कपिल तामाङ
2024 लोकसभा चुनावमा संसदको यस तल्लो सदनमा 80 जना सांसदहरू निर्वाचित गर्ने राज्य उत्तर प्रदेश थियो अनि सबैभन्दा महत्वपूर्ण यस राज्यको धेरभन्दा धेर सीट जित्नका लागि चुनाव अभियानमा प्रमुख राजनैतिक दलहरूले यस राज्यभरि आफ्नो एजेण्डालाई तीव्र प्रचारमा राखेको देखिएको थियो।भारतीय जनता पार्टी राम मन्दिर जस्ता धार्मिक मुद्दाहरूमा केन्द्रित भयो र पार्टीको राम्रोसँग तेल लगाएको सङ्गठनात्मक मेसिनरीको साथ राष्ट्रवादको कुरालाई देशको कुनाकाप्चासम्म पुर्याउने कोसिसमा लागिपर्यो। भाजपाले ओमप्रकाश राजभरको सुहेलदेव भारतीय समाज पार्टी (एसबीएसपी), जयन्त चौधरीको राष्ट्रिय लोक दल (आरएलडी), अन्नुप्रिया पटेलको अपना दल (सोनेलाल) र सञ्जय निषादको निषाद पार्टी जस्ता ओबीसी-केन्द्रित उप-क्षेत्रीय दलहरूसँग बलियो सामाजिक गठबन्धन पनि तयार पारि कुनै पनि मौका नछोड्ने प्रयास गरेको हो। अझ भाजपाको घोषणापत्रमा सबैभन्दा ठूला वाचाहरूमध्येको एउटा बाचा थियो अयोध्यामा राम मन्दिरको उद्घाटन।
अर्कातर्फ समाजवादी पार्टी (एसपी) र काङ्ग्रेसले विपक्षी इण्डिया ब्लकको लागि उत्साहजनक अभियानको नेतृत्व गरे। उनीहरूले आर्थिक सङ्कट, किसानहरूको पीडा र बिजेपी शासनको समयमा संवैधानिक र लोकतान्त्रिक संस्थाहरूमाथिको आक्रमण जस्ता मुद्दाहरूमा ध्यान केन्द्रित गरे। जातपात-आधारित जनगणना (Caste Census) जस्ता मुद्दाले पनि इण्डिया गठबन्धनको अभियानलाई टेवा पुर्यायो।
रामलालाको नयाँ मूर्तिको अभिषेक समारोह भएको चार महिनापछि चुनावको नतिजा आउने दिन के देखियो भने-- लोकसभा चुनावमा भाजपा फैजाबाद लोकसभा सीटबाट पराजित भयो, जसभित्र अयोध्या पनि पर्दछ।
अयोध्याका जनताले भाजपाका उम्मेदवार लल्लु सिंहको विरुद्धमा मतदान गरेको जिल्ला भाजपा सङ्गठनका नेताहरूले बताएका छन्। अयोध्या मन्दिर र त्यहाँको एयरपोर्ट वरिपरी भइरहेको जमिन अधिग्रहणलाई लिएर मानिसहरू आक्रोशित भएकाले स्थानीय मुद्दाहरू केन्द्रमा थिए। उनीहरू अझ भन्छन्, “भाजपा उम्मेदवार लल्लु सिंहको कुनै काम थिएन। उनले अयोध्याका जनताको गुनासो कहिल्यै सुनेनन्। जब मानिसहरूले उनलाई कुनै कामको लागि सम्पर्क गर्थे, उनले सधैँ भन्ने गर्थे तपाईँहरूले मलाई होइन मोदीजीलाई भोट दिनुभएको हो, जानुहोस् र उहाँसँग नै कुरा गर्नुहोस्। जब अयोध्यावासीहरूले भूमि अधिग्रहण रोक्न हस्तक्षेप गर्ने अनुरोध गरे, उनले सहयोग गरेनन्।”
समाजवादी पार्टी (एसपी) का प्रमुख दलित प्रतिनिधिहरूमध्येका नौ पटक विधायक भएका अवधेश प्रसादले लल्लु सिंहलाई 54,567 मतले पराजित गरे। भुतपुर्व सांसद लल्लु सिंह ती नेताहरूमध्ये थिए जसले पहिलो पटक संविधान परिवर्तन गर्न भाजपालाई ‘400 पार’ सीटहरू आवश्यक पर्ने दाबी गरेका थिए। यो भनाइले फैजाबाद जिल्लाको 26 प्रतिशत जनसङ्ख्या रहेको दलितहरूलाई खतरा भयो। भाजपाले अनुसूचित जाति र जनजाति र अन्य पिछाडिएका जातिहरू (ओबीसी) को आरक्षण हटाउन संविधान परिवर्तन गर्न चाहन्छ भन्दै राहुल गान्धी र अखिलेश यादवको कांग्रेस-एसपी गठवन्धनले र्यालीहरूमा चर्को स्वरमा दावी गर्दै आम मानिसहरुको डरलाई दर्साउन सक्षम बने।लोकसभा चुनावको नतिजा घोषणा भएको लगत्तै, फैजाबादमा बिजेपीको सबैभन्दा आश्चर्यजनक हारले न्यूज हेडलाइन बनायो र बहस सुरु भयो। धेरैले यसको कारणहरू ओबीसी र दलितहरूलाई पार्टीबाट अलग्याउनु, अखिलेश यादवको जाती मुद्दामा प्रहार गर्ने रणनीति, अयोध्याको विकासका लागि लिएको आफ्नो जग्गाको मोल नपाएकोमा स्थानीय मानिसहरूको असन्तुष्टि आदि बताए।
