Sunday, September 1, 2024

पुरानो घाउ र न्यायले दिएको चोट

 जानुका दाहाल

एक जना पुरुष खुसुक्क आएर मैले बुक गरेको सिट नजिक बस्यो। त्यो सिट खाली हो/होइन? उसले कसैलाई सोधेन। उसले त्यो सिटमा बस्नलाई न त मसँग अनुमति नै माग्यो।

हामी चढेको बस रानीपुल पुगेको थियो। गान्तोकबाट कालेबुङ आउने यात्री बसको चौथो सिटको खिड्की साइडमा म बसेको थिएँ। मेरो छेउको खाली सिटमा त्यो नौलो पुरुष आएर बसेको थियो। ऊ त्यो सिटमा बस्दै गर्दा मैले एक चोटि कर्के नजरले हेरिदिएँ। उसको उमेर पैँतिस पुगेको हुनुपर्छ! हेर्दा भद्र पुरुष देखिन्थ्यो ऊ।

यात्रा गर्न अघि म यात्रालाई मनग्गे पुग्ने मोटिभेसनल लेक्चरहरू फोनमा डाउनलोड गर्ने गर्छु। त्यो दिन पनि म सधैँझैँ दुवै कानमा हेडफोन लगाएर एउटा रोचक लेक्चर सुन्दै आफ्नै दुनियाँमा मग्न थिएँ। बस कुदिरहेको थियो।

हिँडेको करिब 15 मिनेटपछि त्यो मान्छेले मतिर फर्केर केही प्रश्न सोध्यो। मैले कानबाट हेडफोन निकालेर भने ‘सरी’।

उसले भन्यो, ‘म्याडम कालिम्पोङ पौचने मे कितना टाइम लगेगा?’ 

ऊ हिन्दी भाषी रहेछ। उसलाई जवाफ दिएर म फेरि लेक्चर सुन्नतिर लागेँ। हेडफोन कानमा लगाएँ। तर  बसको गतिको रफ्तारसँगै त्यो पुरुषको प्रश्नहरू पनि कुद्न थाल्यो। पहाड, बाटो, खोला आदिबारे जिज्ञासा राख्दै उसले मलाई दुई-चार वटा प्रश्न गऱ्यो। ऊ मतिर फर्केर केही सोध्थ्यो, म पटक पटक कानबाट हेडफोन निकाल्दै उसलाई जवाफ दिन्थेँ।

बसले एक घण्टाको यात्रा पुरा गरिसकेको थियो, सायद। अचानक म झस्किएँ। फोनमा चलिरहेको लेक्चरबाट मेरो ध्यान भट्कियो। त्यो पुरुषको हातले मेरो शरीरलाई छोएको जस्तै फिल भयो। मैले असहज महसुस गरेँ। तर आफैलाई सम्हालेँ। सोचेँ, बाटो खराब छ। गाडी स्पिड हुँदा यस्तो भएको होला! तैपनि म ढुक्कले बस्न सकिनँ। आफू अलिक सतर्क भएँ। चेप्टिए पनि थोरै झ्याल पट्टी सर्ने प्रयास गरेँ। अघिदेखि काखमा भएको ब्यागलाई म र त्यो पुरुषको बिचमा राखेँ। सुरक्षाको लागि एउटा ब्यारिकेड बनाएँ। त्यसपछि सहज अनुभव भयो र फेरी हेडफोन कानमा हालेँ।

म लेक्चरको धुनमा थिएँ। गाडी तेज रफ्तारमा थियो। अचानक त्यो मान्छेको हातले मेरो कम्मरतिर छोए जस्तो लाग्यो। म झसङ्ग भएँ। मैले त्यो मान्छेतिर हेरेँ। तर ऊ त केही नभए जस्तै एकटक अघिल्तिर हेरेर बसिरहेको थियो। मलाई भने साह्रै छटपटी लाग्यो। अब मेरो ध्यान लेक्चरमा होइन तर आफ्नै कम्मरतिर मात्र जान थाल्यो।

