नेपाली समाजमा रहेको जात व्यवस्था उपरोक्त परम्परामाथि नै आधारित रहेको छ। आज दलित मानिएका अथवा शुद्र वर्णमा पर्ने विभिन्न जातहरू खस जनजाति मूलका रहेको मानिएको छ, जसलाई आज खस तागाधारि भनिन्छ। इतिहासको विभिन्न चरणहरूमा खस जातिको सामाजिक सत्तालाई पराजित गरी हिन्दु राजाहरूले राज गर्नथाले। विजयी भएको सत्ताद्धारा थोपिएको जात व्यवस्थालाई अनुसरण गर्ने बाध्यता आयो। त्यसताक नेपालका राजा जंगबहादुर राणाले तयार गरेको मूलुकी ऐनसम्म आइपुग्दा इतिहासमा भएका गल्तीहरूको शास्ति भोग्न परिरहेको छ, आजको नेपाली समाजमा रहेका दलित समुदायहरूले पनि..। 

हामीले रोजेको बाटो.....

यो सङ्घर्ष निश्चित दलितहरूको मात्र होइन। दलितविरोधी इतिहासका गल्तीहरूलाई आफ्नो विरासत भन्ने कथित उच्च जातकाहरूले आफूलाई दायित्वशील नागरिकको रूपमा हेर्नु पर्ने हो। दार्जीलिङ पहाडका नेपाली समाजमा दलित मुक्तिका सङ्घर्षहरू अन्य राज्यहरू भन्दा धेरै नै दुर्वल स्थितिमा छ। यहाँ शताब्दी-पुरानो गोर्खाल्याण्ड राज्यको मागमा विभिन्न आन्दोलनहरू हुँदै आए, जुन पनि उत्पीडित अल्पसङ्ख्यक राष्ट्रियताको हो। तर हाम्रा सङ्घर्षहरूले जातपात-व्यवस्था आधारित समाज र राजनीतिलाई कसरी बुझिरहेको छ भन्ने प्रश्न पनि छ। यसैले हाम्रो समाजको राजनैतिक आन्दोलनहरूमा जात व्यवस्थाको राजनीति र दलित सङ्घर्षको सैद्धान्तिक बुझाई पनि ठूलो चुनौतिको रूपमा उभिएको छ। आज देशको केन्द्रीय राजनैतिक शक्ति उग्र राष्ट्रवाद, धार्मिक र जातिगत कट्टरतावादको वैचारिक सिँडी चढिरहेको स्थिति छ। भारत एउटा सांस्कृतिक विविधता बोकेको देश हो। तर केही दसकदेखि यता देशको राजनीतिले जुन हिन्दुत्ववादी उग्रपन्थी बाटो हिडिरहेको छ, त्यसले यहाँका अल्पसङ्ख्यक जातिहरूको राजनैतिक पहिचान र दलित मुक्तिको सङ्घर्षहरूलाई कुल्चिँदै हिँडिरहेको छ। दलित समुदाय वर्ण व्यवस्थाले गरेको ऐतिहासिक गल्तीबाट पुस्तौँदेखि पीडित हुदै आएको हो। अब दलित मुक्तिको सङ्घर्षले आफ्नो सैद्धान्तिक र वैचारिक फाँटलाई विस्तृत रूपमा दार्शनिक दृष्टिकोणबाट हेर्नु पर्ने हो। राज्यको राजनैतिक र आर्थिक व्यवस्थाले उत्पीडित दलित समुदायका दार्शनिक अम्बेडकरले देखाएको बाटो के थियो भने “शिक्षित हौ, सङ्गठित बन र सङ्घर्ष गर।” यही विचारधारा अनुसरण गर्दै सङ्घर्षको बाटो रोज्नु आजको बुनियादी आवश्यक्ता हो।  



No comments:

Post a Comment