चाखलाग्दो कुरा के छ भने, भव्य मन्दिरको ठाउँ फैजाबादमा भाजपाको हार, 100 किलोमिटर टाढाको लोकसभा सीट श्रावस्तीमा पराजयसँग सम्बन्धित देखियो। त्यहाँ एसपीका राम शिरोमणि वर्माले भाजपाका साकेत मिश्रालाई हराए जो अयोध्या राम मन्दिर निर्माणको नेतृत्व गर्ने बयूरोक्रेट नृपेन्द्र मिश्रका छोरा हुन्। भाजपाका लागि त्यो दोहोरो झट्का थियो।
कसरी भाजपाको ‘400 पार’ नारा उल्टो भयो
बिजेपीका लल्लु सिंहले अयोध्यामा पहिलो पटक भनेका थिए “बिजेपीले 400 भन्दा बढी सिट प्राप्त गरे संविधान परिवर्तन हुनेछ।” त्यसपछि समाजवादी पार्टीले संविधान संशोधन गरेर पिछडिएका, दलित, अल्पसङ्ख्यकलाई दिइएको आरक्षण अन्त्य गर्ने भाजपाको नीति रहेको आरोप लगायो। फैजाबाद समाजवादी पार्टीको भोट ब्याङ्कको पक्षमा सबैभन्दा बलियो जातको समीकरण भएका सीटहरूमध्ये एक हो। साथै, समाजवादी पार्टीले काम गरेको जस्तो देखिन्छ भने भाजपाले निर्मम बहुमत प्राप्त गरेमा संविधान परिवर्तन गर्ने कुरा बेसी प्रचलित भएको थियो। यो मुद्दा यति बढ्यो कि बिजेपीले चुनावभरि यसको बारेमा स्पष्टीकरण दिईरह्यो र आफ्नो मुद्दा गुम्यो।
सन् 1984 देखि समाजवादी पार्टी र कांग्रेसले दुई-दुई पटक फैजाबाद सिट जितेका छन्। सन् 1991 पछि अयोध्यामा बिजेपीले महत्व पाएको थियो ।
2004मा भाजपाले विनय कतियर जो ओबीसी थिए, उनलाई हटाएर लल्लु सिंहलाई सिट दिएका थिए। उनले 2014 अनि 2019 को चुनाव मोदीको लहरमा जिते तर जब फेरी जातको प्रश्नलाई केन्द्रित गरी भाजपाले हारको सामना गर्नु पर्यो।
अखिलेश यादवहरूको जातपातको मुद्दामा एडभान्टेज
फैजाबादमा जातपातको मुद्दा भाजपाको हारको प्रमुख कारण मानिएको छ। अयोध्यामा सबैभन्दा धेरै ओबीसी मतदाता छन्, जसमा कुर्मी र यादवहरू ठुलो सङ्ख्यामा छन्। ओबीसी मतदाता 22% र दलित 21% छन्। दलितहरूमध्ये पासी समुदायको सबैभन्दा बढी मतदाता रहेका छन्। विजयी उम्मेदवार अवधेश प्रसाद पासी समुदायका हुन्। मुस्लिम मतदाता पनि 18% छन्। यी तीन समुदाय मिलेर मतदाताको 60% जस्तो हुन्छ। यस पटक तीन समुदायहरू– ओबीसी, दलित र मुस्लिम– फैजाबादमा समाजवादी पार्टीलाई महत्वपूर्ण जीत दिलाउन एकजुट भए।
यसबाहेक विकासका लागि जग्गा लिएपछि मोल नपाएकोले आक्रोश पनि फ्याक्टर भयो।अयोध्या सहरको विकास र राम मन्दिर निर्माण भइरहेको बेला दुर्गम गाउँका जनताले कुनै फाइदा नपाएको गुनासो थियो। ठुलो आयोजनबिच अयोध्याका जनताले आफ्नो जग्गा गुमाउँदै गर्दा बाहिरबाट आएका व्यवसायीहरूले फाइदा उठाइरहेको चर्चा पनि स्थानीयहरूबिच थियो।
भाजपाले अयोध्या मात्र हारेन, तर मन्दिरको सहर– बस्ती, अम्बेडकर नगर, बाराबाँकी नजिकैका सबै सीटहरू पनि गुमायो। अयोध्याको नतिजालाई बिजेपीको पराजय मात्र होइन, उनीहरूको उग्र हिन्दुत्व विचारको पराजयको रुपमा हेर्न सकिन्छ।
अन्तमा, भाजपाको अयोध्यामा हार हुनाले देशलाई एउटा ठुलो सिख मिलेको छ। धर्मको नाममा जति नै घृणा फैलाए पनि आम मानिसको मुद्दा भने सुरक्षा, सम्मान अनि संविधान नै रहनेछ। यसलाई छोडेर केवल धर्म अथवा जातिको राजनीति धेरै बेर रहँदैन भन्ने कुरा आज अयोध्याका जनताले स्पष्ट पारेका छन्। तर सङ्घर्षको बाटो अझ लामो छ, अझ देशभरि अनेकौँ मुद्दामा चर्चा गर्नै बाँकी छ। अयोध्याको हार भाजपाको चुनावी राजनीतिमा पतनको सुरुवात भएता पनि सामाजिक कर्मी, प्रगतिशील व्यक्तित्व र खटिखाने मानिसका लागि अझ काम बढेको छ। अझ तीव्र रूपमा आम मानिसका बाँच्ने आधारभूत असली मुद्दाहरूलाई अघि ल्याउने काम अब तपाइँ-हाम्रो हो।
No comments:
Post a Comment