त्यो पुरुष दुवै हात बाँधेर बसिरहेकोझैँ देखिन्थ्यो। तर मलाई थाहा भइसकेको थियो, उसले जानी बुझी नै घरीघरी मलाई छुने कोसिस गर्दै छ। मलाई झनक्क रिस उठ्यो। झोक्किएर भने, ‘हात सम्भालकर रखिए’। ऊ चनाखो हुँदै सिधा बस्ने प्रयास गऱ्यो। तर एकै छिनपछि मैले थाहा पाएँ, उसको हात मेरो शरीरसम्म आइसकेको थियो। म रिसले आगो भइसकेको थिएँ। तर आफैलाई सम्हालेँ र ऊतिर फर्केर बिस्तारै भने, ‘के चाहियो तँलाई? राम्रोसँगले भनेको बुझिनस्? यो गाडीको मान्छेहरूलाई तेरो हरकत भनिदिऊँ? ठिकसँगले बस्छस् भने बस्। नत्र कालेबुङ पुग्न साथ तँलाई पुलिस चौकीमा थुनिदिन्छु म। बुझिस्?’

त्यो मान्छे लाजले रातोपिरो भयो। भुईँतिर आँखा निहुराएर यति मात्र भन्न सक्यो ‘सरि म्याडम’।

म साँझतिर घर पुगेँ। दिउँसोको घटनाले मलाई असहज महसुस भइरहेको थियो। कतै लाज त कतै घृणाले मन भारी भइरहेको थियो। साँच्चै म मानसिक रूपमा नै लाचार अनुभव गरिरहेको थिएँ।

चिसो पानी शिरबाट खनाउँ खनाउँ लाग्यो। ती लाज र घृणाहरू पखाल्न म निक्कै बेरसम्म सावर मुनि उभिइरहेँ। दिउँसोको घृणित दृश्य मेरो आँखा अघि नाचिरह्यो। तर अचानक मभित्र प्रश्नहरू उठ्न थाल्यो; मैले किन त्यो मान्छेलाई बिस्तारै गाली गरेँ? के मैले उसको बचाउको निम्ति आफूलाई सामान्य बनाएकी हुँ त? कि मैले खैलाबैला गर्दा अन्य यात्रीहरूले मेरै चरित्रमाथि प्रश्न उठाउँछ भन्ने डर मभित्र थियो? यस्ता तमाम प्रश्नहरूले मलाई नै घेर्न थाल्यो। म झनै मानसिक रूपमा कमजोर भएँ।

अन्तमा मैले आफैलाई सम्झाउने प्रयास गरेँ। हाम्रो समाज आज पनि पुरुषवादी सङ्क्रमणबाट निको हुन सकेको छैन। यदि मैले त्यो मान्छेको हरकतबारे गाडीको अन्य यात्रीहरूलाई सुनाएको भए पनि मैले उनीहरूबाट सहयोग पाउँछु भन्ने कुरामा म विश्वस्त थिइनँ। गाडीभित्रै सवार भएकी महिलाहरूबाट पनि मैले साथ पाउँछु भन्ने कुरामा म कन्फिडेन्ट थिइनँ।

हुन त त्यो पुरुषलाई कालेबुङ थानामा थुन्छु भन्ने डर मैले देखाएँ। तर मभित्र भने पुलिस प्रशासनको कारवाहीमाथि पनि रतिभर भरोसा थिएन। विगतको भोगाइहरूबाट मैले प्रशासनको भूमिकाबारे राम्रोसँगले ज्ञान पाएकी छु। देशको वर्तमान परिवेशले नै स्पष्ट पार्छ कि प्रशासन भनेको केवल वर्चस्ववादी नेता र पुँजीपति वर्गको चाकरी गर्नु मात्र हो।

तर आजको घटनामा म परेँ एकली साधारण महिला। त्यसैले मैले त्यो मान्छेलाई बिस्तारै गाली गरेँ। ऊ डरायो। तैपनि ऊ किन डरायो? 

के मेरा आँखामा सल्किसकेको विद्रोहको झिल्का देखेर ऊ डराएको हो?

साँच्चै मलाई यो घटनाले बेस्सरी झकझकाएको थियो। किन कि म आफैलाई सशक्त ठान्छु। मैले यतिको उमेरसम्म पुलिस चौकी, कोर्ट-कचहरी सबैको चक्कर लगाइसकेकी छु। अन्यायविरुद्ध लड्न सक्ने आत्मविश्वास मभित्र नभएको होइन। तर पनि आजको घटनाले मलाई किन यति कमजोर बनाइरहेको छ? मभित्र आन्तरिक द्वन्द्व उठ्न थाल्यो। अरे! म जस्तो निडर महिलालाई त यस्तो दुर्व्यवहारको घटनाले यति धेर कष्ट दिन्छ भने सामाजिक रुढीवादलाई नै पवित्र प्रथा ठान्ने महिलाहरूलाई कति गहिरो चोट पर्ला? अझै पनि तमाम महिलाहरूले पुरुषवादी चस्मा लगाएका छन्। के उनीहरू महिलामाथि भइरहेको हिंसाको विरोध गर्ने आँट गर्लान् त?

दिनहरू बित्दै गयो। मभित्र उठेका प्रश्नहरूले आजसम्म पनि निकास पाउन सकेका छैन। म फेरी आफ्नै सङ्घर्षपूर्ण जीवनमा व्यस्त भएँ। मेरो मानसपटलबाट बसको त्यो घटना पनि बिस्तारै मधुरो हुँदै गइरहेको थियो। तर अचानक मध्य प्रदेश उच्च न्यायालयले एक जना पत्नी विरुद्ध जारी गरेको आपत्तिजनक सुनवाइले म झस्किएँ। ‘अब स्वास्नीसँग भएको कुनै पनि यौन हिंसा बलात्कार ठहरिँदैन।’ महिलाहरूका निम्ति यो भन्दा पीडादायक सुनवाइ अरू के होला?

हो! यो सुनवाइले मेरो देश र समाजको वर्तमान नाङ्गो यथार्थ स्पष्ट पारेको छ। जसले गर्दा मभित्र दबिएर बसेको चरम दुखाइलाई फेरि एक चोटि ब्युँझाइ दिएको छ। जीवनको सङ्घर्षमाझ कतै विलीन भइसकेको त्यो बस गाडीको घटना फेरि ताजा भएर आयो। म भित्र पुरानो घाऊ बल्झियो।

दुर्व्यवहार र महिला हिंसा भन्न साथ अपरिचित अनुहार अघि आउँछ। किन कि ‘गुड टच र ब्याड टच’ बारे हामी सचेत छौँ। तर परिचित अनुहारहरूले गर्ने हिंसा झनै खतरनाक छ।

‘घर’को अर्थ सुरक्षित आश्रय हो। तर यो तथाकथित सुरक्षित आश्रयभित्र नै तमाम महिलाहरू पीडित छन्। समाजको परिभाषा अनुसार नारी वर्गको रक्षक ठानिने आफ्नै लोग्नेहरूबाट स्वास्नीहरू पीडित छन्। तर यस्तै परिस्थितिबिच मध्य प्रदेश उच्च न्यायलालका न्यायाधीश गुरपाल सिंह अलुवालियाले निर्धक्क साथ भर्डिक्ट सुनाए, ‘स्वास्नीसँग भएको कुनै पनि यौन हिंसा बलात्कार मान्य हुँदैन। चाहे प्राकृतिक होस् वा अप्राकृतिक’। न्यायाधीश गुरपाल सिंहले बलात्कारी लोग्नेको पक्षमा निर्णय लिँदै यस्तो सुनवाइ दिएका हुन्। अब लोग्ने पीडित स्वास्नीहरूले देशको न्यायपालिका माथि के आस्था राख्ने?

हाम्रो देशको कानुन व्यवस्थाले स्वास्नीसँग भएको यौन हिंसालाई वैवाहिक बलात्कार भनेर परिभाषित गरेको छ भन्ने कुरा तपाईँलाई थाहा छ? विश्वको कुल 77-वटा देशहरूले वैवाहिक बलात्कारलाई अपराध ठहर गरेका छन्। क्यानाडा, अमेरिका, युके, दक्षिण अफ्रिका जस्ता राष्ट्रहरूले वैवाहिक बलात्कारलाई अपराध ठान्छ। तर हेर्नु होस् त हाम्रो देशको न्याय व्यवस्था! वैवाहिक बलात्कारलाई सुरक्षा दिइरहेको छ।

देशको संविधानको धारा 375ए अन्तर्गत पत्नीको सहमति बिना भएको यौन क्रियाकलापलाई अपराध ठान्छ। पीडित महिलाले आरोपीविरुद्ध मुद्दा दर्ता गर्न सक्छ। न्याय व्यवस्थाको प्रक्रिया अनुसार आरोपीले सजाय पनि पाउँछ। तर यसै संवैधानिक अधिकारलाई आधार बनाएर लोग्नेले बारम्बार यौन हिंसा गरेको भन्दै एक जना पीडित महिला मध्य प्रदेश उच्च न्यायालय पुगेकी थिइन्। महिलाले 6 जुन 2019 मा आफ्नो लोग्ने विरुद्ध मुद्दा दर्ता गरेकी थिइन्। लामो अदालती प्रक्रिया पछि अन्त्यमा न्यायालयले आरोपी लोग्नेको पक्षमा फैसला सुनाएको छ।

भारतीय दण्ड संहिताको धारा 375 (Exception 2) मा उल्लेख छ, लोग्नेद्वारा भएको यौन हिंसालाई अपराध ठहर गरिँदैन। तसर्थ यो धाराले विवाहित महिलालाई संविधानको अधिकारदेखि वञ्चित गरेको छ।

मध्य प्रदेश न्यायालयको उक्त सुनुवाइ घोर आपत्तिजनक छ।

आखिर भारतीय संविधानले प्रस्टाउन चाहेको वास्तविक कुरा के हो? के वैवाहिक सम्बन्धपछि एक जना महिला देशको न्याय व्यवस्थाबाट बाहिरिन्छ त? के विवाह भन्ने सामाजिक प्रथा महिला हिंसाको निम्ति नै बनाइएको हो त? कि महिला भन्ने प्राणी बिहेपछि मान्छे होइन रोबोट बन्छ? एकदम संवेदनशुन्य नीति। यदि वैवाहिक महिला पनि यो पृथ्वीकै मानव जीव हो भने ऊप्रति यतिको अमानवीय अत्याचार किन?

घर बाहिर त आम महिलाले विविध प्रकारका यौन हिंसाको सामना गर्नु पर्छ नै। तर घरैभित्र भने महिला सुरक्षाको निम्ति कानुनी व्यवस्था हुनु पर्ने होइन र?

हुन त हाम्रो देशमा चुनाउ आउन साथ महिला सुरक्षा प्याकेजको विज्ञापन देखा पर्छ। तर चुनाउ सकिन साथ हराउँछ त्यो विज्ञापन र प्याकेज। 2024 को लोकसभा चुनावमा प्रधानमन्त्री मोदीले संविधानमा नागरिकको समान अधिकार भएको कुरा गरेका थिए। तर यसै देशको न्यायपालिका देशको तमाम महिलाहरूको आत्मसम्मानमा ठेस पुऱ्याउँदा प्रधानमन्त्री किन मौन? महिला सुरक्षाको प्याकेजको डङ्का पिट्ने प्रतिनिधिहरू कहाँ छन्?

आज पनि देशको 90 प्रतिशत श्रमजीवी महिलाहरू चरम अन्याय र शोषणको दलदलमा भासिएका छन्। सर्वहारा जनता केवल संविधानको खोल ओढेर मात्र निदाउन सक्दैनन्। यी शोषित वर्गमा पनि महिलाहरू भने झनै तल्लो स्तरमा छन्। अब समस्याको सञ्जालमा फसेका आम जनताको निम्ति  वैकल्पिक निकास खोज्न अत्यन्त जरुरी छ। देशको राजनैतिक कुसंस्कारलाई नहटाएसम्म दमित-शोषितवर्गको मुक्ति हुनेछैन। जबसम्म वैकल्पिक सामाजिक व्यवस्था तयार गर्न सक्दैनौँ, तबसम्म तमाम सर्वहारा वर्ग सँगसँगै महिलाहरूले मुक्ति पाउने छैनन्।

देशमा गणतन्त्र छ। तर दुखद कुरा, त्यो गणतन्त्र ब्वाँसोहरूको मुठ्ठीमा छ। अब सही अर्थको गणतन्त्र बाँच्न सक्ने भनेको केवल सर्वसाधारण जनताको चेतनाले गर्दा मात्र हो। चेतना नै परिवर्तनको सूत्र हो। यसर्थ यही सूत्रको प्रयोग गर्दै समाजको विकार मनोस्थितिमा परिवर्तन ल्याउन सम्पूर्ण पीडित साथै शोषित वर्ग एकजुट हुन आवश्यक छ।


No comments:

Post a Comment